केन्द्रीय संस्करण

महत्त्वाकांक्षी फूल

person explore access_timeअसोज १९, २०७६ chat_bubble_outline0

ख़लील जिब्रान

पोथ्रा जस्तोमा फुलेको एक सानो सुगन्धित निलो फूल थियो | अन्य फ़ूलहरुसंग विनम्रतापूर्वक सह अस्तित्वमा रहेर प्रशान्त चित्तले लहराउथ्यो |

एक दिन प्रातः काल थियो | शीतका थोपा उसका पत्रमा सुशोभित भएर विराजमान थिए | उसले आफ्नो शिर ठाडो गर्यो र यता उता हेर्यो | उसले देख्यो कि बगलमा एक सुन्दर गुलावको फूल गर्वले शिर उठाएर बडो शानले खडा छ | यस्तो प्रतित हुन्थ्यो उ मानौं आकाशमा एक हरियो रंगको जल्दो बल्दो हिराको मशाल हो |

यो देखेर यस सानो फूलले आफ्नो ओंठ फ़ट्फ़टाउन थाल्यो | उ भन्न थाल्यो, 'यि सबमा मेरै मात्र फुटेको भाग्य | यिनका छेउमा म त भुसुनो जति पनि भईन | प्रकृतिले मलाई यति हीन र गरिव किन बनाइन ?! मैले पृथ्वी मै लेपासी रहनु पर्दछ | म त आफ्नो शिर निल गगन तर्फ उठाउन पनि सक्दिन | न त म गुलावको जस्तो आफ्नो चेहरा सुर्य तर्फ नै मोड्न सक्छु |

गुलावको फूलले त्यस सानो फूलको गुनासो सुन्यो | गुलावले हास्दै भन्यो, ' तिम्रो कुरा कस्तो विचित्र ! तिमि त सौभाग्यशाली छौं | तर तिम्रो कमजोरी भनेको तिमि आफ्नो सौभाग्य महशुस गर्न सक्दैनौ | प्रकृतिले सुगन्ध र सौभाग्य दिएको हुन्छ | यस्तो कमैलाई प्राप्त हुन्छ | तिमीले त्यस्तो क्षुद्र विचार राख्नु हुँदैन | जे प्राप्त छ त्यसमा सन्तोष गर्न सिक | ख्याल राख, जो सानो भएर रहेको छ उ नै माथि उठ्न सक्दछ | जो आफुलाई ठालु भ'को ढोंग गर्दछ या ठुलो भ'को भन्ने घमण्ड गर्दछ त्यो चाडै नै समाप्त हुन्छ |’

सानो फूलले भन्यो, 'तिमि मलाई यस कारणले सान्त्वना दिई रहेका छौ कि मैले चाहेको जति तिम्रो साथमा सवै चीज छ | आफु ठुलो छु भनेर तिमि मलाई धमाश दिई रहेका छौ | आह, एउटा भाग्यमानको नसिहत अर्को अभागीको निम्ति कत्रो कष्टदायक हुन्छ |'

प्रकृतिले पनि निलो फूल र गुलावको फूलको यावत वार्तालाप सुनिन् | उनि प्रकट भएर भनिन्, 'मेरो भाइ सानो फूल, तिमीलाई यो के भा'को ?! तिमि त आफ्नो विचार र कार्यमा सदा नम्र र विनयशील थियौ | के तिम्रो हृदयमा लोभ र लालचले घर गरेको हो ?! त्यसले तिम्रो बुद्धिमा बिर्को लगा'को हो ?!'

तब निलो फूलले गिडगिडाउदै भन्यो, 'वात्सल्यपूर्ण, करुणामयी माते ! मेरो विनम्र प्रार्थना छ कि मलाई एकै दिनको निम्ति भए पनि गुलाव बन्ने अवसर दिनुहोस् |' प्रकृतिले प्रत्युत्तरमा भनिन्, ' तिमी के मागी रहेका छौ त्यसको भेउ तिमीलाई थाहा छैन | यस अन्धो लालसाको पछिल्तिर छुपेको विपत्ति बारे तिमि अनभिज्ञ छौ | तिमि कथं गुलाव बनि हाल्यौ भने तिमि स्वयम् अफसोस मान्ने वाला छौ | तिमीलाई पश्चाताप वाहेक केही मिल्ने वाला छैन |'

निलो फूलले जिद गर्यो, 'मलाई पनि एउटा अग्लो गुलाव बनाई दिनुहोस् | त्यसो भयो भने म पनि सगर्व आफ्नो शिर ठाडो गर्न चाहन्छु |' तब प्रकृतिले आजित भएर भनिन्, 'उसो भए, ए अज्ञानी विद्रोही सानो फूल म तिमीलाई वरदान दिने भएँ | तर पछि तिमीले मलाई शिकायत गर्न भने पाउने छैनौ नी !'

प्रकृतिले आफ्नो रहस्यपूर्ण जादुको औंला उठाउदै निलो फूलको जरामा स्पर्श गरिन् | तुरुन्तै उ एक बडो गुलावको फूलमा परिणत भयो | उ बगैंचाका अन्य फूल भन्दा पनि ठुलो भयो |

अचानक आकाशमा कालो बादल मडारिन थाल्यो | हावाले क्रुद्ध आँधीको रुप लियो | वायुमंडलको शान्ति छताछुल्ल भयो | आँधीले धर्तीमा लेपासिएका स-साना बोट बिरुवा बाहेक अरु सबै बोट बिरुवा उत्तानो टाङ्ग बनायो | हाँगाबिंगा सब भाँचभुच पार्यो | अग्ला अग्ला फूलहरु कच्याक कुचुक पार्यो | त्यस आँधीले बगैंचा तहस नहस पार्यो |

बोट बिरुवाको यो हालत देखेर निलो फूल मध्येको एउटाले भन्यो, 'हेर त, आँधीले अभिमानी फूलको क्या दुर्दशा बनाई दियो |'
अर्को फूलले भन्यो, 'हामी साना छौं र पृथ्वीको समिपमा छौं ' परन्तु हामी दैवी क्रोधबाट सुरक्षित छौं |'
तेश्रोले भन्यो, ' आँधीले हामीलाई हायल कायल गर्न सकेन | किन कि हाम्रो कद सानो छ |'
यहीं बेला निला फ़ूलकी रानीले आफ्नो बगलमा तहस नहस भएको उस अग्लो निलो फूललाई देखेर भनिन्, ' हेर त साथि संगी हो ! लालचले त्यस सानो निलो फूलको क्या हालत बनाई दियो ?! उ केवल एक घण्टाको निम्ति अभिमानी ठुलो फूल बन्न सक्यो | यस दृश्यलाई आफ्नो अहोभाग्यको निम्ति सदा स्मरणमा राखी राख्नु !'

यो सब सुनेर त्यो मृतप्राय ठुलो फ़ूलमा होश आयो र आफ्नो बचेखुचेको शक्ति सम्हालेर शान्त भावले प्रतिक्रिया दिन थाल्यो, ' तिमीहरु सबका सब आत्मसन्तुष्ट र निराहंकारी मुर्ख हौ | मलाई कदापि आँधी देखि डर लागेन | हिजोसम्म त म पनि सन्तोषी थिएँ | आफ्नो जीवन देखि सन्तुष्ट थिएँ | परन्तु त्यो आत्मसन्तोष नै मेरो अस्तित्व र जीवनको प्रगतिको सब भन्दा ठुलो तगारो थियो | त्यसले नै मलाई दुर्बल, अल्छी, मुक र कुपमंडुक बनाको थियो | डरका मारे म पनि पृथ्वीमा लेपासिएर तिमीहरु जस्तै जीवन गुजार्न सक्ने थिएँ | म पनि तिमीहरु जस्तै शीतको प्रतीक्षा गरेर मलाई पनि हिउँले कफनमा बन्द गरेको टुलुटुलु हेर्न र मृत्युको समक्ष आत्म समर्पण गर्न विवस हुन सक्ने थिएँ | तर मैले त्यसो गरिन | म अब प्रसन्न छु | किनभने मैले आफ्नो हीन दुनियाँबाट बाहिर निस्केर विश्वको रहस्यलाई बुझेको छु | यो यस्तो कार्य हो जसको तिमीहरुलाई छेउ टुप्पै थाहा छैन |'

'म आफ्नो मनमा आएको लालचको उपेक्षा गर्ने सक्ने थिएँ | परन्तु मैले रात्रिको नीरवातामा लौकिक र परालौकिक तत्वले आपसमा भलाकुसारी गरेको सुनें | ति त कुरा गर्दै थिए कि सत्ता भन्दा परको आकांक्षा नै हाम्रो अस्तित्वको प्रमुख लक्ष हो | त्यै बेला मेरो आत्माले विद्रोह गर्यो | मेरो हृदयमा आफ्नो सिमित सत्ता भन्दा माथिको स्थान प्राप्त गर्ने लालसा उत्पन्न भयो | मैले अनुभव गरे कि ताराको गीत धर्ति सुन्न सक्दैन | तब नै मैले आफ्नो हीनताको विरुद्ध धावा बोलें | मैले आफ्नो न भए पनि त्यो गीत सुन्न चाहें | हुँदा हुँदा के सम्म भयो भने मेरो विद्रोही भावना एक शक्तिमा परिणत भयो, मेरो लालसाले मेरो आकांक्षाको रुप लियो | प्रकृति त हाम्रा गम्भीर स्वप्नको प्रधान विषय हुन् र तिनले हाम्रा ईच्छा पूर्ति गरी दिन्छिन् | मेरो प्रार्थना तिनले सुनिन् र नै आफ्ना जादुकाका औंलाले मेरा जरा स्पर्श गरेर मलाई एक ठुलो फूलमा परिणत गराई दिइन् |'

यति भनेर त्यो ठुलो फूल एक छिन चुप रह्यो | अनि भने फेरि अभिमान र सफलता मिश्रित झिनो स्वरमा बोल्न थाल्यो, ' म, भलै थोरै सयको निम्ति किन नहोस्, एक भव्य शानदार फूलको रुपमा जिएको छु | थोरै समय नै सही, मेरो सत्ता सम्राट सरह कै रह्यो | मैले विश्वलाई गुलावको दृष्टिले हेरें | मैले नभ मण्डलको कानेखुसी गुलावको कानमा सुनेको छु | मैले प्रकाशका खातलाई गुलावका पत्तामा राखेर सुनेको छु | के कसैले यस्तो सम्मान प्राप्त गर्न सकेको छ ?!'

यति भनेर उसले आफ्नो शिर झुकायो | अन्तिम सास लिदै गर्दाको जस्तो घिटघिटो स्वरमा लरबराउँदै भन्यो, 'अब म चैनले मर्न सक्छु | किनभने मैले आफ्नो उद्देश्य पुरा गरेको छु | मैले आफ्नो ज्ञानलाई आफ्नो जनम जनमको संकीर्णताबाट बाहिर निस्केर विराट विश्वमा प्रस्तुत गरेको छु | जीवन अस्तित्वको यहीं हो रहस्य |' अनि भने गुलाव काम्न थाल्यो | उसका पत्ता संकुचन हुन् थाले र उसले ओठमा स्वर्गीय मुस्कान हाल्दै जीवनको अन्तिम सास फेर्यो |

अनु. टंक कार्की   Title Photo: https://www.thefamouspeople.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...