बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजदेखि १५ दिन अदालत बन्द, बन्दी प्रत्यक्षीकरणको रिट भने हेरिने

आइतबार, १२ असोज २०७६, १४ : १९
आइतबार, १२ असोज २०७६

काठमाडौं–असोज १२ गते घटस्थापनादेखि पूर्णिमासम्म देशैभरका अदालत बन्द भएका छन् । विजयदशमीको अवसरमा घटस्थापनादेखि पूर्णिमासम्म देशैभरका न्यायालय बन्द हुने भएका हुन् । 

यद्यपि न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार विदामा पनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाई गर्नुपर्ने हुन्छ । जसका कारण यसपटक ७७ वटै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत पनि शनिवारबाहेक खुल्ने छन् ।

अदालत खुलेपनि बन्दी प्रत्यक्षीकरणको रिटबाहेक अन्य मुद्दा भने हेरिने छैन । जिल्ला अदालतको हकमा पक्राउका लागि अनुमति दिने काम पनि गर्नेछ ।  

अहिले प्रहरीले कुनै व्यक्तिलाई पक्राउ गर्नुअघि पनि अदालतबाट अनुमति लिनुपर्ने भएकाले सबै जिल्ला अदालतहरु पनि निश्चित समयका लागि खुल्ला रहनेछन् । सर्वोच्च अदालतले शनिवार र दशैंको टीकाको दिनबाहेक अन्य विदाका दिनमा पनि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुल्ला राख्ने बताएको छ । 

सर्वोच्चको निर्णयलाई अनुसरण गर्दै उच्च अदालत र जिल्ला अदालतले पनि शनिवार र विजयदशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालतहरु खुल्ला राख्ने निर्णय गरेका छन् ।
बन्दी प्रत्यक्षीकरणको रीटमाथि सुनुवाई गर्नका लागि प्रत्येक अदालतले न्यायाधीशहरु तोकेर काममा लगाएका छन् । 

सार्वजनिक विदा भएकै कारण कुनैपनि व्यक्ति गैरकानुनीरुपमा वा आवश्यकता नभएपनि थुनामा बस्नु नपरोस् भनेर न्यायालयले यस्तो व्यवस्था गर्ने गरेको थियो । 

सर्वोच्च अदालत काठमाडौंमै भएको कारण पहिले उपत्यकाका जिल्ला अदालतहरु नखुल्ने भएपनि यसपटक भने यी जिल्लाका अदालत पनि खुल्ला नै रहनेछन् । प्रहरीले कसैलाई पक्राउ गर्नु परेमा पहिले अनुमति लिनुपर्ने भएकाले अनुमति लिने प्रयोजनका लागि पनि अदालत खुल्ला नै राख्नुपर्ने बाध्यता बनेको छ । त्यसकारण यसपटक सर्वोच्च र उच्च अदालत रहेका जिल्लामा पनि जिल्ला अदालत शनिवार र विजयदशमीको दिनबाहेक अन्य दिन खुल्ला नै रहनेछन् । 

यद्यपि उच्च अदालत रहेको अन्य जिल्लाका बन्दी प्रत्यक्षीकरणको रिट उच्च अदालतले मात्रै हेर्नेछ भने काठमाडौं उपत्यकामा बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले मात्रै हेर्नेछ । 


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप