शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ अनुशासन र विकासबारे नेकपा कार्यकर्ताको रुचि, यस्ता रहे मंगलबारका चार प्रस्तुति

मङ्गलबार, ०७ असोज २०७६, २३ : ०१
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौं-चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन पद्धति र त्यहाँको विकास निर्माण शैलीबारेको अनुभवलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ताले निकै अभिरुचीपूर्वक सुनेका छन् । सत्तारूढ नेकपाको केन्द्रीय स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा सम्पन्न दुईदिने ‘विचारधारात्मक छलफल’ कार्यक्रममा दुई पार्टीको वैचारिक आदानप्रदानमा सम्पन्न र शक्तिशाली मुलुक चीनबाट सिक्न सकिने पक्षहरुबारे उनीहरुले चासो दिएका छन् ।

प्रशिक्षणको दोस्रो दिन आज चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट चार प्रस्तुति रहेका थिए । चिनियाँ केन्द्रीय पार्टी स्कूलका तर्फबाट चाओ ली एनले मध्यमस्तरीय सहज समाजको निर्माण, सो पार्टीका सङ्गठन विभागका तर्फबाट सी नान पेलगानले पार्टी अनुशासनको सुदृढ कार्यान्वयन, पार्टी स्कूलका तर्फबाट क्विन ग्याङले सुधार कार्यलाई व्यापक बनाउने र चिनियाँ नेशनल डेभलपमेन्ट एन्ड रिफर्भ कमिशनका तर्फबाट शी यू लङले ‘एक क्षेत्र : एक मार्ग’ योजना निर्माणको संयुक्त पहल र मानव जातिका लागि सामुदायिक भविष्य निर्माण सम्बन्धमा विचारोत्तेजक प्रस्तुत गरेका थिए । 

संविधान जारीपछि नेपालमा स्थिर सरकार गठन भई कम्युनिष्ट पार्टीको नेतृत्वमा विकास र समृद्धिको यात्रा आरम्भ भएका बेला छिमेकी र विकसित मुलुक चीनका ती नेताहरुका अनुभवले आफूहरुलाई उत्साहित तुल्याएको महसुश सहभागीहरुले गरेका छन् । प्रस्तुतिपछि सहभागीले समूह विभाजन गरी छलफल र प्रश्नोत्तरमा भाग लिएका थिए । 

दुई दिवसीय  कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका करीब ३०० र चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट १० जनाको सहभागिता रहेको नेकपामा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

चीनका राष्ट्रपति एवं त्यहाँको कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङ् विचारधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच यस प्रकारको विचाराधारात्मक छलफल नेपालमा पहिलो पटक आयोजना भएको हो । छलफलमा भाग लिन चीनबाट कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओको नेतृत्वमा १४ सदस्यीय टोली हाल नेपालमा छ । 

प्रशिक्षणको उद्घाटन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेका थिए । दुई कम्युनिष्ट पार्टीबीच आज प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा छ बुँदे भाइचारा सम्बन्धसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार उच्चस्तरीय र कार्यकर्ताबीचमा भ्रमणको आदानप्रदान, विचारहरुको आदानप्रदान, प्रशिक्षणलाई थप तीव्रता र विकासका ढाँचाहरुको अनुभव आदानप्रदान गर्नेलगायत छन् । यसले आपसी सम्बन्धलाई थप उचाइमा लाने नेकपाका विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले बताए ।

नेपालमा चिनियाँ राष्ट्रपति जिन पिङको चाँडै भ्रमण हुने तयारी भइरहेका बेला यस प्रकारको विचारधारात्मक छलफलले नेपाली समाजमा निकै सकारात्मक र भिन्न प्रभाव परेको तथा यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको थापाले बताए । ‘‘यसले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आधार प्रदान गरेको छ’’, उनले भने ।

हाल नेपाल भ्रमणमा रहेका चिनियाँ नेता ताओले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग अलगअलग भेटवार्ता गरी चिनियाँ राष्ट्रपति सीको भ्रमणको तयारीलगायतका विषयमा छलफल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप