मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित बाघको छालासहित तीनजना पक्राउ

बुधबार, ०८ असोज २०७६, २० : ४३
बुधबार, ०८ असोज २०७६

काठमाडौँ । चितवन प्रहरीले प्रतिबन्धित बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रुपन्देहीका दिपक भन्ने चिरञ्जिवी सेन ठकुरी, पाल्पाका चुम बहादुर राना र वाग्लुङकी हिम साङ्वो गौचन रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण कोइरालाका अनुसार उनीहरु भरतपुर वडा नं. १ पुल्चोक नजिकबाट पक्राउ परेका हुन् । 

मंगलबार साँझ रातो जेब्रा झोला भित्र रहेको बाघको दाँतसहितको ३ थान छाला र ना २४प२५०९ नम्बरको १५० सिसिको निलो पल्सर मोटरसाइकल समेत वरामद गरेको कोइरालाले बताए । 
  
जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोली आफैँ ग्राहक बनेर गई उनीहरुसँग उक्त छालाको करिब २५ लाखमा बार्गेनिङ गरेको अबस्थामा पक्राउ गरिएको चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । 

झोलामा लुकाएर ल्याएको नेपालमा संरक्षित एवं संकटान्मुख वन्यजन्तु बाघको दाँत सहितको छाला थान ३ सहित तीन जनालाई पक्राउ गरिएको मल्लले पुष्टि गरे । 

बाग्लुङ ढोरपाटन नगरपालिका–९ बोबाङ शेराबाङबाट उनीहरुले बेचबिखनको लागि ल्याएको प्रहरी समक्ष बयान दिएका छन् । 

बरामद उक्त बाघको छाला र पक्राउ मानिसहरुलाई आवश्यक कानूनी कारवाही तथा अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण अन्तर्राष्ट्रिय महासन्धि साईटिसको अनुसूची १ मा उल्लेखित भएअनुसार बाघ दूर्लभ एवं संकटान्मुख वन्यजन्तुमा पर्दछ र नेपाल समेत उक्त सन्धिको हस्ताक्षरकर्ता भइ नेपाल सरकारले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३’ समेत बनाई लागु गरिसकेको अबस्थामा संकटापन्न र लोपोन्मुख वन्यजन्तुको आखेटोपहार ओसारपसार, बिक्री वितरण वा कुनैपनि किसिमको निकासी पैठारीमा पूर्ण रुपमा बन्देज लगाएको छ ।

उक्त कसूरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार दण्ड सजाय पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप