शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सी भ्रमण : नवीनतम कुटनीतिक अभ्यासको आवश्यकता

शुक्रबार, २४ असोज २०७६, १२ : ०५
शुक्रबार, २४ असोज २०७६

चिनिया राष्ट्रपति सी जिनपिङ्गको आसन्न नेपालको राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा “सी” दुई दिने नेपाल भ्रमणका लागि आगामी असोज २५ गते आउँदैछन् । योसँगै, २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भएका छन् । 

भ्रमणलाई सफल तुल्याउन दुई देशबीच विभिन्न विषयहरुमा समझदारी पत्र र एमओयू हस्ताक्षरको तयारी दुवै पक्षबाट जोड्तोडका साथ भइरहेको देखिन्छ। भ्रमणको  सुरक्षा व्यवस्था, कार्यक्रम व्यवस्थापन, भेटवार्ताको सूचीसंगै दुवै तर्फबाट उद्देश्यमूलक भेटवार्ताका लागि द्विपक्षीय हित र सम्बन्धका विभिन्न विषयवस्तुहरु माथि गृहकार्य भैरहेको  छ।

 यसै सन्दर्भमा नेपालमा विभिन्न वर्ग तथा तहवाट उक्त  भ्रमण सम्बन्धि आफ्ना दृष्टिकोण तथा हाल विद्यमान राष्ट्रिय हित एवम सवालका विषयवस्तुहरु सम्बन्धित रायहरु आइरहेको नै देखिन्छ । नेपाल–चीन आर्थिक, भौतिक पूर्वाधार, जलविद्युत, रेलमार्ग तथा ठूला आयोजनाहरुमा  जोड दिदै उच्चस्तरीय भेटलाई सफल पार्नुपर्ने रायहरु प्रखर रुपमा आइरहेको देखिन्छ । त्यसमा पनि द्विपक्षीय हितका विषयवस्तुमा नेपालको हित  र स्वार्थलाई अधिकतम जोड्वल दिनुपर्ने कुराहरु अधिकतम रुपमा आइरहेका छन् जुन समय सापेक्ष नै छन् । तर यसमा थप केही विविध पक्षहरु माथि पनि विचार विमर्श गर्नु आवश्यक छ ।

नेपालमा चल्दै आइरहेको कुटनीतिक अभ्यासमा उच्चस्तरीय भ्रमणमा धेरै जस्तो राष्ट्रिय हित, स्वार्थ र  सवाल (पूर्वाधार, जलविधुत  तथा आर्थिक सहायता) केन्द्रित हुने गर्छ । यी सवालहरु सम्बन्धी सम्झौताहरु भए र जति धेरै सहायता भित्राउने सके त्यति नै सफल भ्रमण हुने मानसिकता अझै पनि कायम छ । यो यस अर्थमा पनि सही होला कि नेपाल विकासुन्मुख मुलुक रहेकोले विकासमा तिव्रताको लागि अन्तराष्ट्रिय सहयोग अवश्य पनि चाहिन्छ । त्यसैगरी सरकारको नेतृत्वकर्ताको सफलता विपक्षी दल तथा आमजनतालाई भ्रमणमा ठूलो राष्ट्रिय हितमा सम्झौता गरी भ्रमण सफल रहेको अनुभूति दिलाउन पनि हुन्छ । तर सधै आपसी सम्बन्धलाई नाप तौलका आधारमा लेनदेन गरेर मात्र सम्बन्ध विकसित हुने हैन । दुई देशको सम्बन्धको विभिन्न आपसी फाइदाका आयामहरु मध्ये गुणात्मक सम्बन्धको अभिबृद्धि पनि उतिकै आवश्यक हुन्छ ।

एउटा देशको अरु  देशहरुसंग विभिन्न आयामका सम्बन्धहरु हुन सक्छ जसले आपसी हित र स्वार्थको रक्षा गर्छ । तर छिमेकीको सम्बन्धमा कुनै पनि देशले गुणात्मक, पारस्परिक, सौहार्द तथा विश्वासनीय सम्बन्ध निर्माण गर्नु आवश्यक हुन्छ । भनिएकै छ, साथी परिवर्तन गर्न सकिन्छ तर छिमेकी हैन । त्यसैले छिमेकीसंग राष्ट्रिय स्वार्थ र हित भन्दा माथि उठेर  आपसी भाइचारा र विश्वासिलो समबन्धको विकास गर्नुपर्ने आवश्यकता रहन्छ  र हाल हुन लागेको सी जिनपिङ्गको भ्रमणमा नेपालले कुतिमा नविनतम प्रयोग ल्याउन सक्नुपर्दछ । त्यो हुने सम्भावना पनि देखिदैछ । प्र.म. ओलीले विभिन्न वैठहरुमा 'सपिङ्ग लिस्ट " तयार पार्नु नहुने जिकिर गर्दै आइराखेको देखिन्छ । यस अर्थमा हालको नेतृत्वले नेपाल सहयोगकै लागि सधै एरपोर्टमा हात मिलाउदै रातो कार्पेटमा स्वागत गर्ने हैन बरु स्वार्थ केन्द्रित कुटनीतिक सम्बन्धबाट माथि उठेर दुई देशको उच्चस्तरीय भ्रमणवाट सम्बन्धका नया आयामहरु खोज्ने, उच्चतहबाटै विश्वासिलो र दीर्घकालीन सम्बन्ध विकास गर्ने संदेश दिन हरसम्भव प्रयत्न गर्ने देखिन्छ ।

त्यसैले यो हुन लागेको एतिहासिक भ्रमणमा केही थान सम्झौताहरुमा मात्रै सीमित नरही दुई देशको अन्तरसम्बन्धमा नया आयाम खोज्नु पर्ने र नेपालको तर्फवाट विश्वासिलो सम्बन्धमा दृढ्ता देखाऊनु पर्ने आवश्यकता छ । परराष्ट्र सम्बन्धका सिद्धान्त अनुरुप आपसी हितअन्तर्गत राष्ट्रिय स्वार्थ भन्दा माथि उठेर चीनको पनि केही मुद्दाहरुलाई अरु देशको सम्बन्धमा हानि नोक्सानी नहुने गरी सूक्ष्म ढंगले बुझिदिनु उतिकै आवश्यक छ  । हाल चीनको अन्तराष्ट्रिय जगतमा पश्चिमा विश्व मूल्य मान्यताविरुद्ध अथवा विकल्पमा भनौ  विभिन्न मुद्दा र सवालहरु छन जसको जग अन्तराष्ट्रिय समर्थन र साथ हो । त्यसैले हाल चीनको अन्तर देशीय सम्बन्धको स्वार्थ आर्थिक सम्बन्ध र व्यापार मात्रै नभई वलियो अन्तराष्ट्रिय समर्थन पनि हो ।  चीन अहिले खास गरी कम विकसित र उपेक्षित राष्ट्रहरुबाट साथ र समर्थनका लागि  विआरआइ  तथा “सी” को “साझा भविष्यको समुदाय” (कम्युनिटि अफ शेयर्ड डेस्टीनी) जस्ता विचारहरु  प्रवर्द्धनबाट वलियो अन्तराष्ट्रिय साथ र भरोसा खोज्दै छ। यस्तो घडीमा हुन लागेको भ्रमणमा चीनको सर्वोच्च नेतालाई नेपाललाई  चीनको भरपर्दो साथीको रुपमा चिनाउन आवाश्यक छ । यो किन पनि आवाश्यक छ भने चीनको एकतन्त्रीय राजनीतिक प्राणालीको सर्वोच्च नेता सी जिनपिङ्गको अघोषित राष्ट्रपति कार्यकाल । हाल चिनिया नेतृत्व लामो समयमा सम्म “सी” कै हातमा रहने लगभग पक्का नै छ । सन २०१८ को चीनिया पिपुल्स कांग्रेसको वार्षिक बैठकले राष्ट्रपतिको कार्यकालको २ वर्षको अवधिको संवैधानिक संशोधन गरी आजीवन राष्ट्रपतिको लागि बाटो खोलिदिएको छ । यस्तो बेला “सी” लाई  नेपाल प्रतिको विश्वासमा बढावा दिनु नेपालको दीर्घकालीन हितमा हुनेछ । त्यसैले नेपाल छिमेकी हुनुको नाताले चीनको जायज पक्षमा साथ् र सहयोग दिने तत्पर रहेको र त्यसको लागि नेपाल अन्तराष्ट्रिय संघ संस्था र वहुपक्षीय फोरमहरुमा चीनसंगै उभिने विश्वास दिलाउन सक्नुपर्छ । चीन विरुद्धको कुनै पनि सहकार्य र दुवै देशको सम्बन्धमा कुनै पनि हस्तक्षेप हुन नदिने कुरामा “सी” लाई विश्वस्त पारिनुपर्छ । "सी" को भ्रमणमा दुई देशको सन्तुलित सम्बन्धमा नेपालको विकास अपरिहार्य रहेको र सोको लागि चीनको सहायताको लागि लालियत रहेको भन्दा पनि  सोको आवश्यकता लाई उदृत गर्नुपर्ने देखिन्छ ।

अन्तत :  नेपालले हाल “सी” को भ्रमण वाट केहि लिने हत्तारो गर्नु भन्दा केही दिन सक्ने सवालहरु पहिल्याउनु जरुरी छ । यो नै नेपाल-चिन सम्बन्धको विश्वासिलो र दिर्घकालीन हितको कडी हुन सक्दछ ।

लेखक <[email protected]> त्रि .वि, अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीतिशास्त्रमा अध्ययनरत विद्यार्थी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश कुमार राज
रमेश कुमार राज
लेखकबाट थप