शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैंमा भैरहवा भन्सारबाट ५ अर्बको सवारीसाधन आयात

बिहीबार, १६ असोज २०७६, १३ : ४१
बिहीबार, १६ असोज २०७६

बुटवल–विदेश भएकाहरु दसैंमा घर फर्कने, सरकारी कर्मचारीले थप तलब पाउने, प्रायः निजी क्षेत्रमा कार्यरत कर्मचारीले पनि थप एक महिनाको तलव पाउने र दसैंलाई विशेष बनाउने धेरै नेपालीको योजनाले यो बेला बजारमा चहलपहल ह्वात्तै बढ्छ । 

अर्थात् आवश्यकता र चाहना दुवै कारणले यतिबेला किनमेलको मुख्य सिजन हो । असत्यमाथि सत्यको विजयको प्रतिक मानिने दसैंलाई राम्रो लगाउने र मिठै खाने पर्वको रुपमा बनाउइने हुँदा बजारको चहलपहल बढ्नु स्वाभाविक भएको अर्थशास्त्री डा.बाबुराम ज्ञवाली बताउँछन् । 

दशैँमा ग्राहक तान्न साना ठूला प्रायः सबै व्यापारीले मार्केटिङ्ग गरेका हुन्छन् । यसले अर्थतन्त्रमा धेरै अर्थ पनि राख्छ । बुटवल–भैरहवा र अझै  सीमा क्षेत्र मानिने सुनौलीलगायत क्षेत्रमा पनि चहलपहल अध्यधिक देखिन्छ । 
यही मेसोमा व्यवसायीहरुले दसैंँलाई लक्षित गरेर भारत तथा तेस्रो मुलुकबाट सामानको आयात बढाएका छन् । अनि बिभिन्न छुट अफर दिएर उपभोक्ताहरुलाई आकषित गरेका छन् । साना ठूला कम्पनी सबैले चाडवर्पमा छुटको अफर दिँदै आफ्नो व्यापार वृद्धि गरेका छन् ।

 रुपन्देहीको सैनामैनामा रहेको आश्रेय मोटरसाइलक  वर्कसपका संचालक कृष्ण प्रसाद पौड्यलले पनि मोटरसाइल बिक्रीमा  छुटको व्यवस्था गरेको बताए । दसैं र तिहारमा हुने व्यापारले वर्षभरिको व्यापारको एक तिहाइ हिस्सा ओगट्ने गरेको उनको भनाइ छ । 

देशका अन्य स्थानमा जाने धेरै सामान पनि यही नाका भएर भित्रिन्छ । अन्य सिजनमा औद्योगिक कच्चा पदार्थ धेरै भित्रने भैरहवा भन्सारबाट अहिले खाद्यान्न, फलफूल, लत्ताकपडा, मरमसला तथा सवारी साधनका लोडेड गाडीका लाम देखिन्छ ।

यो नाकाबाट दसैं तिहारका लागि ७० करोड बढी लत्ताकपडा आयात हुन्छ । भैरहवा भन्सारका सूचना अधिकृत कलिराम पौडेलले साउन, भदौ र असोजमा लत्ताकपडाको आयात बढ्ने रातोपाटीलाई बताए ।
भैरहवा भन्सारबाट साउनमा ३० करोड ७४ लाखको सुति तथा तयारी कपडा आयात भएको थियो । यस्तै भदौ र असोजमा ३५÷४० करोडका लत्ता कपडा आयात हुने उनको दावी छ  । 

उद्योग व्यापार सगठन रुपन्देहीका अध्यक्ष प्रविण पाठकले पछिल्लो समय सस्तो र डिजाइनदार हुने भएकाले चिनियाँ कपडाको खपत र आयात दुवै बढेको बताए 

विलासी सामानको धेरै आर्कषण 
 भन्सारको तथ्यांक हेर्दा विलासी सामान बढी आयात हुने गरेको देखिन्छ । मुलतः इलेक्ट्रोनिक र सवारी साधन धेरै बिक्ने गरेका छन् । दसैंको बेला मोवाइल, टिभी, फ्रिज र सवारी साधन धेरै बिक्ने गरेको रुपन्देही व्यापार संघका पूर्वअध्यक्ष समेत रहेका पोखरेलले बताए ।

चाडपर्व लक्षित गरेर व्यापारीहरुले गत साउनदेखि नै सवारी  साधनको आयात बढाएका थिए । भैरहवा नाकाबाट वार्षिक साढे २३ अर्बको सवारी साधन आयात हुन्छ । आयातको झण्डै ४० प्रतिशत कारोबार दशैँतिहारको समयमा हुने अटो व्यवसायीहरु बताउँछन् । 

दशैँ, तिहार लक्षित बजारका लागि भैरहवा नाकाबाट ५ अर्ब बढीका जिप, कार भ्यान र मोटरसाइकल आयात  हुन्छन् । दसैमा बुटवल, भैरहवा जस्ता ठूला शहरमा चारपाँग्रे गाडीको बिक्री समेत ह्वात्तै बढ्छ । यस्तै मोटरसाइकलको बजार पनि निकै राम्रो रहेको अटो व्यवसायी देवेन्द्र पौडेलले बताए ।

दसैंकै लागि भैरहवा नाकाबाट फलफूल भित्रने क्रम पनि बढदो छ । स्याउ, काँचो केरा, भूइँकटहर र अनार यो नाकाबाट धेरै भित्रन्छ ।

 दैनिक ५०/७५ गाडी फलफूल भित्रने यो नाकाबाट असोज लागेसँगै दैनिक १ सय बढी फलफूलका गाडी नेपाल भित्रिरहेको भन्सारले जनाएको छ । यो नाकाबाट भित्रने फलफूल बुटवलको थोक बजार केन्द्र हुँदै पहाडी जिल्ला सहित चितवन र काठमाडौं सम्म पुग्छ । 

लुम्बिनी फलफूल तथा तरकारी थोक व्यावसायी संघ बुटवलका अध्यक्ष केशव कुँवरले अन्य समयमा भन्दा दोव्वर फलफूलको थोक बिक्री भइरहेको बताए । उनका अनुसार फलफुल खासगरी स्याउ र केराको धेरै माग भएको छ । 

भैरहवा भन्सारबाट भारतीय चामल, दाल, मैदा, मरमसला, तेल सरसमान पनि भित्रने गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप