शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘भिजिट नेपाल २०२०’ सँघारमा, बल्ल पर्यटकीय गन्तव्य खोज्दै सचिवालय !

शुक्रबार, १० असोज २०७६, १३ : ३७
शुक्रबार, १० असोज २०७६

काठमाडौँ । ‘भिजिट नेपाल ट्वान्टी ट्वान्टी’ को पूर्वनिर्धारित समय नजिएको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेसँगै २०१९ आखिरी हुँदा पर्यटन वर्ष २०२० दैलोमै आइपुगेको हो ।

अबको तीन महिनापछि नै नेपाल भ्रमण वर्ष सुरु हुँदै छ । भिजिट नेपाल ट्वान्टी ट्वान्टीको नारा दिएर घोषणा गरिएको पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउँने सरकारको लक्ष्य छ ।

‘हामी नेपालीको भावना, पर्यटक हाम्रा पाहुना’ मुख्य नारा दिएर तयारी थालिएको पर्यटन वर्षको लक्ष्य पूरा हुनेमा भने आशङ्का कायमै छ । पर्यटन वर्ष दैलोमा आइपुगिसक्दा समेत कार्यक्रमको तयारी पूरा भएको छैन । यद्यपि अहिलेसम्म पनि पर्यटन वर्षको मोडेलको स्पष्ट खाका आइसकेको छैन । पर्यटन क्षेत्रको सुधार, पूर्वाधार विकास तथा व्यवस्थापनमा सरकार तथा पर्यटन सम्बद्ध निकाय नै कमजोर देखिएका छन् । सम्भावित पर्यटन क्षेत्रको पहिचान, सुधार, हवाई तथा स्थलगत स्थान्तरणको उचित व्यवस्था गर्न सकिएको छैन ।

राजधानीदेखि पर्यटन क्षेत्रसम्मको बाटो घाटो, पुल पुलेँसा तथा घोडेटो अवस्था निकै दयनीय छन् । एक दिनको बाटोमा २, ३ दिनसम्म खर्चिनुपर्ने अवस्था छ ।

त्यस्तै, पर्यटकका लागि खाने, बस्ने र आवश्यक मनोरञ्जन गर्ने स्थानको समेत उचित व्यवस्थापन गर्न सकिएको छैन । पर्यटन क्षेत्रमा पर्याप्त र व्यस्थित होटल लज तथा होमस्टेहरूको राम्रो प्रवन्ध हुन सकिरहेका छैनन् । आएका विदेशी पाहुँना (पर्यटकहरू)को स्वागत संस्कार र व्यवस्थापन कसरी गर्ने भन्नेमै सामान्य छ । जसले गर्दा यस पटक पनि हामीले गरेको अपेक्षा फेल खाने त होइन ? भन्ने खालको शङ्का उब्जन थालिसकेको छ ।

त्यसो त यसअघिको प्रयोगले पनि यो देखाइसकेको छ । ‘पर्यटन वर्ष २०११’ मा पनि नेपालले सोचेअनुरूप अपेक्षित पर्यटन भित्र्याउन सकेको थिएन ।

‘पर्यटनका लागि सँगसँगै’ मूल नाराका साथ सरकारले पर्यटन वर्ष २०११ मनाएको थियो । उक्त वर्ष सरकारले करिब १० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको थियो । तर पर्यटन आगमन भने, करिब साढे ८ लाखको हारहारीमा मात्र भएको थियो । जुन वर्ष अपेक्षित पर्यटन भित्रन नसक्नुमा पर्यटन क्षेत्रको उचित व्यवस्थापन र सुधार गर्न नसक्नु नै थियो । हाम्रो जस्तो प्राकृतिक स्रोत साधन र पर्यटन उद्योगको पर्याप्त सम्भावना भएका मुलुकमा यस्तो हुनु राम्रो नभएको सरोकारवालाहरुको भनाई छ ।

कसरी हुँदै छ तयारी ?

सरकारले सन् २०२० लाई भव्य रूपमा भिजिट नेपाल ट्वान्टी ट्वान्टी मनाउने तयारी गरेको छ । सन् २०११ मा सोचेअनुरूप सफलता हात पार्न नसके पनि यस पटक भने अधिकतम सफलताको नजिक पुग्ने योजना बनाएको छ । सन् २०१८ मा नै पर्यटन वर्ष मनाउने पूर्व सरकारको योजना भए पनि पर्याप्त तयारीबिना उपलब्धि हासिल गर्न नसकिने भन्दै सरकारले २ वर्ष समयावधि बढाएर २०२० लाई पर्यटन वर्ष घोषणा गरेको थियो ।

यस पटक पर्यटकको बस्ने समयावधि बढाएरै भए पनि बढीभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने सरकारको नीति छ । अधिकतम १२ दिन रहेको पर्यटक घुमिफिर समयलाई बढाएर १५ दिन पुर्याउने र प्रतिपर्यटक प्रतिदिन ६५ अमेरिकी डलर खर्च गराउने सरकारी योजना छ ।

पर्यटन क्षेत्रबाटै सरकारले यस पटक मुलुकको कूल गार्हस्थ उत्पादन ५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । हाल यो क्षेत्रको कूल गार्हस्थ उत्पादनमा करिब २ प्रतिशत मात्र योगदान रहेको छ ।

भिजिट नेपाल २०२० व्यवस्थापन मूल समिति सचिवालयको तयारी

भिजिट नेपाल २०२० को व्यवस्थापन कार्यसम्पादनका लागि भन्दै भिजिट नेपाल २०२० मूल व्यवस्थापन समिति सचिवालय बनाइएको छ । यसले पर्यटन वर्षको प्रचार प्रसारदेखि मुलुकभरिका पर्यटन गन्तव्यको पहिचान व्यवस्थापनदेखि पर्यटकको चाँजोपाँजो मिलाउनेसम्मको जिम्मेवारी पाएको छ । भिजिट नेपाल २०२० सचिवालय प्रमुख उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्य रहेका छन् । अहिले उनै वैद्यको नेतृत्वमा मूल समितिले भिजिट नेपाल २०२० को प्रचार प्रसार भइरहेको छ ।

सचिवालयले अहिले तीव्र गतिमा पर्यटन वर्ष २०२० को प्रचार प्रसार गरिरहेको वैधले रातोपाटीलाई जानकारी दिएका छन् । अहिले देशभित्र मात्र नभएर देश बाहिरसमेत गएर प्रचारप्रसार गरिरहेको उनको भनाइ छ ।

‘अहिले हामीले भ्रमण वर्षको प्रसार प्रसारमा पूरै ध्यान केन्द्रित गरेका छौँ । पहिलो चरणमा हामीले थाइल्यान्डमा प्रचारप्रसार गरेका छौँ । त्यहाँको व्यस्त मार्टमा हामीले नेपालको स्टल राखेर भिजिट नेपाल २०२० को प्रचार गरिरहेका छौँ । त्यसपछि चीन, भारत, इन्डोनेसिया लगायतका देशहरूमा पनि प्रचार प्रसारका काम भइरहेका छन् । कतिपय अमेरिका तथा युरोपेली मुलुकमा समेत प्रचार प्रसारका लागि विदेशी दूतावास तथा राजदूतहरूसँगको समन्वय भइरहेको छ ।’

वैद्यले भने, ‘जहाँसम्म नेपालको तयारीको विषय छ, हामीले सातै प्रदेशहरूसँग समन्वय गरेर काम अघि बढाइरहेका छौँ । हामीले सम्भावित २२५ पर्यटकीय गन्तव्य पहिचान गरेकामा अझ स्थानीयले आआफ्नो क्षेत्रमा रहेका र सम्भावना भएका क्षेत्रहरूको तथ्याङ्क केन्द्रमा पठाउँदै छन् । हामीले २ मुख्य र बाँकी ८, १० वटा सम्भावित पर्यटकीय क्षेत्र प्रस्ताव गर्न सातै प्रदेशलाई निवेदन गरेका छौँ । कतिले पठाइसकेका छन् त कतिको आउने क्रममै छन् । सबै प्रदेशबाट आइसकेपछि ती उचित पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा लाग्छौँ ।’

सचिवालय प्रमुख वैद्यकै भनाइ हेर्दा पनि अहिलेसम्म पनि उचित पर्यटकीय क्षेत्रको पहिचान हुन सकिसकेको छैन । पर्यटन वर्ष २०२० सुरु हुन अबको २, ३ महिना मात्र छ । यसको उद्देश्य तथा योजना कतिको प्रभावकारी हुन्छ र उपलब्धिमुलक होला ?

यसै विषयमा वैद्य पर्यटन वर्ष २०२० भनिए पनि यो वर्ष मात्र पर्यटन भित्र्याउने वर्ष नभएको तर आधार मानेर पछिसम्म पर्यटक आकर्षित गर्ने कार्यक्रम पनि भएको बताउँछन् ।

पर्यटन वर्ष २०२० लाई नै लक्षित गर्दै पर्यन बोर्ड, मन्त्रालय तथा विभागहरूसँग मिलेर सचिवालयले प्रदेश स्तरीय कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले बताए ।

हाल पर्यटन वर्षलाई नै लक्षित गर्दै कर्णाली प्रदेशमा कर्णाली नदी र्याफ्टिङ विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको, रारा ताललाई विशेष प्रथमिकतामा राखी कार्ययोजना अघि बढाइएको बताए । त्यस्तै, प्रदेश ५ को बुद्ध भूमिलाई धार्मिक तथा ऐतिहासिक क्षेत्रका रूपमा प्रचार प्रसार गर्ने योजना रहेको उनको भनाइ छ ।

त्यस्तै, गण्डकी प्रदेशमा पर्याप्त पर्यटन व्यवसायहरूको सम्भावना रहेको र अझ बढी विशेष मानिने माउन्टेन बाइक राइडिङलाई यस पटक भिजिट नेपाल २०२० ले पहिलो प्राथमिकता दिने वैद्यले जानकारी दिए । उक्त राइडिङ मुक्तिनाथदेखि मार्फासम्म सञ्चालन गरिनेसमेत जानकारी दिएका छन् । त्यस्तै, प्रदेश ३ मा धार्मिक, सांस्कृतिक तथा एतिहासिक स्थलहरू, प्रदेश २ मा जनकपुरको प्रसिद्ध राजनकी मन्दिर लगायतका सम्पदाहरूलाई विशेष रूपमा भिजिट नेपाल २०२० को केन्द्रमा राखिने उनले बताए ।

पर्यटन प्रवेशको मुख्य केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको तयारी

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्यटन वर्ष अर्थात् भिजिट नेपाल २०२० लाई नै लिएर सुधारका कामहरू भइरहेका छन् ।  विमानस्थललाई बुटिक विमानस्थल बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोषसँगै अहिले विमानस्थल रङरोगन, सजावट तथा सुधारका कामहरू भइरहेका छन् । तर पर्यटन वर्ष २०२० दैलोमै आइपुगिसकेकाले कामले पूर्णता पाउने देखिँदैन । २०२० सम्ममा विमानस्थल सुधारको काम करिब ५० प्रतिशत पूरा हुने विमानस्थल प्रमुख राजेन्द्र क्षेत्रीले बताएका छन् ।

‘हामीले भिजिट नेपाल २०२० लाई नै लक्षित गरेर काम अघि बढाइरहेका छौँ । विमानस्थलको सुधारका कामबाहेक थप सजावट र नयाँ संरचनाको कामले केही ढिलाइ हुने देखिन्छ ।’ क्षेत्रीले भने, ‘कामको अध्ययन, टेन्डर आह्वान, थालनी र प्रतिफलमा समय लाग्ने हुँदा समय लागेको हो । २०२० सम्ममा ५० प्रतिशत काम पूरा हुन्छ ।’

क्षेत्रीको भनाइलाई हेर्दा भिजिट नेपाल २०२० सम्ममा बुटिक विमानस्थलले पूर्णता पाउने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप