शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको दशैं सुरक्षा योजना : मापसे चेकिङमा कडाइ

लामो दुरीको गाडीमा २ जना चालक भए/नभएको प्रविधिबाट हेरिने : एसएसपी ढकाल
मङ्गलबार, ०७ असोज २०७६, २१ : १७
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठलगायतलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । 

सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित महाशाखाले चाडपर्व बिशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । 

चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए । 

यस्तै भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाक समेत प्रहरी परिचालन गरी निगरानी गरिने उनले बताए । 

टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था समेत गरिएको एसएसपी ढकालको भनाइ छ ।

मापसे चेकिङमा कडाइ
एसएसपी ढकालले रातोपाटीसँगको कुराकानीमा काठमाडौँ उपत्यकामा मापसे चेकिङमा कडाइ गरिने समेत बताए । उनले भने, ‘प्रत्येक एरियामा दैनिक ४ पटक मापसे चेकिङ हुन्छ ।’

उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सम्पूर्ण सवारी साधनहरुको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी लिए । 

‘मापसे चेकिङको लागि माथिबाट निर्देशन दिइसकेका छौं । उपत्यकामा मात्र सीमित नभएर नाकाबाट बाहिरिए पनि ठाउँ–ठाउँमा मापसे चेकिङ हुन्छ,’ डीआईजी पोखरेलले भने । 

उपत्यकाको हकमा चाहिँ गन्तव्यबाट हिँडको २, ३ किलोमिटरभित्रै सम्पूर्ण सवारी साधन चलाएका व्यक्तिको मापसे चेकिङ हुने पोखरेलले बताए । 

लामो दुरीको गाडीमा २ जना चालक भए/नभएको प्रविधिबाट हेरिने
महाशाखाले सार्वजनिक गरेको ट्राफिक सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए/नभएको प्रविधिबाट हेरिने उल्लेख छ । 

एसएसपी ढकालले २ जना चालक भए/नभएको ट्राफिक प्रहरीको एप्सबाट हेरिने बताए । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने र अनिवार्य गराउने महाशाखाको दावी छ । 

यस्तै मोटरसाइकल चालकले हेल्मेट नगर्ने, तीब्र गतीमा सवारी चलाउने, ओधरलोट, सवारीअन्य भाग तथा छतमा यात्रु मालसामान राख्ने जिकज्याक सवारी चलाउनेलाई कडाईको साथ कारबाही गरिने बताइएको छ । 
बसपार्कबाट बाहिरिने गाडीहरुलाई अनिवार्य रुपमा यान्त्रिक परिक्षण सुरु गरिएको पनि महाशाखाले जनाएको छ । 

भीडभाड तथा बसपार्क एरियामा थप जनशक्ति परिचालन
महाशाखाले उपत्यका भित्रिने नाका, व्यपारिक क्षेत्रहरु भीडभाड तथा बसपार्क एरियामा थप जनशक्ति परिचालन गरिने जनाएको छ । एसएसपी ढकालका अनुसार ३६९ स्थानहरुमा नियमित ड्युटीका लागि ७५० जनशक्ति परिचालन भइरहेको छ । चाडपर्वको समयमा अतिरिक्त थप ४३० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको समत एसएसपी ढकालले जानकारी दिए । 

दशैँ, तिहार तथा छठ पर्वमा सवारी चाप हुने काठमाडौँका मुख्य स्थानहरुमा डाइभर्सनको समेत व्यवस्था गरिनेछ । जस्तै (न्यूरोड, भोटाहिटी, दरबारमार्ग, कालीमाटी, कलंकी, नयाँबसपार्क, गौशाला, चावहिल, कमलपोखरी, बानेश्वर, ठमेल, महाराजगञ्ज, बौद्ध, जोरपाटी, लगनखेल, मंगलबजार, भक्तपुर)

गुहेश्वरी, कमलपोखरी, बागमति नदीको किनार थापाथली, शंखमुल दोभान, बल्खु क्षेत्रमा सवारी साधन डाइभर्सन गरी पार्किङको समेत व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । 

१४ स्थानमा यात्रु सहायता कक्ष
महाशाखाका प्रवक्ता एसपी रवि कुमार पौडेलका अनुसार उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन आएको छ । नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिण्काली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् । 

यस्तै ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवासयी, उपभोक्ता समूहका प्रतिनिधिहरु ट्राफिक भोलियन्टरको रुपमा उपत्यकामा खटिने समेत एसपी पौडेलले बताए । 

थानकोट–नागढुङ्गा सडकमा सवारी साधनहरु चलाउँदा ओभरटेक गर्न नपाइने महाशाखाले जनाएको छ । लेन अनुशासनमा रहेर सवारी साधन चलाउनुपर्ने बताइएको छ । 

सार्वजनिक यातायातमा जनचेतनामूलक अडियो (जिङ्गल) राखेर एक हजार वटा पेनड्राईभ समेत वितरण गरिएको एसपी पौडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप