शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : ट्राफिक व्यवस्थापन कसरी गर्ने ?

सीताराम हाछेथुका १४ टिप्स
शुक्रबार, २४ असोज २०७६, ०७ : ३६
शुक्रबार, २४ असोज २०७६

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २५ गते नेपाल आएर असोज २६ गते आइतबारसम्म नेपालमै रहनेछन् ।

सीको भ्रमण राजकीय भ्रमण भएकाले सुरक्षाको कारण पनि यी दुई दिनमा उपत्यकाका अधिकांश स्थानमा सवारीसाधन आवागमनमा बन्देज लाग्नेछ । विभिन्न स्थानमा सवारीसाधनमा रोक लाग्ने भएकाले उपत्यकाको सवारी व्यवस्थापन अस्तव्यस्त बन्ने सम्भावना पनि छ ।

तर, चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्दैगर्दा पनि सर्वसाधारणले अनुशासित भएर सवारी व्यवस्थापनमा सहयोग पुर्याउन सक्छन् भने ट्राफिक व्यवस्थापनमा पनि उनीहरुले सहयोग गर्न सक्छन् ।

अहिले उपत्यकामा १२ लाख सवारी दर्ता भएको छ भने करीब ४० लाख मान्छे बसोबास गर्दछन् । उपत्यकामा सामान्य अवस्थामा त ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ भने मान्छेसमेत हिँड्न नदिएर हुने राजकीय भ्रमणको ट्राफिक जामले झन् समस्या पार्नेछ । किनभने हाम्रो देशमा ठूला वैकल्पिक बाटो छैनन्, त्यसकारण ट्राफिक जाम त हुन्छ नै । विदेशी पाहुना नेपाल आउँदा ट्राफिक जाम नभएको इतिहास नै छैन ।

तर केही कुरामा सर्वसाधारण, यात्रु र चालक तथा ट्राफिक प्रहरीले ध्यान दिएमा ट्राफिक व्यवस्थापन गर्न सकिनेछ । निम्न कुराहरुलाई ध्यान दिएमा ट्राफिक जाम कम गर्न सकिनेछ ।

१. सवारी बन्द हुने बाटो र समयबारे पहिले नै जानकारी दिने 

अहिले ट्राफिक प्रहरीले सवारीका कारण कुनै बाटो बन्द हुँदैछ भने एक घण्टा अगाडि भन्ने गरेको छ । जसको कारण सबैमा सूचना पुगेको हुँदैन । त्यसैले कुन–कुन बाटो कुन कुन समयमा बन्द हुन्छ भनेर पहिले नै टिभी, रेडियो, अनलाइन, पत्रपत्रिका र सामाजिक सञ्जालमा सूचना प्रकाशन गरिनुपर्छ ।

२. सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी सर्वसाधारण​लाई जानकारी दिने

भीभीआइपीहरुको सवारी हुँदा कतिपय अवस्थामा सुरक्षा सम्वेदनशीलतालाई ध्यानमा राखी उनीहरु आउने समयबारे पहिले नै जानकारी दिइँदैन । यात्रु तथा सर्वसाधरणलाई पहिले नै जानकारी नहुँदा उनीहरु त्यही बाटो प्रयोग गरिरहेका हुन्छन् । जसको कारण जाम हुन सक्छ । त्यसकारण सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरेर यसबारे पूर्व सूचना दिने व्यवस्था गर्नुपर्छ । 

३. अत्यावश्यक काममा बाहेक त्यो समयमा बाहिर ननिस्कने

सीको भ्रमणको दुई दिन असोज २५ र २६ गते अत्यावश्यक कामबाहेक अरु समयमा बाहिर ननिस्केमा ट्राफिक जाम कम गर्न गर्न सकिनेछ ।

४. एक वा दुई जना बोक्ने प्राइभेट सवारीसाधनलाई चलाउन नदिने

यी दुई दिन कम यात्रु बोक्ने कार र मोटरसाइकललाई चल्न नदिन पनि सकनेछ । एक वा दुई जना मात्रै रहने सवारीसाधनले सडकमा गाडीको सङ्ख्यामात्रै बढाउँछ र जाम बढाउँछ । त्यसकारण त्यो दुई दिन रिङरोड भित्र निश्चित क्षेत्रहरुमा यस्ता सवारीसाधन प्रवेशलाई रोक लगाउन सकिन्छ ।

(पुनश्च : उपत्यकामा दैनिक १० लाख ७६ हजार ३ सय ५० वटा प्राइभेट गाडी चल्ने गरेका छन् । त्यसैगरी उपत्यकामा दैनिक ३९ हजार ५ सय १७ वटा मात्र सार्वजनिक यातायात चल्छ । ट्याक्सीबाहेक उपत्यकामा दैनिक ३२ हजार सवारीसाधनले एक पटकमा ७ लाख ३० हजार २ सय ६७ जना यात्रु बोक्ने क्षमता राख्छ । यस्ता यातायातमा बस, मिनिबस, माइक्रोबस र टेम्पो पर्छन् ।)

५. दुई दिन लिफ्ट माग्नुस्

सीको भ्रमणको समयमा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनसक्छ । त्यसकारण यी दुई दिनमा सकेसम्म लिफ्ट मागेर यात्रा गर्न सकिनेछ । आफ्नो सवारीसाधन नचलाए पनि साथी वा अन्य कोही व्यक्तिसँग लिफ्ट माग्न सकिनेछ । जसले एकातिर ट्राफिक व्यवस्थापनमा सहयोग पुराउँछ भने अर्कोतर्फ मितव्ययिता पनि हुन्छ ।

६. आइतबार विदा दिने

सार्वजनिक विदाको दिनमा सवारीसाधन कम गुड्छन् । सरकारी कार्यालय र संस्थानहरु कम नै खुल्ने भएकाले मानिसहरुको आवतजावत पनि कम हुन्छ । कुनै कुनै निजी संस्थामा पनि सरकारी विदामा विदा दिइने भएकाले आइतबार सार्वजनिक विदा दिँदा सवारी चापमा ४० प्रतिशतले कमी आउँछ र ट्राफिक जाम पनि कम हुन्छ । 

७. जोर बिजोरको चक्करमा नपर्ने

सरकारले यस्तो भ्रमणको समयमा कहिलेकाहीँ जोर बिजोरको नीति पनि लिने गरेको छ । तर यसले समस्याको समाधान गर्दैन । बरु यात्रुमा वितृष्ण र आक्रोश मात्रै बाहिर ल्याउँछ । त्यसकारण जोर बिजोरको चक्करमा नलाग्नुु नै वेश हुन्छ ।

८. चोक चोकमा ब्यानर राखेर जानकारी दिने

चिनियाँ राष्ट्रपतिको भ्रमणको समयमा कुन कुन स्थानमा कति कति समय बाटो बन्द हुने हो, त्यसबारे पहिले नै यात्रु र चालकहरुलाई जानकारी दिनका लागि चोक चोमा ब्यानर राखेर जानकारी दिने । त्यसो भएमा चालक वा यात्रुहरुले पहिलेनै आफ्नो योजना बनाउँछन् र ट्राफिक जाममा फस्नु पर्दैन ।

९. सहायक तथा भित्री बाटोमा पनि ट्राफिक खटाउने

भिभिआइपी सवारीको कारण मुख्य बाटो निश्चित समयका लागि बन्द हुने भएकाले सहायक तथा भित्री बाटोको प्रयोग गर्न लगाउन सकिन्छ । तर मुख्य बाटो बन्द भइ सहायक तथा भित्री बाटो प्रयोग गर्न थालेपछि ती बाटोमा सवारीसाधनको चाप बढ्ने भएकाले ती बाटोमा पनि मोटरसाइकलमा ट्राफिक गस्ती गर्ने तथा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटाउनुपर्छ । त्यसो भएमा सहायक तथा भित्री बाटोमा पनि ट्राफिक जाम हुने सम्भावना कम हुन्छ ।

१०. करिडोर र सहायक बाटोको पार्किङ हटाउने

चिनियाँ राष्ट्रपति सी को भ्रमणको समयमा मुख्य बाटो निश्चित समयका लागि बन्द हुने भएकाले सहायक बाटो तथा करिडोरमा सवारीसाधनको चाप बढ्न पनि सक्छ । त्यसकारण सहायक बाटो र करिडोरको एकतर्फ पार्किङको सुविधा दिइएको भएपनि यस समयमा भने ती बाटोको पार्किङ हटाउने ।

११. सवारी नरोक्ने तर जुन बाटोबाट आएको उतै फर्काउने

राजकीय भ्रमण भएकाले राष्ट्रपति सी को भ्रमणको समयमा करिब एक घण्टा अगाडिबाट नै त्यस क्षेत्रको आवतजावत बन्द हुन्छ । उदाहरणका लागि यदि सी अपरान्ह ३ बजे सोल्टी होटलमा प्रवेश गर्ने हो भने त्यसको एकघण्टा अगाडि अर्थात् अपरान्ह २ बजेदेखि नै कलकंकीबाट कालीमाटीतर्फ आउने बाटो बन्द हुनसक्छ । सी सोल्टी प्रवेश गरेपछि पनि केही समय अझै आवतजावत नहुन पनि सक्छ । त्यसकारण अब कलंकीमै सवारीसाधन रोकेर राख्ने भन्दा पनि जुन बाटो आएको हो त्यतै फर्काइदिने वा वैकल्पिक बाटो प्रयोग गर्न लगाउन सकिन्छ । गाडीको फ्लो निरन्तर भएपछि ट्राफिक जाम पनि कम हुन्छ ।

१२. थोत्रा गाडीलाई चल्न नदिने

सीको भ्रमणको समयमा धेरै वर्ष पुरानो र कण्डिसनमा नभएको सवारीसाधनलाई चल्न नदिने गरेमा पनि ट्राफिक जामलाई कम गर्न सकिनेछ ।

थोत्रा गाडी बाटोमै बिग्रेमा यस्तो समयमा ट्राफिक व्यवस्थापन कमजोर हुने भएकाले त्यो २ दिनलाई यस्ता सवारीसाधन चल्न रोक लगाउन सकिन्छ । जसको कारण ट्राफिक जाम कम गर्न सकिनेछ । ट्राफिक प्रहरीलाई सवारीसाधनको अवस्था कस्तो छ भन्ने सामान्य जानकारी हुने भएकाले पनि ट्राफिक प्रहरीले नै यस्ता सवारीसाधनलाई कन्ट्रोल गर्न सक्नेछन् ।

१३. सुस्त गतिका सवारी चल्न नदिने

ट्राफिक जाम कम गर्नका लागि भ्रमणको दुई दिन सुस्त गतिमा चल्ने सवारीसाधनलाई बन्द गराए पनि ट्राफिक जाममा कमी ल्याउन सकिने छ । ट्याक्टरजस्ता सुस्त गतिमा चल्ने सवारीसाधनका कारण अन्य समग्र सवारीसाधनलाई समस्या पार्ने र त्यसले ट्राफिक जाम गराउन सक्ने भएको भएको कारण यस्ता सवारीसाधनलाई चल्न नदिने ।

१४. आधा घण्टा हिँड्ने

मानिसहरु आफ्ना स्वास्थ्यका कारण बिहान २ घण्टासम्म हिँडडुल गर्छन् । तर कार्यालय जान वा काममा जाने समयमा भने आफ्नै मोटरसाइकल वा कार लिएर हिँड्छन् । तर यी दुई दिन कार्यालय जाँदा पनि करिब आधा घण्टा हिँडिदिने हो भने कोर एरिया (भित्री शहर)को ट्राफिक जाममा कमी ल्याउन सकिन्छ । दुई दिन हिँडेर कार्यालय जाँदा केही फरक नपर्ने भन्दै यी दुई दिन भित्री शहरसम्म हिँडेर जाने हो भने यसले पनि ट्राफिक जाममा कमी ल्याउन सकिनेछ ।

नेपालमा मात्रै होइन, राजकीय भ्रमणको समयमा सबै देशमा ट्राफिकको समस्या हुन्छ । राजधानीको सडक पूर्वाधार राम्रो नभएको कारण यहाँ अझ बढी समस्या देखिन्छ । २३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण हुँदैछ । यातायातको आवगमनलाई सहज बनाउन प्रहरी र प्रशासनले आफ्नो भूमिका निर्वाह गर्ने कुरा छँदैछ । तर, हामी सर्वसाधरणले पनि आधा घण्टाको बाटोमा बडेमानको गाडी र मोटरसाइकल चलाउने बानी २ दिनका लागि त्यागेर विदेशी पाहुनालाई स्वागत गर्न सरकारलाई सहयोग गर्न सक्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीताराम हाछेथु
सीताराम हाछेथु

हाछेथु अवकास प्राप्त प्रहरी निरीक्षक हुन् । हाछेथुले ट्राफिक व्यवस्थापनमा २९ वर्ष काम गरेका छन् ।

लेखकबाट थप