केन्द्रीय संस्करण
विचार

‘महान नेता’ किन ‘गद्दार’ बन्छन् ?

person explore access_timeअसोज १७, २०७६ chat_bubble_outline1
मणि थापा

रातोपाटी

नेकपाको सांगठनिक कार्यविभाजन हुँदा पार्टीले मलाई साहित्य, कला तथा संस्कृति विभाग प्रमुखको जिम्मा दिएको छ । नयाँ जिम्मेवारीसँगै हामीले काम शुरु गरेका छौँ ।

यो विभागले तत्काल पात्र र प्रवृत्तिभन्दा पनि दुई विभागलाई मिलाउने अर्थात् पूर्व एमाले र पूर्व माओवादीमा रहेका विभागहरुको एकीकरणको काम गर्छ । पूर्व माओवादीमा यस्ता विभागहरुको सोच थिएन र भिन्दै विभाग पनि थिएन । करिब–करिब सबै जनवर्गीय संगठन र मोर्चाहरुमार्फत् नै गीत संगीत, साहित्य र कलाको काम हुने गर्दथ्यो । अहिले नेकपामा त्यस्तो छैन । सांगठनिक रुपमा हामी नयाँ तरिकाले काम गर्दैर्छौँ ।

नेकपाका ३२ विभाग मध्ये कला, साहित्य र संस्कृति विभाग पनि एउटा हो । अन्र्तराष्ट्रिय जगत्मा ठूलो महत्व पाउने यो विभागलाई हामीकहाँ त्यति धेरै महत्व दिइएको छैन ।  नेपाली राजनीतिमा गीत, संगीत, साहित्य, सँस्कृति ‘सफ्ट पावर’ जस्तो छ । पार्टीमा ‘हार्ड पावर’ चलनचल्तीमा छ ।

हामीकहाँ शक्तिमुखी, व्यक्तिवादी, सत्तामुखी र पैसामुखी राजनीति हावी छ । गीतसंगीत, साहित्य र संस्कृतिलाई सामान्य रुपमा लिइने गरिन्छ । तर, कला, साहित्य र संस्कृति भनेको देशको पहिचान हो । यो कसैले बनाएको नभई ऐतिहासिक पहिचान हो । त्यसैले भँुइतहको जनतासम्म यसको सम्बन्ध रहन्छ ।

हामीले नेपाललाई बहुजाति, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक भनेका छाँै । यसको मुख्य विशेषता भनेको गीत, संगीत, साहित्य, कला र संस्कृतिमा विविधता हो । यसले जातीय, क्षेत्रीय, साँस्कृतिक विशेषता झल्काउँछ । यस्तो विविधताले देशको समग्र पहिचान देखाउँछ ।

त्यसैले हामीसँग अब नयाँ गहन जिम्मेवारी छ । विभागले नेपालको राष्ट्रिय संस्कृति के हो ? यसको विविधता के हो ? यसलाई कसरी प्रवद्र्धन गर्ने र जनतासँग जोडिरहने भन्ने खोज अनुसन्धान गर्न आवश्यक छ । यो गहन जिम्मेवारी हामीले पूरा गर्नुपर्नेछ ।

नेपालमा २००७ सालदेखि जनयुद्ध र जनआन्दोलनसम्म हुँदा राजनीति रुपमा टूलाठूला क्रान्ति भए । यसलाई हामीले राजनीतिक  परिवर्तन भन्याँै । धेरै नेताहरु जेलमा बसे । हामी ती नेताहरुलाई पालैपालो ‘महान’ नै भन्याँै । तर, नेताहरुमा रुपान्तरण देखिएको छैन । मूलतः राजनीतिक क्रान्तिसँगै परिवर्तनका अरु आयाममा हामीले ध्यान दिन सकेनौँ ।

स्वयं व्यक्तिमा परिवर्तन आएन अथवा राजनीतिक पार्टीका नेताहरुमा परिवर्तन आएन भने समाजमा पनि परिवर्तन हुँदैन । जनताको विश्वास जित्न सकिँदैन । नेता आफैं र जनताले महशुस गरेको कुरा हो यो ।

अहिलेको आवश्यकता भनेको समग्र पार्टीलाई परिर्वतन गर्ने हो । जनतालाई रुपान्तरण गर्ने हो । यहाँ रुपान्तरण भनेको जनताको अनुकूल व्यवस्था हुने भनेको हो । कोही पनि जनताभन्दा माथि हुनुहुन्न भनेको हो । राजनीति नेपालको संस्कार, संस्कृति, पद्धति, सभ्यताको अनुकूल हुनुपर्छ भनेको हो । राम्रो संस्कृति निर्माण भए यसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दालाई पनि सहयोग गर्छ ।

अब राजनीतिक प्रक्रिया पनि संस्कृति अनुरुप हुनुपर्दछ । त्यहाँ परिवर्तनको आवश्यकता छ, हुनुपर्छ । किनकि हामी कम्युनिष्ट आन्दोलनको कुरा गर्छौँ । पार्टीभित्र विजातीय तŒवहरु विकसित भए अथवा कम्युनिष्ट पार्टीभित्र गैरसर्वहारा वर्गको चिन्तन भयो भने त्यसलाई बारम्बार सफाइ गर्नुपर्छ । र सांस्कृतिक क्रान्ति गरिराख्नुपर्छ । रुपान्तरण एवं शुद्धीकरणको आन्दोलन चलाउनुपर्छ । यसलाई नै सांस्कृतिक रुपान्तरण भनिएको हो । अहिलेसम्म यस्तो महत्त्वपूर्ण पक्ष नेपालका सबै राजनीतिक दलको प्राथमिकतामा परेको विषय हैन । जुन दुखद कुरा हो ।

जनताले नेताका चरित्र र शैली हेरिराखेका छन्

व्यक्तिवादी राजनीति जहाँ–जहाँ बढी हुन्छ, त्यहाँ गीत, संगीत, साहित्य, कला अथवा रुपान्तरणको विषयले प्रधानता पाउँदैन । यो विडम्बना हामीले देखिरहेका र भोगिरहेका छौं ।  अहिले जनताले नेताहरुले कति सेवा दिन सके र विकास कति भयो भन्ने कुरा मात्रै हेरेका हैनन् । नेपालको एकल प्रयासले मात्रै समग्र विकास सम्भव छैन । त्यसमा अन्तराष्ट्रिय सहयोग र त्यसको विकास मोडेलले पनि प्रभाव पार्छ ।

जनताले हामी नेताका चरित्र, सोच र शैली हेरिराखेका छन् । राजनीतिक पार्टीका नेता–कार्यकर्ताको चरित्र जनताको चरित्र भन्दा फरक भएको छ । हुनुपर्ने चाहिँ  नेताको चरित्र श्रमजिवी वर्गको चरित्र जस्तो हुनुपथ्र्यो । हामीलाई भोट दिने जनताको चरित्रसँग र मेल खाने खालको र हामीले हाम्रा नीति, कार्यक्रम, प्रतिबद्धताहरुमा गरेका वाचाहरु अनुकूल हुने गरी नेताको चरित्र मेल खानु पथ्र्यो । तर, हाम्रा नेतामा जनमैत्री र जनताका सेवक हुँ भन्नेखालका चरित्र हुनेपर्नेमा त्यसको ठीक विपरीत शासकीय चरित्र देखा पर्र्यो । जनता तलका र आफूमाथिको भन्ने सामन्ती सोच नै हावी भएको  देखियो । जनताले अहिले जब्बर रुपमा प्रश्न उठाइराखेको विषयहरुमध्येका पनि मुख्य यहीँ हो । नेताहरुको चरित्रमा परिवर्तन आएन भन्ने आमजनताको बुझाइ र त्यसबारे तीब्र आलोचना छ । नेताहरु देश र जनताका सेवामा प्रतिवद्ध नेतृत्वका प्रतिविम्बन हैन, उनीहरु शोषकारी शासनव्यवस्थाका शासकहरुलाई नै माथ खुवाउने गरी नवधनाढ्यमा परिणत भए भनेर जनस्तरमा प्रश्न उठिराखेको छ ।

जो जनताले हामीलाई भोट दिए, ति जनताको भोट र हामीले बोकेको राजनीतिक चरित्रवीच तालमेलको अभाव देखियो । यही नै हो सवैभन्दा पेचिलो प्रश्न उठेको । यो प्रश्न चरित्र र संस्कृतिसँग बढि जोडिएको छ । तर, जनतलाई चित्तबुझ्ने जवाफ कसैले दिन सकेको छैन ।

मलाई लाग्छ, राजनीतिक पार्टीहरुमा सांस्कृति रुपान्तरणको प्रक्रिया धेरै ढिला भयो । इतिहास हेर्र्यौं भने हरेक आन्दोलनबाट ठुल्ठुला नेता जन्मिए । राजनीतिक परिवर्तन भए । तर, ती परिवर्तन संस्थागत हुन सकेनन् । कस्तो विडम्वना छ भने आन्दोलनबाट हामीले भन्ने र बुझ्ने गरेको एउटा ‘महान नेता’ जन्माउँछ, त्यसको पाँच–सात बर्षपछि त्यहीँ ‘महान नेता’ गद्धार ठहरिन्छ । नेतामाथिको जनताको विश्वास अविश्वासमा बदलिन्छ । ऊ जनताको रुचाएको नेतामा पर्दैन । यसको पछाडि कारण हो–नेताहरुमा संस्कृतिको परिर्वतन भएन ।

सैद्धान्तिक रुपमा हेर्दा हाम्रो विभागले सांस्कृतिक रुपान्तरण र सांस्कृतिक आन्दोलनबारे पार्टीमा वैचारिक बहस र नीति निर्माण गर्ने हो । त्यहीँ नीति पार्टी र सरकारलाई लागू गर भनेर सुझाव दिने हो । र जनतालाई पनि फरक ढंगले प्रशिक्षित गर्ने, सांस्कृतिक, वैचारिक रुपान्तरणको अभियान चलाउने र त्यो खालको अध्ययन, अनुसन्धान गर्ने हो ।

अब गर्नुपर्ने काम

सांस्कृतिक माहोललाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामीले सोचेका छाँै । तर फेरि विभागका आफ्ना सीमाहरु छन्, त्यो सीमामै रहेर हामीले काम गर्नुपर्ने हुन्छ । अपेक्षाकृत रुपमा हुन नसकेको सांस्कृतिक रुपान्तरणका क्षेत्रमा हामीले काम त गर्नै पर्ने हुन्छ । सांस्कृतिक रुपान्तरण र सांस्कृतिक आन्दोलनका लागि पार्टीमा तलदेखिमाथिसम्म त्यस्तै खालका संरचना पनि चाहिन्छन् । सांस्कृतिक रुपान्तरण एकपटक पूरा गरेर हुने पनि होइन, निरन्तर चल्ने प्रक्रिया हो ।

कठिनाई र चुनौतीहरु

विभाग सञ्चालनका केही कठिनाई पनि छन् । पार्टीनै नै राम्रोसँग सञ्चालन नभइरहेको बेला विभागहरु सञ्चालन गर्न कठिन त हुन्छ नै । विभाग सञ्चालन गर्न पार्टीको सहयोग कस्तो र कति हुन्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । यस कार्यका लागि आर्थिक, भौतिकलगायत सबैखाले सहयोग चाहिन्छ । यो एउटा पक्ष भयो ।

तर, विभागको महत्व नै स्थापित गर्ने हाम्रो पहिलो चुनौती छ । त्यो चुनौती सामना गर्दै कला, साहित्य र संस्कृति विभागलाई अगाडि बढाउछाँै । पार्टीले अनुकूल वातवरण बनाइदिएर काम गर्न दिए पक्कै पनि यो विभागले सांस्कृति रुपान्तरमा ठूलो भूमिका खेल्न सक्छ भन्ने हामीलाई विश्वास छ ।

( नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साहित्य, कला तथा संस्कृति विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य थापासँग  विभागका काम, यसको महत्व साथै पार्टीमा सांस्कृतिक रुपान्तरण के हो र कति संभव छ भनेर बबिता शर्माले गरेको कुराकानीमा आधारित )

 

कमेन्ट

  1. Oct. 4, 2019, 9:03 p.m. buddhi purja
    यस सरकारका धेरै राम्रा कुरा छन् । तर हामी कम्युनिस्ट भईरहदा के आचरणमा बानिमा, सुशासनमा नेता र कार्यकर्तामा सुदृढीकरण नहुने ? बारम्बार जनताको ( हाम्रो ) भनाइलाई उपेक्षा गरियो र हुदै आएको छ भोलिका दिनमा समेत रहिरहने कि भन्ने आशंकामा हामी छौ। नेपालका राजनीति पार्टीहरूले आफ्नो झन्डाको मात्रै प्रचारप्रसार गरेर भोट मागेको भए हुने थियो तर धेरै आदर्शकाा कुरा जस्तै: आकाशबाट तारा खसाल्ने,स्वर्गसम्म सुनको भर्याङ खडा गर्ने जस्ता धेरै आश्वासन दिएका कारणले आजको समस्या सृजना भएको मेरो ठम्याइ रहेको छ । अझै पनि सुध्रिनेे मौका छ अन्यथा जनता जनार्दन भन्ने कुरा हेक्का रहोस्
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...