केन्द्रीय संस्करण

‘बा, दशैँ त आयो नि !’

person explore access_timeअसोज १९, २०७६ chat_bubble_outline0

‘बा, दशैँ त आयो नि !’ बादल फाटेर एक, दुईवटा टुक्रा मात्रै आकाशमा देखिन सुरु भएपछि सधैँ सोधिने प्रश्न हुन्थ्यो यो, ‘खै त मलाई नयाँ लुगा ?’

बा, एकछिन टाउको कन्याएर भन्नु हुन्थ्यो, ‘दाइले ल्याई देला नि !’ बाले यति भनिसकेपछि दोहो¥याएर जिद्दी गर्न पनि मन लाग्दैनथ्यो । घरको अवस्था कस्तो थियो । म राम्रैसँग बुझ्थेँ । 

तोरी फुलेर गाउँ पहेँलिन्थ्यो । उसैगरी लटरम्म हुन्थे अम्बाका रुख पनि । खेतमा लहलह धानका बाला झुलिसक्थे । कोदो पनि फुल्थे उसैगरी । तर दाइ आउँने दिन भने झनै लम्बिन्थ्यो । ‘दाइ, कति बेला आइपुग्लान र, नयाँ लुगा लाउँला,’ मन यसै भन्थ्यो । दाइले केके ल्याइदिनुहुन्छ होला ? म सोची बस्थेँ ।
०००
तिनताका दाइ सहरमा बस्नुहुन्थ्यो । सानोतिनो जागिर गर्दै उच्च शिक्षा हासिल गर्ने सानो सपना बोकेर दाइ सहर छिर्नुभएको थियो । बा गाउँकै स्कुलमा शिक्षक हुनहुन्थ्यो । दिदीहरुको बिहे भइसकेको थियो । खेतीपाती र गाईबस्तु हेर्ने जिम्मा आमाको । 

आमालाई गोडा दुख्ने रोगले बेलाबेला बेस्सरी सताउँथ्यो । कानको रोग पनि थियो आमालाई । ढाड, पैताला केके हो केके दुखिरहन्थ्यो । आमा बिरामी भएको बेला भान्साको काम मैले नै सम्हाल्नुपथ्र्यो । गाईबाख्रा हेर्न म सक्दिनथेँ । त्यो बाको जिम्मामा पथ्र्यो । 

भदौ सकिएर असोज आउँने बेला आमा बिरामी हुने रुटिन जस्तै हुन्थ्यो । तिहार सकिएपछि पनि प्रायः उहाँ बिरामी नै हुनुहुन्थ्यो ।

खैर, यो कुरा छोडौँ घरमा बा, आमा र म मात्र थियौँ । सपरिवार एकै ठाउँमा जम्मा हुने भनेको त दशैँ र तिहार मात्रै थियो । 
०००
दशैँ आउन हप्ता, दस दिन जति हुँदा दाइको फोन आउँथ्यो । ‘भोलि म घर आउँदै छु । कान्छालाई लिन बसपार्कसम्म पठाइदिनु,’ दाइ फोनमा भन्नुहुन्थ्यो । यता म खुसीले ३ बित्ता उफ्रिन्थे । ओल्लो, पल्लो घरमा सुनाउँन भ्याइहाल्थेँ, ‘भोलि दाइ आउँदै हुनुहुन्छ । मलाई लिन बोलाउँनु भा’छ ।’

सुन्नेहरु खुसी थिए या थिएनन् ? आजकाल कहिलेकाहीँ सम्झेर एक्लै हाँस्ने गर्छु । कस्सम, त्यो रात जतिको लामो रात अरू कहिले लाग्दैनथ्यो । बल्लतल्ल रात सकिए पनि बेलुकी हुन अर्को जुनीसम्मै कुर्न पथ्र्यो । 
खप्नै नसकेर कहिलकाहीँ त दिउँसै हिँड्थे । दाइलाई लिन । बसपार्क पुगे पनि मन के थामिन्थ्यो ! १०, २० किलोमिटर पर कतै गाडी कराएको आवाज सुने पनि लाग्थ्यो, ‘दाइ यही गाडीमा आका छन् ।’ गाडी मेरै अघि आएर रोकिन्थ्यो । मान्छेहरु ठुलठुला झोला घिसार्दै गाडीबाट ओर्लिन्थे । तर, दाइ ओर्लिनुहुन्थेन । म फेरि अर्को गाडी कुर्नतर्फ लाग्थेँ । त्यो गाडीमा पनि यही क्रम दोहोरिन्थ्यो । यात्रुहरु ओर्लिसकेर गाडी अघि नबढुन्जेल म आँखा च्यातिच्याति हेरिरहन्थे । गाडी अघि बढेपछि फेरि अर्को गाडीको आवाज सुन्न कान चनाखो बनाउँथे । जुन गाडी आए पनि लाग्थ्यो, ‘दाइ यही गाडीमा आका छन् ।’

यो क्रम दोहो¥याउँदा दोहो¥याउँदै कहिलेकाहीँ त रातै पथ्र्यो । बसपार्कका होटलहरुमा बत्ती बल्न थाल्थेँ । होटलवालाले होटल बन्द गर्न लागेको भन्दै म बसेको बेन्च उठाएर लैजान्थ्यो । वरपर बिस्तारै झ्याँउकिरी ट्यारट्यार कराउँन सुरु गर्थे । म आत्तिन थाल्थेँ । बल्ल दाइ आउनुहुन्थ्यो । 

दाइले घर आउँदा जहिले केही न केही नयाँ चिज ल्याउनुहुन्थ्यो । जुन मैले कहिले देखेको थिइनँ । घर पुगेपछि फेरि अर्को ढुकढुकी सुरु हुन्थ्यो, ‘दाइले कहिले झोला खोल्नुहुन्छ होला ?’ 
०००
‘ला, यो तेरा लागि’, दाइले पोको मतिर अघि बढाउँदै भन्नुहुन्थ्यो । म हतार हतार खोल्थेँ । ठ्याक्कै मेरै साइज मिल्ने पाइन्ट र टिसर्ट हुन्थ्यो त्यसमा । त्यो पनि ‘जोन सिना’ र ‘बाटिस्टा’को चित्र भएको ।  
‘लगा त सानो हुन्छ कि ?’ दाइ भन्नुहुन्थ्यो । म आज्ञाकारी बनेर लुरुलुरु कपडा लागाउँथे । ‘कस्तो अड्कल्न जानेको’, आमा भन्नुहुन्थ्यो । म फुरुङ्ग हुन्थेँ । ‘यस्तायस्ता धेरै नल्याइदिने गर् । फेरि बिग्रिन्छ यो,’ बा भन्नुहुन्थ्यो । म एकाएक हावा सकिएको बेलुनझैँ हुन्थँे । आँखाबाट पिलपिल आँसु झरिहाल्थे । 

‘किन कराउनुपर्यो भनेको । दाइले माया गरेर ल्याइदियो त, के बिग्रियो ?’ म रोएको देखेर आमा बालाई झपार्नु हुन्थ्यो । तैपनि म निकै बेरसम्म सुँक्क सुँक्क गरिरहन्थे । ‘ल ल धेरै न रो,’ तानेर आफ्नो नजिकै बसाउँदै दाइ भन्नुहुन्थ्यो । उपहारमा बा र आमाका लागि पनि केही न केही हुन्थ्यो । ‘किन ल्याउनुपथ्र्यो,’ उपहार समाउँदै आमा भन्नुहुुन्थ्यो, ‘यही छ र, जति पनि ।’ बा, पनि मुसुमुसु हाँस्दै त्यसै भन्नुहुन्थ्यो ।
खाना खाइसकेपछि त्यो रात नयाँ कपडा लगाएरै सुत्थे । भोलिपल्ट बिहानै काकी कहाँ देखाउन कुदिहाल्थेँ । भाइ, बैनी पनि मेरो नयाँ कपडा देखेर दङ्ग पर्थें । टिसर्टमा जोन सिनाको चित्र निकै बेर घोरिएर हेरिरहन्थेँ । ‘दाइले ल्याइदिनु भाको,’ म फूर्ति झार्थें । 
०००
त्यतिले मात्रै नयाँ कपडा देखाएर के पुग्थ्यो ? गाउँभरि कुदी हिँड्थे । साथीहरु खुब आरिस गर्थे । ‘तेरो दाइले पो ल्याइ दिन्छन्,’ बोलेरै देखाउँथे कि उनीहरुलाई कति आरिस छ मप्रति ‘आफ्नो त दाइ भन्न मात्रै ।’ 
दाइ पछि दिदीहरुको पालो आउँथ्यो नयाँ लुगा ल्याइ दिने । तिनै जना दिदीले मेरो लागि केही न केही ल्याइ दिनुहुन्थ्यो । ‘योभन्दा धेरै मलाई के चाहियो ?’ म आकाशमै उडे जस्तो हुन्थे । लाग्थ्यो, ‘दशैँ, तिहार कहिले नसकियोस् ।’ दशैँ सकिएर तिहार नआउन्जेल त घर कहिले अँध्यारो हुँदैनथ्यो । सधैँ झिलमिली । 

अरू बेला काममा अलि अल्छी गर्ने बा । त्यो बेला खुबै काम गर्ने हुनुहुन्थ्यो । अरू बेला मैले काट्नु पर्ने कुखुरा आफै काट्नुहुन्थ्यो । दाइले ल्याइदिएको शिखर सुज देखाउँदै गाउँमा कहिलेकाहीँ बाले भनेको सुनेको छु, ‘छोरोले ल्याइ दिएको ।’
०००
तिहारको अन्तिम दिन,

जब देउसी सकिन्थ्यो । दाइ, दिदी चारै जना एकैचोटि घरबाट निस्किन्थे । म बसपार्कसम्म पुर्याउन पुग्थे । जति जति बसपार्क नजिकिन्थ्यो । मेरो मुटुको गति ह्वात्तै बढ्थ्यो । दाइ, दिदी गाडीमा चढ्न नपाउँदै मेरो आँखा टिलपिलाइ सक्थे । सक्दो कोसिस गर्दागर्दै पनि परेलीको डिल उघारेर आँसु चुहिइहाल्थ्यो । 

दाइ, दिदीको आँखा पनि रसिला देखिन्थे । बसपार्कदेखि घर पुगेको पत्तै पाउँदिनथेँ । दाइ, दिदीलाई बसपार्क पुर्याएर घर पुग्दा आमा बिरामी हुनुहुन्थ्यो । यो पुरानै रुटिन दाइ, दिदी घरबाट हिँडिसकेपछि आमा जहिले बिरामी पर्नुहुन्थ्यो । 
त्यो दिन भान्सामा आगै बल्दैनथियो । सबै टन्न अघाउँथ्यो । त्यसपछि सधैँको दैनिकी । 
०००
कालान्तरमा, 
मैले पनि बा, आमालाई छोडेर हिँड्नु पर्यो । सपनाको संसार जो बसाउनु थियो । सहरको जागिरले पार नलाग्ने देखेपछि दाइ विदेश छिर्नु भयो । दिदीहरुका पनि आफ्नै व्यस्तता छन् । भान्जा, भान्जी स्याहार्नु पर्यो । परिवार हेर्नुपर्यो ।

दाइ विदेश जाने दिन मलाई राम्रोसँग याद छ । बा, मलिन स्वरमा भन्दै हुनुहुन्थ्यो, ‘यतै बसे पनि हुन्थ्यो क्यारे !’ बा, यो भन्न सकिरहनुभएको थिएन । भो, नगए पनि हुन्छ । बाको अघि बाध्यता जो थियो । दिनहुँ साहुको ऋणको ताकेता । 
‘एक, दुई वर्ष बसे राम्रो होला नि !’ जेनतेन दाइको मुखमाबाट यति वाक्य फुटेको थियो । दाइ, विदेशिएपछि बाको ओठमा त्यो हाँसो कहिल्यै देखिएन । जस्तो पहिले थियो । आमा पनि खुबै टीभीमा समाचार हेर्ने हुनुभएको थियो । जब कि पहिले रेडियोमा बाले समाचार सुनिरहँदा जहिले कराउनुहुन्थ्यो । 

मलाई पनि गाउँमैै बस्न बाले खुबै जोड बल गर्नु भएथ्यो । तर उहाँको जोडबलको केही जोर चलेन, मेरो सपनाको अगाडि । 

त्यसपछिका दशैँ उस्तै कहिले रहेनन्, जस्ता पहिले थिए । आजकाल हामी दशैँमा घर जान्छौँ । त्यो पनि एकदमै छोटो समयका लागि । कहिले दाइ छुट्नुहुन्छ । कहिले सानी दिदी । कहिले ठुली दिदी । भेटघाटभन्दा फोनमै हालचाल ज्यादा थाहा हुन्छ । 

बाले गाउँबाट फोन गर्नुहुन्छ । मैले व्यस्त भएको बताएर फोन राख्नुपर्छ । आमालाई कति मनको बह पोख्ने मन छ, होला ? दिदीहरुलाइ आआफ्नो घर स्याहार्दै ठिक्क छ । 

‘यसो समय मिलाएर आउनु न, कसैलाई एक, दुई दिन जिम्मा दिएर,’ म फोनमै भन्छु । आमा गाडीमा लामो यात्रा गर्नै सक्नुहुन्न । फोनमा सधैँ उहाँहरुको आश रहन्छ । सबैभन्दा पहिले सोधिने प्रश्नै यही हुन्छ, ‘कलिले आउँछस्, घरतिर ?’ मेरो सधैँको बहाना । ‘यहाँ कत्ति धेरै काम छ । म भ्याउँदै भ्याउँदिन । बरु तपाईंहरु नै एक, दुई दिनलाई समय मिलाएर आउनु न !’ 

बाले बुझिहाल्नुहुन्छ । छोरा कति व्यस्त छ । आजकाल त आफै बुझेर भन्न थाल्नुभएको छ, ‘दशैँमा त आउँला क्यारे ! कति दिन बिदा हुन्छ ?’ 
‘दशैँमा त आउनै पर्यो नि,’ म भन्छु ।

खासमा, दशैँ आए पनि के ? आमा फेरि बिरामी पर्नुहुन्छ !
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...