बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेताको दसैं : कोही जिल्लामा, कोही काठमाडौंमै

शनिबार, १८ असोज २०७६, ०६ : ४२
शनिबार, १८ असोज २०७६

काठमाडौं।  दसैंको रमझम बढेको छ । संघीय राजधानी काठमाडौंबाट गाउँ जानेको भीड पनि ह्वातै बढेको छ । 

कति गइसकेका छन् भने कतिपय जाने तयारीमा छन् । नयाँ कपडाको किनमेलसँगै दसैंका लागि आवश्यक समानको व्यवस्थापनमा सर्वसाधारण जुटेका छन् । सधैं राजनीतिक कार्यक्रम, बैठक, सभा, सम्मेलनमा व्यस्त रहने राजनीतिक दलका नेता दसैंमा नेताकार्यकर्ता, सर्वसाधारणसँग भेटघाट गर्दै जनताका समस्या बुझ्ने योजनामा रहेका छन् । शीर्ष नेताहरू संघीय राजधानी छोडेर जिल्लामा पुगिसकेका छन् । जिल्लामा आयोजित शुभकामना कार्यक्रममा सहभागी उनीहरू आफूले गरेका कामको  जानकारीसमेत गराइरहेका छन् ।राजधानी दैनिकमा खबर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंको अवसरमा गृह जिल्ला झापामा आयोजना हुने शुभकामना कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको छ । २० असोजमा झापामा आयोजित कार्यक्रममा सहभागी भएर सोही दिन काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
२१ असोजमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गरिसकेपछि प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सर्वसाधारणलाई टीका  लगाउनेछन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दसैं परिवारसँगै घरमै मनाउने कार्यक्रम रहेको छ । कुनै विशेष कार्यक्रम नभएको जनाउँदै दाहाल सचिवालले परिवारसँगै मनाउने योजना रहेको जनाएको छ ।
नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दसैं काठमाडौं डल्लुस्थित निवासमै मनाउने कार्यक्रम रहेको छ । पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकलगायतलाई डल्लुमा टीका लगाएर दसैं मनाउने योजना रहेको सचिवालयले जनाएको छ ।
नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दसैं, दीपावली, छठलगायतका पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन शनिबार (१८ असोज) रौतहट जाँदै छन् । टीका घरका ज्येष्ठ सदस्य दिव्य उपाध्यायबाट काठमाडौंमै लगाउने र नेता, कार्यकर्ता, शुभचिन्तकलाई लगाइदिने कार्यक्रम रहेको नेपालको सचिवालले जनाएको छ ।
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले किताब पढेर दसैं मनाउँदै छन् । बुबा भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेपछि उनले आफन्त, पार्टीका कार्यकर्ता, शुभचिन्तकलाई टीका लगाउने कार्यक्रम रहेको छ ।
नेताहरुको दसैँ
प्रधानमन्त्री ओली झापामा शुभकामना कार्यक्रममा सक्रिय हुने
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवारस“गै दसैं मनाउने
पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौं डल्लुस्थित निवासमै मनाउने
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहटका विभिन्न कार्यक्रममा सक्रिय हुने
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले किताब पढेर दसैं मनाउने
राजपा नेपालका नेता राजेन्द्र महतो जनकपुरमा विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप