शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक परदेशी २० वर्षपछि  घरमा दसैँ मान्न आउँदा...

बुधबार, २२ असोज २०७६, ०९ : ०७
बुधबार, २२ असोज २०७६

बुटवल ।  ‘यसपालि त यस्तै भो आमा अर्को साल आउने छु दसैँमा...।’  जनवादी गायक जीवन शर्माको यस्तो बोलको गीत गुनगुनाउँदै विदेशमा दसैँ मनाएको पनि १९ बर्ष भएछ गुल्मी मुसिकोटका कुलबहादुर कार्कीले । युरोपको बेल्जियमबाट फोनमा खुसी साट्दै भन्दै थिए,  ‘यसपाली २० बर्षपछि घरमा दसैँ मनाउन आउँदैछु । ’
 

   त्यही गीत स्मरण गर्दै कार्कीले भनेका थिए, ‘मनाउन त यहाँ (बेल्जियम) मा रहेका परिवारसँग दसैँ त हरेक बर्ष मनाइयो तर जति रमाउन खोजे पनि मनमा एकदमै नरमाइलो लाग्थ्यो,  घरमा छँदा राती तीन चार बजे नै उठेर मुसिकोट कोटमा  हिँडेको  र  मैदानमा   रहेको  त्यो पिपलको बोटमा चर्खेपिङ  खेलेको  सम्झनाले मुटु भक्कानिन्थ्यो जेहोस् अहिले घर छोडेको २० बर्ष पछि दसैँ मनाउन घर आउन पाउँदा खुसी लागेको छ । ’

   मुसिकोट नगरपालिका वडा नम्वर ३  साविक बडागाउँ गाविसको कुवापानी गाउँका ५० बर्षीय कार्की  १८ , १९ बर्षको उमेर देखि भारत हुँदै  देश विदेशको यात्रा गरेको बताउँछन् । अघि पछि त घरमा आवत जावत भइनै रहन्थ्यो तर दसैँ मान्ने मौका यसपालि २० बर्ष पछि मिलेको छ, उनले भने, ‘मलाई मुसीकोट कोटमा पुगेर बाल्यपनका साथीसंगी, इस्टमित्र र आफन्तजनलाई कति बेला भेटुँजस्तो लागेको छ । ’
 वेज्लियमस्थित गुल्मी सेवा समाजको अध्यक्ष र  क्षेत्री समाजको वरिष्ठ उपाध्यक्ष हुन् उनी । 

वेल्जियममा  रहेर  तीज , दसैँ तिहार लगायतका चाड पर्व र नेपाली धर्म संस्कृतिको  संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएका कार्कीले  गाउँको पृथ्वी माध्यामिक विद्यालयलाई पनि सहयोग गरेका छन् ।  हस्तीचौर हर्पुकोटमा रहेको हिमालय माध्यामिक विद्यालयलाई पनि सहयोग गरेका उनी दजाकोटको आगालागी पीडितदेखि विपदमा परेका नेपालीहरुको उद्धारमा समेत जुट्दै आएका छन् ।

२० वर्षपछि दसैँ मान्न घर आएका उनले पिँढीमा बसेर टीकाटालो गर्दै आशीर्वाद लिनदिन भने पाएनन् । आफू विदेशबाट हिँडेनकै दिन दाजु शिवकुमार कार्कीको ५७ बर्षको उमेरमा निधन हुन पुगेको उनले सुनाए । 
   स–परिवार २० बर्ष पछि दसैँ मनाउन आएका कार्की परिवार यति बेला शोकमा छ । उनले भने, ‘के गर्ने यस्तै भयो, दसैँको कोटमा  जाने, सपरिवार एकसाथ टीका थाप्ने  धोको यसपालि पनि जुरेन ।’


 यता गुल्मी घर भइ बेलायती सेनाका अवकास प्राप्त  सैनिक तथा हाल  बेलायमा रहेर नेपालको नौमति  बजाको प्रचार अभियानमा तथा गुल्मी युके समाजका संस्थापक ओमप्रसाद थापा काउछाले  आफूले घरमा दशै मनाउन नपाएको १० बर्ष भन्दा बढी नभएको बताए । 

   उनले गाउँमा दशै मनाउँदाको आनन्द र खुसीयाली नै बेग्लै हुने  अनुभुति सुनाउँदै  त्यहाँ मनाएको दसैँले खासै नछुने बताए । 

गुल्मी न्युज डटकमका सञ्चालक सञ्जु काउछाले पनि आफूले गुल्मीको मजुवा स्थित घरमा दशैँ नमनाएको १० बर्ष जति भएको बताए । यी त प्रतिनिधि पात्रमा मात्रै हुन् । विभिन्न कारणले प्रवासमा व्यस्त रहँदा दसैँ मान्न नेपाल आउन नपाएका धेरै छन् । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप