बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज महानवमी : हनुमानढोकामा दिइयो बोका र राँगाको बलि

सोमबार, २० असोज २०७६, ०९ : २२
सोमबार, २० असोज २०७६

काठमाडौँ । सोमबार महानवमी पर्व आज हर्षोल्लासका साथ मनाइदैछ । आज दुर्गा भवानीको पूजा आराधना गर्नका साथै दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिइन्छ । आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । त्यस्तै, घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

महानवमीमा कोतहरुमा कोतपूजा र निशाना पूजा पनि गरिन्छ । हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । सोमबार बिहान नै हनुमानढोकामा पनि बोका र राँगाको बलि दिइएको छ ।

त्यस्तै, हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सोमबार सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । हनुमनढोका हेरचाह अड्डाका अनुसार नित्य पूजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप