राष्ट्रपति, प्रधानमन्त्री वा पार्टीका नेताले टीका लगाइदिनु आफूलाई राजा वा दैवीअधिकार सम्पन्न ठान्ने सोच हो
दशैं, चाडपर्व र संस्कारहरुको सन्दर्भमा केन्द्रीत रहेर नेपाल समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईसँग रातोपाटीका लागि चन्द्र खाकी र टुना भट्टले गरेको कुराकानीको सम्पादित उतार ।
तपाईंको बुझाइमा दशैं, चाड पर्व संस्कृति र परम्परा भनेको के हो ? मानवजातिसँग यसको सम्बन्ध र त्यसको महत्त्व के हो ?
संस्कृति, संस्कार पर्वहरु भनेका ऐतिहासिक कालखण्डमा मानवजाति र समाजविकास सँगसँगै उत्पत्ति भएका चीजहरु हुन् । त्यसैले यो गतिशील र परिवर्तनशील हुन्छ । समय र सन्दर्भ सँगसँगै यसलाई परिमार्जन गर्दै लैजानु नै सही हुन्छ ।
यो किन कसरी भयो भन्दा मानव होमोसेपियन्स प्रजातिको नर बाँदर हुँदै क्रमशः एक डेढ लाख वर्षदेखि विकसित हुँदै यहाँसम्म आइपुगेको छ । यो जातिको विशेषता भनेकै यसको मस्तिष्क, सोच्न सक्ने क्षमतासँगसँगै ऊसँग यति धेरै संवेदना, आवेग, भावना जोडिएका हुन्छन् । त्यसले गर्दा उसको सौन्दर्यचेत, मनोवैज्ञानिक भावनात्मक प्रवाह आदि कारणले गर्दा यी साँस्कृतिक पर्वहरुले मानिस र समाजको अभिन्न अंग हुँदै जान्छ र खास खास कालखण्डका जाति र सम्प्रदायहरुसँग पनि जोडिएर तिनका रुपरंगहरु पनि बदलिँदै जान्छ । यसरी हेर्दा नेपालमा मनाइने दशैं मूलतः आर्यसभ्यतासँग जोडिएको पर्व नै हो । तर यो आर्य सभ्यता पनि आफैं मध्यएशियादेखि सिन्धु उपत्यका हुँदै हिमाली भेगसम्म आइपुग्दा यसका विविध रुपहरु देखापर्छन् । नेपालमा आइपुग्दा यहाँको पुरानो खस सभ्यता र पछि आएको आर्य सभ्यता र यहाँ रहेका मंगोल मूलका जनजातिका सभ्यतासँग अन्तरघुलन भएर, थुप्रै मिथकहरु समेत जोडिएर यो अलि भिन्न प्रकृतिको पनि बन्न गएको छ । त्यसैले भारत, बंगाल र पञ्जाबमा मनाइने दशैं र नेपालमा मनाइने दशैंका रुपहरु फरक छन् । त्यसैले यसको सार भनेको यी पर्वहरु ऐतिहासिक कालखण्डमा विकसित भएका चीजहरु हुन् ।
हरेक वर्ष नेपालमा दशैं मान्ने, नमान्ने भन्ने विषयमा विवाद चल्ने गर्छ । द्वन्द्वकालमा पनि दशैं नमान्ने ट्रेण्ड जस्तै बसेको थियो । तपाईंलाई के लाग्छः दशैं मान्नुपर्छ कि मान्नपर्दैन ?
यी साँस्कृतिक पर्वहरु भनेको मानिसले स्वेच्छिक ढंगले मान्ने कुरा हो, कसैले लाद्ने कुरा होइन । मान्नैपर्छ भनेर लाद्ने वा मान्नै हुन्न भनेर नकार्ने दुवैथरि अतिवादी सोचहरु हुन् । स्वेच्छिक ढंगले यसलाई ग्रहण गर्ने विषय हो ।
दशैं मूलतः आर्यसभ्यतासँग जोडिएर आएपछि यसले पछि विभिन्न जाति सम्प्रदायसँग अन्तरघुलन भएर फरक रुप लिँदै आएको हुनाले इच्छाअनुसार मानिसले यसलाई प्रयोग गर्दै आयो । मूलतः हिन्दू संस्कृति, संस्कार र धर्मसँग जोडिएकाले यसलाई बढी उपयोग गर्छन्, त्योभन्दा बाहिरकाले कम गर्छन् । त्यो उनीहरुको इच्छाको कुरा हो । त्यसमा कसैले पनि हस्तक्षेप गर्नु हुँदैन ।
नेपालमा प्रचलित चाडवाडहरुको स्वरुप र प्रकृति विशुद्ध धार्मिक छन् वा त्यो एक धर्म वा संस्कारभन्दा माथि उठेर बहुजाति धर्म मान्नेहरुसमेतले अपनाउँदै आएका जनजीवनका अन्य विविधि पक्षहरुसँग पनि सम्बन्धित हुन्छन् र तिनले समेत त्यसलाई निर्देशित गरिरहेका हुन्छन् ?
धर्मसँग पनि जोडिएका हुन्छन् । साँस्कृतिक पर्वहरु ऐतिहासिक घटनाक्रमसँग पनि जोडिएका हुन्छन् । ठूलठूला लडाइँ भएपछि खुसियालीमा दीपावली आदि मनाउने कुरा पछि गएर त्यसैले एउटा चाडको रुप लिइरहेको हुन्छ । अन्य कुनै खाले विशेष घटनाहरु हुन्छन्, तीसँग जोडिएर पनि साँस्कृतिक पर्वहरु सिर्जना भएका हुन्छन् ।
*******
सबै पर्वहरु धर्मसँगै जोडिनुपर्छ भन्ने हुँदैन । तर कतिपय अवस्थामा धर्म र संस्कृति अन्तरघुलित भएर छुट्याउन नसकिने गरी जोडिन पनि पुग्छ ।
*******
अतः सबै पर्वहरु धर्मसँगै जोडिनुपर्छ भन्ने हुँदैन । तर कतिपय अवस्थामा धर्म र संस्कृति अन्तरघुलित भएर छुट्याउन नसकिने गरी जोडिन पनि पुग्छ ।
जस्तो कि दशैं धार्मिक चाँड मात्रै हैन, यो कृषिसँग जोडिएको चाडको रुपमा व्याख्या हुने गर्छ । कतिपय जातजातिले मनाउने चाडपर्वहरु प्रकृति र त्यसको रक्षासँग जोडिएका हुन्छन् । यसलाई कसरी लिने ?
यो त सभ्यताको विकाससँगसगै आउने कुरा हो । शिकारी युगमा छँदा शिकारसम्बन्धी कर्मलाई नै उत्सवको रुपमा मनाउने, नाचगान गर्ने गरिन्थ्यो । आदिमखालका कतिपय समुदायहरुमा तपाईंले देख्नुभयो भने उनीहरुको नाचगान आदिको प्रकृति शिकारी किसिमको, धनुषकाँण आदिको प्रयोग हुने गरेको तपाईं देख्नुहुन्छ ।
*******
हाम्रा दशैं तिहार जस्ता पर्वहरु चाहिँ शरद ऋतुमा पनि पर्छन् । त्यसैले यी प्राकृतिक गतिसँग पनि यो जोडिन्छ र त्यतिखेरको आर्थिक सभ्यता कृषि प्रधान, उद्योगप्रधान, पशुपालनप्रधान के हो, त्यो पनि त्यसमा झल्कन पुग्छ । यसरी हेर्दा दशैं पर्व कृषि युगको पर्वको रुपमा बढी भएको म पाउँछु ।
*******
पछि पशुपालनको युगआएपछि त्योसँग जोडिएको गाई सभ्यता अर्थात् गाईलाई पुज्ने प्रचलन शुरु भयो । पछि कृषिप्रधान सभ्यताको विकास भएपछि धान रोप्ने बेलामा रोपाइको बेलामा त्यही प्रकृतिका चाडपर्वहरु देखापरे । धान भित्र्याउने सन्दर्भमा पनि त्यही प्रकारका छन् । ऋतुपरिवर्तनसँग पनि चाडवाड पर्व संस्कारहरु जोडिएर आएका छन् । छ ऋतुहरुमध्येमा शरद ऋतुमा यो चाड मनाउनुको अर्थ मनसुनको अन्त्य भइसकेको हुन्छ । वातावरण पनि न गर्मी, न जाडो ठिक्कको हरियाली युक्त हुन्छ । त्यसो भएको हुनाले हाम्रा दशैं तिहार जस्ता पर्वहरु चाहिँ शरद ऋतुमा पनि पर्छन् । त्यसैले यी प्राकृतिक गतिसँग पनि यो जोडिन्छ र त्यतिखेरको आर्थिक सभ्यता कृषि प्रधान, उद्योगप्रधान, पशुपालनप्रधान के हो, त्यो पनि त्यसमा झल्कन पुग्छ । यसरी हेर्दा दशैं पर्व कृषि युगको पर्वको रुपमा बढी भएको म पाउँछु ।
धर्मसंस्कार चाँडवाडहरु मिथक, अन्धविश्वास र भावनाहरुसँग जोडिएका हुन्छन् । कतिपय अवस्थामा त्यो शासक वर्गले शासित वर्गहरुमाथि शासन चलाउने परोक्ष माध्यम पनि बन्ने गर्छ । यो स्थितिमा आम मानिसहरुले धर्म संस्कार र चाडबाडहरुलाई कसरी हेर्नुपर्छ र तिनलाई कसरी मनाउने गर्नुपर्छ ?
त्यसकारण नै यो गुजिल्टिन पुग्छ भनेर मैले भनेको हुँ । जनसंस्कृति जनस्तरबाटै मनाइने खालका, जस्तै खेतीपाती गरेर उत्सवको रुपमा नाचगान गरेर मनाइने, फागु जस्ता ऋतु परिवर्तनमा मनाइने पर्वहरु एकातिर हुन्छन् । तर कैयन चीज चाहिँ युद्धसँग जोडिएर एउटा जातिले अर्को जातिमाथि विजय हासिल गरेको सन्दर्भमा एउटाले उत्सव मनाउँछ भने अर्कोले शोक मनाउँछ । जस्तै दशैंसँग जोडिएको रामायणको प्रसंगमा पनि आर्य र अनार्यबीचको संघर्ष, आर्य र द्रविणबीचको संघर्षमा आर्यहरुले रामको विजयलाई आर्यका पक्षको विजयको रुपमा मनाउँछ । त्यसैगरी, द्रविणहरुले चाहिँ रावणलाई ठूलो मानेर मनाउने उनीहरुको प्रचलन छ । त्यसो भएको हुनाले यस्ता पर्वहरुमा जातिहरुको इतिहास पनि जोडिन पुग्दा त्यहाँ विवाद उत्पन्न हुन्छ ।
कैयन चीज चाहिँ युद्धसँग जोडिएर एउटा जातिले अर्को जातिमाथि विजय हासिल गरेको सन्दर्भमा एउटाले उत्सव मनाउँछ भने अर्कोले शोक मनाउँछ । जस्तै दशैंसँग जोडिएको रामायणको प्रसंगमा पनि आर्य र अनार्यबीचको संघर्ष, आर्य र द्रविणबीचको संघर्षमा आर्यहरुले रामको विजयलाई आर्यका पक्षको विजयको रुपमा मनाउँछ ।
*******
अतः अब हामीले गर्नुपर्ने भनेको जातीय विभेद गर्नुहुन्न । एउटा ऐतिहासिक कालखण्डमा एउटा जातिको विजय पराजय भयो होला, तर हामी त अन्ततः घुम्दै एउटा नयाँ जाति राष्ट्र समुदायको रुपमा विकसित छौं । त्यसो भएको हुनाले यी यावत कुराहरुलाई हामीले पनि समायानुकूल बदल्दै जानुपर्छ ।
कतिपयले के मान्यता राख्छ भने दशैं भनेको विगतको खस हिन्दू राज्यसत्ताले आमनेपाली माथि जबरजस्ती थोपरिदिएको धार्मिक पर्व हो, जसको आधार भनेकै अन्य जाति, धर्ममाथिको प्रभुत्ववादी र दमनकारी सोच हो र यसअर्थमा यो पुरानो राज्यसत्ताले जनतामाथि थोपरिदिएको राजनीतिक पर्व हो । तपाईंलाई के लाग्छ ?
विकसित हुने क्रममा यो पर्व आफैंमा राजनीतिक थिएन, यो साँस्कृतिक पर्व नै थियो । यो जनताको जीवनबाटै उठेर आएको पर्व हो । तर दशैं नै भन्नुहुन्छ भने यो बुझिसाध्य नै छैन । देवीहरु, नौ दुर्गाको पुजा मातृसत्तात्मक समाजमा महिला शक्तिलाई पुज्ने र उनीहरुको गुणगान, महिमागान गर्ने कुरा त्यहाँ झल्कन्छ । अधिकांश देवीहरुले विपक्षीहरुको संघर्षमा नायकत्व ग्रहण गरेको, उनकै नेतृत्वमा संघर्ष गरेको कुराको विम्व त्यहाँ देखापर्छ । यसैको पछिल्लो कालखण्डमा त्यहाँ पछिल्लो चरण त्रेतायुगमा, खासगरी कृषिप्रधान अर्थतन्त्रको उदय भएको युगमा आर्य अनार्य अर्थात् राम र रावणको लडाइमा रामले रावणमाथि विजय गरेको कुरामा पनि त्यहाँ जोडिन पुग्छ । देवीको पूजा त्योभन्दा पनि पुरानो हो । यो कुरा अन्तरघुलित भएर अब नौ दिनसम्म देवीको पूजा पनि गर्छौं र दशौं दिनमा विजयादशमी भनेर रामले रावणमाथि विजय अर्थात् राम्राले नराम्रामाथि विजय गरेको अर्थमा मनाउँछौं । यसमा पनि आर्यनको पक्षले हेर्दा राम राम्रा रावण नराम्रा हुने भए । तर द्रविणको पक्षबाट हेर्दा रावण सही थिए, राम बेठीक थिए भन्ने उनीहरुको कोणबाट हुने भए । हामीकहाँ आर्यनहरुको बाहुल्यता भएको हुनाले हामीले रामको विजयलाई उत्सवको रुपमा मनाउँछौं ।
*******
शासकहरुले अर्थात् जुन जाति धर्मको व्यक्तिले शासनसत्ताको नेतृत्व गर्यो, स्वतः उसले आफ्नो भाषा, संस्कृति, संस्कारलाई उच्च मान्ने र राज्यसत्ताको प्रयोग गरेर बढी तामझामका साथ मनाउने आदि गर्दै जाँदा पराजित वा उत्पीडित पक्षमाथि जबरजस्ती लादिएको अनुभूति हुनु स्वभाविक पनि हुन्छ ।
*******
त्यसैले देवी र रामायणका प्रसंगहरु पछि थपिएर आएकै विषयहरु हुन् । पछि शासकहरुले अर्थात् जुन जाति धर्मको व्यक्तिले शासनसत्ताको नेतृत्व गर्यो, स्वतः उसले आफ्नो भाषा, संस्कृति, संस्कारलाई उच्च मान्ने र राज्यसत्ताको प्रयोग गरेर बढी तामझामका साथ मनाउने आदि गर्दै जाँदा पराजित वा उत्पीडित पक्षमाथि जबरजस्ती लादिएको अनुभूति हुनु स्वभाविक पनि हुन्छ । त्यसैले यी र यस्ता पर्वहरुलाई राज्यले नै दमनको हतियारको रुपमा लिनु हुँदैन । खासगरी, हिन्दू अन्तर्गत पछि घुसेर आएको मौलिक हिन्दू सभ्यतासँग पनि मेल नखाने मनुवादले मान्छेको कर्मको आधारमा भएको श्रमविभाजनलाई मान्छेको जातपातमा परिणत गरिदियो । त्यो बेठीक थियो । त्यसैले यस्ता चाडपर्वहरुलाई राज्यले वा एउटा पक्षले आफ्ना आधिपत्य कायम गर्ने साधनको रुपमा यसलाई प्रयोग गर्नु हुँदैन । फेरि पनि स्वेच्छिक ढंगले जनतालाई यसलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार दिनुपर्छ ।
तर हिजो पञ्चायतकालीन वा शाहकालीन राज्यसत्ताले यसलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गरिदिने काम गर्यो । त्यसलाई अहिलेको गणतान्त्रिक सरकारले पनि निरन्तरता दिने काम गरिरहेको छ । अहिले पनि गोरखाबाट नै फुलपाती ल्याउनुपर्ने परम्परा कायम छ । यसले के अर्थ राख्छ ? के यो लोकतान्त्रिक गणतान्त्रिक भनिने सरकारले पनि हिजोकै लिगेसीलाई बोकेर त्यसलाई निरन्तरता दिइरहेको छ भन्ने तपाईंलाई लाग्छ कि लाग्दैन ?
धर्म निरपेक्ष राज्यमा राज्यको धर्म हुँदैन । व्यक्ति, समाज, समुदायको धर्म हुन्छ । एउटै राज्यमा विभिन्न खालका धर्म सम्प्रदायका मानिसहरु हुन्छन् भने सबैले आ–आफ्नो आस्थाअनुसारको धर्मसंस्कृति मान्न पाउने नपाउने अधिकार हुनुपर्यो । राज्यले विभेद गर्नुहुँदैन । कसैलाई काखापाखा गर्नुहुँदैन र सबैलाई धार्मिक स्वतन्त्रता दिनुपर्छ । यो मान्यता हो धर्म निरपेक्षताको । कतिपयले धर्मनिरपेक्षता भनेको धर्म नमान्ने हो भन्ने अर्थमा गलत व्याख्या पनि गर्ने गर्छन् । धार्मिक स्वतन्त्रता भनेको सबैलाई समान धार्मिक अधिकार दिने भनेको हो । त्यसो गर्दा एउटा धर्मलाई मात्र राज्यमा बस्ने मानिसले बढावा दिने, अर्कोलाई निषेध गर्ने काम गर्नु हुँदैन । त्यो हामीले विस्तारै स्थापित गर्नुपर्छ ।
जनताले मनाउने धर्म, संस्कार चाडपर्वमा हामीले कुनै अवरोध गर्नु हुँदैन । यो धेरै जनताको भावना जोडिएको विषय पनि हो । तर राज्यसत्तामा बस्ने मानिस आफैंले राज्यसत्ताको प्रयोग गरेर एउटा धर्मलाई प्रश्रय दिने र अर्कोलाई उपेक्षा गर्ने काम चाहिँ गर्नुहुँदैन ।
*******
त्यसैले जनताले मनाउने धर्म, संस्कार चाडपर्वमा हामीले कुनै अवरोध गर्नु हुँदैन । यो धेरै जनताको भावना जोडिएको विषय पनि हो । तर राज्यसत्तामा बस्ने मानिस आफैंले राज्यसत्ताको प्रयोग गरेर एउटा धर्मलाई प्रश्रय दिने र अर्कोलाई उपेक्षा गर्ने काम चाहिँ गर्नुहुँदैन । त्यसलाई हामीले क्रमशः सुधार गर्दै जानुपर्छ ।
दशैंमा आफूभन्दा मान्यजनको हातबाट टीका लगाइन्छ । जनस्तरमा त्यसको अन्तर्य आफूभन्दा वरिष्ठलाई सम्मान गरेको नै हो । तर जब त्यो कुरा राज्यसत्ता वा शासकहरुको तहमा आइपुग्दा शासकहरुले जनतालाई लामबद्ध गरेर टीका लाउनुको अर्थ आफ्नो प्रभुत्व र वरिष्ठता थोपरेको र आफूहरु आमजनताभन्दा फरक र विशिष्ट शासक वर्ग हौं, तिमीहरुले हामीलाई मान्नुपर्छ भन्ने कुरा लाद्न र स्थापित गर्न खोजेको अर्थमा आइपुग्छ । तपाईं आफैंलाई चाहिँ के लाग्छ ?
हो, त्यसरी टीका लगाइदिनु बेठीक हो । हिजो राजाले आफ्नो दैवी अधिकार र आफू ईश्वरीय अवतार भन्ने दावी गरेर आम जनतालाई टीका लगाइदिने प्रचलन शुरु गरे । अहिले जननिर्वाचित राष्ट्रपति, प्रधानमन्त्री वा पार्टीका नेताले जनता वा आफ्ना कार्यकर्तालाई त्यसरी टीका लगाइदिने प्रचलन ठीक होइन । यो भनेको उनीहरुले फेरि आफूलाई राजा वा दैवीअधिकार सम्पन्न ठान्ने गलत खालको सोच हो । यो एउटा विकृति नै हो र यसलाई हामीले मान्यता दिनु हुँदैन ।
आफ्ना बुबा, आमा, मान्यजनहरुबाट टीका ग्रहण गर्नु एउटा संस्कृतिको अंग हो । त्यो म आफू पनि मान्छु । मेरा ९० वर्षीय पिताजीको हातबाट प्रत्येक वर्ष टीका ग्रहण गर्छु । तर कहिल्यै पनि, हिजो राजाबाट त ग्रहण गर्ने त प्रश्नै थिएन, राष्ट्रपति, प्रधानमन्त्री वा पार्टीका नेतासँग मैले कहिल्यै पनि टीका ग्रहण पनि गर्दिनँ । मैले आफ्ना कार्यकर्तालाई पनि टीका लगाउँदिन । संस्कतिलाई राजनीतिसँग मिसाउनु उपयुक्त हुँदैन ।
हिन्दू देवीदेउताको पूजा हुन्छ दशैंमा । गैर हिन्दूहरुलाई समेत त्यसलाई राष्ट्रिय पर्वको रुपमा मान्नका लागि भनेर लामो विदा दिइन्छ । यसै प्रसंगमा गैरहिन्दूरुको एउटा ठूलो गुनासो के सुनिन्छ भने राज्यले एउटा धर्मलाई काखी च्याप्यो, र अरु धर्महरुलाई अहिलेसम्म भेदभाव र काखापाखा गर्ने गर्छ । यो आवाजलाई कसरी सम्बोधन गरिनुपर्छ ?
कुनै पनि पर्वलाई राष्ट्रिय अराष्ट्रिय पर्व भन्नु हुँदैन । नेपालभित्र सबै समुदायले मान्ने पर्वहरु राष्ट्रिय पर्व हो । बहुजाति, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक हो भनेर संविधानले नै स्वीकार गरिसकेपछि हिन्दू, मुश्लिम, किरात, बुद्धिष्ट लगायतका धर्मावलम्बीहरुले मनाउने धर्म चाडपर्वहरु राष्ट्रिय नै हुन् । ती मध्ये राज्यले सबैलाई आफ्नो छनौटको अधिकार दिएर छुट्टी लगायतको सुविधा दिनु उपयुक्त हुन्छ ।
दशैंको सन्दर्भका कुरा गर्दा राज्यसत्ताको लामो प्रभुत्व रहेको हुनाले लामो समयसम्म यो परम्परा मनाइयो । त्यसैले त्यसको रहलपहल यो हो । त्यसो भएको हुनाले यसलाई क्रमश सुधार गर्दै लैजानुपर्छ ।
छुट्टी त जनतालाई केही समय चाहिन्छ । यो संसारभरि नै चलेको चलन हो । एउटालाई छु्ट्टी दिने अरुलाई नदिने भन्ने हुँदैन । सबैलाई धेरै दिन छुट्टी दिँदा कामको दिन कटौती हुन्छ । त्यसैले सबैका निश्चित पर्वहरुलाई छुट्टी दिने र अरुलाई स्वेच्छिक बनाइदियो भने राम्रो हुन्छ ।
तपाईं एक सचेत राजनीतिकर्मी । हिजो एक कालखण्डमा मार्क्सवाद–लेनिनवाद–माओविचारका कट्टर अनुयायी । हामीले मनाउँदै आएका चाडपर्वका वैज्ञानिक आधार छैन, तिनले धार्मिक अन्धविश्वास, भाग्यवाद, अवतारवाद र स्वर्ग–नरकजस्ता शोषणकारी सोचलाई नै बढावा दिने काम गर्छ भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ?
यो ऐतिहासिक रुपमा विकसित भएर आएको कुरा हो । धर्मसंस्कृतिमा जोडिएका अन्धविश्वास, जातीय विभेद, लैंगिक विभेदहरुलाई अन्त्य गरिनुपर्छ । पूजाआजा गर्दा दलितलाई मन्दिर प्रवेश गर्न नदिने, महिनावारी भएका महिलालाई अछूत खालको व्यवहार गर्ने यी कुसंस्कार अन्धविश्वास हुन्, यस्ता कुराहरुलाई हटाउनुपर्छ । अन्य कुराहरु आफ्नो आस्थाअनुसार मान्ने कुरा हो । म द्वन्द्ववादी भौतिकवादी जीवनपद्दतिमा विश्वास गर्ने मानिस भएकोले धार्मिक रुपमा मेरो कसैप्रति पनि आस्था छैन । यसलाई एउटा साँस्कृतिक पर्वको रुपमा म कतिपय पर्वहरुमा सहभागी हुन्छु । तर धार्मिक कर्मकाण्डहरुप्रति मेरो विश्वास छैन ।
दशैंको सबैभन्दा ठूलो नकारात्मकता यो चाड आम मानिसहरुको लागि आर्थिक भार हुने, आयो दशै ढोल बजाइ, गयो दशैं ऋण बोकाइ बन्ने गर्छ । आजको सन्दर्भमा हामीले दशै जस्तो चाडपर्वलाई कसरी मनाउनुपर्छ, जसले गर्दा जनतालाई भार पनि नपरोस् र पर्व संस्कारहरुको महत्व पनि कायम रहोस् ?
बढी आडम्बर र फजुल खर्च गर्नेतिर जानुहुँदैन । चाडपर्व मनाउँदा आफ्नो गच्छेअनुसार मनाउने, राम्रो लगाउने, आफन्तहरुसँग भोजभतेर गर्ने परम्परा सबैतिर हुन्छ । तर यसलाई स्वेच्छिक आधारमा छोडिदिनुपर्छ ।
चाडपर्व मनाउँदा आफ्नो गच्छेअनुसार मनाउने, राम्रो लगाउने, आफन्तहरुसँग भोजभतेर गर्ने परम्परा सबैतिर हुन्छ । तर यसलाई स्वेच्छिक आधारमा छोडिदिनुपर्छ ।
*******
मानिसहरुले कतिपय बढी तडकभडक, सम्पन्न भनिने धनाढ्य मानिसले गर्दा गरिबहरुले देखासिकी गरेर हैसियत भन्दा बढी खर्च गर्ने र तपाईंले भनेजस्तै आयो दशैं ढोल बजाइ, गयो दशैं रिन बोकाइ भन्ने स्थिति आउन सक्छ । त्यसो गरिनु हुन्न ।
यो विल्कुल स्वेच्छिक आधारमा गरिनुपर्छ । तडकभडक गर्दा ठूलो होइने, नगर्दा सानो होइने भन्ने कुरा नै होइन । यो त इच्छाको कुरा हो ।
जनताले आफ्नो आस्थाका आधारमा मनाउँछन् । तर सचेत राजनीतिककर्मी र द्वन्द्ववाद भौतिकवादमा विश्वास गर्नेहरुले दशैंलाई कसरी मनाउनु ठीक हुन्छ, जसबाट आम जनताले पनि पाठ सिकेर सिको गर्न सकुन् ?
सचेत मानिसहरुले धर्मसंस्कृतिभित्रका विभेदकारी प्रावधानहरुलाई समयानुकूल बदल्न र त्यसलाई परिवर्तन गर्नैपर्छ । जातीय लैंगिक आधारमा कायम विभेदहरुलाई कुनै पनि हालतमा मान्यता दिन सकिँदैन । संविधान, कानून र सभ्य समाजले नै बर्जित गरिसकेको त्यो कुराको अभ्यास पटक्कै गरिनु हुँदैन ।
चेतनाको कमीका कारणले कतिपय मानिसहरुले अन्धविश्वासजन्य कामहरु गर्ने गर्छन् । त्यसलाई प्रतिबन्ध लगाएर भन्दा पनि जनताको चेतना विकास गरेर अन्धविश्वासजन्य प्रथाहरु छोड्दै जाने र वैज्ञानिक प्रथाहरु अपनाउँदै जाने दिशातिर हामी जानुपर्छ ।
*******
चेतनाको कमीका कारणले कतिपय मानिसहरुले अन्धविश्वासजन्य कामहरु गर्ने गर्छन् । त्यसलाई प्रतिबन्ध लगाएर भन्दा पनि जनताको चेतना विकास गरेर अन्धविश्वासजन्य प्रथाहरु छोड्दै जाने र वैज्ञानिक प्रथाहरु अपनाउँदै जाने दिशातिर हामी जानुपर्छ । सामाजिक राजनीतिक अगुवाइ गर्ने मानिसहरुले सर्वसाधारण जनतामा वैज्ञानिक चेतना प्रसार गर्नैमा जोड दिनुपर्छ । जनताले अन्धविश्वासको पछि लाग्यो भनेर हामीले पनि अन्धविश्वासजन्य कर्महरु गर्नुहुँदैन ।
हरेक कुरामा सकारात्मकता र नकारात्मकता दुवै पक्षहरु अन्तरनिहित हुने गर्छन् । बुँदागत रुपमा भन्नुपर्दा तपाईंको विचारमा दशैंको सकारात्मकता र नकारात्मकताहरु के के हुन् ?
सकारात्मक पक्षको कुरा गर्दा मैले अघि पनि भनें, मानिस अत्यन्तै जटील प्राणी हो । विवेक, आवेग, भावना, सौन्दर्यचेत सहितको प्राणी हो । यस्ता चाडपर्वले हासखेल गर्ने, रमाइलो गर्ने, नाचगान गर्ने, भोजभतेर गर्ने, आफन्तहरु भेटघाट गर्ने गर्दा उसको मनोवैज्ञानिक सन्तुष्टि र आत्मीयता बृद्धि हुनु सकारात्मक पक्ष हो । चाडपर्वमा विदेश गएका मानिसहरु, शहरबजारतिर गएका मानिसहरु गाउँघरतिर फर्केर आउने, भेटघाट गर्ने, इष्टमित्र नातागोता आउने हुन्छ । यसले सामाजिक सम्बन्ध विस्तार गर्ने काम गर्छ । यो राम्रो पक्ष हो ।
यसको नराम्रो पक्षको कुरा गर्दा कतिपय अन्धविश्वासजन्य, जातीय लिंगीय विभेदजन्य कुराहरुलाई हटाउँदै जानुपर्छ । सँगसँगै अनावश्यक ढंगले फजुल खर्च गर्ने, हैसियत वा आम्दानीभन्दा खर्च बढी गर्ने प्रवृत्ति, त्यसलाई निर्मुलीकरण र अन्त्य गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानको मुख ताक्दै सरकार
-
भ्लगर कार्की भन्छन्, ‘जिब्रो चिप्लियो, माफ गरिदिनुहोला’
-
पाल्पामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु
-
भ्लगर रतन कार्कीले भने, ‘त्यो शब्दको लागि माफी चाहन्छु’
-
डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद : सर्वोच्चले खारेज गर्यो हिमाल आइरनको रिट
-
स्टेफन इस्किनाजी काठमाडौँ गुर्खाजमा