शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द विजयी (विजेताको नामावलीसहित)

शनिबार, ११ असोज २०७६, १७ : १६
शनिबार, ११ असोज २०७६

काठमाडौं–नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । 

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार सम्पन्न विशेष साधारण सभाबाट अध्यक्ष चन्दले अर्का अध्यक्षका प्रत्यासी विनयराज पाण्डेलाई बहुमत मतले हराउँदै निर्वाचित भएका हुन् ।  ५९ प्रतिनिधिले मतदान गरेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्दा पाण्डेले १५ मत प्राप्त गरे ।

१७ सदस्यीय नयाँ कार्यसमितीका लागि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीमा समेत चन्द प्यानलले बहुमत प्राप्त गरेको छ । संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठले ४१ मतका साथ विजयी हुँदा उनका प्रत्यासी मिङ्मा डाण्डु शेर्पाले १७ मत पाए । संघको सचिवमा चन्द प्यानलका अशोकनाथ प्याकुरेल ४३ मत पाउँदै निर्वाचित हुँदा उनका प्रत्यासी विनोद कुमार मैनालीले १५ मत प्राप्त गरे । कोषाध्यक्षमा चन्द प्यानलका रोशन कुमार सिंह ४५ मत पाएर निर्वाचित भए भने उनका प्रत्यासी उपेन्द्र भट्टराईले १२ मत पाए । प्रदेश सदस्यतर्फ प्रदेश १ बाट कैलाश विष्टले ३७ र प्रदेश ३ बाट अमित बिर पाण्डे ३९ मत प्राप्त गर्दै अन्य पदाधिकारीमा निर्वाचित भए । 
प्रदेश सदस्यतर्फ प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट निर्विरोध निर्वाचित भए । हालै मात्र समावेश गरिएको महिला सदस्यमा जयन्ती भट्ट एक मात्र उम्मेदवार भएकाले निर्विरोध घोषित भइन् । खुल्ला सदस्यमा दुर्गा राज पाठक (४२), बिरेन्द्र वहादुर चन्द (३६), माधव कुमार कर्माचार्य (३५), संजय राज सिंह (३४) र करन महोत्रा क्षेत्री (३०) ले मत प्राप्त गर्दै निर्वाचित भए ।

निर्वाचनमा ३९ जिल्ला र २० प्रदेशबाट आएका ५९ प्रतिनिधिले नयाँ कार्यसमितका लागि मतदान गरेका थिए । सरकारी हस्तक्षेप अवैधानिक निर्वाचन गराएको भन्दै यस अघि २०७३ सालमा आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो । 

त्यो बेला पनि चतुर बहादुर चन्द नै अध्यक्ष थिए । नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो । सोही विधानमा अनुसार आईसीसीको स्वतन्त्र कमिटिलाई नयाँ नेतृत्व लागि निर्वाचनको म्यानडेट दिएको थियो । शनिबारको निर्वाचनसँगै नेपालको निलम्बन फुकुवा हुने विश्वास लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप