चीनमा जनगणतन्त्र स्थापनाको ७० वर्ष: सीले गरे विश्वमै उदाहरणीय कार्य गर्नेहरुलाई सम्मान
बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्रका र विदेशी लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई आइतबार पदक एवं मानार्थ उपाधिले सम्मानित गरेका छन् । मानार्थ उपाधि प्राप्त गर्नेहरुमा एक जना पूर्व फ्रान्सेली प्रधानमन्त्री समेत रहेका छन् ।
चीनमा कम्युनिष्ट शासन शुरु भएको ७० वर्ष पुगेको अवसरमा पदक एवं उपाधि प्रदान गरिएको हो । चीनको राजधानी बेइजिङमा मङ्गलबार औपचारिक रुपमा व्यापक सैन्य परेड पनि आयोजना हुनेछ ।
पदक वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताको समृद्धिका लागि पार्टीले गरेको अनवरत कार्यमा विभिन्न विशिष्ट व्यक्तिले अतुलनीय योगदान गरेको बताए ।
पुरस्कृत हुनेमा क्यानाडाकी इसाबेल क्रूक एक सय वर्ष नाघेकी मानवशास्त्री समेत रहेकी छिन् । उनी सन् १९१५ मा जन्मिएकी हुन् । उनी सन् १९४९ मा चीन गणतन्त्र स्थापना हुनुअघि चीनमा बस्थिन् ।
चीनको चेङ्दुमा जन्मिएकी इसाबेलले चीनको शिक्षा क्षेत्रको विकासमा विशिष्ट योगदान गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
फ्रान्सका पूर्व प्रधानमन्त्री जाँ–पियरे राफारिनलाई पनि ‘चीनका पुराना मित्र’ का रुपमा सम्मान गरिएको छ । सिन्ह्वाका अनुसार चीन–फ्रान्स मित्रता प्रबद्र्धनमा उनले विशेष सहयोग गरेका थिए ।
यसैगरी विशिष्ट पदकबाट सम्मानित हुनेहरुमा क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रो र थाइल्याण्डका राजकुमार माहा चक्री सिरिनधोन रहेका छन् ।
समारोहमा कूल ४२ जना पुरस्कृत भएका छन् । तर समारोहमा २९ जना मात्र सहभागी भएका थिए ।
उक्त समारोहमा पहिलो नोबेल पुरस्कार विजेता चिनियाँ वैज्ञानिक टु योयूका साथै आणविक भौतिकशास्त्री यु मिनलाई पनि सम्मान गरिएको थियो । – तस्बिर: एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश राजधानीका स्थायी संरचना कहाँ बनाउने ? २० बिघा जग्गा आवश्यक पर्ने
-
सद्भाव थिएटरमा विजय मल्लको नाटक 'कोही किन बरबाद होस्' मञ्चन सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारका नाममा ठगी बढेपछि तीन बुँदे ट्राभल एड्भाइजरी जारी
-
सुदूरपश्चिमबाट देशभर सर्दै मौसम बदली, खपिनसक्नु चिसो बढ्ने
-
लयमा फर्कियो इन्टर, घरेलु मैदानमा ३ अंक थप