चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुन्छ : बिजुक्छे

काठमाडौं –नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताएका छन् ।
भक्तपुरमा सञ्चालन भइरहेको ३९ औँ नेपालभाषा साहित्य तःमुँज्या अर्थात् बृहत् साहित्य सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपतिको भ्रमणबारे उनले नेपाल र चीनबीचको प्राचीनकालदेखिको सम्बन्धलाई यो भ्रमणले अझै बलियो बनाउने बताएका हुन् ।
सरकारले देश र जनताको लागि फाइदा हुने विषयमा मात्रै सम्झौता गर्नुपर्ने बताउँदै बिजुक्छेले चीनसँग अब हुने सम्झौताले नेपालको दिगो विकास र दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नुपर्ने भनाइ राखे ।
देशलाई नोक्सान हुने र वर्षौंसम्म कार्यान्वयन गर्न नसक्ने सम्झौताको कुनै अर्थ नहुने भनाइ राख्दै बिजुक्छेले भएका सम्झौताहरु छिटो कार्यान्वयनमा लैजान सक्ने हुनुपर्ने बताए ।
केरुङ–काठमाडौँ रेल्वेसम्बन्धी सम्झौताका बारेमा उनले सडकमा बस्ती विस्तार नगरे यसबाट देशलाई फाइदा नपुग्ने बताए । बिजुक्छेले केरुङ र काठमाडौँलाई मात्रै हेरेर नहुने तर केरुङदेखि काठमाडौँसम्म आउने सडकमा बस्ती विस्तार गर्न सके मात्रै यस्तो सम्झौताले सार्थकता पाउने भनाइ राखे।
विदेशीले बनाइदिएका र ल्याइदिएका धेरै कुराहरु चलाउन नसक्दा थन्किएर बिग्रिएको टिप्पणी गर्दै उनले विदेशी सहयोग ट्रलिबस, छाला जुत्ता कारखाना, कागज कारखानाजस्तो अवस्थामा पुग्न नहुने बताए ।
विकास निर्माणमा हुने सम्झौतामा चीन आफैँले बनाइदिने भन्दा पनि नेपालको जनशक्ति प्रयोग गर्नेगरी गर्न सके नेपाली नागरिकले स्वदेशमै रोजगारी पाउने र सीप पनि सिक्न सक्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
चीनले चाहेमा नेपालको धेरै विकास एकैपटक गर्न सक्ने भए पनि चीनको एकएक गाँस गरी एक थाल भात खाएजस्तै गरी विकासलाई विस्तारै लैजाने नीति रहेको बिजुक्छेले बताए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा आर्थिक सहायता दिनसक्ने बताउँदै बिजुक्छेले यो भ्रमणले भारतप्रतिको दृष्टिकोण भने बदल्न नसक्ने बताए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो देशमा भ्रष्टाचार नियन्त्रण गर्न कदम चालेको र भ्रष्टाचारीलाई धमाधम जेल हालेको भन्दै सरकारले चिनियाँ राष्ट्रपतिबाट यस्ता कुरा सिक्नुपर्नेमा जोड दिए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई नेमकिपाले पनि स्वागत गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू