मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

गान्धीको विचार र व्यवहार केहिले पुरानो हुँदैनन् : प्रधानमन्त्री ओली

बुधबार, १५ असोज २०७६, १८ : १९
बुधबार, १५ असोज २०७६

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताएका छन् ।

महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा नेपाल भारत मैत्री समाजले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गान्धीका कालजयी र मानवतायुक्त विचार, व्यवहार र योगदानका बारेमा लामो चर्चा गर्न सकिने भन्दै ती विचारहरु पुराना नहुने बताए ।

प्रधानमन्त्री ओलीले भने, “गान्धीले सत्यका पक्षमा उभिन प्रेरित गर्नुभयो र आफू पनि उभिनुभयो । यो कहिले पनि पुरानो हुँदैन । त्यसबेलाको औपनिवेशिक भारतलाई कसरी स्वाधीन बनाउने भन्नेमा गान्धीको शान्तिपूर्ण विचार बलियो साबित भएको थियो ।”

 प्रधानमन्त्री ओलीले भने, “विज्ञान र प्रविधिका कारण आम विनाशकारी हतियार र विस्फोटक पदार्थ उत्पादन र स्वार्थका लागि हतियारको प्रयोग गर्ने गलत बाटोलाई गान्धीपथले स्वीकार्दैन । दुनियाँलाई हिंसा र त्रासबाट मुक्त राख्न जरुरी छ ।”

पारस्परिक विश्वास र शान्तिपूर्ण सहअस्तित्व, एकअर्काले निर्भयपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने भन्दै उनले हिंसाका तयारी रहँदा शान्तिको दिशामा विश्व आश्वस्त हुन नसक्ने बताए ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गान्धी बिसौँ शताब्दीका महान् र आत्मिक चिन्तनयुक्त व्यक्तित्व भएको बताउँदै गतिशील र परिवर्तनशील समाजमा पूर्ण मानव बन्नका लागि भौतिक विकाससँगै आत्मिक सुखलाई पनि सँगसँगै लानुपर्ने बताए । उनले समाज परिवर्तनका लागि अहिलेको विश्वव्यापीकरणका सन्दर्भमा आणविक हतियारबाट होइन शान्तिपूर्ण दबाब र सत्याग्रहको गान्धीपथ सामयिक हुने धारणा राखे ।

कार्यक्रममा पूर्वराष्ट्रपति डा रामवरण यादव, नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदार, नेपालका लागि भारतीय राजदूत मञ्जिब पुरीलगायत उपस्थिति थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप