बाढी पहिरोबाट कृषि क्षेत्रमा २ अर्ब ८६ करोडको नोक्सान
काठमाडौं– बोमलाल खवास मोरङ रङ्गेली नगरपालिका वडा नम्बर –२ का कृषि व्यवसायी हुन् । बोमलालले २०६५ देखि च्याउ खेती गर्दै आइरहेका छन् ।
बोमलालले च्याउ खेतीबाट बार्षिक रुपमा १० देखि १५ लाखसम्मको आम्दानी गर्दै आइरहेका थिए । यो वर्षपनि खेतीवाट मनग्गे आम्दानी लिने सोँचमा थिए, बोमलाल । तर, एक्कासी आएको बाढी र डुवानमा परेपछि उनको खेती अनिश्चित त बनेको छनै सालभरको कमाइ समेत गुमेको छ । च्याउ खेतीकालागि भुस, पराल, गँहुको टनेल बनाएर सिजनल च्याउ लगाउने तयारीमा जुटेका उनको बाढीले सवै तयारी चकानाचुर वनाइदिएको छ ।
यस्तै, अर्का अगुवा कृषक ओमप्रकाश यादव मोरङ सोही ठाउँ निवासी हुन् । उनले व्यवसायीक रुपमा दुई विगाहा जमिनमा जुट र एक विगाह जमीनमा धान खेती गरेका थिए । तर अहिले उनको जमिनमा नत जुट नै छ नत धानबाली ।
लगातारको बर्षा र बाढीले खेतमा बालुवा र खोला बगिरहेको छ । उनको एक विगाह जिमिन पनि बाढीले कटान गरेको छ । रातोपाटीसँग दुखेसो पोख्दै ओम प्रकाशले भने– ‘सालभर खाने धान पनि छैन, जुट पनि छैन, म त सुकुम्बासी नै भएँ ।’
अहिले उनको जुट निकाल्ने समय भएको थियो । बाढीले सबै पुरिदिँदा उनी पीडामा छन् । सरकारले धानबाली र खेतीको अवस्था हेरेर राहत र क्षतिपूर्तिको व्यवस्था गरिदिए आफू आफ्नो परिवाको हातमुख जोड्न सहज हुने उनको वुझाइ छ ।
यी दुई कृषक प्रतिनिधि पात्र मात्र हुन् । केही दिनदेखिको लगातारको वर्षा र बाढीले तराईका अधिकाशं क्षेत्र डुवानमा परेपछि सयौं कृषक अहिले चिन्तित छन् । खेतमा लगाएको अन्नबाली बाढी बगाएको र धान रोपेर हरियाली बनाएको ठाउँ बगरमा परिणत भएपछि उनीहरुको आँशु रोकिएको छैन । मुलुककै सवैभन्दा धेरै धान खेती हुने झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, महोत्तरी लगायतका तराई क्षेत्रमा लगाएको हजारौं विगाहा धान खेती बाढीले वगाएको छ भने अधिकांश स्थान बगरमा परिणत भएका छन् ।
लगातार परेको बर्षा र बाढी पहिरोका कारण मुलुकको कृषि क्षेत्रमा अर्बौंको क्षति पुगेको छ । बाढी पहिरोका कारण लाखौको धनजनसँगै धानबाली, तरकारी, पशु तथा माछापालन क्षेत्रमा अर्बौको नोक्सानी भएको छ ।
कृषि बिकास मन्त्रालयकाअनुसार हालसम्म प्रभावित २४ जिल्लामा मात्र कृषि क्षेत्रमा २ अर्ब ८६ करोड रुपैयाँ बरावरको क्षति भएको हो । कृषि बिकास मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्कीले अन्नबाली, माछा, तरकारी, व्यवसायीक बस्तु पालन लगायतका क्षेत्रमा अहिले अनुमानित सो रकम वरावरको क्षति पुगेको जनाए ।
कुन जिल्लामा कति नोक्सान ?
बाढीका कारण पर्सामा २० हजार हेक्टर, बारामा ५५ हजार हेक्टर, रौतहटमा २८ हजार हेक्टर, धुनषा २१ हजार हेक्टर,म होत्तरीमा २० हजार हेक्टर, सर्लाहीमा २७ हजार हेक्टर जमिनमा लगाईएको धानबालीमा क्षति पुगेको छ ।
यस्तै, झापामा ३ करोड, मोरङमा ४ करोड, सुनसरीमा ३ करोड, सिराहा र सप्तरीमा २÷२ करोडको तरकारी बालीमा नोक्सान भएको पनि कृषि मन्त्रालयले जनाएको छ ।
अन्य जिल्लाको कृषि क्षेत्रमा भएको क्षतिको विवरण लिने काम कृषि निर्देशनालय तथा जिल्ला कृषि विकास कार्यालयबाट भइरहेको जनाएको छ । सह–सचिव कार्कीले क्षति भएको ठाउँमा लगाउने अन्नबालीको बारेमा छलफल भइरहेको बताए ।
सञ्चारको सुविधा नभएको र लगत संकलनमा समस्या भएको कारण सबै जिल्लाबाट कृषिको नोक्सानको बारेमा जानकारी लिने काम भइरहेको वताइएको छ ।
बाढीले डुबान भएको ठाउँको ८० प्रतिशत धानलाई पहिलाकै स्थितिमा ल्याउनका लागि कृषि मन्त्रालय लागि परेको जनाएको छ । खाद्यान्न अभाव हुन नदिनका लागि डुवान भएको ठाउँमा उन्नत जातको धान लगाउने जनाएको छ । डुबानमा परेको जमिनमा २० प्रतिशत धान नोक्सान हुने सम्भावना छ ।
पानी सुकेको खण्डमा धान, तरकारीबाली फेरि पहिलाकै अवस्थामा आउने सक्ने हुँदा अहिले धान उत्पादनमा कति कमी हुन्छ भन्ने अनुमान मन्त्रालयले नगरेको उनको भनाइ छ । जिल्लाको अवस्था र कृषको सुझावलाई संकलन गरेर खेती गरिने मन्त्रालयले जनाएको छ । धानको बिकल्पमा रहर, गहत, कालोमास, तरकारी, हिउँदे मकै लगायतको बाली लगाइने पनि मन्त्रालयले जनाएका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
काठमाडौँ–१६ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित १८ जना मैदानमा, कसको चुनाव चिह्न के ? (सूचीसहित)
-
रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या
-
उत्तर प्रदेशको सम्भल हिंसामा मर्नेको सङ्ख्या ४ पुग्यो
-
पुसबाट सरेर फागुनमा पुग्यो ‘मायावी’
-
कपिलवस्तुबाट पाटेबाघको छालासहित एकजना पक्राउ