केन्द्रीय संस्करण

दशैँ मनाउन भारतबाट घर फर्किँदै सुदूरपश्चिमेली

person explore access_timeअसोज ११, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं – दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीको हिजो आज लर्को लाग्न थालेको छ । असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा जिल्लाका स्थानीयवासी घर फर्किन थालेपछि यहाँका गाउँघरमा दशैँको रौनकसँगै चहलपहल बढेको छ ।

 रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका यहाँका स्थानीय दशैँ मनाउन घर फर्किन थालेपछि अहिले डोटीलगायत यहाँका विभिन्न जिल्लाका गाउँ घरमा निकै चहालपहल तथा रमाइलो छाउन थालेको बडीकेदार गाउँपालिकाका–१ का स्थानीय प्रकाशबहादुरले बताए । 

उनले भने, “पहिले गाउँमा प्राय सुनसान थियो । अहिले दशैँ मनाउन सबै गाउँ फर्किन थालेपछि गाउँमा निकै रमाइलो हुन थालेको छ ।”

कामका लागि भारत गएकाहरु गाउँघरमा फर्किन थालेपछि अहिले यहाँका गाउँघरमा व्यापार व्यवसाय पनि फष्टाउन थालेको स्थानियवासी बताउँछन् । अहिले यहाँका जिल्ला सदरमुकामभन्दा पनि गाउँघरका पसलमा बढी व्यापार व्यवसाय हुन थालेको केआईसिंह गाउँपालिका काफलीका स्थानीय व्यापारी जहरसिंह खवारले बताए । 

उनले भने, “दशैँ, तिहारमा प्रायः पैसा नभएको त कोही हँुदैन् तै पनि रोजगारीबाट फर्किएकाले बढी सरसामान किन्ने हुँदा यहाँको व्यापार व्यवसाय एकाएक फष्टाएको छ ।”

 उता रोजगारीका लागि भारत गएकाहरु घर फर्किदा सीमा नाकाहरुमा दैनिक जसो लुटिने तथा हेपिने गरेको भारतको केराला शहरमा काम गरी फर्किएका डोटीको पूर्वीचौकी गाउँपालिकाका स्थानीय राम विकले गुनासो गरे । उनले भने, “भारतीय प्रहरीले अनाहकमा दुःख दिन्छन्, पैसा माग्छन, नदिए सामान नै ल्याउन दिदैनन् ।” प्राय जसो दुई÷तिन जना सुदूरपश्चिमेली नाकामा दिनहुँ लुटिने गरेको स्थानियबासीहरु बताउँछन् ।

उता सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी तारणीप्रशाद लम्सालले भारतबाट फर्किने नेपालीहरुलाई दुःख नदिन सिमा क्षेत्रमा खटिएका प्रहरीलाई निर्देशन दिएको बताए । “भारतीय प्रहरीले सीमा क्षेत्रमा भारतबाट फर्किएकाहरुलाई दुःख दिन थालेको छ भन्ने खबर आएपछि हामीले दुःख नदिन खबर गरेका छौँ,’’ उनले भने, “सीमा नाकामा कसैले दुःख पाएको भए प्रहरीले खोलेको नागरिक सहायत कक्ष भन्ने छ, त्यहाँ उजुरी गरे हामी सहयोग गर्छौ ।” 

सीमा क्षेत्रमा वर्षेनी सुदूरपश्चिमेलीहरु लुटिदा र हेपिदासमेत सरकारले त्यसको रोकथामका लागि खासै पहल गर्न नसकेको स्थानीयवासीको आरोप छ । सुदूरपश्चिमेलीहरु कैलालीको त्रिनगर तथा कञ्चनपुर जिल्लाको गड्डा चौकी भन्सारमा बढी लुटिने गर्ने गरेका छन् । 

सुदूरपश्चिम प्रदेशका लगभग नौवटै जिल्लाबाट कामका लागि भारत जानेहरु वर्षेनी बढ्दै गए पनि कति जना रोजगारीका लागि जान्छन् त भन्ने यकिन तथ्याङ्क भने कसैसँग छैन । यद्यपि करीब २५ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिम प्रदेशबाट कामका लागि भारत जानेको सङ्ख्या कम्तिमा पनि छ लाख जति रहेको अनुमान विभिन्न सङ्घसंस्थाहरुले लगाउने गरेका छन् । 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...