बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

‘अरू दसैँ मनाउन व्यस्त हुन्थे, म भने अस्पतालमा अपरेसनमा व्यस्त’

मङ्गलबार, २१ असोज २०७६, ११ : ५६
मङ्गलबार, २१ असोज २०७६

काठमाडौँ । डाक्टर सन्तोष पौडेल । अध्ययनसँगै स्वास्थ्य क्षेत्रमा सेवा दिन थालेको १७ वर्ष भयो । हाल उनी हाडजोर्नी विशेषज्ञका रूपमा वीरअन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन् ।

विशेषज्ञ चिकित्सक बनिसक्दासम्म पनि उनलाई दसैँ होस् या अन्य चाडपर्व घरमा बसेर मज्जाले मनाएको याद छैन । यो वर्ष पनि बिदा मिल्ने हो कि होइन थाहा छैन । सबै जना दसैँको रौनकमा हुँदा स्वास्थ्य क्षेत्र, सुरक्षा क्षेत्रका व्यक्तिहरूले कमै मात्रै बिदा पाउँछन् ।

तीमध्येका एक हुन्– डा. पौडेल । १७ वर्ष पहिला मणिपाल टिचिङ अस्पतालबाट काम सुरु गरे । जागिर सुरु गरेको पहिलो वर्षमै दसैँमा छुट्टी पाएनन् । सबै धेरै चिकित्सकहरू आलोपालो बिदा बसे डा. पौडेलको भागमा भने प्रसूतिवार्डको जिम्मा थियो । सेवाको सुरुवातमा दसैँभन्दा पनि कामले मन जित्नुपर्छ भन्ने लाग्यो । जोस जागरसँगै सेवामै तल्लीन भए ।

मणिपालमा अध्ययन सकेपछि मेडिकल अफिसरका रूपमा उनी तनहुँको दमौली जिल्ला अस्पताल आए । दसैँमा सेवामै बिताए । तिहारमा घर नजिकै हुँदा सेवासँगै पर्व मनाउने निधो गरेँ । भाइटीका चल्दै गर्दा एक्कासि अस्पतालको फोनको घण्टी बज्यो । अस्पतालमा पोस्टमार्टमको घटना आएको छ भन्ने जानकारी पाएँ । हतारमा टीका सकेर पोस्टमार्टमका लागि पुगेको कुरा अहिले सम्झन्छन् ।

त्यसपछि डा. पौडेल पोखरा अस्पतालमा पुगे । काम गर्दा घरै पोखरा भएको भन्दै डा. पौडेलले दसैँमा बिदा पाएनन् । दसैँको टीका लगाउन पनि कि साँझ कि बिहान घरमा पुग्ने गर्थें । अरू पर्व मनाउन व्यस्त हुन्थे भने डा. पौडेल अस्पतालमा अपरेसनमा व्यस्त हुन्थेँ । कुनै पनि हालतमा नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुहुँदैन भन्ने सोच भएका डा. पौडेलले चिकित्सा क्षेत्रमा लागेपछिका दसैँ होस् या तिहार अथवा अन्य चाडपर्व उनी निकै कम सहभागी भएको सम्झन्छन् ।

धेरै चाडपर्व अस्पतालमा बिताउँदै आएका डा. पौडेल ०६९ सालको तिहार सधैँ सम्झनामा आइरहन्छ । सो समयमा उनी पोखराबाट देशकै जेठो अस्पताल वीरमा कार्यरत थिए । ०६९ वीर अस्पतालमा काम गर्दा तिहारमा बिदा पाएनन् । अस्पतालमा बस्दा मोटरसाइकल दुर्घटनाको बिरामी ल्याइएको थियो । अरू तिहारको माहोलमा रमाइरहँदा उनी भने बिरामीको अपरेसनमा व्यस्त थिए, नागरिकलाई नयाँ जीवन दिन लागि परेका थिए । 

छुट्टी मिलाउन नसक्दा पीडा हुन्छ  

डा. पौडेल चाडपर्वमा बिदा नपाउँदा एकदमै पीडा हुने गरेको अनुभव सुनाउँछन् । सबै मान्छे पर्वको खुसीमा हुन्छन् । तर पर्वको समयमा बिरामीहरू भने रमाइलो गर्दा दुर्घटना पर्ने, पिङबाट लड्ने जस्ता केस बोकेर आउने गरेको डा. पौडेलको अनुभव छ । आफू बिदा नपाएर अस्पतालमा बस्नुपरेको अनि नागरिक भने पर्व मनाउने क्रममा ध्यान नदिँदा बिरामी भएर आउँदा झनै पीडा हुने गरेको बताउँछन् ।

हाल डा. पौडेलका छोरा पनि विभिन्न कुराको माग र गुनासो गर्न सक्ने भएका छन् । दसैँमा सकेसम्म छोरासँग बिताउन पाए उनका लागि ठूलो अहोभाग्य हुन्थ्यो । छोराले पनि सकेसम्म बाबा बिदाको समयमा आफूसँगै बसोस् भन्ने चाहन्छ । भारी मन बनाउँदै डा. पौडेल भन्छन्, ‘छोराको गुनासा र मागलाई भने पूरा गर्न नसक्दा यहाँ लैजानु, त्यहाँ लैजानुभन्दा बिदा मिलाउन नसक्दा मनमा पीडा हुन्छ ।’

 चाडपर्वमा जनशक्ति पनि कम हुन्छन् । हामी जस्तो जिम्मेवार क्षेत्रमा बसेको व्यक्तिले परिवार समाजलाई मात्रै प्राथमिकता दिने कुरा पनि आउँदैन । तर चिकित्सक क्षेत्रमा लागेको यतिका वर्षसम्म आधा आधा, कार्यक्षेत्र विभाजन गरेर पर्व मनाउँदै आईरहेका छौँ ।

भन्छन् ‘डाक्टर भने पछि मृत्युको नजिक पुग्न लागेको नागरिकको आश पनि हामीमाथि हुन्छ । डाक्टरले मलाई बचाउँछ भन्ने आश गर्छन् । अन्य समयमा सबै आफ्नो ड्युटीमा खटिरहेका हुन्छन् । तर दसैँ तिहार जस्ता पर्वमा बिदा नबसी सेवामा खट्दा मैले ड्युटी पूरा गरेको होइन, मानवताका लागि काम गरिरहेको छु भन्ने महसुस हुन्छ । त्यो समयमा गर्व लाग्छ ।’

अरू पर्वको रमाइलोमा आफू भने अपरेसनमा खट्दाका प्रशस्तै अनुभव उनीसँग छन् ।  

उनको दसैँ पोखरामा नै हुन्छ । दसैँ लामो समयसम्म हुने भएको हुँदा ड्युटीमा खट्ने र अन्तिमा घर जाने गर्छन् । कि त पहिला घर जाने अनि पर्व नसकिँदै काममा फर्किन्छन् । ट्रमा सेन्टरमै हुँदा दसैँको समयमा घरको छतमा चङ्गा उडाउँदा लडेर टाउँको, खुट्टामा ठूलो चोट लागेको गम्भीर अवस्थाको बालिकाको ज्यान बचाएको सम्झन्छन् ।  

  हरेक चाडपर्वमा घरमा सबैजनाको जमघट हुन्छ । उनको भने त्यही समयमा विभिन्न घटनाका लामो अपरेसन पर्छन् । गएको तीजमा डा. पौडेल आफैले आफन्तलाई खानपानका लागि घरमा बोलाएका थिए । सोही दिन अपरेसन ८ः३० मा सकिने भनेको अपरेसन रातको १०ः३० बजे मात्रै सकियो । उनी घर पुग्दा सबै जना घर फर्किसकेका थिए ।  भन्छन्, ‘आफूले बोलाएको आफन्तलाई भेट्न पाइनँ । कुरा गर्न पाइनँ । यस्तो हुँदा नमज्जा लाग्छ तर पनि अहिले धेरैले मेरो कुरा बुझ्नु हुन्छ ।’

डा. पौडेललाई सिनियर भएपछि जटिल घटना हेर्नुपर्ने हुँदा अहिले बिदा पाउन झनै मुस्किल बन्दै गएको छ । साथीभाइको विवाह, व्रतवन्ध जस्ता कुरामा उनी कहिले काहीँ मात्रै सहभागी हुन्छन् । सामाजिक कार्यमा सहभागी हुन उनलाई पनि निकै रहर छ । तर बल्ल कति दिनपछि अपरेसनको पालोको पर्खाइमा भएका बिरामीलाई काम छ भनेर छुट्टी लिँदा समयमा उपचार नहुने र अर्काे दिनको पालो पनि खप्टिने हुँदा पर्व तथा सामाजिक कार्यमा उनी कमै सहभागी हुन्छन् ।

हरेक अपरेसनपछि खुसी प्राप्त हुन्छ 

डा. पौडेल सबैभन्दा खुसी अपरेसन सकेपछि हुन्छन् । अपरेसन सकेर बाहिर निस्कँदा आफन्तहरू ढोकामा कुरिरहेका हुन्छन् । अपरेसन सकियो राम्रो भए नभएको बारेमा आफन्तलाई जानकारी गराउँछन् । घण्टै आफ्नो मान्छेको स्वास्थ्य अवस्थाबारे बुझ्न बसेका आफन्तहरूलाई ठूलो राहत मिल्छ । हरेक अपरेसन पछि उनलाई मैले मानवताका लािग केही न केही गरिरहेको छु भन्ने महसुस हुन्छ । त्यही महसुसले उनलाई अगाडि बढ्न ऊर्जा प्रदान गरेको छ । उनी भन्छन्, ‘हामी चिकित्सक भनेको नागरिकका लागि नै खटिएका हौँ । त्यसैले बिरामीको अवस्था राम्रो भए नभएको बारेमा आफन्तलाई जानकारी गराउनुपर्छ, त्यो हाम्रो दायित्व पनि हो ।’    

दिनमा एक डोको घाँस काट्नु पथ्र्याे 

डा. पौडेल परिवारका माइला छोरा हुन् । उनका एक दाइ, एक दिदी र एक जना भाइ छन् । दाइ र भाइ दुवै जना इन्जिनियर । हाल अमेरिकामा बस्छन् । कास्कीको गाउँमै जन्मे हुर्केका डा. पौडेलका बाआमा सामान्य कृषक हुन् । उनलाई डाक्टर बन्नुपर्छ भनेर कसैले पनि भनेनन्, भन्ने व्यक्तिहरू पनि थिएनन् । धेरै अध्ययन गर्दा डाक्टर, इन्जिनियर बन्न सकिन्छ रे भन्ने कुरा चाहिँ गाउँमा सुनेका रैछन् । गाउँमा एक दुई जना आफूभन्दा सिनियर दाइ इन्जिनियर बनेको कुरा उनलाई याद थियो ।

गाउँकै विद्यालयबाट एसईई (एसएलसी) दिए रिजल्टमा डिस्टिङ्सन आयो । अध्ययन राम्रो भएकै कारण त्यसपछिको अध्ययन पनि राम्रै शैक्षिक संस्थामा पढ्ने मौका पाए । आफू अध्ययनरत शैक्षिक संस्थाको वार्षिक उत्सवमा भूपू विद्यार्थी सबैलाई बोलाउँने को को के बने भन्ने बारेमा जानकारी गराइँदो रहेछ । त्यहाँ उनले डाक्टर, इन्जिनियर, समाजसेवी, साहित्यकार, व्यवसायी, पत्रकार सबै क्षेत्रका व्यक्तिहरू देखे । अनि डा. पौडेललाई मान्छेले फरक फरक खालको क्षमता विकास गर्न सक्ने रहेछ भन्ने लाग्यो ।

त्यसपछि गाउँमा खेती किसानी गर्ने । दिनमा एक डोको घाँस अनिवार्य काट्नुपर्ने परिवारका सन्तान डा. पौडेललाई गाउँमा हुर्केर पनि राम्रो काम गर्न सकिने रैछ भन्ने लाग्यो । आत्मविश्वास बढेपछि छात्रावृत्तिमा मणिपाल मेडिकल कलेजमा पोखरामा अध्ययन गर्ने मौका पाए ।

उनले चिकित्सा शिक्षा सक्दासम्म गाउँमा कोही पनि डाक्टर बनेका थिएनन् । डा. पौडेल गाउँकै पहिलो डाक्टर बने । अहिले उनी यो क्षेत्रमा नै निकै खुसी छन् । त्यो किशोरावस्थामा गरेको निर्णय अहिले सही गरेछु भन्ने लागेको छ । दाइभाइ दुवै जना अमेरिकामा छन् र पनि आफ्नै देशमा बसेर सेवा प्रदान गर्नु नाम कमाउनु राम्रो भएको भन्दै डा. पौडेलप्रति दुवै जना दाजुभाइ गर्व गर्छन् । 

नेपाल सरकारकै लगानीमा अध्ययन गरेपछि सरकारी अस्पतालमै काम गर्ने र नागरिकलाई सेवा दिने सोचका साथ यस क्षेत्रमा लागेका डा. पौडेल अहिले आफ्नो कामप्रति निकै ध्यान दिन्छन् । सरकारले डाक्टर बनाएपछि आफूले पनि देशका लागि सेवा दिने अठोटका साथ दिनरात सेवामा खटिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप