शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव काठमाडौंमा : चिनियाँ राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण गर्ने राजदूत यान्छीको संकेत

शनिबार, ११ असोज २०७६, २० : ५८
शनिबार, ११ असोज २०७६

काठमाडौं – नेपालका लागि चिनयाँ राजदूत हौ यान्छीले चिनियाँ राष्ट्रपति सि जिङपिङले छिट्टै नेपालको भ्रमण गर्ने संकेत गरेकी छिन् ।  शनिवार काठमाडौंमा नेपालका लागि चिनियाँ राजदूतावासले गरेको जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा उनले सो कुरा बताएकी हुन् । गत वर्ष नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीनभ्रमण फलदायी भएको भन्दै चीनको तर्फबाट पनि उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गरिन् । 

राजदूत यानछीले दोश्रो बिआरई अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवि भण्डारीले चीनको सफल भ्रमण गरेको बताइन् । उनले बिआरआई परियोजनाबाट ट्रान्स हिमालय कनेक्टिभिटीमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले चिनियाँ विदेशमन्त्री वाङ यी, कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुङ ताओको नेपाल भ्रमणले एक अर्काबीचको सहकार्यलाई अझै उचाईमा पु¥याएको बताइन् ।  

उनले भनिन्, ‘हामीले चीनको उच्चस्तरीय भ्रमणको प्रतिक्षा गरिहेका छौँ । उक्त भ्रमणले दुईदेश बिचको सम्बन्ध नयाँ बिन्दूबाट अघि बढ्ने विश्वास व्यक्त गर्दछु ।’ 
उनले विश्व शान्तिका लागि चीन अग्रणी मुलुक भएको बताउदै विश्व अर्थतन्त्रमा चीनले महत्वपूर्ण योगदान दिएको बताइन् । उनले दिगो विकासका लक्ष्य प्राप्तिका लागि पनि विश्वका विभिन्न देशमा चीनले सहयोग पु¥याइरहेको उल्लेख गरिन् । चीनले ४० भन्दा बढी विकासशील मुलुकमा लगानीका लागि सहायता दिएको बताउदै राजदूत यान्छीले चीन विश्वका सबै देशसँग आर्थिक साझेदारीको बाटोमा अघि बढेको बताइन् । 

उनले चिनियाँ राष्ट्रपति सि जिङ पिङले अघि सारेको रोड एण्ड बेल्ट इनिसियटिभ अवधारणा अनुसार १ सय ६० राष्ट्रसँग सहकार्य गर्दै चीन अघि बढिरहेको जानकारी गराउदै  जसअनुसार २ सय ८३ आयोजनाहरु अघि बढिरहेको उल्लेख गरिन् । 

उनले नेपाल र चीनलाई अत्यन्तै नजिकको छिमेकी रहेको बताउदै दुई देशलाई हिमाल र नदीले जोडेको बताइन् । उनले दुई देशबिच सार्वभौम रक्षा, एकता र साझा मुद्धामा सम्मान गर्दै सम्बन्ध अघि बढिरहेको उल्लेख गरिन् । उनले नेपालले एक चीन नीति लिएको र चीनले नेपालको विकास क्षमतामा सहयोउग गर्दै आइरहेको बताइन् । 

उनले दुई देशबीच माथिल्लो तहदेखि स्थानीय तहसम्म भ्रमण आदान प्रदान भइरहेको उल्लेख गर्दै आपसी सहकार्य बढिरहेको उल्लेख गरिन् ।  नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै दुई देशबीच भइरहेको उच्चस्तरीय भ्रमण आदान प्रदानबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगिरहेको बताइन् । 

उनले सूचना प्रविधि, भौतिक पूर्वाधार निर्माण, ट्रान्स हिमालय कनेक्टिभिटीमा आपसी सहयोग सञ्चालन भइरहेको जानकारी दिइन् । 

कार्यक्रममा नेपालका सरकारका विभिन्न मन्त्रीहरु, विभिन्न दलका मुख्य नेताहरु, सांसद, उद्योगी व्यापारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमा चिनियाँ सास्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप