बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रष्टको जग्गामा नगरपालिकाको पर्खालः अब ट्रष्टले सुरक्षा दिएर संरक्षण गर्ने

शुक्रबार, १० असोज २०७६, १८ : २९
शुक्रबार, १० असोज २०७६

भक्तपुर– भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको जमिन अब ट्रष्ट आफैंले संरक्षण गर्ने भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १ मा रहेको १०८ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा नगरपालिकाले केही समय अगाडी पर्खाल लगाएको थियो ।  शुक्रबार ट्रष्टका अध्यक्ष तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्व सरकोरवालाहरुबीच भएको छलफलमा उक्त कुरा भएको हो । 

तत्कालीन स्वर्गीय राजा वीरेन्द्र शाह र उनको परिवारको नाममा रहेको चल अचल सम्पत्ति २०६४ सालपछि नेपाल ट्रष्टको गठन गरि सोही संस्थाको मातहतमा रहने गरि संसदले नियमावली पारित गरेको थियो ।  कार्यक्रममा बोल्दै ट्रष्टका अध्यक्ष तथा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले हिजोका दिन जे भएपनि अब उपरात्न ट्रष्ट आफैले सरंक्षण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले भूगोलको हिसावले उक्त जमिन भक्तपुर नगरपालिकामा पर्ने भएपनि लाजपूर्जा नेपाल ट्रष्टको नाममा भएकाले त्यसको स्वामित्व सबै ट्रष्टको हुने बताए ।  ‘जनता र स्थानीय सरकार र सरोकारवालासँग छलफल गरेको उक्त क्षेत्रमा के गर्दा राम्रो हुनेछ त्यो हामी निकट भविष्यमा नै गर्नेछांैं,’ मन्त्री पोखरेलले भने । 

कार्यक्रममा संघीय सांसद महेश बस्नेतले विधि र विधानमा रहेर स्थानीय सरकार चल्नुपर्ने भन्दै स्थानीय सरकारका कामबाट जनता रुष्ट भएको बताए ।  भक्तपुर क्यान्सर अस्पतालको प्रसङ्ग निकाल्दै बस्नेत केन्द्र सरकार र प्रदेश सरकारले त्यसतर्फ चासो दिनुपर्ने बताए । 

कार्यक्रममा बोल्दै बस्नेतले सल्लाघारीको चौरलाई खुल्ला रुपमा राखेर संरक्षण गर्नु पर्ने समेत बताए ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो क्षेत्रधिकार भित्र पर्ने उक्त जमिनको अतिक्रमण बढेकाले सुरक्षाका लागि पर्खाल लगाएको जानकारी दिएका छन् । 

बिगतमा १०८ रोपनी २ आना क्षेत्रफल भनिएपनि हाल १०६ रोपनी २ आनामात्र रहेको र चौर खुल्ला रुपमा हुँदा विभिन्न विकृति बढेकाले सो कार्य गरिएको उनले प्रष्ट पारे ।  आगामी दिनमा समेत कुनै निकायले उक्त जग्गाको संरक्षण नगरे नगरपालिका आफैं त्यसको संरक्षणमा लाग्ने नगरप्रमुख प्रजापतिको भनाई छ । 

कार्यक्रममा नेपाल ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुरले पछिल्लो समय देशभर रहेका ट्रष्टका सम्पत्ति संरक्षणको प्रक्रिया थालिएको बताए ।  उनले भने, ‘हामी पोखरा, चितवन, हेटौडा, सुर्खेत, धनकुटा लगायतका स्थानमा रहेको सम्पत्ति संरक्षण लागेका छौ ।’

विगतका कोषमा पैसा भएपनि खर्च गर्ने अधिकार नभएकाले संरक्षण गर्न केही कठिनाई भएपनि हाल ब्याजको १० प्रतिशत रकम ट्रष्ट जमिन र भौतिक सम्पत्ति संरक्षण खर्च गर्न पाइने भएको उनले बताए ।  हाल देशभर २७ हजार रोपनी भन्दा धेरै जमिन र करिब ७८ करोड रुपैयाँ नगद कोष सम्पत्ति रहेको र उक्त सम्पत्तिबाट आएको ब्याज वा भाडाको रकम शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गर्न सकिने व्यवस्था रहेको समेत ठाकुरले जानकारी दिए । 

ट्रष्टको जग्गामा नगरपालिकाले भाडा उठाएर लिनु कानुन विपरित भएको भन्दै ठाकुर दशैं पछाडि तत्कालै सुरक्षाकर्मी राखेर २४ घण्टा उक्त क्षेत्रको सुरक्षा गरिने समेत बताए ।  सो अवसरमा प्रदेश सांसद शसिजंग थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, स्थानीय वासिन्दालगायतले हस्तक्षेप गरेर भन्दा पनि कानुन अनुसार ट्रष्टको सम्पत्तिको सुरक्षा गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।

मन्त्री पोखरेल सहितको टोलीले नगरपालिकाले पर्खाल लगाएरको ट्रष्टको जग्गाको अवलोकन समेत गरेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप