मावलामा एक रुपियाँ ढ्याक दक्षिणा पाउँदा दंग परिन्थ्यो : डा. बाबुराम भट्टराई
दशैं आयो । कसरी मनाउने योजना गर्नुभएको छ दशैंलाई ?
धर्मकर्ममा मैले कहिल्यै विश्वास गरिनँ । म हिन्दू परिवारमा जन्मेको व्यक्ति हुँ । मेरा घरपरिवार, बुबा आमाले धर्म मान्नुहुन्थ्यो तर हामीलाई कहिल्यै पनि उहाँहरुले थोपर्ने गर्नुभएन र हामीले पनि कहिल्यै पूजा पाठ गरेनौं ।
तर शुरुको कालखण्डमा दशैं रमाइलोको रुपमा भेटघाट गरेर, खानपीन गरेर रमाउने गर्थ्यौं ।
http://assets-cdn.ekantipur.com
जनयुद्धको कालखण्डमा हामी भूमिगत थियौं र त्यसबेला खुलारुपमा जनतासँग जोडिने पनि हुँदैनथियो । त्यसैले त्यो कालखण्डमा पनि दशैं मनाउने कुरा भएन । खालि साथीभाइहरुसँग भेटघाट गर्ने, मीठो मसिनो खाने सामान्य रुपमा गरिन्थ्यो ।
अहिले खुला परिवेशमा आइसकेपछि मैले बुबासँग भेटघाट गर्ने र टीकाको दिनमा बुबाको हातबाट टीका ग्रहण गर्ने काम गर्छु ।
म प्रधानमन्त्री छँदा पशुपतिको बृद्धाश्रममा गएर छोराछोरी नभएका बुबाआमाको हातबाट टीका ग्रहण गर्ने काम मैले गरेको थिएँ ।
अहिले बुबाको हातबाट टीका ग्रहण गर्ने, नातागोता साथीभाइहरुसँग बसेर यसो मीठोमसिनो खाने गर्छु । सम्भव भए छेउछाउतिर गएर परिवारसँग छुट्टी जस्तो मनाउने पनि गर्छु ।
अध्ययन चाहिँ कत्तिको गर्नुहुन्छ ?
व्यक्तिगत रुपमा छुट्टीको समयमा म बढीजसो समय अध्ययनमा नै बिताउने गर्छु । अहिले पनि त्यही ढंगले तयारी गरेको छु ।
दशैंको बिदामा यही किताब पढ्ने भन्ने लिस्ट नै त हुँदैन । तर मेरो रुचिको विषय गैरआख्यान नै हुन्छ । त्यसैले इतिहास, अर्थशास्त्र, समकालीन राजनीतिसम्बन्धी विषयहरु नै मेरो प्राथमिकतामा हुन्छन् । यसअर्थमा यही नै पुस्तक पढ्छु भन्ने अहिल्यै भन्न सक्दिनँ । केही पुस्तकहरु संकलन गरेर राखेको छु । कति भ्याइन्छ, पढिसकेपछि मात्रै भन्न सकिन्छ ।
दशैं भन्नेबित्तिकै मीठो मसिनो खानेकुरा आउँछ र त्यो भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ । तपाईंलाई दशैंमा चाहिँ सबैभन्दा बढी के खानेकुरा खान रुचि लाग्छ ?
खानाका बारेमा म अनुशासित नै छु । थोरै खाने, नियमित खाने मैले अभ्यास गर्दै आएको छु । मद्यपान गर्ने मेरो स्वभाव कहिल्यै पनि भएन । मासु म पहिलेदेखि नै खाने गर्थें तर उच्च रक्तचाप भएको कारणले अहिले मैले प्रायजसो रातो मासु बारेको छु र सेतो मासुमा कुखुरा वा माछा खाने गर्छु ।
पहिलेदेखि नै खसीको मासु खाने बानी लागेको हुनाले दशैंको बेलामा अलिकति खसीको मासु पनि खान्छु । च्याङ्ग्रामा बोसो कम हुने भएकोले यसपटक च्याङ्ग्राको मासु मगाएर खाँदैछौं ।
जीवनको यो पडावमा आइपुग्दा दशैंबारे तपाईंसँग कुनै मीठो र नमीठो सम्झनाहरु केही छन् ?
गाउँघरको किसान समाजमा फुर्सद हुँदैन । बाआमाहरु खेतीपातीमा जाने र हामी छोराछोरीहरु पनि गोठालो जाने, स्कुल जाने हुन्थ्यो । दशैं आउँदा सानोमा रोटेपिङ, लिङ्गेपिङहरु खेलेको सम्झन्छु । हाम्रो जस्तो निम्न मध्यम परिवारमा दशैंको बेलामा नयाँ लुगा लगाउने, गरिबैले पनि खसी काट्ने हुनाले मासु खाने, आफन्त, नातोगोता दिदीबहिनीहरु आउने, भेटघाट हुने गरेका जस्ता रमाइला प्रसंगहरु म सम्झन्छु ।
दशैंमा त दक्षिणा पनि पाइन्थ्यो । बाल्यकालमा त्यस्तो दक्षिणा पाउँदा चाहिँ कस्तो अनुभूति हुन्थ्यो ?
राम्रो कुरा भन्नुभयो । मेरो मावला तनहुँको पुर्कोट हो र मावला खलक भण्डारीहरु । त्यसबेला अहिलेको जस्तो बाटोघाटो थिएन र दिनभरि लगाएर हिँडेरै मावला जानुपर्थ्यो। त्यहाँ हजुरबा र हजुरआमा मात्रै हुनुहुन्थ्यो । हामी गोर्खाको खोप्लाङबाट त्यहाँ टीको लगाएर हिँडेर जाँदा राति मात्रै पुगिन्थ्यो । हिँड्दा पनि अहिलेको मध्यपहाडी लोकमार्ग हुँदै तारुकाट बजारबाट मस्र्याङ्दी तरेर राति राति हुँदा त्यहाँ पुगेको र गाउँघरका नातेदारहरुको घरघरमा गएर टीका लगाएको म सम्झन्छु । त्यतिखेर अहिलेको जस्तो नोट होइन कि सुका, एकमोहर ढ्याके पैसा दक्षिणा दिएको मलाई सम्झना हुन्छ ।
त्यो पैसा कसरी खर्च गर्नुहुन्थ्यो ?
सानैदेखि मेरो फजुल खर्च गर्ने बानी थिएनँ । शायद त्यसरी दक्षिणा पाएको पैसा म आमालाई दिन्थें र पछि आमाले कापी किताबहरु किन्न दिनुभयो होला । मेरो बजारमा गएर चिया खाने, मिठाई किनेर खाने बानी कहिल्यै पनि थिएनँ । तर मामा माइजुहरुले एक मोहर, सुका, रुपियाँहरु दिएको चाहिँ म सम्झन्छु ।
सबैभन्दा बढी दक्षिणा चाहिँ कसले दिनुहुन्थ्यो ?
आफ्नै हजुरबा, हजुरआमाले अलि बढी दिनुहुन्थ्यो । अरु गाउँघरकाले पनि टाढाबाट आएका नातिनातिना भनेर दिने गर्नुहुन्थ्यो । तर त्यसबेलाको बढी दक्षिणा भनेकै त्यो एक रुपियाँको ढ्याके पैसा हुन्थ्यो । त्यो नै पनि त्यसबेला कति हो कति हुन्थ्यो । खुसीले दंग परिन्थ्यो ।
दशैंको कुनै दुःखान्त अनुभव चाहिँ छ कि छैन ?
हाम्रो परिवार सानो नै थियो, । मेरो बाल्यकाल पनि अत्यन्तै सुखद रह्यो । त्यस्तो दशैकालमा कुनै दुखान्त अनुभव गर्नु परेन ।
हिजो जनयुद्धकालको नेतृत्वकर्ताहरुमध्येका एक तपाईं । तपाईंहरुमाथि त चाडपर्व, दशैं मनाउन नदिएको बात पनि लाग्ने गरेको छ नि !मैले नैतिक ढंगले जिम्मा लिनुपर्छ तर व्यक्तिगत रुपमा म कहिल्यै पनि त्यसको पक्षमा थिइनँ ।
तथापि मैले व्यक्तिगत रुपमा कसैलाई धर्मसंस्कृति मान्नबाट बञ्चित गरें भन्छ भने प्रतिवाद गर्न तयार छु ।
भूमिगतकालमा जनताको घरमा शरण लिँदा दशैंमा तपाईंहरुलाई टीका लगाइदिने काम हुन्थ्यो ?
त्यसरी टीका लगाउने काम भएन । मैले आफ्ना हजुरबाआमा, ठूलाबा र बाआमाभन्दा बाहेक अरु कसैबाट टीका लगाइनँ । आफू प्रधानमन्त्री हुँदा बृद्धाश्रममा गएर छोराछोरी नहुनेहरुको हातबाट टीका लगाएर बाको हातको टीका लगाएको थिएँ ।
तर तपाईंमाथि त धर्मविरोधी भन्ने आरोप लाग्ने गर्छ नि !
कतिपयले बाबुराम धर्मविरोधी भनेर आरोप लगाउने गर्छन् । म वैज्ञानिक आधारमा धर्म भनेको दर्शन हो, यो समयअनुसार गतिशील परिवर्तन हुँदै जान्छन् भन्ने कुरामा विश्वास राख्छु । यी विभिन्न धर्महरु पनि शुरुका चरणमा त्यहीअनुसार विकसित हुँदै आएका हुन् । मानिसको अल्पचेतनाको कारण त्यतिबेलाको दर्शनलाई सबैले बुझ्दैनथिए र धार्मिक कर्मकाण्डको रुपमा त्यसलाई ग्रहण गरेका थिए ।
अहिलेको वैज्ञानिक युगमा आइसकेपछि उन्नत चेत हुने मानिसले त नयाँ दर्शन लिने हो । नयाँ दर्शन अपनाउने मानिसलाई पुरानो धर्मको आवश्यकता पर्दैन । जसलाई आवश्यकता हुन्छ, उसले ग्रहण गर्न सक्छ, मजस्तो पछिल्लो विज्ञानमा विश्वास गर्नेलाई त्यो ग्रहण गर्नु जरुरी छैन । यति मात्रै कुरा हो र त्यसलाई मैले अरुलाई लाद्दिनँ ।
उदाहरणको लागि मेरो बुबा अहिले पनि हिन्दू धर्म मान्नुहुन्छ । म उहाँहरुको सम्मान गर्छु र हिन्दूहरुको चारैधाम बद्रीनाथ, केदारनाथ, जगन्नाथ र द्वारिकानाथ अनि पाँचौं कैलाश मानसरोबर पनि मैले लिएर गएँ । धर्मकर्म गर्न नभई बुबाको इच्छा पूरा गर्न म त्यसरी गएको छु । मैले पूजाआजा गरिनँ तर बुबाआमाको लागि म त्यहाँ गएँ । त्यसले पनि म धर्म विरोधी नभई धार्मिक सहिष्णुता त देखाउँछ नि !
तपाईं त अन्तरजातीय विवाह गरेको मानिस ! तपाईंको आफ्नो घरको दशैं संस्कार र श्रीमातीको घरतर्फको दशैं मनाउने तरिका र संस्कारमा के समानता, के भिन्नताहरु पाउनुभो ?
हिसिलाजीहरु तुलाधर परिवारबाट आउनुभएको यमि हो र उहाँहरुको परिवार बौद्धमार्गी हुनुहुन्छ । त्यसकारण उहाँहरुको हिन्दू संस्कारभन्दा पनि बौद्धमार्गी नै हो । हिसिलाजीको पिताजी धर्मरत्न यमि र हिरादेवी यमि उन्नत चेतनायुक्त हुनुहुन्थ्यो र कुनै पनि रुढीवादी संस्कारहरु गर्नुहुन्नथ्यो । नेवार परम्पराअनुसार छोरीलाई गुफा राख्ने आदि केही पनि काम उहाँहरुले गर्नुभएन । त्यसो भएको हुनाले हिसिलाजीले संस्कार कर्मकाण्डहरु कुनैपनि कहिल्यै पनि पालना गर्नुभएन । हामीले पनि छोरी मानुषी जन्मिएपछि न्वारान लगायत कुनै पनि कर्मकाण्डहरु गरेनौं । हिसिला र मानुषीले नाक कान पनि छेडेका छैनन् र उहाँहरुले गहना पनि केही लगाउनुहुन्न ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
दशैं तथा आसन्न तिहार, छठ पर्वहरुको शुभकामना भन्न चाहन्छु । साथै, धर्म संस्कार संस्कृतिलाई समयानुकूल परिवर्तन गर्दै लैजाऔं, आफ्नो आस्थाको विषय कसैलाई लाद्ने काम नगरौं, म सबैलाई यही नै आग्रह गर्न चाहन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
-
कोशी प्रदेशले निर्माण गर्ने ३८५ सडकको सूची सार्वजनिक
-
भूतपूर्व गोर्खाको मुद्दामा लन्डन दूतावासले अघि बढायो छलफल
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब
-
काठमाडौँ महानगरपालिकाद्वारा इन्टर्नमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान
-
दश वर्षदेखि डायलसिसको सहारामा बाँचिरहेकी स्मृति