बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले अष्ट्रेलियासँग कस्तो खेल्ला : यस्तो छ नेपाली टोली

मङ्गलबार, १४ असोज २०७६, १२ : ५५
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं । सन् २०२२ को कतार विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासँग खेलिने खेलका लागि २३ सदस्यीय खेलाडी नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार खेलाडी टोलीको घोषणा गरेको हो ।

प्रशिक्षक योहान कालिनले टोलीमा दुई जना खेलाडी परिवर्तन गरेका छन् । कालिनले यसअघि चाइनेज ताईपेईविरुद्धको खेल गुमाएका अजित भण्डारी र नवयुग श्रेष्ठलाई टोलीमा समावेश गरेका छन् । चोटका कारण यसअघि अजित र नवयुग थिएनन् । नेपालले अष्ट्रेलियासँग असोज २३ गते खेल्दैछ । त्यसपछि नेपालले असोज २८ गते जोर्डनसँग अवे खेल खेल्नेछ ।

जोर्डनसँगको खेलपनि यही टोलीले खेल्नेछ । नेपाली टोली अष्ट्रेलियाबाट सिधै जोर्डन प्रस्थान गर्ने बताईएको छ । छनोट खेलअघि अष्ट्रेलियामा नेपाली टोलीले प्रशिक्षण र अभ्यास खेलपनि खेल्ने एन्फाले जनाएको छ । नेपाली टोली बुधबार अष्ट्रेलिया प्रस्थान गर्नेछ । अष्ट्रेलियामा नेपाली टोलीको प्रशिक्षण र अभ्यास खेलको व्यवस्थापन अष्ट्रेलिया नेपाल फुटबल संघले गर्ने भएको छ ।

एसियाली देशको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेई रहेका छन् । नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७–० गोलको लज्जास्पद हार खेपेको थियो । दोस्रो खेलमा नेपालले ताइपेइलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको थियो ।

सन् २०१९ सेप्टेम्बर ५ देखि सुरु भएको दोस्रो चरणको छनोट खेल सन् २०२० को जुन ९ तारिखसम्म सञ्चालन हुनेछ । नेपालले अष्ट्रेलिया र जोर्डन पछिका चार खेल भने घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ । नेपालले कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ मा खेल्नेछ । यसैगरी नेपालले चाईनिज ताईपेईसँग सन् २०२० को मार्च २६ र जोर्डनसँग सन् २०२० को जुन ४ तारिखमा दशरथ रंगशालामा खेल्नेछ । नेपालले अष्ट्रेलियासँग दोस्रो खेल सन् २०२० को मार्च ३१ मा खेल्नेछ ।

विश्वकप खेलिसकेको अस्ट्रेलिया नेपालका लागि निकै बलियो प्रतिद्वन्द्वी हो । छनोट खेलका लागि एसियाली फुटबल महासंघ (एएफसी) ले एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरेको छ  । प्रत्येक समूहमा पाँच टोली छन् । होम एन्ड अवेका आधारमा खेलिने खेलमा दोस्रो चरणको छनोटबाट आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन् । तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पनि पाउँनेछन् । 

नेपाली टोली

गोलरक्षक : किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ

रक्षक : सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल

मिडफिल्डर : रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई

स्ट्राईकर : विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप