शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व मुटु दिवस : मुटु स्वस्थ राख्न यी कुरामा ध्यान दिनुस्

आइतबार, १२ असोज २०७६, ११ : ११
आइतबार, १२ असोज २०७६

काठमाडौँ ।  आज विश्व मुटु दिवस । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउँदै आएको छ । नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको छ । बिरामीको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको सङ्ख्या बढ्दै गएको छ । विपन्न, ग्रामीण क्षेत्रका नागरिकले आर्थिक अभाव र विकटताका कारणले उपचार पाउनबाट वञ्चित भएका छन् । नेपालमा नागरिकलाई सहज हुने ठाउँमा मुटु रोग उपचार सेन्टर नहुँदा पनि देशभरका नागरिक काठमाडौँ आई उपचार गराउन बाध्य छन् ।

यता सहरी क्षेत्रका नागरिकमा भने आधुनिक जीवनशैली, खानपान, अल्छीपनाले गर्दा रोगी बढ्दै गइरहेको देखिन्छ ।

मुटुसम्बन्धी वंशाणुगत समस्याले गर्दा पनि नागरिक पीडित छन् । नागरिकले केही कुरामा ध्यान दिने हो भने मुटु रोगबाट बच्न सकिने विज्ञहरुले बताउँदै आएका छन् । मुटु दिवसको अवसरमा मुटुमा लाग्ने रोग, नागरिकले ध्यान दिनुपर्ने कुरा, उपचार पद्धति लगायतका बारेमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईसँग सोधेका छौँ ।

मुटु के हो, आम नागरिकले यसलाई कसरी बुझ्ने ?

मुटु हाम्रो शरीरको एकदमै महत्त्वपूर्ण अङ्ग हो । हाम्रो शरीरमा धेरैजसो अङ्गहरु दुईवटा छन् तर मुटु यस्तो अङ्ग हो जुन एउटा मात्रै हुन्छ । मुटु जिन्दगी जिउनका लागि अत्यन्तै महत्त्वपूर्ण छ । किनभने मुटु ४ मिनेट मात्रै बन्द हुने हो भने हाम्रो जीवन सम्भव हुन्न । मुटुले हाम्रो शरीरमा रक्तसञ्चार गर्ने काम गर्छ । ब्रेनमा ४ मिनेटभन्दा बढी समयसम्म रक्त सञ्चार भएन भने सबैभन्दा पहिला हाम्रो ब्रेन डेथको अवस्था आउँछ अथवा बे्रन मर्छ । त्यसैले गर्दा मुटु जीवन रहुन्जेल कहिल्यै पनि नरोकिने अङ्ग हो । नागरिकले पनि यसरी नै बुझ्नुपर्ने हुन्छ ।

मुटुमा देखिने प्रमुख समस्याहरु केके हुन् ?

मुटुमा लाग्ने विभिन्न रोगहरुलाई समग्रमा दुई किसिमले विभाजन गर्न सकिन्छ । एउटा जन्मजात मुटु रोग, जुन चाहिँ मान्छे जन्मिदै कुनै न कुनै मुटुरोग लिएर आउने भयो । अर्काे छ जीवन जिउँदै जाँदो वयस्क उमेरमा हुने मुटुरोग । जन्मजात मुटुरोग धेरै किसिमका छन् । जन्मजात मुटुरोग सामान्यदेखि एकदमै जटिल खालका हुन्छन् । त्यसमा सामान्य मुटुमा प्वालदेखि तपाईंको मुटुको मुख्य नली उल्टो बस्ने, बच्चा जन्मिदानै निलो हुने कडाखालका मुटुरोगहरु पनि हुनसक्छन् । कतिपय मुटुरोगहरुमा बच्चा जन्मने बित्तिकै तुरुन्तै अपरेसन गरेन भने जीवन सम्भव रहँदैन । यो भयो जन्मजात मुटुरोगका कुरा ।  

अर्को हो वयस्क मुटुरोग, जसमा जीवन जिउँदै जाँदा मुटुको भाल्बहरु खराब हुने गर्छ । यस्ता मुटुरोगमध्ये अहिले नेपालमा बाथमुटुरोगले धेरैभन्दा धेरै मान्छेका मुटुका भाल्ब खराब भइरहेको छ । मुटुरोगको अपरेसन गर्ने भनेको भाल्ब फेर्ने नै हो । बाथमुटुरोग अहिले नेपालमा खतरनाक रूपमा बढिरहेको छ ।

हार्टअट्याक भन्ने शब्द पनि हामीले धेरै सुनेका छौँ । विशेषगरी मुटुलाई रक्तसञ्चार गर्ने नलीहरुमा कुनै पनि कारण अवरोध आएको खण्डमा मुटुको कुनै पनि भागको मांसपेशीको मृत्यु हुन सक्छ । त्यसलाई नै हृदयाघात अथवा हर्टअट्याक भनिन्छ । त्यो रोग पनि बढ्दो छ । आजभन्दा १० वर्ष पहिलाको कुरा र अहिले तुलना गर्ने हो भने विशेषगरी सहरी क्षेत्रमा ५ गुणाले हार्टअट्याक स्केमिक हार्ट डिजिजको सङ्ख्या बढेको देखिन्छ ।

सहरी क्षेत्रमा मुटुरोग बढी देखिनुको कारण ?

सहरी क्षेत्रमा मुटुरोगका बिरामी बढी देखिनुको कारण हाम्रो जीवनशैलीमा आएको परिवर्तन । शारीरिक व्यायामको कमी, खानपानमा आएको परिवर्तन, अत्यधिक धूमपान, मध्यपान, यहाँको पोलुसन, तनावपूर्ण जीवन यी सबै कारणले गर्दा बढेको अनुमान गर्न सकिन्छ ।

अन्य रोगहरुमा मुटुबाट निस्किएका धमनीहरू हुन्छन् । त्यसलाई चिकित्सकको भाषामा ‘एवर्टा’ भनिन्छ, त्यो फुलेर आउनेलाई आनेउरिज्म भन्छौँ । त्यस्ता रोगहरु पनि छन्, जसले गर्दा तुरुन्तै अपरेसन गर्नुपर्ने हुन्छ । त्यसपछि मुटुको मांसपेशीका रोग हुन्छन् । मुटुको मासंपशी आफै कमजोर हुनु । त्योबाहेक मुटुको चाल कम हुनुलाई हार्ट ब्लक हुनु भनिन्छ । त्यस्ता रोगहरुमा कहिलेकाहीँ पेसमेकर हाल्नुपर्ने पनि हुन्छ । समग्रमा हुने मुटुरोगरु यिनै हुन् । विस्तृत रूपमा भन्ने हो भने सानातिना अरू धेरै रोगहरु पनि छन् । तर बढीजसो सुन्नमा आउने र धेरै मान्छेमा हुने मुटुसम्बन्धी रोगहरु यिनै हुन् ।

मुटुमा आउने समस्यालाई नागरिकले कतिको प्राथमिकता दिएको पाउनु हुन्छ ?

मुटु रोगको उपचारको कुरा गर्दा ३ वटा कुराको समस्या छ । नम्बर १, पर्याप्त मात्रामा मुटुरोगको उपचार हुने अस्पताल नेपालमा छैनन् । त्योबाहेक नेपालमा मुटु रोगको उपचार गर्न सक्ने विशेषज्ञ पनि कम छन् । साथै मुटुरोगको बारेमा नागरिकमा जनचेतनाको कमी छ । अझै पनि गाउँघर दुरदराजका धेरै नागरिकलाई मुटुरोगबारे चेतना छैन । त्यसैले यी ३ कारणले नेपालमा मुटुरोगको उपचार सहज रूपमा पाइँदैन ।

सहरी क्षेत्रमा बस्ने नागरिकहरु पहिलेभन्दा अलि सचेत भएका छन् । घरमा कसैलाई मुटुरोग थियो भने पहिलेभन्दा अहिले परीक्षण गराउने आउने नागरिक पनि छन् । पढेलेखेको परिवार अलि सचेत भएको देखिन्छ । तर पनि नेपालमा दिनप्रतिदिन मुटुरोगीहरु बढेको देखिन्छ । त्यसको मतलब नागरिकमा चेतना बढेको देखिन्छ । जस्तो मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ५ वर्ष पहिला र अहिले हेर्ने हो भने ओपीडीमा टिकट काट्ने बिरामीको सङ्ख्या बढेको देखिन्छ । यो कुराले पनि नागरिक रोगी मात्रै नभएर स्वास्थ्य परीक्षण गराउनुपर्छ भन्ने चेतना जागेको छ भन्ने देखिन्छ । तर पनि अझै धेरै नागरिकमा चेतना जाग्नुपर्ने आवश्यक देखिन्छ । धेरैजसो मान्छेमा कसैलाई मुटुरोग लागेको छ कि छैन भन्ने बारेमा हेर्ने कुरा अझै पनि सहज छैन । सहज भएको खण्डमा अवश्यक पनि चेतना फैलिने, अस्पताल आउने, मुटुको परीक्षण गर्नेको सङ्ख्या अवश्य पनि बढ्छ ।

कस्ता व्यक्तिमा मुटुसम्बन्धी समस्या बढी देखिने सम्भावना हुन्छन् ?

जन्मजात मुटुरोग विशेषगरी वंशाणुगत हुनसक्छ । कुनै पनि परिवारमा जन्मजात मुटुसम्बन्धी रोग थियो भने त्यो परिवारबाट जन्मने बच्चामा पनि मुटुरोग हुन सक्ने सम्भावना हुन्छ । त्यसपछि गर्भवती महिलाले धूमपान, मध्यपान बढी गर्ने, आहार विहारको कमी भएको विशेषगरी दुर्गम जिल्लाहरुमा यस्तो समस्या देखिन्छ । त्यस्ता आमाबाट जन्मेको बच्चाहरुमा जन्मजात मुटुरोगको समस्या हुन सक्छ ।

त्यसपछि गर्भवती महिलालाई कुनै ठूलो रोग लाग्यो र त्यो समयमा कडा औषधि प्रयोग गर्नुपर्ने अवस्था आयो भने त्यस्तो आमाबाट जन्मेको बच्चामा पनि मुटुरोग लाग्न सक्ने सम्भावना हुन्छ । विभिन्न रोगका कारणले कडा औषधि सेवन गरेका महिलाबाट जन्मेका बच्चामा पनि मुटुरोगको समस्या हुनसक्छ । त्यस्तै ३५ वर्षभन्दा माथिको आमाबाट बच्चा जन्मिदा जन्मजात मुटुरोग लाग्ने अथवा जन्मजात मुटुरोग वा डाउन सिन्ड्रोम हुनसक्ने सम्भावना बढी हुन्छ ।

मुटुरोगसम्बन्धी वंशाणुगत इतिहास छ भने त्यस्ता परिवारमा आउने नयाँ सदस्यमा पनि मुटुमा रोग लाग्न सक्ने सम्भावना हुन्छ । त्योबोहक वयस्क व्यक्तिहरुमा धूमपान, मध्यपान गर्न शारीरिक व्यायम नगर्ने, मोटोपना भएको व्यक्तिहरु अत्यधिक मात्रामा कार्बाेहाइड्रेड भात, आलु, गुलियो, बासोजन्य, मासुजन्य खाना धेरै खाने व्यक्तिमा मुटुरोगको समस्या देखिन सक्छ । साथै मधुमेहका बिरामीलाई पनि मुटुरोग लाग्न सक्ने सम्भावना बढी हुन्छ । जसको जीवन चिन्तामा बितेको छ, विभिन्न कारणले मान्छेलाई चिन्ता तनाव हुन्छ । त्यस्तो व्यक्तिलाई पनि मुटुरोग लाग्न सक्ने सम्भावना हुन्छ ।

मुटुलाई स्वस्थ राख्न केके कुरामा ध्यान दिनुपर्छ ?

मुटुलाई स्वस्थ राख्न केही कुरामाथि पनि आइसकेका छन् ।

नम्बर १, नियमित शारीरिक व्यायम : 

दिनमा आधा घण्टा भए पनि पसिना आउनेगरी कुनै न कुनै शारीरिक व्यायम गर्नुपर्यो । त्योबाहेक शरीरको तौललाई नियन्त्रणमा राख्नुपर्यो  । धेरै मोटो मान्छे विशेषगरी पेट बाहिर निस्केको मान्छेलाई मुटुसम्बन्धी रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ ।

अत्यधिक धूमपान मध्यपान गर्ने व्यक्तिमा पनि समस्या देखिन सक्छ ।

नियमित शारीरिक व्यायम गर्ने, तौललाई नियन्त्रणमा राख्ने, ३५ वर्षभन्दा माथिका नागरिकले सुगर र कोलोस्ट्रोलको मात्रा नियमित चेकजाँच गर्नुपर्छ । यी कुरालाई कन्ट्रोलमा राख्नुपर्यो साथै चिन्ता, तनावलाई कम गर्ने प्रयास गर्नुपर्यो ।  विशेषगरी मुटुलाई स्वास्थ राख्नलाई ध्यान दिनुपर्ने कुराहरु यिनै हुन् । खानपानमा सुधार, व्यायम, धूमपान मध्यापान नगर्ने, कोलोस्ट्रोल र सुगरलाई कन्ट्रोलमा राख्न सकियो भने मुटुसम्बन्धी रोगबाट बच्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप