सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘काँग्रेस बीआरआईमा जान्छ, चीन ढुक्क भए हुन्छ’

जस्तोसुकै परस्थितिमा पनि सभापति लड्छु : डा. शेखर कोइरालासँगको अन्तरवार्ता
शुक्रबार, १७ असोज २०७६, ११ : ५५
शुक्रबार, १७ असोज २०७६

सरकारको आलोचना भइरहेका बेला प्रमुख प्रतिपक्षीको बेञ्चमा रहेको नेपाली काँग्रेस पनि आलोचनारहीत हुन सकेको छैन । पार्टीभित्रको अस्तव्यस्तता र संसदमा ‘फितलो’ प्रस्तुतिका कारण काँग्रेस आलोचित बनेको हो । त्यतिमात्रै होइन, जनजीविकाका सवालमा पनि काँग्रेसले सशक्त आवाज उठाउन नसकेको काँग्रेकै नेताहरु बताइरहेका छन् । पार्टीभित्रको अस्तव्यस्ता, १४ औंँ महाधिवेशन, अंगीकृत नागरिकता र सी विचारधाराको सेरोफेरोमा रहेर नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग रातोपाटीका लागि लोकेन्द्र भट्टले कुराकानी गरेका छन् ।

मुलुकका पछिल्ला घटनाक्रमहरुलाई कसरी अध्ययन गरिरहनुभएको छ ?

अहिलेको नेपालको राजनीति अध्ययन गर्दा देशभित्र र बाहिरको राजनीति समेत हेर्नुपर्ने हुन्छ । देशभित्रको राजनीतिमा हामी प्रतिपक्षमा छौँ । सरकारले गर्नुपर्ने कामहरु गर्न सकेको छैन । संविधान कार्यान्वयनका लागि ल्याउनुपर्ने विधेयकहरु पनि ल्याउन सकेको छैन । ल्याएका विधेयकहरु पनि विवादित छन् । गुठी विधेयक हचुवाको तालमा ल्याइयो र फिर्ता भयो । मिडिया काउन्सिल विधेयक पनि विवादमा छ । यो विधेयक पास भयो भने तपाईं हामी यसरी बसेर छलफल गर्न पनि पाउँदैनौ । यसमा नेकपानिकट सञ्चारकर्मीले पनि बुझ्नुपर्ने हो कि ‘हामीमाथि तरबार झुन्ड्याइँदै छ’ भनेर । भलै पछि काँग्रेस सरकारमा आए यस्ता ऐन–कानुनहरु संशोधन गर्ला । तर त्यतिबेलासम्म देश अप्ठ्यारोमा परिसकेको हुनेछ । मानवअधिकारसम्बन्धी विधेयक पनि विवादमा छ । अहिले आएको विधेयक जस्ताको तस्तै पास भयो भने मानवअधिकारको नेपालमा कुनै मान्यता रहँदैन । किन भने यो स्वतन्त्र निकाय हो, संविधानले नै यसको स्वतन्त्रताको सुनिश्चित गरेको छ । तर सबैभन्दा गम्भीर विधेयक भनेको राष्ट्रिय सुरक्षा विधेयक हो । यो जस्ताको तस्तै पास भए देशमा एक दलीय शासन व्यवस्था ल्याउन कसैले रोक्न सक्दैन । किनभने प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्नेछन् ।

अर्कोतिर सरकारका क्रियाकलाप उदण्ड मच्चाउने खालका छन् । राज्य आतङ्कको शैलीमा काँग्रेस बाँकेका सभापति ७० वर्षीया किरण कोइरालामाथि वडाध्यक्षकै नेतृत्वमा हात भाँचिदिने काम भएको छ ।

यस्तै तनहुँमा नेता डा. मिनेन्द्र रिजालमाथि सामूहिक हमला गर्ने प्रयास भएको छ । भ्रष्टाचार विरोधी अभियन्तामाथि गाडीभित्रै रडले हिर्काउने काम भएको छ । के हामीले यसैका लागि आन्दोलन गरेका हौँ ? त्यसैको लागि गणतन्त्र ल्याएका हौँ ? गणतन्त्रमा त बोल्ने अधिकार हुन्छ तर अहिले देशमा गुण्डागर्दी राज फैलिएको महसुस भएको छ । जसले अधिनायकवादको संकेत गरिरहेको छ ।

सरकारका यस्ता कदम रोक्न काँग्रेसको प्रयास के हुनसक्छ ?

काँग्रेस कार्यकर्तामा जागरुकता ल्याउन लागिपरेको छ । निर्वाचनमा हार बेहोरेपछि हाम्रा कार्यकर्तामा एक खालको निरासा पैदा भयो । अर्कोतिर संसदमा हामीले सुरुका दिनमा आवश्यक भूमिका खेल्न सकेनौँ । अहिले पनि त्यति राम्रो ढङ्गले प्रस्तुत हुन सकेका छैनौँ । काँग्रेस सडकमा आउने कुरा हुँदैन । तर सडकमा आउने नेविसंघ विघटन भएको ७ महिना भइसक्यो । तरुण दलको अवस्था पनि त्यस्तै छ । अरु भ्रातृ संस्थाहरु कसैको अवधि सकिएको छ भने कसैले काम गर्न सकेका छैनन् । त्यसकारण हामीले सडक तताउन सकिरहेका छैनौँ । तर पनि काँग्रेस सचेत छ । अब काँग्रेस सडकमा उत्रन तयार हुनुपर्छ ।

राजाको निरंकुशताका विरुद्धमा पनि काँग्रेस सडकमा उत्रिएकै हो । यो सरकारले पनि निरंकुशता लाद्न खोजिराखेको छ, हामी यसविरुद्ध पनि उत्रिन्छौँ ।

*****

दुःखको कुरा जसलाई म हिजोदेखि आदार गर्छु हाम्रो प्रधानमन्त्री केपी शर्मा ओली । जो लोकतन्त्रको निम्ति १४ वर्ष जेल बस्नुभयो । त्यो के एकदलीय शासन व्यवस्था ल्याउन हो ? हो भने उहाँले भन्नुपर्यो । होइन, यी गलत कामहरुलाई  रोक्नुपर्यो ।

*****

निरंकुशताविरुद्ध लडेका नेता वा पार्टीले नै सरकार सञ्चालन गरिरहेका छन् । लोकतान्त्रिक विधि र पद्धतिबाट बनेको सरकार निरंकुश बन्छ भनेर कसरी विश्वास गर्ने ?

मैले अंकुश लगाउने कुराका बारेमा सुरुमै बताएँ । एक दलीय शासन व्यवस्थाको बाटोमा सरकार गएको छ । तर नेपालको संविधानले एक दलीय व्यवस्थालाई चिन्दैन । तैपनि उहाँहरुले गरिराख्नु भएको छ । जसका विरुद्ध पत्रकार, नागरिक समाज र हामीहरु लागिरहेका छौँ । गलत हो भनिरहेका छौँ । उहाँहरुको अल्टिमेट गोल के हो ? उहाँहरु कम्युनिस्ट हो । यसमा दुई मत छैन । कम्युनिस्टको सिद्धान्त नै एकदलीय राज्य व्यवस्था हो । पछिल्लो समय सत्तारुढ दलको क्रियाकलाप हेर्दा ऊ त्यसतर्फ नै उद्दत छ ।

दुःखको कुरा जसलाई म हिजोदेखि आदार गर्छु हाम्रो प्रधानमन्त्री केपी शर्मा ओली । जो लोकतन्त्रको निम्ति १४ वर्ष जेल बस्नुभयो । त्यो के एकदलीय शासन व्यवस्था ल्याउन हो ? हो भने उहाँले भन्नुपर्यो । होइन, यी गलत कामहरुलाई  रोक्नुपर्यो । उहाँसँग ठूलो आशा थियो–अब देश समृद्ध हुन्छ भनेर । तर उहाँ विकास र समृद्धी भन्दा पनि एकदलीय शासन व्यवस्थातर्फ लाग्नुभयो । नेपालमा एकदलीय शासन व्यवस्था लाद्न काँग्रेसले दिँदैन ।

सरकारले एक दलीय शासन व्यवस्था रोक्न काँग्रेसले ल्याकत राख्ला ?

कुनैपनि संसदीय व्यवस्थामा संसदीय दलका नेताको भूमिका महत्त्वपूर्ण हुन्छ । हाम्रो पार्टीको संसदीय दलको नेता अहिले सभापति शेरबहादुर देउवा हुनुहुन्छ । उहाँले गर्ने गतिविधि र उठाएका विषयमा पार्टीका सांसद र हामी कार्यकर्ताले अनुशरण गर्ने हो । तर काँग्रेसमा त्यस्तो भइरहेको छैन । केही सांसदहरुले बोलिराख्नु भएको छ । केही भएको छैन भन्ने पनि होइन । तर त्यसले जति अर्थ राख्नुपर्ने हो त्यति छैन भन्नेमात्र हो ।

*****

महाधिवेशन भएको २ महिनामा पार्टी विभाग गठन भइसक्नुपर्ने विधानमा छ । तर साढे तीन वर्षसम्म पनि विभाग बन्न सकेका छैनन् । त्यसमा को जिम्मेवार हो ? भागबण्डाको कुरा मेरो सरोकारको विषय होइन । अहिलेसम्म विभागसमेत गठन हुन नसक्नुमा मुख्य जिम्मेवार को हो ? त्यसको निम्ति सभापति जिम्मेवार होइन ? मैले पठाएँ उनीहरुले नाम दिएनन् भनेर रोइलो गर्ने हो ? विधानतः अब अधिवेशनमा जाने बेलामा विभाग बनाउने हो कि पहिले नै हो ?

*****

प्रतिपक्षको भुमिका त कमजोर नै देखियो । काँग्रेसभित्रको आन्तरिक राजनीति चाहीँ कसरी चल्दैछ ?

हालको केन्द्रीय समितिको कार्यकाल चार वर्षको हो । पार्टी विधान अनुसार एक वर्ष थप्न सक्छौँ । संविधानले पनि ६ महिना समय थप्न पाउने व्यवस्था गरेको छ । हामी प्रतिपक्षमा छौँ । कुनै प्रदेशमा पनि हाम्रो सरकार छैन । त्यसैले हामीले जतिछिटो अधिवेशन गर्यो त्यति नै छिटो काँग्रेसमा उर्जा थपिन्छ । तदर्थवादबाट पार्टी चलाउनु हुँदैन, चल्दैन । त्यसकारण मैले भन्ने गरेकोे छु – प्रदेश र केन्द्रीय महाधिवेशनको तयारी गरौँ । यस्तै जुन जुन भ्रातृ संस्थाको महाधिवेशन हुन सकेको छैन । उनीहरुलाई महाधिवेशनतर्फ लगेपछिमात्रै काँग्रेस बलियो हुन्छ ।

तपाईंले १४ औँ महाधिवेशनको कुरा उठाइहाल्नुभयो । सभापति देउवाले तपाईंहरुलाई भागबण्डाको राजनीति गरेर पार्टीलाई बन्धक बनाउनुभयो भन्ने आरोप लगाइराख्नु भएको छ । के त्यस्तै भइरहेको हो ?

म पार्टी सभापतिले के भन्नुभयो भन्ने कुरामा जान्न । महाधिवेशन भएको २ महिनामा पार्टी विभाग गठन भइसक्नुपर्ने विधानमा छ । तर साढे तीन वर्षसम्म पनि विभाग बन्न सकेका छैनन् । त्यसमा को जिम्मेवार हो ? भागबण्डाको कुरा मेरो सरोकारको विषय होइन । अहिलेसम्म विभागसमेत गठन हुन नसक्नुमा मुख्य जिम्मेवार को हो ? त्यसको निम्ति सभापति जिम्मेवार होइन ? मैले पठाएँ उनीहरुले नाम दिएनन् भनेर रोइलो गर्ने हो ? विधानतः अब अधिवेशनमा जाने बेलामा विभाग बनाउने हो कि पहिले नै हो ? यसको अर्थ महाधिवेशन गर्न नचाहेको त उहाँले नै हो भन्ने प्रष्ट छ । अहिले भर्खर विधान अनुसार प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहमा समायोजन भइसकेको छ । विजयकुमार गच्छदार नेतृवको तत्कालीन लोकतान्त्रिक फोरमसँग पनि समायोजन भइसक्यो । क्रियाशील सदस्यलाई कसरी अगाडि बढाउने र नविकरण गर्दा कसरी गर्ने भन्नेबारेमा छलफल गर्ने बेलामा विभाग बनाउँछु भनेर हिँड्ने हो ?

गच्छदारसँगको समायोजनलाई लिएर कोइराला परिवार असन्तुष्ट बन्यो भन्ने छ, त्यसमा तपाईंहरुको धारणा के हो ?

मेरो कुनै असन्तुष्टि छैन । अरुको कुरा मलाई थाहा छैन । म सुरुदेखि नै समायोजन छिटो हुनुपर्छ भन्ने मान्छे । जुन दिन गच्छदारजी काँग्रेसमा समाहित हुुनुभयो त्यो दिनदेखि म समायोजनको पक्षमा छु । पार्टीले बनाएको समायोजन समितिले गरेको निर्णयलाई केन्द्रीय समितिले पारित गरेको छ । यसलाई सबैले मान्नुपर्छ ।

वर्तमान कार्यसमितिले काम गर्न नसकेको गुनासो रहेकाबेला १४ औँ महाधिवेशनबाट काँग्रेसमा कस्तो रुपान्तरण हुने देख्नुहुन्छ ?

लोकतन्त्रका लागि हाम्रो नेतृत्वले धेरै हण्डर खायो । धेरै लडाईँ लड्नुपर्यो । त्यसका लागि नेताहरु सबैलाई हामीले धन्यवाद दिनुपर्छ । तर अबको दुईतिहाइ सरकारसँग लड्न सक्षम काँग्रेस बन्नुपर्छ । अबको काँग्रेस प्रविधिसँग अन्तरघुलित हुनसक्नुपर्छ । त्यसैले शेरबहादुर देउवा, रामचन्द्र पौडेल बस्नुहुन्छ, हुन्न त्यो उहाँहरुको कुरा हो । हामीसँग चुनाव लडेर जित्नुभयो भने पनि अभिभावक मान्ने हो हारे पनि मान्ने हो । तर अब काँग्रेसमा नयाँ नेतृत्व आउँछ आउँछ । हामी २१ औँ शताब्दीको समय सुहाउँदो काँग्रेस बनाएर अगाडि बढ्छौँ ।

तपाईं २१ औँ शताब्दीको काँग्रेस बनाउने कुरा गर्नुहुन्छ । तर काँग्रेसका अहिलेका नेताहरु नै नेतृत्वमा जान दौडधुप चलेको छ । फेरि यिनै नेता नेतृत्वमा पुगे भने तपाईंले कल्पना गरेको काँग्रेस सम्भव छ ?

लोकतान्त्रिक मुलुकहरुको उदाहरण हेर्नुहोस् । युवा पुस्ताले उछिनेर आएका छन् कि छैनन् ? त्यसकारण त्यो कुरामा नजाऊ । उहाँहरुले पार्टीमा योगदान गर्नुभएको छ  । उहाँको कदर गर्नुपर्छ । तर अब काँग्रेसको नेतृत्व उहाँहरुबाट सम्भव छैन यो पक्का हो ।

*****

अब पदाधिकारी पनि युवा नै आउँछन् । युवालाई माइनस गरेर जान्छु भनेर अब हँुदैन । मैले पनि जोडेरै जानुपर्छ, अर्कोले पनि जोडेरै जानुपर्छ । अब नयाँ र प्रतिस्पर्धी नेतृत्व आउँछ । त्यो युवाको साथमा आउँछ । १५ औँ महाधिवेशनमा युवा पुस्ता नेतृत्वमा पुग्छ । युवाहरुकै लागि बाटो छेक्ने काम मबाट हुँदैन । अरुले पनि गर्नुहुदैन ।

*****

देउवा पौडेलहरुबाट काँग्रेस नेतृत्व सम्भव छैन भन्दै गर्दा काँग्रेसका युवा नेताहरु पनि वैचारिक बहस र विचारमा सशक्त देखिँदैनन् नि ?

तपाईंले ठीक भन्नुभयो युवामा त्यस्तै अवस्था छ । एक हिसाबले भन्ने हो भने युवाहरु मात्र होइन हामी सबै त्यस्तै छौँ । तर काँग्रेस यस्तो पार्टी हो जसले युवालाई पनि समावेश गर्छ । पाका नेताहरुलाई पनि लिएर जान्छ । पाका र युवाहरुको समिश्रणबाट काँग्रेस अघि बढ्छ ।

पाका र युवालाई संयोजन भन्नाले कसरी बुझ्ने ? तपाईं आफु युवा पुस्तालाई साथमा लिएर नेतृत्व गर्नु खोज्नुभएको हो ?

तपाईं यसरी बुझनुहोस् । अब पदाधिकारी पनि युवा नै आउँछन् । युवालाई माइनस गरेर जान्छु भनेर अब हँुदैन । मैले पनि जोडेरै जानुपर्छ, अर्कोले पनि जोडेरै जानुपर्छ । अब नयाँ र प्रतिस्पर्धी नेतृत्व आउँछ । त्यो युवाको साथमा आउँछ । १५ औँ महाधिवेशनमा युवा पुस्ता नेतृत्वमा पुग्छ । युवाहरुकै लागि बाटो छेक्ने काम मबाट हुँदैन । अरुले पनि गर्नुहुदैन ।

१४ औँ महाधिवेशनमा तपाईंको स्थान वा उम्मेद्वारी कुन पदका लागि हो ? गृहकार्य कसरी हुँदैछ ?

कार्यकर्तासित भेटघाट हुँदैछ । जिल्ला–जिल्ला जाँदैछु । उनीहरुको दुःखमा सामेल भइरहेको छु । उनीहरुको समस्या बुझ्ने प्रयास गर्दैछु । समस्या बुझेर समाधान गर्ने कोशिस गरिरहेकै हुन्छु । राजनीति भनेकै यहि त हो । देशभित्र र बाहिर जुन इस्यु आइरहेका छन् तिनलाई नेपाली काँग्रेसका कार्यकर्तामा सुझाउने प्रयास गरिरहेको छु । नेपाल अप्ठ्यारो परिस्थितिमा छ र हामी यसरी जाँदैछौ भनेर भनिरहेकै हुन्छु । 

यो कुरा तपाईं केन्द्रीय सदस्यका हिसाबले पनि गर्न सक्नुहुन्छ । तर यो पद भन्ने भित्रि आकाङ्क्षा पनि त होला नि ?

राजनीति गर्ने मान्छेमा उच्च पदको आकाङ्क्षा हुन्छ नै । गाउँपालिकाको मानिसलाई गाउँपालिका सभापति भन्ने आकाङ्क्षा हन्छ । जिल्लाको मान्छेलाई जिल्ला सभापति बन्ने भन्ने हुन्छ । प्रदेश र केन्द्रको कुरा पनि त्यस्तै हो । म केन्द्रमा छु केन्द्रीय नेतृत्व गर्ने इच्छा राख्नु स्वभाविक हो  । यस्तै इच्छा सबैको हुन्छ । त्यसैले कोशिस गर्दैछु, भिड्दै छु, अगाडि जाँदैछु कतिसम्म अगाडि जान्छु त्यो समयले बताउँला ।

संस्थापन इतरतिर आधादर्जन नेताहरु साभापतिका आकाङ्क्षी छन् । यस्तो अवस्थामा तपाईंको सम्भावना कति होला ?

मेरो सम्भावना मैले भन्ने होइन । कार्यकर्ता र मेरो कर्मले बताउँला । कार्यकर्ताले साथ दिएको खण्डमा परिस्थिति जस्तोसुकै आएपनि मेरो सभापतिमा उम्मेदवारी रहन्छ । आज यति नै भनौँ । तपाईंले संस्थापन र संस्थापन इतरका आकाँक्षीको कुरा गर्नु भयो । म संस्थापन वा इतर भन्ने कुरामा विश्वास गर्दिन । मान्छे कर्मले अगाडि बढ्ने हो । कति आकाङ्क्षी छन् भन्ने कुराभन्दा पनि जसले कार्यकर्ताको मनोबल उच्च राख्नसक्छ उही नेतृत्वमा आउँछ ।

काँग्रेसको नेतृत्व लिन तपाईंले कस्ता रोडम्याप बनाउनुभएको छ ? योजना र एजेण्डा के छन् ?

अहिले नै त्यस्ता योजना र एजेण्डा तयार भैसकेका छैनन् । गर्ने बेला आउँला । सभापतिमा उम्मेद्वारी दिँदै गर्दा ती कामहरु गरेर अगाडि बढ्छु ।

तपाईं वर्तमान कार्यसमितिमा पनि हुनुहुन्छ । अहिलेसम्म कुनै एजेण्डा स्थापित गर्ने वा कुुनै विचार–बहसको विजारोपण गर्ने काम हुन सकेको छैन । तपाईंको उम्मेद्वारीले काँग्रेस पुनर्ताजगी आउनेमा कसरी विश्वास गर्ने त ?

तपाईंले भनेको ठीक हो । हामीबाट पनि एजेण्डा स्थापित गर्ने र विचार वा बहसको विजारोपण गर्ने काम भएको छैन । तर काँग्रेस एउटा व्यक्तिले मात्र चलाएर चल्दैन । आज जो जो नेतृत्वमा हुनुुहन्छ, भोलिका दिनमा उहाँहरुको पनि हामीलाई सहयोग चाहिन्छ । पार्टी युवाको जोस् र पाकाको होस्लाई मिलाएर जाने हो ।

*****

काँग्रेसको महाधिवेशन हुन्छ र महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ । आधार विधि र विधान नै हो । पार्टी विधि विधानबाट चल्यो भने सबै कुरा सम्भव छ । विपी कोइरालाले दिएको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त अमर छ  ।

*****

पार्टीले सुरु गरेको अनुशासनको कारबाहीलाई कसरी लिनुभएको छ । तपाईं र पार्टी सभापतिविरुद्ध नै उजुरी परेको छ ?

अनुशासनको कारबाही हुनुपर्छ । पार्टीलाई छाडा छोड्नुहुँदैन । अनुशासनको नाममा यसले मलाई दुःख दियो, यसलाई सिध्याइदिऊ भनेर भन्नुहुँदैन । कति ठाउँमा त्यो देखिएको छ । अर्को कुरा मेरोविरुद्ध उजुरी परेको मलाई थाहा छैन । परेका भए पत्र आउला । त्यसमा चिन्ता गर्ने विषय छैन ।

काँग्रेसको पुनर्ताजगी कति सम्भव छ र त्यसको आधार के हुनसक्छ ?

पुनर्ताजगी हुन्छ । काँग्रेसको महाधिवेशन हुन्छ र महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ । आधार विधि र विधान नै हो । पार्टी विधि विधानबाट चल्यो भने सबै कुरा सम्भव छ । विपी कोइरालाले दिएको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त अमर छ  । हामी कम्युनिस्ट नेताहरुको जस्तो लोकप्रिय नारा दिएर जित्न खोज्दैनौँ । कम्युनिस्टहरु चुनावका बेला उग्रराष्ट्रवादका नारा दिन्छन् । हामी अति राष्ट्रवाद कुरा गर्दैनौँ । हामी उत्तरतिर पनि ढल्किदैनौँ, दक्षिणतिर पनि ढल्किँदैनौँ, हामी नेपालतिर ढल्किन्छौँ ।

तपाईंले सिद्धान्तको कुरा गर्नु भयो । तर काँग्रेस नेताहरु नै सिद्धान्त र विचारमा प्रष्ट देखिँदैनन् । तपाईंहरुले भन्दै गरेको समाजवाद र कम्युनिस्टहरुले भन्दै गरेको समाजवादमा फरक के छ ?

कम्युनिस्टको समाजवाद र काँग्रेसको समाजवाद फरक छ । हामी व्यक्तिगत स्वतन्त्रता, मानव अधिकारको स्वतन्त्रता, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता केन्द्रमा राखेर समाजवादको कुरा गर्छौँ, जान्छौँ । साथै कानुनी राज्य हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण कुरा हो । कम्युनिस्टहरु यो कुनै पनि कुरा स्वीकार्न तयार छैनन् ।

नेपालका कम्युनिस्टले त तपाईंले भनेका सबै कुरा स्वीकार्दै आएका छन् नि ?

पहिले हरेक कम्युनिस्ट मुलुकमा बन्दुकको बलबाट एकदलीय शासन व्यवस्था आउँथ्यो । तर अब एकदलीय शासन व्यवस्था निर्वाचनबाट आइरहेको छ । पपुलिस्ट नारा दिएर आउँछ, जसरी यो सरकार आयो । अहिलेको सरकारका क्रियाकलाप हर्नुहोस् कानुनी राज्य कहाँ छ ? न्यायपालिकमाथि तरबार झुन्ड्याइएको छ । शक्तिपृथकीकरण छैन ।

काँग्रेस एजेण्डाविहीन भएको भन्ने आवाज प्रशस्त सुनिन्छ । अर्कोतर्फ आफ्नै नेतृत्वमा बनेको संविधानको विरुद्धमा धर्मनिरपेक्षताबिरुद्ध उत्रियो भन्ने पनि सुनिन्छ । यस्तो अवस्था किन आयो ?

नेपाली काँग्रेस उदार लोकतन्त्रमा विश्वास गर्छ । हामीलाई एकदलीय शैली मान्य छैन । नेताले जे भन्यो त्यो मान्नुपर्छ भन्ने छैन । काँग्रेसभित्र ठूलो तप्का छ–जो हिन्दुराज्य हुनुपर्छ भन्दै आएको छ । तिनीहरुलाई सम्झाउनुपर्छ । आफ्नो विचार सबैले राख्न पाउँछन् । काँग्रेस र कम्युनिस्टमा फरक नै यही हो ।

तपाईंले केन्द्रीय कार्यसमिति बैठकमै हिन्दु राज्यको विषय १४ औँ महाधिवेशनमा जबरजस्त उठ्छ भन्नुभयो । त्यसको नेतृत्व गर्न तपाईं तयार हो ?

यो विषय जबरजस्त उठ्छ भन्नेमा दुईमत छैन । महासमिति बैठकमा ५० प्रतिशत साथीहरुले पार्टी विधानमा हिन्दुराज्य लेख्नुपर्छ भनेर हस्ताक्षर गर्नुभयो । त्यसैले पनि यो कुरा महाधिवेशनमा उठ्छ भनेको हुँ । त्यसमा नेतृत्व अहिलेनै सचेत भएर लाग्नुहोस् साथीहरुलाई सम्झाउनुस् भनेको हो ।

त्यसो भए हिन्दु राज्यको विषय दबाउन नेतृत्वलाई सुझाउनु भएको हो ?

संविधानको पालन राज्यले गर्नुपर्छ कि पर्दैन ? सनातनदेखि चलिएको धर्म संस्कृतिको संरक्षण गर्ने संविधानमै भनिएको छ । प्रधानमन्त्री होलीवाइन खान जानुहुन्छ । संविधानले गाई हाम्रो राष्ट्रिय जनावर भनेर भनेको छ, गौवध भइरहेको छ । प्रलोभनमा धर्म परिवर्तन भइरहेको छ । सरकार मौन छ । यो राज्यले रोक्नुपर्दैन ? सरकारकै व्यवहारका कारण यस्तो आवाज उठेको हो ।

*****

एक प्रतिशत भन्दा कम अङ्गीकृत नागरिकता लिएकाबाट के राष्ट्रियता खतरामा पर्नु ? राष्ट्रियता त हामीले खतरामा पारेको छौँ, जो वंशजको आधारमा नागरिकता दिएका छौँ । कोही चीनतिर ढल्केको छ, कोही अमेरिकारलिर ढल्केको छ, कोही भारततिर ढल्केको छ । त्यस्ताहरुबाट राष्ट्रियता खतरामा छ । विहेर गरेर आएकी बुहारीबाट राष्ट्रियता खतरामा देख्नेहरुले संकीर्ण सोचबाट बाहिर निस्कनुपर्छ ।

*****

काँग्रेस अंगीकृत नागरिकताका सम्बन्धमा अन्तरिम संविधान–२०६३ मा किन फर्कियो ?

नेपालको भूवनोटलाई ध्यानदिनुपर्छ । ०६२/०६३ को आन्दोलनपछि  नागरिकता बाँड्यौ । त्यतिबेला ३० लाख ४० लाखले नागरिकता पाए भन्ने हल्ला फैलाइयो । तर २६ लाख ४० हजारले मात्र नागरिकता पाएका हुन् । त्यसमा १३ लाख हिमाल, पहाडबाट वंशजको नाताले नागरिकता पाए । १२ लाखले तराई र मधेसबाट पाए । जसमा १ लाख ४० हजारले जन्मसिद्धका आधारमा नागरिकता पाए । नागरिकताका विषयमा हामी दक्षिणको कुरामात्र गर्छौँ । तिब्बतीयनले नेपाली नागरिकता लिएका छन्–छैनन् भनेर हामीले सोच्यौँ ? यस्तै असाम, मेघालय, सिक्किम, दार्जेलिङबाट नेपाली भाषीले पनि नेपाली नागरिकता लिएका छन् होला । नेपालमा जनगणना सुरु भएदेखि १ प्रतिशत भन्दा कमले मात्रै अङ्गीकृत नागरिकता लिएको तथ्याङ्कले भन्छ ।  हामी नबुझेर त्यतिकै बहकिनुहुँदैन । काँग्रेस यस्ता सबै विषयलाई ध्यानमा राखेर अन्तरिम संविधान ०६३ मा फर्किएको हो । अंगीकृत नागरिकताको विषयमा लैङ्गिक समानताको कुरा पनि जोडिन्छ त्यसमा महिला र पुरुषले समानअधिकार पाउनुपर्छ ।

बुहारीको चिन्ता गर्नेले छोरीको चिन्ता किन नगरेको भनेर तपाईंहरुको यो तर्कमाथि प्रश्न उठाइँदै छ नि ?

विभिन्न देशमा आ–आफ्नै नियम कानुन हुन्छन् । हामीले आफ्नु कानुन बनाउने हो । भारतमा, चीनमा, अमेरिकामा, बेलायतमा र पाकिस्तानमा के नियम छ भनेर त्यही अनुसार गर्नुपर्छ भन्ने होइन । हामीलाई छोरीको चिन्ता छ, नभएको होइन । उहाँहरु भारतको मात्र कुरा गर्नुहुन्छ । अमेरिकाको कुरा किन गर्नुहुन्न ? अन्य देशले के गर्छन् भन्ने होइन । नेपालमा समान हुनुपर्यो ।

नागरिकताको विषयमा काँग्रेसको यो अडानले राष्ट्रियता कमजोर हुने कतिपयको तर्क छ नि ?

एक प्रतिशत भन्दा कम अङ्गीकृत नागरिकता लिएकाबाट के राष्ट्रियता खतरामा पर्नु ? राष्ट्रियता त हामीले खतरामा पारेको छौँ, जो वंशजको आधारमा नागरिकता दिएका छौँ । कोही चीनतिर ढल्केको छ, कोही अमेरिकारलिर ढल्केको छ, कोही भारततिर ढल्केको छ । त्यस्ताहरुबाट राष्ट्रियता खतरामा छ । विहेर गरेर आएकी बुहारीबाट राष्ट्रियता खतरामा देख्नेहरुले संकीर्ण सोचबाट बाहिर निस्कनुपर्छ ।

यसको समाधानको उपाय के देख्नु भएको छ ?

नेपाली महिलासित विदेशी पुरुषले विहे गर्छ भने वा नेपाली पुरुषले विदेशी महिलासित विहे गर्छ भने पनि समान अधिकार दिऔँ । त्यसका लागि अमेरिकाको ग्रीनकार्ड वा अस्ट्रलियाको पीआर भनेजस्तै यहाँ पनि त्यस्तो परिचयपत्रको व्यवस्था गर्नुपर्छ । ५/७ वर्षजति दिने हो भने महिला पुरुष दुवैलाई दिनुपर्यो । अनि ५/७ वर्षपछि उनीहरुलाई राजनीतिक र नागरिकताको अधिकार पनि दिने व्यवस्था मिलाउँदा राम्रो हुन्छ । यसो गर्दा बुहारी र ज्वाइँलाई समान अधिकार हुने भयो । यो प्रचनल विश्वका विभिन्न देशले पनि अङ्गिकार गरेको पाइन्छ ।

*****

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेकपाका साथीहरुलाई सी विचारधाराबारे प्रशिक्षण दिनुभयो । त्यो दिनुपथ्र्यो वा पर्दैन थियो म त्यतातिर जान्न । कम्युनिस्ट पार्टी भएकाले उनीहरुको सम्बन्ध राम्रो होला, राम्रा कुरा सिक्लान् त्यसमा मेरो केही भन्नुछैन । नेपालमा संसदीय व्यवस्था छ । त्यहाँ एकदलीय कम्युनिस्ट शासन व्यवस्था छ । सी विचारधारा यहाँ लाद्न खोज्नुभयो भने नेकपा सकिन्छ ।

*****

चिनियाँ राष्ट्रपति सी जिनपिङ विचारधाराबारे नेकपाले प्रशिक्षण लिएको विषयलाई काँग्रेसले गम्भीर रुपमा लिएको देखियो । तपाईं भर्खरै चीनबाट फर्किनुभएको छ । यो विषयलाई कसरी लिनुभएको छ ?

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेकपाका साथीहरुलाई सी विचारधाराबारे प्रशिक्षण दिनुभयो । त्यो दिनुपथ्र्यो वा पर्दैन थियो म त्यतातिर जान्न । कम्युनिस्ट पार्टी भएकाले उनीहरुको सम्बन्ध राम्रो होला, राम्रा कुरा सिक्लान् त्यसमा मेरो केही भन्नुछैन । नेपालमा संसदीय व्यवस्था छ । त्यहाँ एकदलीय कम्युनिस्ट शासन व्यवस्था छ । सी विचारधारा यहाँ लाद्न खोज्नुभयो भने नेकपा सकिन्छ । नेपाल पनि धरापमा पर्नसक्छ । नेपालमा लोकतान्त्रिक संसदीय व्यवस्था छ । यहाँ संसदीय व्यवस्था अनुसार विकासको मोडेल अगाडि जानुपर्ने हुन्छ । एकदलीय व्यवस्था नै ल्याउँछाँै भनेर संविधान नै संशोधन गर्न खोज्यो भने उहाँहरुसँग हामी भिड्छौँ । सी जिनपिङ चीनको राष्ट्रपति भइसकेपछि त्यहाँ भ्रष्टाचार कम भयो । प्रशिक्षणमा पनि भ्रष्टाचार निवारणका लागि उहाँहरुले के सिक्नुभयो त्यो उहाँहरुले नै भन्नुपर्छ ।

अर्को कुरा म चीनबाट भर्खर आएँ । त्यहाँ जलवायु परिवर्तन, ट्रान्स बाउन्ड्री वाटर गर्भनेन्सका विषयमा छलफल भएको थियो । अबको लडाइँ पानी र धर्मको लडाइँ हुन्छ भन्ने चारैतिर चर्चा छ । पानीको लडाइँमा गङ्गा, ब्रम्हपुत्र, मेघना नदीको पानीको कुरा छ । त्यसमा कहिँकतै यताउति भयो भने हामी अप्ठ्यारोमा पर्नसक्छौँ । त्यसमा पनि छलफल भयो । उर्जा र जलवायु परिवर्तनबारे पनि छलफल भयो ।

दोस्रो कुरा बीआरआईको विषयमा छलफल भयो । हामीहरुले त्यहाँ एउटा कुरा स्पस्टसँग राख्यौँ । उनीहरुलाई चिन्ता छ, नेपाली काँग्रेस बीआरआईमा जाँदैन कि भन्ने । तर नेपाली काँग्रेस बिआरआइमा जान्छ तपाईंहरु ढुक्क हुनुहोस् हामीले भन्यौँ । बीआरआई काँग्रेसकै पालमा सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा ओके गर्यौँ । तत्कालीन परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत चीन जाँदा हस्ताक्षर भएको हो । त्यसपछि अन्तिम हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । बीआरआईमा जाने कुरामा काँग्रेस एकमत छ, हामी जान्छौँ । तर बीआरआईमा गएपछि के फाइदा लिने हो भन्ने सरकारले गर्ने काम हो । हामी सरकारमा छैनौँ । हाम्रो प्रतिव्यक्ति आय र राजश्वको हिसाब किताब गर्दा विआरआईबाट ऋण लिएर रेल बनाउने कुरामा हामी जान सक्दैनौँ । केरुङबाट काठमाडौँमा रेल ल्याउन ४–५ खर्ब आवश्यक पर्ने भन्ने छ । त्यत्रो ऋण तिर्न सक्ने हाम्रो क्षमता हुँदैन । त्यसको विकल्पमा रसुवागढी र तातोपानीमा दुई लेनको सडक रोज्नुपर्छ ।  दोस्रो किमाथान्का रोड र तेस्रो १ हजार मेघावाट भन्दा बढी क्षमता भएको जलविद्युत आयोजनालाई अगाडि बढाउन सकिन्छ । र, चौथो ट्रान्समिसन लाइन । यी चारवटा कामका लागि ऋण लिएर अगाडि बढ्यौँ भने ५ वर्षभित्र हाम्रो क्षमता बढ्छ । त्यसपछि मात्रै रेल ल्याउने कुरामा अघि बढ्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप