शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मादक पदार्थ किनबेचलाई समय निर्धारण

शनिबार, १८ असोज २०७६, ११ : ४५
शनिबार, १८ असोज २०७६

स्याङ्जा – स्याङ्जाको भिरकोट नगरपालिकाले मादक तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेको छ । 
 
नौ वटा वडा रहेको भिरकोट नगरपालिकाले हालसम्म सात वटा वडामा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि साँझ ६ बजेदेखि ९ बजेसम्मको तीन घण्टा समय निर्धारण गरेको नगरप्रमुख छायाराम खनालले बताए ।
 
“भिरकोट नगरपालिका अब छिट्टै बालमैत्री स्थानीय शासन घोषणाका क्रममा रहेकाले यसका लागि दु्रत रुपमा कार्य भइरहेको छ”, नगरप्रमुख खनालले भने, “बालमैत्री स्थानीय शासन तथा सामाजिक सुधारलाई मध्यनजर गर्दै हामीले अभियानका रुपमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेका हौँ ।” 
 
विशेषगरी बालमैत्री नगर घोषणाको अन्तिम चरणमा रहेको नगरपालिकाले बालबालिकालाई कुलतमा फस्न नदिने उद्देश्यले १८ वर्षमुनिका बालबालिकालाई मादक पदार्थ तथा अन्य सुर्तीजन्य पदार्थ किनबेच गर्ने कार्यमा प्रतिबन्ध लगाइएको नगरप्रमुख खनालले बताए ।
 
वडा नं ३ बाट शुरु भएको यो अभियान अहिले नगरपालिकाका सात वटा वडामा पुगेको छ भने बाँकी रहेका दुई वटा वडामा पनि स्थानीय वडावासी, होटल व्यवसायीसँग टोलटोलमा पुगेर भेलामा छलफल भइरहेको र बाँकी रहेका वडामा पनि अभियान सञ्चालन हुने नगरप्रमुख खनालले बताए ।
 
वडा कार्यालयले टोलटोलमा पुगेर टोलवासीसँगको छलफलबाट यो अभियान सञ्चालन गर्ने निर्णय गरेको र वडावासीले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगर प्रवक्ता दीपेन्द्र केसीले बताए।
 
बालमैत्री नगर घोषणालाई सहयोग पु¥याउने र बालबालिकालाई कुलतमा फस्न नदिनका लागि चालिएको यो अभियानले समाजमा होहल्ला, झैझगडा हुने क्रमलाई पनि न्यूनीकरण गर्नमा सघाउ पुग्ने विश्वास वडा नं ७ का वडा अध्यक्ष शेषकान्त अर्यालले बताए । 
 
“तोकिएको तीन घण्टाको अवधिमा जसले मादक र  सुर्तीजन्य पदार्थ सेवन गर्ने हो उसैले मात्रै किन्नुपर्ने र बालबालिकालाई खरीद बिक्री कार्यमा प्रयोग नगर्न वडावासीसँग आग्रह गरिएको छ”, वडाध्यक्ष अर्यालले भने, “नगरपालिका तथा वडाले अगाडि सारेको यो अभियानप्रति वडावासी सकारात्मक हुनुभएकाले विश्वास छ यो कार्य सफल हुनेछ, कार्यान्वयनमा जानेछ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप