शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सीको भारत भ्रमण तयारी अन्तिम चरणमा

आइतबार, १२ असोज २०७६, १६ : २६
आइतबार, १२ असोज २०७६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको हुने भनिएको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । 

असोज २४ र २५ गते हुने भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको त्यहाँस्थित भारतीय पत्रकारहरुले जनाएका छन् । भारतको भ्रमण सक्याएर उनी नेपाल आउने भएका छन् । नेपाल भ्रमणको तयारी पनि द्रूत गतिमा भइरहेको छ ।  

भारतको तमिलनाडुको ममलापुरमा सीको भ्रमण हुने र तयारी अन्तिम चरणमा पुगेको भनिएपनि औपचारिक मिति भने घोषणा भएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका फर्किसकेकाले  अब छिट्टै आधिकारिक रुपमा मिति घोषणा हुने बताइएको छ । 

चेन्नई मात्र किन ?
भारतको चेन्नई (तमिलनाडु प्रदेशको राजधानी) र चीनको विशेष सम्बन्ध रहेको छ । सोही कारण चिनियाँ राष्ट्रपति सीले चेन्नइको भ्रमणलाई महत्व दिएका हुन् । 

चेन्नई र चीनबीच सातौँ शताब्दीको सम्बन्ध रहेको छ । त्यतिबेला नै चिनियाँ कलाकार गएर भारतीहरुलाई आर्ट सिकाएको पौराणिक कुराहरु त्यहाँ भेटिन्छ ।  चिनियाँ कलाका कारण त्यहाँको सम्पदा विश्वमा दर्ज भएको छ । चेन्नइका तत्कालीन राजा पलवाजले चीनका कलाकार बोलाएर सिंहको चित्र बनाउन लगाएको रोचक तथ्यहरु त्यहाँ पाइन्छ र अहिले पनि त्यसलाई हेर्नका लागि पर्यटकहरु जाने गरेका छन् । 

यसो त अहिले पनि चेन्नइमा चिनियाँ लगानीका ठूला ठूला व्यवसायिक कलकारखाना रहेका छन् । यी सबै देखाउनका लागि राष्ट्रपति सीलाई त्यहाँ निम्ता गरिएको हो ।  

तयारी
चीनका राष्ट्रपति चेन्नइ जाने भएपछि सुरक्षाको कारण देखाउँदै समुन्द्रमा माछा मार्नमा रोक लगाएको छ भने राष्ट्रपति घुम्ने ठाउँहरुमा सुरक्षागस्ती शुरु भइसकेको छ । चीनका सुरक्षा अधिकारीहरु पुगेर सुरक्षाको जानकारी लिएर फर्केका छन् भने केही अझै पनि त्यहाँ बसिरहेको स्रोतले जनाएको छ । 

राष्ट्रपति सी र उनका साथमा आउने प्रतिनिधि तथा सुरक्षा अधिकारीका लागि चेन्नइको सेरेटन र फिसरम्यान कोभ होटेल बुक गरिसकिएको छ । दुई पक्षीय भेटघाट साथै अन्य कार्यक्रमहरु त्यही हुने बताइएको छ । साथै महाबलीको ग्राण्ड होटलका पनि १५० वटा रुम बुक गरिएको छ । 

यसलाई अनौपचारिक शिखर वार्ता नाम दिएको छ । यद्यपि शिखर वार्तामा दुई देश बीचमा रहेको विवादस्पद विषयमा कुराकानी नगर्ने सहमति भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप