मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दश सांसदको दसैँ : पिएचडीको तयारी देखि मतदातालाई रिझाउनेसम्म

मङ्गलबार, २१ असोज २०७६, १६ : १९
मङ्गलबार, २१ असोज २०७६

सबैतिर दसैँको उल्लास सुरु भएको छ । संघीय संसदका सदस्यहरुपनि दसैँ मनाउन जुटेका छन् । पशुपतिको जात्रा सिद्राको व्यापार भनेझै सांसदहरुले भने दसैँ मनाउदैं आफ्ना कार्यकता, मतदाता भेट्ने अवसरका रुपमा दसैँलाई लिएका छन् । धेरैजसो सांसदहरुले दसैँ मनाउँदै मतदाता भेट्न घरदैलो गर्ने योजना समेत बनाएका छन् । यतिबेला संसद समेत स्थगित भएको र आँउदो मंसिरपछि मात्र सुचारु हुने भएकोले दसैँ तिहारको बिचको समयलाई उनीहरुले घरदैलो गर्ने योजना बनाएका छन् ।

हामीले संघीय संसदका दश जना सांसदहरुलाई उनीहरुले कसरी दसैँ मनाउदैँछन् भनेर प्रतिक्रिया लिएका छौँ । केही सांसदहरुको परिवारका सदस्य बितेका कारण औपचारिक रुपमा दसैँ नमनाउने भएका छन्, उनीहरु बढीजसो कार्यकर्ता तथा मतदाता भेटघाट गर्ने योजनामा छन् ।

अतहर कमाल मुसलमान : मतदाताहरु कार्यकर्ताहरु भेटघाट गर्ने

नेपाली कांग्रेसका सांसद अतहर कुमाल मुसलमान यो दसैँमा निकै व्यस्त हुँदैछन् । उनी मुस्लिम धर्मावली भएपनि दसैँका बेला दुर्गा पूजाहरुमा सहभागी हुन्छन् । गाउँमा हुने शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने उनको योजना छ । स्थानीय तहमा भइरहेका विकास निर्माणका कामहरुको अवलोकन गर्ने, मतदाताहरु कार्यकर्ताहरु भेटघाट गर्ने उनले योजना बनाएका छन् ।

दिलेन्द्र प्रसाद बडु : गृहजिल्ला जाने

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बढुको यो बर्षको दसैँ खल्लो भएको छ । गत महिना आफ्नी बहिनीको मृत्यु भएपछि उनको परिवार अहिले शोकमा छ । महेन्द्रनगरको घरमा जमरा राख्न नहुने भएकोले छोराछोरीले मन्दिरमा टीका लगाउन मिल्ने उनले बताए । साथीभाईसँग भेटघाट गर्ने, शुभकामना आदान प्रदानमा सहभागी हुने, समाचार पढ्ने योजना रहेको बताए । उनले दसैँ तिहारको बिचमा आफ्नो गृहजिल्ला दार्चुला जाने र राजनीति गतिबिधिमा सहभागी हुने योजना बनाएका छन् ।

बिजय सुब्बा : दसैँमा बाउआमाको खुट्टा सम्झन्छु

नेकपाका सांसद बिजय सुब्बा दसैँ मनाउँन १८ गते झापा जाँदैछन् । बर्षदिनमा परिवारका सबैजना भेला भएर रमाइलो गर्ने योजना रहेको उनले  बताए । झापामा उनको ठूलो परिवार छ । झापामा दाजुभाउजु छन् भने भाई बुहारी तेह्रथुममा छन् । परिवारका सदस्यहरु, छिमेकीहरुसँग भेटघाट गर्ने, कार्यकर्ताले गरेको भेटघाट कार्यक्रममा सहभागी हुने, शुभकामना आदान प्रदान प्रदान कार्यक्रममा सहभागी हुने उनले बताए ।

दसैँमा उनको घुम्ने योजना भने छैन । झोलामा मन परेका दुई तिनवट पुस्तक बोक्ने र फुर्सदको बेला पढ्ने उनले बताए । बर्षदिनमा आउने दसैँमा पारिवारिक भेटघाट गरेर उल्लासपूर्ण रुपमा मनाउने बताउदै उनले दसैँका बेला बाआमाको खुट्टा सम्झने बताए । लिम्बु जातीमा अघिपछि बाउआमाको खुट्टा ढोग्ने चलन नभएपनि दसैँका बेला भने खुट्टामा निधार छोएर ढोग्ने चलन रहेको बताए । अहिले बाआमा बितिसकेकोले दसैँको टीकाको दिन बाआमाको खुट्टा ढोगेको कुरालाई याद गर्ने बताए ।

निरुदेवी पाल : जनताका समस्याहरु बुझ्ने

सांसद निरुदेवि पाल अहिले कञ्चनपुरमा छिन् । उनको परिवारमा जुठो परेकोले उनी कार्यकर्ता भेटघाट, शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भइरहेकी छिन् । गाउँ गाउँ वडा वडामा जाने, जनताका समस्याहरु के के छन् बुझ्ने उनले बताइन् । दसैँको समय जनतासँग भेट्ने महत्वपूर्ण अवसर भएकोले जनताका घर घरमा पुगेर शुभकामना दिने उनको योजना छ । परिवारमा जेठाजुको निधन भएकोले टीका लगाउने नभएपनि आफन्त परिवार र कार्यकर्ता भेटघाट गरेर दसैँ मनाउने उनले बताईन ।

झपड रावल : मतदाताको घरदैलो, ससुराली र मुस्ताङ जाने

नेकपाका अर्का सांसद झपड रावल दसैँ सुरु हुनुअघि नै गृहजिल्ला पुगेर घरदैलो गरिरहेका छन् । कैलालीको लम्कीचुहा घर भएका उनी आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका कार्यक्रमहरुमा व्यस्त छन् । सदन सकिएपछि आफू जिल्लामा आएको बताउदै उनले पार्टीको काममा निकै व्यस्त भएकोले पार्टीका कामका बिचमा दसैँ मनाउने बताए । पालिका स्तरीय पार्टी कमिटीको सपथग्रहण कार्यक्रम रहेको, दसैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रम रहेको उनले बताए । उनको काकीको निधन भएका कारण घरमा दसैँ कसरी मनाउने आफूले बुझ्न बाँकी रहेको बताए । उनले भने, भोली घरमा जान्छु घरको योजना अनुसार दसैँ मनाउँछु । घरमा दाजुभाउजु, माइलीआमा, कान्छीआमा सबै भेला भएर दसैँ मनाउने बताए ।

दसैँमा ससुरालीघर पोखरा जाने र मुस्तांग घुम्ने पनि योजना बनाएका छन् । अघिल्लो बर्ष छोराछोरीलाई नालापानी घुमाएका उनले यो बर्ष पिथौडागढ, कुमाउ गढवाल घुमाउने बिचार गरेका छन् । सांसद रावलको यो बर्षको दसैँ राजनीतिक गतिबिधी र भ्रमण गर्दै बित्दैछ ।

शेर बहादुर तामांग : पिएचडी सकाउन व्यस्थ

नेकपाका सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामांगको यो वर्षको दसैँको समय भने फरक ढंगले बित्दैछ । ससुरालीतर्फ सासुआमा बितेकोले यो वर्ष उनले टीका लगाउने र घुमघाम गर्ने योजना बनाएका छैनन् । मानवशास्त्र अन्र्तगत नेपालको परम्परागत कृृषिप्रणाली र त्यसको जनजिविकामा प्रभाव विषयमा पिएचडीका लागि शोधकार्य गरिरहेका उनी अध्ययन अनुसन्धानमा जुट्ने भएका छन् । आधा काम सकाएका तामागंले पिएचडीको तयारीमा यस बर्षको दसैँ बित्ने बताए ।

अघिल्ला वर्षहरुमा दसैँ मनाउनका लागि उनी खोटाङ जाने गरेका थिए । १५ दिन बिदा मनाउन खोटांग गएजस्तै हुन्थ्यो । उनले भने सासुआमा बितेपछि यसपाली अध्ययनमै समय बिताउँछु । अर्को बर्षसम्म पिएचडी सक्ने योजना छ ।

गाँउमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा पनि सहभागी भएर आइसकेको उनले बताए ।

रंगमति शाही : सदन नचलुञ्जेल गाँउ घुम्छु

नेपाली कांग्रेस हुम्लाकी सांसद रंगमती शाही दसैँको टीका लगाउन नेपालगञ्ज स्थित घरमा जाँदैछिन् । दसैँलगतै हुम्ला गएर सदन नचलुञ्जेल गाउँ घुम्ने उनले बताईन् । झन्डै डेढ महिना गाउँ घुम्ने योजना रहेको बताउँदै मतदातासँग सुख दुःख बाढँने उनको योजना छ ।

उनको चौविस पच्चिस जनाको ठूलो परिवार छ । भाई बुहारी भने हुम्लामा छन् । ठूलो परिवारमा दसैँ रमाइलो हुने उनले बताईन् । गाउँमा गएर दसैँ मनाउने बिचार गरेपनि स्वास्थ्य समस्याका कारण जान नसकेको उनले बताइन् ।

रामेश्वर प्रसाद यादव : सिंचाईका योजनाबारे छलफल गर्ने

सर्लाही क्षेत्र नं. ३ का सांसद रामेश्वर प्रसाद यादवले दसैँका बेलामा आफ्नो निर्वाचन क्षेत्रका हरेक वडा वडामा गएर मतदाताहरुसँग भेट्ने र सांसद विकास कोषको रकमबाट काम गर्नका लागि विकासका लागि योजना बनाउने तयारी गरेका छन् । उनले सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपाल नारालाई सार्थक बनाउन सिंचाईका योजना बनाउनेबारे छलफल गर्ने बताए ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा खानेपानीको समस्या भएका कारण घर घरमा पानीको धारा पुर्याउन योजना बनाउने र त्यसको कार्यान्वयनका लागि पूर्वाधार तयार गर्ने उनले सुनाए ।

दसैँमा तराईमा टीका लगाउने चलन नभएकोले दुर्गा पूजा महोत्सवहरुमा सहभागी हुने, शुभकामना आदानप्रदानको कार्यक्रममा सहभागी हुने उनले बताए ।

विमला विक : विकासका योजनाको जानकारी दिन्छु

बर्दियाकी सांसद विमला विक अहिले आफ्नो निर्वाचन क्षेत्रमा छिन् । स्थानीय सरकारले गरेका सार्वजनिक कार्यक्रममा सहभागी भइरहेको र विकासका कामहरु अवलोकन गरिरहेको उलने सुनाइन् ।

परिवारमा जुठो परेका कारण यसबर्ष टीका नलगाउने उनले बताइन् । उनले भनिन्, यसपाली आफन्त बितेका कारण टीका हुँदैन । घर परिवार आफन्त भेट्छु । पार्टीको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भइरहेको छु । पार्टीका साथीहरुसँग भेटघाट गरिरहेको छु, बर्दियाको शान्ति सुरक्षाको अवस्थाका बारेमा सुरक्षाकर्मीहरुलाई भेटेर अपडेट लिइरहेको छु ।

उनले चालू आर्थिक बर्षका लागि संघीय सरकारका तर्फबाट जिल्लामा के कस्ता आयोजनाहरु सञ्चालन भइरहेको छ त्यसको बारेमा पनि जनतालाई जानकारी दिइरहेको बताइन् ।

मिना पाण्डे : सबैलाई टीका लगाईदिन्छु

नेपाली कांग्रेसकी सांसद मिना पाण्डे परिवारमा सबैभन्दा जेष्ठ नागरिक हुन् । अघिल्ला बर्षहरुमा दसैँ मनाउनका लागि सर्लाही जाने गरेकी उनले यो बर्ष नातिनी जन्मिएका कारण काठमाडौंमै दसैँ मनाउने योजना बनाएकी छिन् ।

परम्परागत तरिकाले मठमन्दिरमा गएर पूजापाठ गर्ने, बलि दिने चलन नभएकोले जमरामा खीर रोटी चढाउने, नवदुर्गाको आराधाना गर्दै धर्मसंस्कृति परम्परालाई जगर्ने गर्नेगरी दसैँ मनाउने पाण्डेको बताइन् ।

दश बाह्र जनाको उनको परिवारमा उनले सबैजनालाई टीका लगाउनेछिन् । उनलाई चाही दाई भाउजुले टीका लगाइदिनेछन् । पारिवारिक मेलमिलाप, हर्ष, सौहार्दका साथ यो वर्षको दसैँ मनाउने उनले सुनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप