शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसपालीको दसैँमा घरमै पस्कने कि हायात रिजेन्सीको जस्तै खान्की ? (रेसिपीको भिडियोसहित)

बिहीबार, १६ असोज २०७६, १२ : १९
बिहीबार, १६ असोज २०७६

दसैँ भेटघाट, खानपिन र रमाइलोको चाड हो । दसैँमा आफन्त र साथीभाइलाई मिठो मसिनो खुवाउने सबैको इच्छा हुन्छ । कतिलाई आफूले सधैँ खाइरहेको खानामा केही ‘ट्विस्ट’ गरेर भिन्न स्वाद पस्कने इच्छा पनि

हुनसक्छ । कतिलाई घरमा आउने पाहुनालाई मिठो खाना बनाएर आफ्नो हातको जादु पनि देखाउने आकांक्षा पनि हुनसक्छ ।

यस्तै, इच्छा र आकांक्षा बोकेका खानाका पारखीका लागि मुलुकको अग्रणी तारे होटल हायात रिजेन्सीका कार्यकारी सु सेफ हालिम खानले एउटा भिन्न शैलीको रेसिपी तयार पारेका छन् । 

डिसः मटन भुटुवा वेलिङ्टन, मार्सी भात र टिम्मुर स्पाइस्ड ल्याम्ब जुसहित

सेफः हालिम खान

पदः कार्यकारी सु सेफ

चाहिने सामग्रीः

–   १५० ग्राम खसीको भुँडी

–   १५० ग्राम खसीको कलेजो

–   १५० ग्राम खसीको आन्द्रा

–   १ चिया चम्चा दालचिनीको धुलो

–   १ चिया चम्चा सौफको दाना

–   एउटा कागतीको रस

–   १ चिया चम्चा बेसारको धुलो

–   १ चिया चम्चा नुन

–   १ चिया चम्चा जिराको धुलो

–   १ चिया चम्चा धनियाँको धुलो

–   १ चिया चम्चा रातो खुर्सानीको धुलो

–   २ वटा काटेको लसुन, खुर्सानी

–   आधा कप काटेको प्याज

–   आधा कप काटेको लसुन

–   आधा कप काटेको अदुवा

–   दुई चिया चम्चा तेल

–   १५० ग्राम मार्सी चामल

–   ४ चिया चम्चा घ्यू

–   २५० ग्राम पफ पेस्ट्री

–   ५० ग्राम हरियो धनियाँ

–   २०० ग्राम च्याउ

–   १५० ग्राम पालुङ्गो

प्रक्रियाः

१. कलेजो, आन्द्रा र भुँडीलाई पानीले राम्रोसँग धुनुहोस्

२. पानी उमाल्नुहोस् र त्यसमा दालचिनीको धुलो र सौफको दाना हाल्नुहोस्

३. उम्लिएको पानीमा कलेजो, आन्द्रा र भुँडी हाल्नुहोस् र २५ मिनेटसम्म उमाल्नुहोस्

४. पानी फाल्नुहोस् र सफा पानीले पुनः पखाल्नुहोस् । चिसो बनाउनका लागि साइडमा राख्नुहोस्

५. त्यसलाई स–सानो टुक्रामा काट्नुहोस्

६ प्यानमा तेल तताउनुहोस् र त्यसमा काटेको प्याज हाल्नुहोस् । केही बेर चलाएपछि काटेको लसुन र अदुवा हाल्नुहोस् ।

७. त्यसपछि ती काटेको पिस हाल्नुहोस् र २–३ मिनेटसम्म चलाइरहनुहोस् । त्यसपछि नुन, जिराको धुलो, धनियाँको धुलो, गरम मसाला र रातो खुर्सानीको धुलो हाल्नुहोस् ।

८. मध्यम आँचमा २५ मिनेटसम्म पकाउनुहोस् । रातो नहुञ्जेलसम्म पकाइरहनुहोस् । पाकिसकेपछि काटेको खुर्सानी र धनियाँ हालेर छेउमा राख्नुहोस् ।

९. मार्सी चामल नरम नभएसम्म पकाइरहनुहोस् । त्यसपछि नुन र थोरै घ्यू हाल्नुहोस् ।

१०. च्याउ र पालुङ्गोलाई पनि केही बेर पकाएर छुट्टै राख्नुहोस् ।

११. त्यसपछि पफ्पी पेस्ट्री लिनुहोस् र त्यसमा सबै सामग्री हालेर रोल गर्नुहोस् ।

१२. पेस्ट्रीमा अण्डाको पहेँलो भाग दलेर सबै समग्रीहरु मिलाउनुहोस् । त्यसपछि पिठोलाई रोल गर्नुहोस् र आधा घण्टासम्म १८०–२०० डिग्रीमा बेक गर्नुहोस् । बेक गर्नुअघि पिठोको बाहिरी पत्रमा अण्डाको पहेँलो भाग दल्न नबिर्सनुहोला ।

१३. त्यसलाई टिम्मुर स्पाइस्ड ल्याम्ब जुसँगै सर्भ गर्नुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप