शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सीको स्वागतको लागि तीव्र प्रतिक्षामा छौँं : डा.राजन भट्टराई

बुधबार, २२ असोज २०७६, १५ : ५२
बुधबार, २२ असोज २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक हुने दाबी गरेका छन् ।  बुधबार रिपोर्टर्स क्लबमा यस्तो दाबी गरेका हुन् । उनले भने ,‘ २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुँदैछ । चिनियाँ राष्ट्रपतिको दुई दिने भ्रमण ऐतिहासिक हुनेछ ।’ 

उनले भ्रमणको क्रममा दुई देशबीच केरुङ–काठमाडौं रेलवेसम्बन्धी सम्झौता हुने बताए । २३ वर्षअघिको चीन र २३ वर्षपछिको चीनमा धेरै परिवर्तन आएको भन्दै भट्टराईले अहिले चीनको राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा पनि भूमिका हिजोको भन्दा फरक रहेको बताए ।

उनले भने,‘ विश्वकै दोस्रो शक्तिशाली राष्ट्र हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण लामो समयको प्रतिक्षा थियो ।’ उनले वर्तमान सरकार निर्वाचित भएर आइसकेपछि विदेश सम्बन्ध र उच्चस्तरीय भ्रमण आदानप्रदानमा पनि निकै फड्को मारेको दाबी गरे । 

उनले भने, ‘विगतमा हामीलाई छिमेकीसँग मात्रै भ्रमण केन्द्रित रहेको भनेर आरोप लगाउने गरिएको थियो, । तर यो सरकार आइसकेपछि हामीले युरोपियन मुलुक, दक्षिण पूर्वी एशियाली मुलुकहरुमा पनि सक्रियताका साथ सम्बन्धअघि बढायौं ।’ 

कुटनीति र आर्थिक क्षेत्रमा नेपालको परराष्ट्र नीति सुदृढ रहेको र सोहीअनुसार सफलता हाँसिल गरेको पनि उनको दाबी छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमाण राजकीय महत्व बोकेको भ्रमण भएकोले यसले दुई देशबीच विश्वासको वातावरण बनाउने पनि उनको भनाइ छ । 

यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको र नेपालको राष्ट्रपतिको निम्तो स्वीकारेर चिनियाँ राष्ट्रपति आउन लागेको बताउँदै भट्टराईले अहिले नेपाल र चीनबीच उच्चस्रतीय संवाद निरन्तर भैरहेको स्पष्ट पारे । 

नेपाल र चीन दुवै स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक भएको र द्धिपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको उनको भनाई छ । उनले भने,‘अब झन हामीबीचको सम्बन्धको गतिमा फड्को मारिन्छ, सम्बन्धमा नयाँ अध्याय थपिनेछ ।’

सन् २०११ मा चिनियाँ राष्ट्रपतिले तिब्बतको भ्रमण गरेको स्मरण गर्दै त्यसयता तिब्बतको विकास धेरै गुणात्मक रुपमाअघि बढेको उनले सुनाए ।  उनले भने, ‘तिब्बत हिजोजस्तो टनेलको अवस्थामा छैन्, आज सडक, रेलवे, सञ्चार, विद्युत र बजारको विकास भएको छ ।’  चिनियाँ राष्ट्रपतिले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए । 

उनले चिनियाँ राष्ट्रपतिको स्वागतको लागि आफूहरु तीव्र प्रतिक्षामा रहेको बताए । उनको भ्रमणमा नेपाली जनताले अत्यन्तै ठूलो सद्भाव र सत्कार दिने भट्टराईको विश्वास छ । भट्टराईले चिनियाँ राष्ट्रपति आउने दिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही घण्टाको लागि मात्रै अवरुद्ध हुने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप