केन्द्रीय संस्करण
स्वास्थ्य

'जीवनशैलीमा परिवर्तन नगरे मुटु रोग झनै बढेर जान्छ'

डा. लभ नरसिंह जोशीसँगको अन्तरवार्ता

person explore access_timeअसोज १२, २०७६ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

आजको मानव जीवनशैली भागदौडको शैलीमा चलिरहेको छ । भागदौडका कारण अव्यवस्थित बनेको मानव जीवनशैलीका कारण थुप्रै दीर्घ तथा अन्य रोगहरू दिनानुदिन बढ्दै गइरहेका छन् ।

अझ विश्वमा विकासको चरणसँगै भएको औद्योगीकरण र मानव जीवनशैलीमा आएको परिवर्तनका कारण मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगेको छ । मुटुरोगकै कारण विश्वमा बर्सेनि करोडौँ मानिसको मृत्यु हुने गरेको छ । जसमा पनि विकासोन्मुख देशमा धेरै मानिसको मृत्यु मुटुरोगका कारणले हुने गरेको छ ।

नेपालमा १० वर्षयता मुटुरोगीहरूको सङ्ख्यामा पाँच गुणाले वृद्धि भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले त सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी पनि गरिसकेको छ । धेरैजसोले हृदयाघात र हार्टफेललाई मात्रै मुटुरोग बुझ्ने गरेको पाइए पनि त्यो सही होइन । वास्तवमा मुटुका रोगहरू धेरै प्रकारका हुन्छन् ।

मुटुरोग लागेपछि मरिहालिन्छ भन्ने त्रास मानिसहरूमा छ । तर, के मुटुरोग लागेपछि मानिस मरिहाल्छ त ? हाल नेपालमा मुटुरोगको अवस्था, मुटुरोग लाग्न नदिन के गर्ने र लागिहालेमा के गर्ने त भन्नेबारे हामीले नेपाल मेडिसिटी अस्पतालका क्रिटिकल केयर विभाग प्रमुख तथा मुटुरोग विशेषज्ञ डा. लभ नरसिंह जोशीसँग कुराकानी गरेका छौँ ।

नेपालमा मुटुरोगको अवस्था कस्तो छ ?

नेपालमा मुटुरोगको अवस्थाबारे कुरा गर्दा आजभन्दा १० वर्ष अगाडि देखिएका मुख्य रोगहरू र दुई तीन महिना अगाडि सार्वजनिक भएको तथ्याङ्कमा देखिएका रोगहरूको प्रकृति फरक छन् । १० वर्ष अगाडिसम्म पनि नेपालमा मानव मृत्युको मुख्य कारक भनेको सङ्क्रमित रोगहरू जस्तो; झाडा पखाला, छातीको सङ्क्रमण, टीबी रोग थिए ।

सामान्य रूपमा बुझ्दा पहिला मानव मृत्युको मुख्य कारण सङ्क्रमित रोगहरू थिए भने अहिले मानव मृत्युको पहिलो कारण गैरसङ्क्रमित रोगहरू देखिएका छन् । यो १०÷१५ वर्षको अवधिमा मुटुरोग (कार्डियोभास्कुलर डिजिज) मानव मृत्युको पहिलो कारण बनेको छ । मुटुरोगमा हार्ट अट्याक, हार्ट फेलियर, हाइपरटेन्सन, कोलिस्टर आदी मानव मृत्युको पहिलो कारण बनेको छ ।

त्यसो भए मुटु रोगलाई सबैभन्दा बढी मानिस मार्ने रोगका रूपमा चित्रण गर्दा हुन्छ ?

हो, अहिले सबैभन्दा बढी मानिस मार्ने मुटु र मुटुसँग सम्बन्धित रोगहरू हुन् । त्यसपछि मानव मृत्युको दोस्रो नम्बरको कारणमा धूमपान, मध्यपान, प्रदूषणबाट हुने दीर्घकालीन अब्स्ट्रक्टिभ पल्मोनरी रोग (सीओपीडी) रहेको छ । मानव मृत्युको तेस्रो र चौथो कारणमा क्यान्सर रहेको छ भने अहिले सङ्क्रमणबाट मानव मृत्युको सङ्ख्यामा कमी आएको छ ।

कुनै बेला विकसित देशहरूमा मात्रै बढी पाइने भनी ठानिएको तर पछिल्ला वर्षहरूमा विकासशील देशहरूमा पनि मुटुरोग बढ्नुको कारण के होला ?

विश्वमै मानव जीवनशैलीमा आएको परिवर्तनका कारण र मानिसले उपभोग गर्ने सुविधाले गर्दा हृदयरोगको खतरा बढेको छ । पहिला पहिला भन्दा अहिले आहार विहारमा धेरै नै परिवर्तन भएको छ । मानिसहरू बनाएर वा दुःख गरेर भन्दा किनेर खाना सहज ठान्छ, जसले रोगको खतरा झनै बढेर जान्छ ।

पहिला मानिसलाई किनेर खान सहज थिएन तर अहिले यति धेरै अप्सन छ कि जे चाहे पनि तपार्इं भएकै ठाउँमा खानेकुरा आइदिन्छ । मानिसको क्रय क्षमतामा वृद्धि भएसँगै सुविधाभोगी पनि भए । यसले पनि हृदय रोगको खतरा झनै बढेर गएको छ ।

अर्को कारण यातायातको सुविधा पनि हो । हिँड्न छाडेर मानिस यातायातको साधनको प्रयोग बढी गर्छ । मानिस यति अल्छी भएको छ कि आफैले गर्न सक्ने काम पनि गर्दैन । पहिला साइकलको प्रयोग बढी थियो, अहिले त्यो छाडेर मोटरसाइकल, गाडीको प्रयोग बढ्यो । दुई पाइला हिँड्न पनि हामी अल्छी गर्छौं ।

त्योसँगै, इन्टरनेट, मोबाइल, टिभी लगायतले मानिसलाई धेरै अल्छी बनाइदिएको छ । घण्टौँ मानिस टीभी हेरेर, कम्प्युटर, मोबाइल हेरेर बसिदिन्छ यो हृदय रोगका लागि सबैभन्दा घातक मानिन्छ । अर्को मुख्य कारणमा पर्छ टेबल वर्क । पहिले फिल्डमा हिँड्ने गर्दा शारीरिक व्यायाम हुन्थ्यो, अहिले सबै काम इन्टरनेट, कम्युटर, ल्यापटपको माध्यम टेबलमै बसेर सब काम गरिन्छ ।

नेपालमा मात्र होइन विश्वमै मानव जीवनशैलीमा आएको परिवर्तन, व्यस्त जीवनशैली, तनावपूर्ण जीवनशैलीका कारण उच्च रक्तचाप बढ्दैछ । पहिले ४०, ५० वर्षपछि उच्च रक्तचाप, हृदयाघातको समस्या देखिन्थ्यो भने अहिले युवा अवस्थामै यो समस्या देखिएको छ ।

मुटु रोगको मुख्य कारण त जीवनशैली नै हो । त्यसपछि आधुनिकीकरण, औद्योगीकरण, सहरीकरण र सुविधाका कारणले मुटुरोग निकै बढेको छ । पहिलो मानव मृत्युको तेस्रो नम्बरको कारण बनेको मुटुरोग अहिले पहिलो नम्बरको कारण बनेको छ । खानपान र जीवनशैली बाहेक वंशाणुगत रूपमा पनि यो रोग बढ्छ । जबसम्म मानिसले जीवनशैलीमा परिवर्तन गर्दैन नि यो रोग झनै बढेर जान्छ ।

मुटु रोग लाग्न नदिन कस्ता कुरामा ध्यान दिने ?

मुटुरोग लाग्नबाट बच्नका लागि पहिला त यसबारे सचेत हुनुपर्छ । शिक्षित व्यक्तिले यसबारे चासो राख्ने र अरूलाई पनि सचेत रहन सिकाउनुपर्छ । हामी मानिस एकअर्कासँग सम्बन्धित हुने भएकाले एकको पहल अर्कोको लागि सहयोगी बन्न सक्छ । स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्था, चिकित्सक यस क्षेत्रमा कार्यरत सबैले सचेतना फैलाउन जरुरी छ ।

मुटुरोग भन्नासाथै हृदयघातलाई बढी बुझ्ने गरिन्छ । मुटुरोग धेरैथरी छन् । जस्तोः हाइपरटेन्सन कसैलाई छ र यसलाई बेलामा उपचार सुरु गर्न सकियो भने हर्टअट्याक, हर्ट फेल र मृत्युसम्मको अवस्थाबाट जोगाउन सकिन्छ । हर्टअट्याक भयो भने पनि उपचारबाट र जीवनशैली, खानपानमा परिवर्तन गरी बच्न सकिन्छ ।

मुख्यतः सचेतना नै हो र हरेक व्यक्तिले के खाँदा राम्रो र के खाँदा स्वास्थ्यका लागि हानि गर्छ भन्ने जानकारी राख्नु अत्यन्त जरुरी छ । र अर्को मुख्य प्रिभेन्सन भनेको नियमित स्वास्थ्य परीक्षण हो । बेला बेला आफ्नो शरीरको स्वास्थ्य परीक्षण गरिरहने हो भने भविष्यमा आउन सक्ने खतरनाक अवस्थाबाट बच्न सकिन्छ ।

मुटुरोगको कारक तत्वहरू नै अस्वस्थकर खानपीन, भागदौड र तनावपूर्ण जीवनशैली हुन् । यी कारणले नै मानिसमा उच्च रक्तचाप, कोलिस्ट्रोल, मधुमेहको समस्या हुन्छ । अनि परिवारमा कसैलाई मुटुको रोग छ भने पनि लाग्न सक्ने भयो, योबाहेक धूमपान, मध्यपान यी सबै मुटु रोगका कारक तत्त्व हुन् । यी सबैलाई हामी मानिसले नियन्त्रण गर्न सकिने भएकाले आफू सचेत हुन अन्यन्त जरुरी छ ।

यीबाहेक उमेरसँगै आउने परिवर्तन हाम्रो नियन्त्रणमा छैन तर अन्य कुरा त हाम्रो नियन्त्रणमा छ नि । यसलाई आफैले नियन्त्रण गर्ने कोसिस गर्दा पक्कै ठूलो दुर्घनाबाट बचिन्छ ।

सामान्यतः पुरुषहरूलाई ४५ वर्ष नाघेपछि नियमित रूपमा मुटुको परीक्षण गर्न हामी सुझाव दिन्छौँ । महिलाहरूलाई ५० वर्ष नाघेपछि अथवा मेनोपज (महिनावारी रोकिएपछि) पछि नियमित मुटुको परीक्षण गर्न सुझाव दिन्छौँ ।

मुटुरोगको उच्च जोखिममा पुरुषहरू बढी हुन्छन् । महिलाहरूमा मुटुरोगको जोखिम कम हुने भए पनि महिनावारी रोकिएपछिको अवस्थामा भने पुरुषलाई भन्दा बढी खतरा हुन्छ फेरि ।

त्यसो त विश्वको तुलनामा दक्षिण एसियनहरूमा मधुमेह बढी देखिएको छ । त्यसैले दक्षिण एसियालाई ‘डायबिटिज क्यापिटल अफ दी वर्ल्ड’ पनि भनिन्छ । संसारकै सबैभन्दा बढी मधुमेहका बिरामी दक्षिण एसियामा छन् । अझ बढी त भारतमा छन् । हो मैले भन्न खोजेको के भने मधुमेह आउने वित्तिकै मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ ।

उमेरसँगै आउन सक्ने जोखिमलाई परिवर्तन गर्न नसके पनि हाम्रो आफ्नै कारणबाट आउने खतरालाई त नियन्त्रण गर्न सकिन्छ नि । खानपानमा परिवर्नन गर्ने, स्वास्थ्यकर शक्तिवर्धक खानामा जोड दिने, जीवनशैली परिवर्तन गर्ने, तनावबाट बच्ने, धूमपान, मध्यपान लगायतबाट टाढा रहने हो भने मुटुरोग लाग्नबाट र लागे पनि बच्न सकिन्छ ।

कतिपयले के ठान्छन् भने मुटु रोग लागेपछि मानिसहरूको व्यक्तिगत जीवनमा नै असर गर्छ । त्यसमा पनि यौन जीवनमा बढी असर गर्छ भनिन्छ । वास्तविकता के हो ?

अवश्य पनि मुटुरोगका कारण मानिसको व्यक्तिगत जीवनमा असर गर्छ । हाइपरटेन्सन, उच्च रक्तचापमा पहिला खासै लक्षण देखिँदैन । कोही कोहीमा मात्र टाउको दुख्ने, रिँगटा लाग्ने, नाकबाट रगत आउने जस्ता लक्षण देखिन्छन् । लक्षण देखियो भने त्यो त्यति खतरा हुँदैन किन कि मानिस केही लक्षण देखिनासाथ अस्पताल जान्छ तर कतिपयमा केही लक्षण नै देखिँदैन । यो निकै खतरनाक हुन्छ । त्यसैले पनि हाइपरटेन्सनलाई साइलेन्ट किलर पनि भनिन्छ ।

रोगले लक्षण नै नदिँदाको अवस्थामा एक्कासि समस्या आउँछ, जसका कारणले मानिसको व्यक्तिगत जीवनमा असर पारिहाल्छ । रोगले गलाएपछि मानिस सामाजिक रूपमा सक्रिय हुन सक्दैन । मानसिक रूपमा पनि मानिस कमजोर भइरहेको हुन्छ । त्यसैले उच्च रक्तचापका बिरामी हाइपरटेन्सनका बिरामीलाई हामी सकारात्मक सोच राख्न सल्लाह दिने गर्छौं । औषधिको असर पनि परिरहेको हुन्छ । साथै यौन जीवनमा पनि असर गरिरहेको छ । यौन जीवनमा सक्रिय हुन नसक्दा उनीहरूमा मानसिक तनाव पनि पैदा हुने गर्छ । यसले नकारात्मक असर गर्ने भएकाले परिवार, आफन्त र बिरामी आफैमा सकारात्मक भावना जाग्रित गराउन जरुरी हुन्छ ।

एउटा मुटु रोगीको दैनिकी कस्तो हुनुपर्छ, शारीरिक श्रम गर्नु हुन्छ कि हुँदैन ? यसका रोगीहरूले दैनिक जीवनमा के कस्ता सावधानीहरू अपनाउनु पर्छ ?

शारीरिक रूपमा जति सक्रिय भयो उति रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि हुँदै जान्छ । तर रोगीको अवस्थाअनुसार शारीरिक सक्रियता हुनुपर्छ । 

जस्तो हृदयाघात भएको बिरामी छ, उसको मुटुको धड्कन शक्ति नै कमजोर छ भने बिरामीलाई स्टेप बाई स्टेप शारीरिक क्रियाकलाप गराएर सक्रिय बनाउन सकिन्छ, यसलाई कार्डियक रिहाबिलिटेसन भनिन्छ । बिरामीलाई मुटुले धान्न सक्ने गरी मात्रै शरीरिक रूपमा सक्रिय बनाउनुपर्छ ।

कसैलाई मुटुरोगको सुरुवाती चरण छ, कोलेस्ट्रोल बढी छ, हाइपरटेन्सन छ भने शारीरिक रूपमा सक्रिय जीवन जिउन सल्लाह दिन्छौँ । यसमा जति शारीरिक सक्रियता बढाउन सक्यो उति राम्रो हुने भयो । सामान्य शारीरिक श्रमले यसलाई पुग्दैन । तपार्इंले गरेको शारीरिक व्यायामले मुटुको चाललाई बढाउनुपर्छ । जस्तो, हिँडडुल गर्ने, टेनिस खेल्ने लगायतका क्रियाकलाप गर्न सकिन्छ ।

बिरामीको अवस्था र उसको विगतलाई विचार गरेर मात्रै कतिसम्म शारीरिक रूपमा सक्रिय रहने बुझ्नुपर्छ । विस्तारै शारीरिक सक्रियतामा वृद्धि गराएर बिरामीलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ ।

दिनभरीमा मानिसले सुत्ने, काम गर्ने, खाने, खेल्ने लगायत जति पनि क्रियाकलाप गर्छ, त्यो ब्यालेन्समा हुनुपर्यो । सुत्न पायो भन्दैमा ८, ९ घण्टा नै सुतिदिने, समय छ भन्दैमा जति पनि खेलिदिने, जति पनि जे पनि खाइदिने गर्न भएन । सामान्य अवस्थामा यो सबै सामान्य लागे पनि रोग लागिसकेपछि भने सबै क्रियाकलाप ब्यालेन्समा हुनुपर्छ ।

हरेक दिन गाडीमा अफिस गइन्छ भने हप्तामा एक दिन भए पनि हिँड्ने, बजारतिर वा पसलतिर जाँदा सवारी साधनको सट्टा हिड्ने । अवेरसम्म सुत्ने बानी छ भने उठेर व्यायम गर्ने, योगा गर्ने, साइक्लिङ गर्ने, हिँडडुल गर्ने, लिफ्टको प्रयोग गर्न भन्दा भर्याङको प्रयोगमा जोड दिने जस्ता क्रियाकलापमा मात्रै ध्यान दिने हो भने पनि रोगलाई नियन्त्रणमा लिन सकिन्छ । मुटु रोगीहरूकै लागि विभिन्न योगाहरू पनि छन् । यो सिकेर गर्ने हो भने पनि राम्रो हुन्छ । यी क्रियाकलाप हरेक दिन नसके पनि हप्तामा ३, ४ दिन मात्रै भए पनि गर्यो भने धेरै फाइदाजनक हुन्छ ।

हामी भन्छौँ कि ‘इफ यु थिङ्क यु विल डु इट, यु क्यान डु इट’ र ‘थिङ्क योर सेल्फ, यु क्यान डु इट’ । जे गर्नुपर्ने हो त्यो तपाईंको भित्रैबाट आउनुपर्छ । कसैले भनेर होइन कि आफैले केही गर्छु भन्ने हो भने रोग नियन्त्रण गर्न पक्कै सकिन्छ ।

मुटु रोगीले खानैपर्ने र खानै नहुने खानेकुराहरू चाहिँ के के हुन् ?

अर्को महत्त्वपूर्ण पक्ष भनेको खाना हो । हामीले खाने खानाले तौल बढाउन सहयोग नगरोस् । तौल जहिले पनि सामान्य अवस्थामा राख्न सक्नुपर्छ । तौल बढाउने खानाबाट जोगिनुपर्छ ।

तौल घटाउने खानामा जस्तोः कार्बोहाड्रेट कम खाने गर्नुपर्छ जस्तोः चिनी, पेयपदार्थ, चिया कफी, मिठाई, चकलेट जस्ता खानामा ध्यान दिने ।

मुटुरोगीले खानै नहुने भन्ने चाहिँ केही हुँदैन मात्र खाना कसरी खाने, कस्तो र कति खाने भन्ने हो । नेपाली खाना शैली जुन छ, यसमा घटाउन जरुरी छ । नेपालमा खाइने सबै खानामा प्रायः कार्बोहाड्रेटको मात्रा धेरै हुन्छ । जस्तोः एक प्लेट खाइन्छ भने त्यसलाई ४ भाग लगाएर १ भाग मात्रै खानुपर्यो ।

पलिस गरेको चामल, मैदा, रातो मासु, चिल्लो पदार्थ बढी भएको खानलाई कम गर्नुपर्छ । मासु खाने हो भने पनि छाला नभएको खाने । जौ, फापर, मकै, पलिस नगरेको वा उसिनेको चामल खाने । विशेष गरेर प्रोटिनयुक्त खानामा बढी जोड गर्नुपर्छ, जुन हाम्रो शरीरलाई अत्यावश्यक छ । जस्तो; माछा, अण्डा खाने, गेडागुडी प्रशस्त खाने, फलफूल, ताजा तरकारी जुन हल्का मात्रै पकाएर खानुपर्छ । कुनै पनि खानालाई गलाएर नखाने । हल्का मात्र पकाएर खाँदा भिटामिनहरू मर्न पाउँदैन ।

दूध र दूधजन्य खाना खान सकिन्छ । दूध, दही र मही राम्रो मानिन्छ । ड्राइ नट्सलाई पनि खानाको रूपमा प्रयोग गर्न सकिन्छ । जस्तो; काजु, पिस्ता, बदाम, ओखरलाई मिलाएर खान सकिन्छ । यसले तौललाई व्यालेन्समा लिन सहयोग गर्छ । हामीले खाएको खानाले पेट लाग्न दिनु भएन ।

मुटु रोगको उपचार असाध्यै महँगो हुने गरेको पाइन्छ । मुटु रोगको उपचारमा सर्वसाधारण र गरिब निमुखाहरूको पनि सहज पहुँच पुर्याउन के गर्नु जरुरी छ ?

हो, मुटुरोगमा पनि हृदयाघात भयो भने तत्काल उपचार थाल्नुपर्ने हुन्छ । यसका लागि हस्पिटलको इमर्जेन्सीमा जानु पर्यो । हृदयाघात भनेको कस्तो हुन्छ भने रगतको नशा जसले रगत शरीर र मुटुमा पठाउने काम गरिरहेको हुन्छ । केही कारणले रगत जम्यो वा ब्लक भयो भने त्यो तत्काल खोल्नुपर्ने हुन्छ । यसको पनि अवस्था हुन्छ र अवस्था अनुसार इन्जेक्सनले मात्रै खोल्न पनि सक्छ । यदी इन्जेक्सनले खब्लक खुल्न सक्ने अवस्था हो भने त्यो सुविधा नेपालमा मुख्य मुख्य अस्पताल सबैमा छ । यो उपचार गर्न सक्ने चिकित्सकहरू पनि हुनुहुन्छ ।

अर्को अवस्था जुन अलि जटिल हुन सक्छ । यसको लागि विकसित प्रविधिको प्रयोग गरी ब्लक खोल्नुपर्ने पनि हुन सक्छ । यसका लागि एन्जियोग्राफीका लागि क्याथ ल्याब भएको ठाउँमा जानुपर्छ । यो सेवा नेपालका मुख्य सहरहरूका अस्पतालमा उपलब्ध छ । क्याथ गरेर ब्लक भएको अवस्था हेर्न सकिन्छ । त्यसपछि बलुन, तारहरू प्रवेश गराएर ब्लक खुलाउनुपर्ने हुन्छ । जाम भएको बाटो खुलाउन पक्कै पनि खर्चिलो हुन्छ । इन्जेक्सन मात्रै दिनुपर्ने भयो भने त्यो त्यति खर्चिलो हुँदैन तर ब्लक खुलाउन एन्जियोग्राफी गर्न पर्यो भने केही खर्चिलो हुन्छ ।

त्यसपछि बिरामीको अवस्था (कम्पिकेसन्स) अनुसार उपचार गर्नुपर्ने हुन्छ । यदि तुरुन्तै ब्लक खुलाइएको छ भने बिरामी २, ३ दिनमै घर फर्कन सक्छ तर कम्प्लिकेसन्स छ भने अन्य उपचार गर्नुपर्ने हुन्छ । कतिलाई भेन्टिलेटरमै राख्नुपर्ने हुन्छ । कति सकमा गयो, मुटुले पम्प नै गर्न सकिरहेको छैन भने थप उपचारका लागि हस्पिटलमै डाक्टरको निगरानीमा हस्पिटल बस्नुपर्छ । कतिलाई इन्टेन्सिभ केयर युनिटमा राख्नुपर्छ । यो अझ बढी महँगो पर्न आउँछ । यस्तो कारणले पनि मुटुरोगको उपचार खर्चिलो भएको हो ।

अर्को हार्ट फेल, हार्ट अट्याक अथवा त्योभन्दा पनि खतरा बढेको छ भने जिन्दगीभर औषधिको सेवन गर्नुपर्ने हुन्छ । योसँगै बिरामीको काममा पनि प्रभाव पार्ने भयो । पहिलेको जस्तो काम गर्न नसक्दा पनि आर्थिक रूपमा असर त पक्कै नै गर्छ ।

खर्चिलो उपचारबाट बच्नका लागि पूर्वतयारी अत्यन्त आवश्यक छ । त्यसैले आजभोलि विभिन्न अस्पताल तथा सङ्घसंस्थाहरूले विभिन्न रोगबाट कसरी बच्ने लागेमा के गर्ने भनेर जनचेतनामूलक कार्यक्रमहरू ठाउँठाउँमा गर्ने गरेको छ । यसमा नेपाल मेडिसिटीले पनि बेला बेला चेतनामूलक कार्यक्रमह गर्ने गरेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...