शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँमा यसरी सजाउनुस् घरलाई

बुधबार, १५ असोज २०७६, १४ : ५८
बुधबार, १५ असोज २०७६

नेपालीहरूको महान चाड बडादसैँ शुभारम्भ भइसकेको छ । दसैँ भन्ना साथै हामी सरसफाइ, साजसज्जा, पूजाआजा, नयाँ लुगा, नयाँ सामान, परिकार, ठूलाबडाबाट आशीर्वाद थाप्ने आदि आदि बुझ्छौँ ।

वास्तवमा दसैँ मेलमिलापको चाड पनि हो । आपसी भाइचारा, मेलमिलाप, सद्भाव, सहिष्णुताले नै यो चाडलाई विशेष बनाएको छ ।

दसैँमा घरआँगन आगनको रङरोगन र सजावटलाई विशेष रूपमा लिने गरिन्छ ।  लामो छुट्टी र विभिन्न कम्पनीहरूले दिने छुटका योजनाले पनि चाडबाडको समय घरमा नयाँ सामान भित्र्याउने गरिन्छ ।

दसैँको अवसरमा गाउँघरतिर पारम्परिक घरहरू, घर वरिपरि प्रशस्त ठाउँ हुने भएकाले त्यही अनुसारको रङ्गरोगन तथा टोलको सरसफाइ गरिन्छ । सहरी भेगमा पनि चाडवाडको समय पारेर रङ्गरोगन तथा भित्री साजसज्जालाई आकर्षक बनाइन्छ ।

घरका बाहिरी र भित्री (एक्स्टेरियर र इन्टेरियर)लाई फरक ढङ्गले सजाउन सकिन्छ । चाडबाडको समय घरलाई रङ्गीचङ्गी बनाउँदा परिवारमा मनोवैज्ञानिक रूपमा रमाइलो माहोल बन्ने भएकाले पनि शृङ्गारलाई विशेष महत्त्व दिइन्छ ।

विभन्न कम्पनी तथा बिक्रेताहरूले दसैँको अवसर पारेर इलेक्ट्रोनिक्स सामान, फर्निचर, रङ्ग, कपडा लगायतमा विशेष छुटको योजनाहरू ल्याउने भएकाले पनि समय र छुटको सदुपयोग गर्न सकिन्छ ।

कसरी सजाउने घर ?

दसैँको अवसर पारेर तपाईं आफ्नो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ भने घरको प्रवेशद्वारबाटै सुरुवात गर्न सक्नुहुन्छ । घरको आँगन तथा गार्डेनहरू सरसफाइ गर्ने नयाँ नयाँ फूलहरू रोप्ने, गमलामा कलर लगाउने गर्दा घरको बाहिरी वातावरण आकर्षक हुन्छ ।

‘दी म्याक्स कोर करपोरेसन’का डाइरेक्टर तथा इन्टेरियर डिजाइनर राम गोपाल तण्डुकार दसैँमा यदि घरको स्वरूप परिवर्तन गर्ने हो भने घरको एक्स्टेरियर (बाहिरी भाग) बाटै गर्न सुझाव दिन्छन् । दसैँ भन्ने वित्तिकै रङ्गीचङ्गी, उज्यालो, सफा सुग्घरको कल्पना गरिन्छ । त्यसैले पनि घरमा आकर्षक रङ्गरोगन गर्न सकिन्छ ।

अहिले विभिन्न रङ्ग कम्पनीहरूले चाडवाडको अफरहरू पनि ल्याएको हुनाले यसको उपयोग गर्न सक्ने उनी बताउँछन् ।

साथै, घरको प्रवेशद्वारमा आकर्षक अनि विभिन्न जातका फूलका गमलाहरू राख्न सकिन्छ । यसले घरको सुन्दरता बढाउँछ ।

प्रवेशद्वारसँगै घरको भर्याङमा फूल राख्ने, भित्तामा विभिन्न चित्रकला, पारिवारिक फोटोहरू राख्ने गर्दा आकर्षक देखिन्छ । यसैगरी घरमा प्राय हुने विभिन्न तामा पित्तलका गाग्री, खड्कुलो, ताउलो, अम्खोराहरूलाई चाडबाडको समयमा सजावट सामग्रीका रूपमा प्रयोग गर्दा घरमा क्लासिक लुक मिल्ने इन्टेरियर डिजाइनर राम गोपाल बताउँछन् ।

दसैँ भन्नेवित्तिकै पारिवारिक जमघट नै पहिलो नम्बरमा आउने भएकाले एक्स्टेरिएरसँगै इन्टेरियर पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

वर्षभरीको कामको दिक्दारीलाई दसैँको माहोलले कभर गर्ने भएकाले पनि इन्टेरियर डिजाइनमा विशेष ध्यान दिन ‘दि म्याक्स कोर करपोरेसन’का अर्का डाइरेक्टर तथा इन्टेरियर डिजाइनर मुकेश महर्जन सुझाउँछन् ।

घर सजावटमा रङ्ग अनि लाइटमा विशेष ध्यान दिनुपर्ने मुकेशको सुझाव छ । चाडवाडका लागि घरभित्र र बाहिर विशेष गरेर ब्राइट कलरहरूको प्रयोग गर्न सकिन्छ ।

चाडबाडमा धेरै समय विताउने ठाउँ भनेको लिभिङ (बैठक कोठा) हो । त्यसैले बैठक कोठाको शृङ्गारमा विशेष ध्यान दिनुपर्ने मुकेश बताउँछन् ।

चाडबाडमा परिवार आफन्त एक ठाउँ जम्मा भएर विभिन्न परिकार बनाउने र रमाइलो गर्ने भएकाले भान्सा र बैठक कोठा बढी प्रयोगमा आउँछन् त्यसैले पनि यी दुई स्थानको सजावटमा ध्यान दिनुपर्छ ।

आजभोलि त सहजताका लागि ‘किचेन कम डाइनिङ’को कन्सेप्ट चल्तीमा छ । यसका लागि छोटो समयमा सानो लगानीमा किचेन डाइनिङ र बैठकलाई एकै बनाउन सकिने इन्टेरियर डिजाइनर मुकेश बताउँछन् ।

बैठक कोठामा वाल पेपर लगाउने, पारिवारिक फोटो राख्ने, विभिन्न सफल व्यक्तित्वहरूको फोटो राख्ने, आकर्षक र मनमोहक पेन्टिङहरू राख्ने गर्दा आकर्षक त देखिन्छ नै पारिवारिक माहोलमा पनि सकारात्मक ऊर्जा थपिन्छ ।

घरको स्वरूप र कोठाको आकार हेरी घरमा प्रयोग हुने फर्निचर परिवर्तन गर्ने, कोठाको रङ्ग परिवर्तन, रिफ्लेक्टेड लाइट जडान गरी रानोभेट गर्न सकिने इन्टेरियर डिजाइनर राम गोपालको सुझाव छ ।

पुराना फर्निचरलाई रिपेयर गर्ने अथवा फर्निचर परिवर्तन गर्ने, सोफा तथा कुसनका खोल फेर्ने (रङ्गीन खोलहरू राख्ने), गलैँचा, पर्दा फेर्ने अथवा त्यसैलाई सफा गर्ने, फर्निचरको स्थान परिवर्तन गर्ने, कोठाको रङ्ग परिवर्तन, लाइटिङ आदिले कोठाको स्वरूप नै परिवर्तन हुन्छ ।

त्यसैगरी यदि कोठाको कुनै एक भित्तामा मात्रै फोहोर छ भने वालपेपर लगाउन सकिन्छ । वालपेपरले कोठालाई आकर्षक देखाउन मद्दत गर्छ र यो निकै सजह र सस्तो उपाय पनि हो ।

कोठामा सोफा, कुसन, गलैँचा, भित्ता सबैको रङ्ग चम्किलो र एक अर्कोमा मेल खाने प्रयोग गर्दा झनै आकर्षक देखिने मुकेशले बताए । कोठामा विभिन्न आफूलाई मन पर्ने फूल अनि गमलाहरू राख्न सकिन्छ ।

डिजाइनर मुकेशका अनुसार यदि बजेटले पुग्छ भने किचेन कम डाइनिङको कन्सेप्टमा जान सकिन्छ । यसले सजिलो त हुन्छ नै घरको भित्री स्वरूप निकै आकर्षक पनि देखिन्छ ।

चाडबाडको समयमा घरको आँगनदेखि भर्याङ हुँदै भान्सा र बैठक कोठाको सजावटमा मात्रै पनि विशेष ध्यान दिनुपर्छ । अझ विशेष गरेर त चाडबाडमा भान्सा बडी प्रयोगमा आउने भएकाले भान्साको सजावटलाई पनि ध्यान दिनुपर्छ ।

भान्सामा चाहिने सरसामान मात्रै राखेर नचाहिने र पुराना सामान (भाँडाकुँडा)लाई स्टोर गर्न सकिन्छ । विशेष प्रकारको लाइट जडान गर्न सकिन्छ ।

डाइनिङ टेबलमा कभर राख्ने तथा कुर्सीहरूलाई रङ्गरोगन गर्ने अथवा कभर गर्दा पनि फरक पन आउँछ । सानो बजेटले पनि भान्सालाई आकर्षक लुक दिन सकिन्छ ।

त्यसैगरी, चाडबाडमा पूजाआजा धेरै हुने भएकाले पूजा कोठाको सजावट छुटाउनु हुँदैन । यसको लागि मुख्य ध्यान दिनुपर्ने भनेको लाइटमा हो ।  बजारमा पाइने अथवा घरमै उपलब्ध भाँडाकुँडा र सजावटको सामानलाई सफा गरी चम्किलो पारी राख्न सकिन्छ ।

चाडबाडमा अझै रौनकता थप्न घरलाई आकर्षक र नयाँ लुक दिनु महत्त्वपूर्ण पक्ष हो । यसको लागि हरियो बिरुवाहरूको प्रयोग गर्न पनि सकिन्छ । भित्री र बाहिरी भागमा फोकस तथा अन्य रङ्गीचङ्गी लाइटको प्रयोग गर्दा घरको सुन्दरता झनै निखारिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप