ह्वाइट हाउसले ‘ट्रम्पको फोन कल डिटेल्स लुकाउने कोसिस गर्यो’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध उजुरी दिने एक व्यक्तिले ह्वाइट हाउस अर्थात् अमेरिकी राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारी डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपतिबीच भएको फोनको विवरण लुकाउने कोसिस गरेको आरोप लगाएका छन् ।
हालै सार्वजनिक भएको उजुरी अनुसार फोनको विवरण साधारण कम्प्युटर सिस्टममा थिएन । यसलाई एक भिन्न प्रणालीमा राखिएको थियो ।
यसैबीच, उक्त उजुरीको विवरण सार्वजनिक गरिएको छ जसको आधारमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु भयो ।
उजुरीकर्ताले ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनावमा विदेशी दखलका लागि आफ्नो शक्तिको प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
अमेरिकाको नेशनल इन्टेलिजेन्सका कार्यवाहक निर्देशक जोसेफ मेगुरे कांग्रेस समितिसामू पेश भएका छन् । समितिले उनलाई ‘ट्रम्प र युक्रेनका राष्ट्रपतिबीचको फोन वार्ताको विषयमा एक गुप्तचर अधिकारीले व्यक्त गरेको चिन्तामाथि थुप्रै हप्तासम्म किन मौन बसेको’ भनेर सोध्न सक्छ ।
Photo: REUTERS
अमेरिकी राष्ट्रपतिको अफिस, ह्वाइट हाउसले डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीबीच फोनमा भएको उक्त कुराकानीको विवारण जारी गरेको थियो जसलाई आधार मानेर ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु भइसकेको छ ।
अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा डेमोक्रेट पार्टीका नेता चक शुमरले जारी गरिएको दस्तावेजले महाभियोगको कारवाहीमाथि मुहर लगाएको बताएका छन् ।
यस्तै, ओकलाहोमाबाट रिपब्लिकन पार्टीका सांसद मार्कवेयर म्युलिनले यी दस्तावेजबाट केही पनि प्रमाणित नहुने बताएका छन् । उनले भनेका थिए, ‘यसमा केही पनि छैन । यदि प्रवक्ताले महाभियोगको पूरा प्रक्रियाको आधार यसलाई नै मानेकी छिन् भने उनी जमेको पानीमा पौडी खेलिरहेकी छिन् किनभने उनी कतै पनि पुग्ने छाँटकाँटमा छैनन् ।’
यस्तै रिपब्लिकन पार्टीका तीन सरकारका सल्लाहकार रहेका पिटर वेनरले राष्ट्रपतिमाथि लागेको आरोपबारे कुनै अचम्म नलागेको बताएका छन् ।
उनले भने, ‘मलाई लाग्छ कि यो पूरा प्रक्रिया पूर्ण रुपमा प्रत्यासित थियो किनभने उनी यस्ता व्यक्ति हुन्् जसको व्यक्तित्व अस्तव्यस्त छ र उनीभित्र नैतिकताको त जीन नै छैन । उनी यस्ता व्यक्ति हुन् जसमा नैतिकता भन्ने कुरा छैन र उनी आफ्नो सत्तालाई बलियो बनाउनका लागि जे पनि भन्नेछन् र गर्नेछन् ।’
यस्तै, राष्ट्रपतिले सबै आरोप खारेज गरेका छन् । एक ट्वीटमा ट्रम्पले लेखेका छन्, ‘डेमोक्रेट पार्टीका मानिसहरु रिपब्लिकन पार्टी र त्यसका सबै मूल्य बर्बाद गर्ने कसरतमा छन् । रिपब्लिकन साथीहरु एकजुट होऔं, उनीहरुको खेल बुझौं र बलियो भएर लडौं । हाम्रो देश दाउमा छ ।’