शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँको मुखमा ठगिँदै यात्रु: टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम

बुधबार, १५ असोज २०७६, १५ : ३५
बुधबार, १५ असोज २०७६

नारायण ढुङ्गाना 
काठमाडौं– दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ । काठमाडौँबाट हेटौँडा जान लागेका एक यात्रुले ४५० लाग्ने भाडा ८०० तिरेर यात्रा गर्न बाध्य भएको बताएका छन् । 

केही यात्रु घरमा पुग्न पाइने आशमा बढी भाडा तिर्ने गरेका छन् भने धेरै यात्रुले चाहना नहुँदानहुँदै बढी भाडा तिर्नुपरेको गुनासो गरेका छन् । ट्राफिक प्रहरीले बढी भाडा लिने सवारीको निगरानी बढाए पनि यात्रु ठगिने क्रम रोकिएको छैन । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको बताए । उनले दशैँमा हुने यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको र आजसम्मका २३२ सवारीलाई कारवाही गरिएको उल्लेख गरे तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरेका छन् ।

ठगी रोक्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । बसपार्क क्षेत्रमा पछिल्लो समयमा प्रगति भइरहेको र ठगिने क्रम रोकिएको दाबी प्रहरीको छ तर अन्य क्षेत्रमा अझै प्रहरीको आँखा छलेर पैसा असुल्ने क्रम जारी छ । प्रहरीले भिडियो रेकर्ड र बढी भाडा लिएको रसिदसहित पक्राउ गरेर कारवाही गर्दै आएको छ । 

प्रहरीले आफैँ प्यासेन्जर बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र प्यासेञ्जर बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ । यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ । 

प्रहरी नै यात्रु बनेर जाँदा 

ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ । काठमाडौँबाट बर्दिवासको भाडा रु ७०० छ । सादा पोशाकमा यात्रु बनेर गएका प्रहरीले कोटेश्वरस्थित टिकट काउन्टरमा पुग्दा रु ९०० भाडा लिएको पाइएपछि टिकट काउन्टरका कर्मचारी अशोक थोकर, प्रशान्त तामाङ र अर्का रवीन्द्रनाथ श्रेष्ठलाई प्रहरीले पक्राउ ग¥यो । आज मात्रै बढी भाडा लिने दक्षिणकाली सुमो टिकट काउन्टरबाट कर्मचारी रामचन्द्र कार्की पक्राउ परेको प्रहरीले जनाएको छ ।

असोज १२ गते वीरगञ्ज कलैया सुमो सेवाको टिकट काउन्टरबाट मकवानपुरका श्रीराम स्याङ्तान र चन्दन शाहलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । यस्तै बढी भाडा असुल्ने दीपेन्द्र पौडेल, उपेन्द्र ढुङ्गाना र विशाल घिसिङसमेत पक्राउ परेका छन् ।

बढी भाडा असुल नियन्त्रण अभियानमा खटिएका एकजना प्रहरी कर्मचारीले रासससँग भने, ‘हामी नै यात्रु बनेर गएपछि यस्ता कर्तुत फेला परेको हो, उनीहरुले रसिदमा सरकराले तोकेको भाडा नै उल्लेख गर्ने गरेको र बढी भाडा भने बिना रसिद लिने गरेको पाइयो ।’ 

महाशाखाका पीडित सहायता एकाइका प्रहरी नायब निरीक्षक रमेश बजगाईंले सर्वसाधारणको रुपमा यात्रु बनेर बढी भाडा लिनेलाई पक्राउ गर्ने गरिएको बताए । उनीहरुले गाडी चढ्न अघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप