शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चम्किए रोनाल्डो र गोन्जालो

बुधबार, १५ असोज २०७६, ०८ : ५८
बुधबार, १५ असोज २०७६

स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वसहकर्मीद्वय क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिगुइन चम्किएपछि इटालियन क्लब युभेन्ट्सले युरोपियन च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युभेन्ट्सले जर्मन क्लब बायर लिभरकुसेनलाई ३–० गोलले हरायो । युभेन्ट्सका लागि रोनाल्डो, गोल्जालो र फेडरिको बर्नाडडेस्चीले गोल गरेका थिए ।

युभेन्ट्सले १७औं मिनेटमा गोन्जालोको गोलबाट सुरुवाती अग्रता लिएको थियो । ६२औं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । ८९औं मिनेटमा पाउलो डिबालाको पासमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए । च्याम्पियन्स लिगमा रोनाल्डोको यो एकसय २८औं गोल हो ।

यस गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ किर्तिमान समेत रचेका छन् । उनले विभिन्न ३३ क्लबविरुद्ध गोलगर्दै नयाँ इतिहास बनाए । यसअघि रोनाल्डोले एकै सिजन सर्वाधिक गोल गर्ने र सर्वाधिक ६ पटक फाइनल खेल्ने खेलाडीको किर्तिमान पनि बनाई सकेका छन् ।

यस जितसँगै समूह ‘डी’ मा रहेको युभेन्ट्सले दुई खेलबाट चार अंक बनाएको छ । युभेन्ट्स समूहको दोस्रो स्थानमा छ । समान अंक बनाएको स्पेनिस क्लब एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा माथि छ । अंकबिहिन लिभरकुसेन तालिकाको अन्तिममा छ । रसियन क्लब लोकोमोटिभ मस्को तीन अंकसहित तेस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा एट्लेटिको म्याड्रिडले लोकोमोटिभ मस्कोलाई २–० गोलले हराएको छ । लोकोमोटिभको घरेले मैदानमा एट्लेटिकोकोलाई जिताउन जोआओ फेलिक्सले ४८औं र थोमसले ५८औं मिनेटमा गाल गरेका थिए ।

यसैगरी समूह ‘बी’ को अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले इङ्लिस क्लब टोट्टनहामलाई ७–२ गोलले हरायो । बायर्नको फराकिलो जितमा सर्जी जिनाब्रीले ह्याट्रिकसहति चार गोल गरे । रोवर्ट लेवान्डोस्कीले दुई तथा जोसुवा किम्मिचले एक गोल गरे । टोट्टनहामका ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरेका थिए । जितसँगै समूहमा दुई खेलबाट ६ अंक बनाएको बायर्न शीर्ष स्थानमा छ । एक अंक बनाएको टोट्टनहाम अन्तिममा छ ।

यही समूहको अर्को खेलमा सर्वियन क्लब रेड स्टार बेलग्रेड (करभेना जाभेज्दा) ले ग्रीस टोली ओलम्पियाकोसलाई ३–१ गोलले हराएको छ । जितसँगै तीन अंक बनाएको रेडस्टार दोस्रो स्थानमा छ । एक अंक बनाएको ओलम्पियाकोस गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप