शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायीको दसैँ : पूजाआजादेखि पारिवारिक भेटघाट र रमाइलोसम्म

मङ्गलबार, २१ असोज २०७६, २१ : १०
मङ्गलबार, २१ असोज २०७६

काठमाडौं । नेपालीहरुको महान पर्व दसैँ । पारिवारिक जमघट हुने, मिठोमसिनो खाने, राम्रो लगाउने, रमाइलो गर्ने र एकअर्कामा सुखदुःख साटासाट गर्ने उत्सवको रुपमा लिइन्छ दसैँलाई । यो समय कामका लागि मुग्लान पसेका र काम विशेषले सहर छिरेकाहरु समेत दसैँ सम्झेर आफ्नै गाउँ फर्कन्छन् । गाउँमा लिङ्गो गाड्ने, बाबियो काटेर डोरी बाट्ने र पिङ हालेर मच्चिनुको मजा नै बेग्लै हुन्छ । 

चोकचोकमा लङ्गुर बुर्जा हान्ने, घर आँगनमा कौडा हान्ने र तासको खालमा मजा लिनेहरुको समेत कमी हुँदैन । साना बालबालिका लागि दसैँ साँच्चिकै दसैँ बनेर आएको हुन्छ । ऋतुले पनि मौसमलाई थप हराभरा बनाएर उल्लासमय बनाइदिएको हुन्छ । यस्तो समयमा को खुशी नहोला र ?

उमंगको चाड दसैँलाई सबैले आ–आफ्नै तरिकाले मनाइरहेका छन् । आर्थिक अवस्था सबल हुनेहरुले धुमधामले मनाउछन् त नहुनेहरुले आफ्नै गच्छे अनुसार दसैँ मनाउँछन् ।

अझ पहिलेपहिले त दसैँलाई नै मिठो मसिनो खाने र राम्रो लाउने अवसरको रुपमा हेर्ने गरिन्थ्यो । र, दसैँकै प्रतिक्षा हुन्थ्यो । तर अहिले परिस्थिति बदलिएको छ । समयसँगै आएको अधुनिकता र त्यसले ल्याएको परिवर्तनले दसैँको महत्वमा केही फरकपना आएको छ । पहिले जस्तो खान लाउन र रमाइलो गर्न अहिले दसैँ नै कुनुपर्ने अवस्था छैन । यी त आजभोलि दैनिक जस्तै हुन्छन् । बरु आजभोलि अभाव छ त केवल समयको । पहिले पहिले हामीसँग पर्याप्त समय हुन्थ्यो तर पैसा हुन्थेन, अहिले पैसा छ तर समय छैन । यस्तो व्यस्त दैनिकीमा अझ व्यस्त रहने उद्योगी व्यवसायीहरुको दसैँ कस्तो होला ? कसरी दसैँ मनाउँदै होलान् दसैँ ?
 

यस्तो छ, व्यवसायीको दसैँ योजनाः

‘दसैँले मानिसलाई सुद्ध मनोभावले दिन सिकाउँछ ’ : डा. उपेन्द्र महतो

उद्योगी तथा व्यवसायी उपेन्द्र महतोको लागि दसैँ पारिवारिक सद्भावको चाड हो । मधेसमा जन्मे हुर्केका डा. महतो काठमाडौंमा बस्न थालेपछि मात्रै दसैँ मनाउन सिकेको बताउँछन् । दसैँले मानिसमा सकारात्मक ऊर्जा दिने भएकाले पनि उनलाई विशेष लाग्छ । 

‘यो वर्ष बच्चाहरुको छुट्टी मिलेन, त्यसैले अलि खल्लो लागिरहेको छ । रुसमा रहँदा नेपालमै जस्तो गरी स–परिवार दसैँ मनाउने गरिन्थ्यो । अहिले ७–८ वर्ष भयो नेपालमै दसैँ मनाउन थालेको पनि । तीन सन्तान तीनतिर: भारत, लण्डन र स्वीजरल्यान्डमा छन् । सधैँ छोराछोरी टीका थाप्न घर आउँथे तर यसपालि हामी छोराछोरीलाई टीका लगाइदिन उतै जाने योजना बनाएका छौँ । दशमीसम्म नेपालमै मनाउने र त्यसपछि उनीहरुलाई टीका लगाइदिन उतै जान्छौं ।

हामी दसैँभरी पूजा गर्छौँ । मेरी श्रीमती एक छाक फल मात्र सेवन गर्ने र एक छाक शाकाहारी खाना खान्छिन् । यो नवरात्रको व्रत हो । परिवारका कुनै पनि सदस्यले दसैँभरी मासु खाँदैनौँ । हाम्रोमा बली दिने चलन पनि छैन । बली दिनु राम्रो लाग्दैन मलाई ।

दसैँको विशेष महत्त्व टीकामा छ । टीकाले सामाजिक सद्भाव बढाउने मात्रै होइन कि परिवारमा एक आपसमा आशीर्वाद लिने र दिने साथै माया साटासाट गर्ने अवसर पनि सिर्जना गरिदिन्छ । अर्को कुरा टीका लगाएर आशीर्वादसँगै दिने दक्षिणा आत्माबाट सुद्ध मनोभावले दिने भएकाले यो विशेष लाग्छ । यो भौतिक संसार लोभलालचले भरिएको छ । तर टीकाको दिन कुनैपनि लोभ लालचबिना लिने र दिने गरिन्छ । अझ हामी नेपाली दिनभन्दा पनि लिन अघि सर्छौँ तर यो दिन हामी सुद्ध मनले दिन्छौं । हुन त दक्षिणा व्यक्तिलाई दिइन्छ तर यसको प्रभाव समाजमा पर्ने भएकाले यो सामाजिक दान पनि हो । यसलाई निकै सकारात्मक रुपमा लिने गरेको छु ।

१९८२ तिरको कुरा हो, त्यो वेला मधेसमा टीका लगाउने चलन नभए पनि हामीले काठमाडौं बस्न थालेपछि टीका लगाउन थालेका थियौँ । मलाई मेरो हजुरआमाले टीका लगाएर दिनुभएको पैसा कहिल्यै खर्च गरिनँ । यो पैसा मेरो लागि आशीर्वाद मात्रै होइन मेरो आत्मविश्वास पनि थियो । र, त्यो दक्षिणा मेरो सुरक्षा कवच थियो, जसले गर्दा आज मलाई यो अवस्थासम्म पुर्‍याएको छ ।’

‘दसैँमा विशेष पूजाआजामा व्यस्त हुन्छु ’ : पवनकुमार गोल्यान

नेपालका प्रतिष्ठित व्यवसायिक घरानामध्येको एक हो गोल्यान समूह । गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यान दसैँलाई पारिवारिक सद्भावका रुपमा लिन्छन् । अध्यक्ष गोल्यानको यस वर्षको दसैँ परिवारका साथ विशेष पूजाआजामै बित्नेछ ।

‘हामी शाकाहारी हौं । हाम्रोमा मारकाट हुँदैन । त्यसैले, पनि विशुद्ध शाकाहारी परिकार घरमा पाक्छ । पारिवारिक सद्भाव, मेलमिलाप र प्रतिष्ठाको चाड भएकाले म पनि पारिवारका साथ दसैँ मनाउँछु । यो वर्ष पनि सधैंको जस्तै पूजाआजा विशेष हुन्छ । अष्टमीको दिन विशेष पूजा भयो । ८ जना कन्यालाई पूजा गरेर खाना खुवाउने चलन हाम्रोमा छ । यो वर्ष पनि यही परम्परालाई निरन्तरता दिएका छौँ । नवमीको दिन हवन हुन्छ । दशमीको दिन विशेष टीका लगाइन्छ । मेरो परिवार संयुक्त परिवार भएकाले पनि रमाइलो छ । दसैँमा लामो छुट्टी हुने भएकाले पहिला कहिलेकाहीँ घुम्न जाने गरिन्थ्यो तर यो वर्ष कतै नजाने र घरमै दसैँ मनाउने योजना छ । सँधै काममा व्यस्त रहनुपर्ने भएकाले यो केही दिन परिवार, आफन्त, साथीभाइ अनि भगवानको आराधनामा पनि समय छुट्याउने सोच बनाएको छु ।’  

‘उत्साह र उमंगको चाडं दसैँ हर्षोल्लासका साथ पारीवारिक वातावरणमा मनाउने हो’: अञ्जन कुमार श्रेष्ठ

Photo Source: https://kathmandupost.com

लक्ष्मी ग्रुपका अञ्जन कुमार श्रेष्ठ गत वर्षहरुमा जस्तै यस वर्षको वडा दसैँ पनि पूर्णतः पारिवारिक वातावरणमा रमाइलो गरेर मनाउने बताउँछन् । पुर्ख्यौली घर पोखरामा सब दाजुभाइ दिदीबहिनी जम्मा भएर रमाइलो गर्ने उनको योजना छ । 

“पेसाले व्यवसायी भएपनि दसैँ जस्तो चाडमा कुनै खालको व्यवसायिक गन्ध आउँदैन । विशुद्ध पारिवारिक जमघटमा रमाइलो गर्ने हो । पुर्ख्यौली घर पोखरा गइन्छ र त्यहीँ दसैँ मनाइन्छ । हिन्दुहरुको महान चाड वडा दसैँमा नवदुर्गाको पूजा आराधना गरिने हुँदा विशेष पूजा पाठमा मेरो पनि समय बित्ने छ । बाँकी परिवारसँग बस्ने, खाने र रमाइलो गर्ने नै हो । खानपानमा भने म शुद्ध शाकाहारी भएकाले माछा मासु चल्दैन, सबै शाकाहारी भोजन गरिन्छ । दाजुभाइ दिदी बहिनीले आलोपालो गरेर पकाउने खुवाउने गरिन्छ । दसैँमा रमाइलोकै लागि दाजुभाइ बसेर सामान्य तास खेल्नेदेखि हल्का ड्रिङ्क्स गरिन्छ । अरु त सामान्य रमाइलो नै हो ।

दसैँको वास्तविक रमाइलो र उमंग त बच्चा बेलाकै हो । जति रमाइलो बाल्यकालमाक़ हुन्थ्यो त्यो रमालोपन अहिले कमै हुन्छ । दसैँमा चङ्गा उडाउने, पिंङ्ग खेल्ने र दक्षिणाकै लागि टीका थाप्न कुद्ने त्यो रमाइलो बालापन अहिले छैन । अहिले त पहिला परिवारजनलाई रमाइलो गराउनु पर्छ ।”

‘साँच्चैको दसैँको रमाइलो  बाल्यकालकै हो’: दीपक मल्होत्रा

व्यवसायी दीपक मल्होत्रा बास्तविक दसैँको रमाइलो बाल्यकाललाई लिन्छन् । ठूलो भएपछि र व्यवहारिक भएपछि भने, जिम्मेवारीबोधका कारण पहिला अरुको दसैँ र पछि आफ्नो दसैँ मनाउनुपर्ने उनको भनाइ छ । 

“म काठमाडौंको आदिवासी । सानैदेखि काठमाडौंमै दसैँ, तिहार लगायतका चाडवाड मनाउँदै आइरहेको छु । हिन्दु धर्मावलम्बीहरुको महान चाड दसैँलाई अझ विशेष गरी मनाइन्छ । मिठो खाने, राम्रो लाउने र रमाइलो गर्ने चाड परिवारसँगै मनाउदा अझ रमाइलो हुन्छ । त्यसैले गत वर्षहरुमा जस्तै यस वर्ष पनि दसैँ परिवारसँगै मनाएको छु । 

शुक्रबारसम्म व्यवसायमा नै व्यस्त रहेँ । शनिबारदेखि मंगलबारसम्म भने पूर्णरुपमा पारिवारिक वातावरणमा दसैँ मनाइयो । घरको र व्यवसाय दुबैको अभिभावक भएकाले पहिले अरुको दसैँ मनाउने र पछि मात्र आफूले मनाउने जिम्मेवारी छ । त्यसै गर्छु । 

खानपानमा यस्तो उस्तो भन्ने छैन । माछा मासु सबै खान्छु । ड्रिङ्क्स भने गर्दिनँ । साथीभाइसँग मिलेर तास भने खेलिन्छ । म सानै देखि चङ्गाको साैखिन हुँ । त्यसैले अहिलेको मेरो निवास सिल्बर सिटीको १७औं तलामाथि गएर साथीभाइसँग चङ्गा उडाउने र रमाइलो गर्ने योजना छ ।” 

‘यसपालिको दसैँ राजधानीमै मनाउने हो’: कमलेस अग्रवाल

२०७६ सालको दसैँ नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेस अग्रवालले राजधानी काठमाडौंमै मनाएका छन् । गत वर्ष काम विशेष देश बाहिर जान परेकाले मनाउन नपाएपनि यस वर्ष भने आफ्नै देशमा दसैँ मनाएको उनको भनाइ छ ।

“हिन्दु धर्मावलम्बीहरुको महान चाड दसैँ हाम्रो विशेष चाड हो । यो चाडलाई हामी विशेष तरिकाले नै मनाउने गर्छौं । परिवारजनसँग बसेर मिठो मसिनो खाने, राम्रो लाउने र आपसी भावना साटासाट गर्ने उत्सवको चाडको रुपमा दसैँलाई लिइन्छ । मेरो पुर्ख्यौली घर धरान हो । अहिले पनि त्यहाँ भाइहरु छन् । तर हामी दसैँ यतै काठमाडौंमा मनाउँछौं । 

व्यवसाय सबै बन्द भएको हुन्छ । दसैँका बेला काठमाडौंमा रहेका शक्तिपीठ देवीका मन्दिरहरुमा गयौँ । शाकाहारी परिवार भएकाले माछामासु चल्दैन । पहिले पहिले दसैँका बेला चङ्गा उडाउन औधी मन पर्थ्यो । तर अहिले उडाइँदैन । जुवा तास पनि खेलिँदैन । साथीभाइ मिल्यो भने हल्का ड्रिङ्क्स गरिन्छ । शुद्ध शाकाहारी भोजन र पारीवारिक जमघटमै दसैँ मनाउने हो ।” 

परिवारसँग रमाइलो : राजेश गिरी

सिप्रदी ट्रेडिङ्गका उपाध्यक्ष राजेश गिरी परम्परागत रुपमा परिवारसँग रमाइलो गरेर दसैँ मनाउने र समय मिलाएर ग्राहक सेवामा समर्पित हुने बताउँछन् । 

“वर्षमा एकपटक मनाउने नेपालको राष्ट्रिय चाडको गरिमा बोकेको विजयादशमी सधैंजसो आफ्नो परिवारसँग मनाएको छु । घरको मूल टीका लगाएर मामाघर, सुसुराली, दिदी-दाजु तथा अन्य मान्यजनकोमा विजयादशमीको टीका, जमरा र शुभाशीष लिन सपरिवार पुग्ने गर्दछु । सपरिवारको साथ ठूला बडा, आफन्त तथा मान्यजनहरुसँगको रमाइलो माहोलमै बित्ने छ । त्यसका साथसाथै ग्राहकसेवा मै समर्पित भएको हुँदा, हरेक वर्ष झैं दसैँको बिदामा पनि हामी नेपाल अधिराज्यभरीको ४६ वटा वर्कशपबाट विशेष टाटाको गाडीहरुका लागि सेवा प्रदान गर्दैछौं ।

साकाहारी भोजन गरेर पारिवारिक माहोलमा दसैँ : उमेश प्रसाद सिंह

उद्यमी तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह शुद्ध शाकाहारी भोजन खाएर पारीवारिक वातावरणमा नै दसैँ मनाउने बताउछन् । अधिकांश समय व्यवसायिक भेटघाटमा व्यस्त रहे तापनि दसैँका दिन भने परिवारसँगै रमाउने गरेको उनको भनाइ छ ।

“यसपालिको दसैँमा त्यति धेरै कामकाज र योजनाहरु त छैनन् तर सामान्य व्यवसायीक भेटघाटबाहेक पूर्ण समय परिवारसँगै रहेको छु । सप्तमीको दिन जनकपुर घर आएँ । जनकपुरमा रहेको विशेष मन्दिर राजदेवी मन्दिरमा अष्टमीको दिन ठूलो बली दिइन्छ । महाबलीको कुम्भ मेला भनेर गढिमाईलाई मेलालाई मान्ने गरिन्छ तर त्यो भन्दा पनि ठूलो बली अष्टमीका दिन राजदेवीमा दिइन्छ । यहाँ एक्कै दिन झण्डै २० हजारको हारहारीमा पशुबली दिइन्छ । तर यहा खसी, बोका र परेवा मात्र बली दिने चलन छ । म बैष्णव भए तापनि मन्दिर संचाल तथा व्यवस्थापन समितिको सदस्य भएकोले यस कार्यक्रममा मेरो पनि उपस्थिति रहन्छ । तर माछामासु भने खादिनँ । दसैँमा शुद्ध शाकाहारी भोजन गर्ने हो । शाकाहारीमा ५६ व्यञ्जन भन्ने गरिन्छ । जति सकिन्छ त्यसलाई मिलाएर भोजन गर्ने हो । त्यो पनि पूर्ण पारीवारिक माहोलमा ।”

‘यसपालिको दसैँ व्यवसाय सँगसँगै’: नवराज दाहाल

पर्यटन व्यवसायी तथा टानका पूर्व अध्यक्ष नवराज दाहाल दसैँका बेला ठ्याक्कै पर्यटन मौसम पर्ने हुँदा व्यवसायमा नै व्यस्त रहेको बताउँछन् । काममा व्यस्त रहेपनि समय मिलाएर कामसँगै आफ्ना कर्मचारी साथीहरुसँग रमाइलो गर्दै दसैँ मनाइरहेको उनको भनाइ छ ।

“दसैँको रौंनक त हुन्छ नि । तर आफ्नो काम व्यवसायलाई पनि हेर्नु पर्‍यो । पर्यटन सिजन भनेकै अक्टुवर–नोभेम्बर हो । यो समयमा पर्यटक बढी आउँछन् र यही समयमा दसैँ पर्छ ।

दसैँ भनेको सानो बेलाका लागि उत्साह र उमंग रहेछ । पछि त त्यस्तै हो सबै कुरा मिलाउँदा, अरुको चित्त बुझाउँदा र आफ्नो भविष्य हेर्दैमा जाँदोरहेछ । तर दसैँ मनाउँदै नमनाउने भन्ने होइन । काममै रहेर पनि दसैँ मनाइन्छ । तर फरक तरिकाले । गत वर्षहरुमा जस्तै यस वर्ष पनि व्यवसायमै व्यस्त भइने हुँदा कार्यलयमै कर्मचारी साथीहरुसँग रमाइलो गर्दै दसैँ मनाएको छु ।’’

‘पारिवारिक खानपान र रमाइलोमा दसैँ मनाइन्छ’: क्याप्टेन रामेश्वर थापा

सिम्रिक एयरका संचालक रामेश्वर थापा यस वर्षको दसैँ पारिवारिक वातावरणमा खानपीन र रमालोमा बितेको बताउँछन् । 

“दसैँ हो रमाइलो त गर्नै पर्‍यो । यसपालिको दसैँ काभ्रेको पुर्ख्यौली घरमा परिवारसँग बसेर मनाएको छु । दसैँ भएकाले व्यवसायिकता छाडी रमाइलो गरिन्छ । हल्का ड्रिङ्क्स गरिन्छ र साथीभाइसँग बसेर तास पनि खेलिन्छ। अरु त पारिवारिक भेटघाट नै हो ।” 

‘दसैँ त परिवारसँगै’: रमेश पराजुली

युवा व्यवसायी रमेश पराजुली यसपालिको दसैँ पारिवारिक वातावरणमै मनाएको बताउँछन् । वर्षमा एक चोटी आउने ठूलो चाड परिवारसँगै मनाउनु पर्ने उनको तर्क छ ।

“हामी हिन्दु धर्मालम्बी । दसैँ हाम्रो संस्कृति हो । हाम्रो पहिचान हो । यसलाई हामीले हर्सोल्लासका साथ मनाउनुपर्छ । बाहिर गएकाहरु समेत दसैँ सम्झेर नेपाल फर्कने गर्छन् । साथीभाइ, इष्ट–मित्र र परिवारजनसँग रमाइलो गर्नु र एक अर्कामा भावना साटासाट गर्नुको मजानै बेग्लै छ । त्यसैले मत भन्छु अरु बेला जो जहाँ भए तापनि दसैँमा भने पारीवारिक जमघटमै मनाउनु पर्छ । मैले पनि त्यसै गरेको छु । अरु बेला आफ्नो कामकाज, व्यापार व्यवसायमा व्यस्त रहे तापनि दसैँ भने हरेक वर्ष परिवारसँगै मनाउँदै आइरहेको छु । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप