केन्द्रीय संस्करण
दसैँ विशेष

मेरा ती दिन, ती दसैँ

person explore access_timeअसोज १९, २०७६ chat_bubble_outline0

बडादसैँमा नै यो धर्ती टेकेकी मैले तीनखाले दसैँ देखेभोगेको छु । ५/६ दशकअघिको काठमाडौँको परम्परागत दसैँ, भूमिगतकालीन गरिबीको दुखद् दसैँ र पछिल्लो कालको प्रविधिले किचिएको दसैँ ।

म जन्मेकै दसैँमा, अष्टमीको दिन । अष्टमीको दिन जन्मेको भएर मेरो नाम अष्टलक्ष्मी राख्या रे ! त्यसैले दसैँ आउँदा जन्म दिन आउँदा मन त्यसै त्यसै फुरुङ्ग हुन्छ ।

महाष्टमीका दिन सबै पूजाआजा सकिएपछि घरको चोटामा पुग्दा आमालाई बेथा लाग्यो रे । त्यतिबेलाको चलन पराल बिछ्याउने र त्यहीँ बच्चा जन्माउने थियो । बच्चा जन्माउँदा कोठामा सानो प्वालबाट पनि उज्यालो आउन नहुने । सबै प्वाल कपडाले टालेर अन्धकार र कतैबाट हावा नछिर्ने बनाएर मात्र बच्चा जन्माउनुपर्थ्यो । मलाई आमाले त्यसरी नै जन्माउनुभएको रे । पछि मेरा भाइबहिनीहरू जन्मिँदा मैले पनि प्वाल टालिदिएको थिएँ ।

म अहिले ६७ वर्ष पुगेँ । तर, मैले कहिल्यै जन्मदिन मनाएको छैन । सानो छँदा हाम्रो घरमा छोराहरुको मात्र जन्म दिन मनाइन्थ्यो, छोरीहरुको मनाइंदैनथ्यो । मेरो आमा, बुबा पुरानै सोचको हुनुहुन्थ्यो । हुनत त्यतिबेलाको समाजमा नै कस्तो सोचाइ थियो भने जे कुरामा पनि अर्काको घरमा जाने भनेर छोरीहरुलाई छुट्याउँने । यसले मलाई धेरै पीडा हुन्थ्यो ।

दसैँमा चटारो पनि, रमाइलो पनि  

मीठो मीठो खान पाउने, नयाँ लुगा लगाउन पाउने, डुल्न पाउने, चङ्गा उठाउन पाउने भएकाले मलाई दसैँ रमाइलो लाग्थ्यो । तर, कामको चटारो भने निक्कै हुन्थ्यो ।

हामी नेवार परिवार । दसैँमा बिहानदेखि फुर्सद हुँदैनथ्यो । झन्डै ५०/६० वटा त पूजा गर्नुपर्ने । नवरात्र सुरु भएपछि घरायसी काम धेरै हुने । बिहान ४ बजे आमाले ल उठ उठ छोरीहरू भन्दै आउनुहुन्थ्यो । छोराहरूलाई चाहिँ उठाउनु हुँदैनथ्यो ।

त्यसमा पनि म माइली छोरी । माइलीले धेरै काम गर्नुपर्ने । जेठी र कान्छीलाई अलि सजिलो । आमाले ४ बजे उठाउँदा हामी दिदीबहिनीहरु जुरुक्कै उठ्थ्यौँ ।

उठेपछि नुवाई धुवाई सकेर घरको लिपपोत, पूजाको भाँडाकुँडा माझ्नेदेखि धेरै काम मैले नै गर्नुपर्थ्यो । चोटामा सबै छोरीहरू बसेर आमालाई सघाउँथ्यौँ । पूजा सामग्री तयार गर्थ्यौँ ।

दसैँमा एउटा विशेष सामग्री बनाउनु पर्थ्यो- ‘बोज’। ‘बोज’ भनेको जौ, गहुँको पिठो मुछेर बनाइएको सानो मन्दिर जस्तो हुन्छ । हामीलाई त्यो बनाउन आउँदैनथ्यो, आमाले सिकाउनु हुन्थ्यो । 

आमाको सधैँको रटान हुन्थ्यो: ‘छोरी भएपछि घरायसी सबै काम सिक्नुपर्छ । छोरी हुर्केपछि अर्काको घरमा जानुपर्छ । सबै काम माइतीमै सिकेन भने बुहारी बन्दा हेप्छन्, हेलाँ गर्छन् ।’

आमाले त्यसोभन्दा खासै पीर लाग्दैनथ्यो । बरु, पूजाआजा गर्ने भनेपछि त्यसमै रमाइलो लाग्थ्यो । आमासँगै पूजाका सामग्री बोकेर टोलटोलमा गइन्थ्यो । बुबाका दाजुभाइहरूको पूजा एकै ठाउँमा गर्ने चलन थियो ।

दसैँमा बुबाले हामी छोराछोरी सबैलाई नयाँ लुगा किनिदिनुहुन्थ्यो । नयाँ लुगा लगाउन पाउँदा मन चङ्गा हुन्थ्यो ।

सगुनमा हामीलाई खुट्टा दिन्थे

दसैँमा हाम्रो घरमा खसी काटिन्थ्यो । त्यो काट्नै पर्थ्यो । हाम्रो घरमा कुमारी, भैरव थिए, तिनलाई बली दिनुपर्थ्यो । बुबाले पूजा गर्नुहुन्थ्यो । बली दिए पछि खसीको टाउको, नाक, कान, जिब्रो, खुट्टा, कलेजो फोक्सो आदि कुनै उसिनेपछि भुटेर र कुनै त्यत्तिकै पकाएर राख्थ्यौँ ।

पूजाको काम सकिएपछि सबैलाई लाइनमा राखेर ती परिकार ‘सगुन’ दिइन्थ्यो । बुबा सबैभन्दा जेठो भएको हुँदा उहाँ अगाडि बस्नु हुन्थ्यो । उहाँले सगुनमा टाउकोको भाग पाउनु हुन्थ्यो । दाइभाइहरूले पनि राम्रै परिकार भाग पाउँथे । जब हाम्रो पालो आउँथ्यो, हामीलाई खुट्टा दिन्थे ।

सगुन बाँड्दा हामी छोरीहरुलाई मात्र हैन, आमालाई समेत पक्षपात गरिन्थ्यो, कस्तो कुसंस्कार ! लाइनमा पहिला बुबा बस्नुहुन्थ्यो । त्यसपछि दाइभाइ बस्थे । भर्खर जन्मेको छोरा छ भने पनि उसलाई अगाडि राखिन्थ्यो । त्यसपछि मात्रै आमा बस्नु हुन्थ्यो । यस्तो देख्दा मलाई चित्त बुझ्दैनथ्यो ।

दसैँका अन्य कुरामा खुसी लागे पनि यो कुसंस्कार सम्झिँदा मन अमिलो हुन्छ । आमालाई किन हेपेको होला ? किन अपमान गरेको होला ? आफूले जन्माएको छोराभन्दा पछाडि आमा बस्नुपर्ने ! अनि सगुन पनि खुट्टा लिनुपर्ने !!

यो कुसंस्कारको विरोध गर्दा कसैले कुरा सुन्दैनथे । गुरुबाहरूले यो हाम्रो संस्कार हो, यसलाई विगार्न हुँदैन भन्थे । यस्तो विभेद अहिले पनि छ ।   

दसैँ राम्रो रमाइलो चाड हुँदाहुँदै पनि यस्ता पक्षपातपूर्ण कुराले नमज्जा लाथ्यो । कतिपय संस्कार, संस्कृति अब हामीले सच्याउनु पनि पर्छ ।

आजभोलि चङ्गा मोबाइलमा उडाउँछन्

हरेक वर्ष नवरात्र सुरु भएदेखि मैले आकाशमा हेर्छु । तर, चङ्गा उडेको खासै देख्दिन ।

हामी सानो छँदा चङ्गा उडाउने गर्थ्यौँ । दाजुभाइले मात्र हैन, हामी छोरीहरु पनि चङ्गा उदाउँथ्यौँ । राम्रोसँग लट्टाई घुमाउँदै चङ्गा उडाउन त आउँदैनथ्यो तैपनि हामी उडाउँथ्यौँ । दाजुभाइसँगै चङ्गा उडाउन पाउँदा चाहिँ बल्ल छोराछोरी बराबरी भएजस्तो लाग्थ्यो ।

अहिले त म हजुरआमा भइसकेँ । दसैँ आयो भन्दा रमाइलो लाग्छ नै । तर, अब हिजोको रमाइलो सम्झेर मात्रै रमाउने हो । अहिले नातीनातिनीलाई रमाइलो होस्, छोराछोरीलाई रमाइलो होस् भन्ने मात्र लाग्छ ।

हेर्छु, विगतमा दसैँ जति रमाइलो हुन्थ्यो, आजभोलि त्यस्तो रमाइलो कसैले गर्दैनन् । गाउँघरमा चाहिँ अलिअलि बाँकी होला रमाइलो । तर, सहरबजारमा बिगतको जस्तो रमाइलो हुँदैन दसैँ ।

अचेलको दसैँमा आकाशमा चङ्गा उडेको देखिँदैन । किन देखिदैन भने मान्छेहरू ल्यापटप, मोबाइलमा चङ्गा उडाउँनमै ठीक्क छन् । फेसबुकमा चङ्गा उडेको हेरेर रमाउँछन्, त्यसैमा भुल्छन् ।

हाम्रा कतिपय राम्रा कुरा हट्दै गएकोमा मलाई नरमाइलो लाग्छ । पहिले पहिले चाडबाडमा परिवार, आफन्त र साथीभाइ जम्मा हुँदा जुन रौनक हुन्थ्यो अहिले त्यस्तो हुँदैन । परिवार, आफन्त जम्मा भए पनि दुःखसुखका गफगाफ हुँदैनन् । सबैजना मोबाइलमा व्यस्त हुन्छन् । त्यसैले कतिपय मान्छे भन्छन् नि, घोप्टे युग आयो भनेर ।

दसैँ मेलमिलापको चाड पनि हो । अघिपछि जतिसुकै झगडा गरे पनि दसैँमा दाजुभाइको बोलचाल हुन्थ्यो । जतिसुकै रिस उठे पनि यो चाडमा रिस हराउँथ्यो । दसैँ चाड मन माझामाझ गर्ने अवसर हुन्थ्यो । संस्कृतिले मेलमिलाप, एकता सिकाउँछ भनिएको त्यसैले हो ।

भूमिगतकालीन दसैँ

भूमिगतकालमा हाम्रा लागि दसैँ भन्ने नै हुँदैनथ्यो । म २०३६ सालमा भूमिगत भएको, २८ वर्षको थिएँ । भूमिगत कालमा मैले दसैँको रमाइलो अनुभूति गर्न पाइनँ । त्यो सम्भव पनि थिएन ।

भूमिगत नै विवाह भयो, पार्टीको झण्डा मुनि, थोरै नेताहरुको बीचमा । त्यसपछि मेरो परिवारसँग सम्बन्ध विच्छेद नै भयो । अमृत कमरेडको परिवारमा पनि म उहाँको घरमा बुहारी भएर बस्ने स्थिति थिएन । म कहिलेकाहीँ जाँदा सासुससुराले बुहारी हैन, ‘कमरेड’ भन्नुहुन्थ्यो । धेरै सचेत परिवार अमृत कमरेडको । त्यहाँ जाँदा सेल्टरको हिसाबले जान्थ्यौँ । त्यहीबेला सबैसँग भेटघाट गरिन्थ्यो । त्यतिबेला पनि राजनीतिक गफ नै बढी हुन्थ्यो ।

भूमिगतकालमा पिस्कर, टोखा र झापामा रहें म । पिस्करमा हुँदा दसैँ सबैका लागि दशा हुन्थ्यो । सिङ्गै गाउँ अभाव र गरिबीमा थियो ।

हामी गरिब परिवारमा बसेर काम गर्नुपर्थ्यो । पिस्करका बासिन्दाले दसैँमा एक छाक मासुभात खानका लागि केही न केही चिज उनीहरूले बेच्नै पर्थ्यो । त्यो पैसाले नै चामल मासुको जोहो गर्थे र खान्थे । दशमीको दिन सामान्य टीका हुन्थ्यो । त्यस्तो अवस्था त्यो गाउँमा थियो ।

भूमिगतकालमा हामीले रमाएर दसैँ मनाउने अवस्था थिएन । घरपरिवारसँग सम्पर्क थिएन । छोराछोरीलाई पार्टीका शुभ चिन्तकको घरमा छाडेर हिँडेका थियौँ । फेरि, अमृतजी र म पनि सधैँ सँगै हुदैनथ्यौँ । पार्टीका कामले म एकातिर, उहाँ अर्कोतिर हुनुपर्थ्यो । हाम्रा छोराछोरीले त हामीलाई आमाबाबु हुन् भनेर चिनेको बहुदल आइसकेपछि हो । उनीहरू जहाँ बस्यो त्यहीँ दसैँ मनाउँथे । छोरी एकातिर, छोरा अर्कातिर । उनीहरू जस्कोमा बसेका थिए, दसैँ त्यहीं मनाउँथे । भूमिगतकाल भरि छोराछोरीसँगै बसेर दसैँ मनाइएन ।

सबै परिवार बसेर दसैँ मनाएको भनेको बहुदल आएपछि मात्रै हो । त्यो पनि बडो दुःखका साथ । अहिलेको जस्तो वातावरण थिएन । भर्खर खुला परिवेशमा आएको परिवारसँग स्रोत, साधन थिएन । दुःखकष्टले केटाकेटीलाई एकछाक मीठो खुवाएर दसैँ मनाउँथ्यौँ हामी ।

बहुदल आएपछि भने मेरो माइतीसँग पनि सम्बन्ध सुधार भयो ।

बहुदल आइसकेपछि झापा छाडेर काठमाडौँमा आएर डेरा लिएर बस्यौँ । डेरामा बसेपछि बुबा, दिदी बहिनी, दाजुभाइ सबैलाई खोजियो । अब सबै मिलेर बस्नुपर्छ, हिजो जस्तो झगडा गर्नु हुँदैन भनियो । त्यसपछि मात्रै आमालाई भेट्न गएँ ।

आमालाई भेट्दा सुरुमा बोल्नुभएन । हाम्रोमा ढोग्ने चलन हुन्छ । आमालाई ढोग्न गएँ । तर, आमा बोल्नु पनि भएन । किनकि आमालाई पीडा भइराखेको थियो । धेरै प्रयासपछि आमालाई फकाएँ ।

म २०४८ सालमा राष्ट्रिय सभाको सांसद भएँ । ०५६ सालको आमचुनावमा माइतीका सबैजना सक्रिय भएर मेरो प्रचार प्रसारमा लाग्नुभयो । उहाँहरूलाई गर्व महसुस भयो । किनकि छोरी पनि सांसद, ज्वाइँ पनि सांसद । आमाले ज्वाइँ त भगवान जस्ता रहेछन् भन्नुभयो । मेरा छोराछोरी पनि देखाएँ । छोरीले राम्रो परिवार पाएकी रहेछ भन्नुभयो । त्यसपछि चाडबाड पनि रमाइलो लाग्न थाल्यो ।

चाडपर्व भड्किलो हुँदै गए

दसैँ, तिहार, छठ, इद सबै पर्व हुन् । हाम्रो देशमा भौगोलिक विविधता त छ नै, धार्मिक, भाषिक र साँस्कृतिक दृष्टिले पनि विविधतायुक्त देश हो । यो हाम्रो राष्ट्रिय पहिचान पनि हो । आफ्नो जातिको धर्म, संस्कृति, परम्परालाई सकारात्मक रूपबाट हेर्नु र संरक्षण गर्नु तथा विभेदहरूलाई सच्याउनु जरुरी हुन्छ ।

चाडवाड चटक्कै नमान्ने भन्ने कुरा हुन सक्दैन । मान्न त मान्ने तर मितव्ययी ढङ्गले मान्नु पर्छ । अहिले सबै पर्व भड्किलो भएको छ । संस्कृतिलाई जोगाउने भन्दा पनि बढी उत्ताउलो भएको गएको जस्तो अनुभूति हुन्छ । यसरी जाँदा संस्कृतिको संरक्षण हुँदैन । किनकि आफ्नो भाषा संस्कृति भनेको जातीय पहिचान हो । त्यसलाई संरक्षण गर्नैपर्छ । यसमा भएका विकृतिहरू भने हटाउनुपर्छ ।

दसैँ मान्ने नमान्ने आफ्ना आफ्ना सोच होलान् । दसैँ राष्ट्रिय पर्वको रूपबाट विकास भइसक्यो । यो अहिले सुरु गरिएको पनि हैन । पुर्खादेखि मानिआएको परम्परागत चाड हो ।

हामी सबैले सबैको संस्कृतिलाई सम्मान गर्न सिक्नुपर्छ । नेपालीहरूको एकता यसैमा बलियो रहन्छ । अरू हिसाबमा भन्दा पनि संस्कृतिमा सद्भाव कायम भयो भने राष्ट्रमा बलियो एकता कायम हुन्छ ।

(बबिता शर्मासँगको कुराकानीमा आधारित )

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...