शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब सडकमा १० वर्षे बालकले प्रहरीलाई नै ‘चरेस’ किन्न अफर गर्‍यो...

यौन व्यवसायमा लगाइँदैछन् ठमेलका सडक बालिकाहरु (भिडियो)
मङ्गलबार, ०७ असोज २०७६, १५ : ५६
मङ्गलबार, ०७ असोज २०७६

सोमबार दिउँसो बालबालिका खोजतलास तथा समन्वय केन्द्रमा ५/७ जना घेरा हालेर कुर्सीमा बसिरहेका थिए । त्यहाँ पत्रकार र प्रहरी कर्मचारी मात्र थिए ।

केहीछिनमै प्रहरीको भ्यानमा हालेर तीन जना बालिका र एक जना बालकलाई ल्याइयो ।

प्रहरीको सुरक्षासँगै उनीहरु पनि केन्द्रको गेटभित्र छिरे । उनीहरु सडकबाट उद्धार गरेर ल्याएका बालबालिका रहेछन् । तर, उनीहरुको हुलिया हेर्दा भने सडकबाट उद्धार गरिएका जस्ता देखिदैन थिए । उनीहरुको पहिरन काठमाडौँको कुनै धनाढ्य परिवारको सदस्यले लगाउने भन्दा कम थिएन ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले आइतबार राती ३ बजेको समयमा उनीहरुलाई दरबारमार्गस्थित डेजाभु क्लबको गेट बाहिर सडकमा बसेर चुरोट तान्दै गरेको देखेपछि उद्धार गरेको दरवारमार्ग वृत्तका प्रमुख डीएसपी विनोद घिमिरेले रातोपाटीलाई जानकारी दिए । सडकबाट उद्धार गरेका ती बालबालिकाहरुलाई केन्द्रको जिम्मा लगाउन ल्याइएको थियो ।

तीनै जनाले बालिकाले आफ्नो घर फरक–फरक जिल्ला बताए – इलाम, झापा र अर्घाखाँची । भागेर काठमाडौँ आएको उनीहरुको भनाइ थियो । क्षेत्रपाटीमा एउटा कोठा लिएर मिलेर बस्दै आएको बताउने उनीहरु तीनैजनाले काठमाडौँमा कोही आफन्त नभएको बताए ।

बालकले आफ्नो घर काभ्रे बताए ।

०००

प्रहरीलाई चरेस किन्न अफर

आइतबार राती सडक बालबालिकालाई उद्धार गर्न ठमेल पुगेको प्रहरीको टोलीले एउटा अनौठो दृश्य देख्यो ।

करीब १० वर्षको बालकले हातमा चरेस लिएर बिक्री गर्नको लागि ग्राहक खोज्दै थिए । रेस्क्यू गर्न पुगेको टोलीले एकछिन त्यो दृश्यलाई नियालिरह्यो ।

केहीबेर ती बालकको गतिविधि नियालेपछि टोलीले बालकलाई सोध्यो, ‘यो के हो बाबु ?’

उताबाट जवाफ आयो, ‘चरेस । किन्ने हो ?’

टोली केही बेर अकमक्कियो । र, फेरि ग्राहकजस्तै बनेर सोध्यो – ‘कति पर्छ ?’

‘२ हजार दिनुहोस्,’ ती बालकको जवाफ थियो ।

‘विदेशीलाई चाहिँ अलि महङ्गोमा बेच्ने गर्छौं । नेपाली पर्नुभयो सस्तोमा दिएको छु ।’

त्यसपछि उद्धार टोलीले बालकलाई नियन्त्रणमा लियो र त्यहीँ थप सोधपुछ गर्नतिर लाग्यो ।

‘तिमीले कहाँबाट ल्याएको ?’

बालकको उत्तर थियो, ‘झ्याप्लेले अघि भर्खर दिएको र, भाग्यो ।’

केही कुरा फुत्काउँछन् कि भनेर उद्धार टोलीले ती बालकलाई फकाउँछन् – कसले दिएको नाम भन्यौ भने हामी तिमीलाई छाड्दिन्छौ ।

तर, पनि ती बालकले ‘झ्याप्ले’ मात्र नाम लिइरहन्छ । अरु कुरा खोतल्दैन ।

झ्याप्ले को हो ती बालक आफैँलाई थाहा छैन ।

व्यस्त बजार ठमेलमा एउटा १० वर्षको बालकले यसरी चरेस बेचिरहेको पाएपछि अहिले प्रहरी आफै अचम्ममा परेको छ ।

भिडियो हेर्नुहोस्

कसले दियो १० वर्षको बालकलाई चरेस ?

यो घटनाले सडक बालकालिकाको प्रयोग लागुऔषध बेचविखनमा समेत प्रयोग हुन थालेको देखाउँछ । अहिले यो विषय नेपाल प्रहरीका लागि बहस र टाउको दुखाइ बनेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेल लागुऔषध प्रयोग गर्ने सडक बालबालिकालाई तस्करको गिरोहले बेचविखनमा पनि प्रयोग गरेको हुनसक्ने आशंका रहेको बताए । रातिको समयमा सजिलो हुने भएकाले स–सानो परिमाणमा लागूऔषधको बेचविखन गर्न सडक बालबालिकाको प्रयोग भएको डीआईजी पोखरेलको भनाइ छ ।

दिनभरी लुक्ने, रातको समयमा झुल्कने

यस्ता बालबालिकाहरु प्रहरीको डरले दिनभरी लुकेर बस्ने र रातको समयमा सक्रिय हुने गरेको प्रहरीको भनाइ छ ।

बालबालिका खोजतलास तथा समन्वय केन्दका इन्सपेक्टर मोहन विक्रम दाहालका अनुसार १२ देखि १७ वर्षसम्मका धेरै सडक बालबालिकाहरु लागुऔषध प्रयोग, बिक्री तथा यौन व्यवसायमा संलग्न रहेको पाइएको छ ।

इन्सपेक्टर दाहालले भने, ‘हामी ठमेल क्षेत्रमा सडक बालबालिकाहरुको उद्धार गर्न पुग्दा केही बालिकाहरु 'कोही जाने हो ?' भन्दै बार्गेनिङ गरिरहेका थिए । कोही सडकमै अनैतिक क्रियाकलाप गरिरहेका थिए । कोही नशालु पदार्थ खाएर हो–हल्ला गर्दै थिए ।’

सडकमा भेटिएका बालबालिका ड्रग्स तथा नसालु पदार्थ खाएर बसेका र यौन क्रियाकलापमा समेत सरिक हुने भयावह अवस्थालाई तत्कालै नियन्त्रण नगरे पछि ठूलो समस्या उत्पन्न हुनसक्ने दाहालको भनाइ छ ।

रातको समयमा अनुगमन सुरु गरेका छौँ : इन्सपेक्टर दाहाल

बालबालिकाहरू रातिको समयमा सडकमा देखिन थालेपछि बालबालिका खोजतलास तथा समन्वय केन्द्रले बेलुका ७ बजेदेखि बिहान ३ बजेसम्म बालबालिका रहने सम्भावित क्षेत्रहरूमा अनुगमन तथा उद्धार थालेको दाहालले बताए ।

दाहालले भने, ‘प्रायः सडक बालबालिकाहरू घरपरिवार छाडेका वा अभिभावक नभएका हुन्छन् । उनीहरूलाई कस्तो बोल्ने, कस्तो व्यवहार गर्ने, के खाने, के नखाने र के गर्ने के नगर्ने भन्ने कुनै कुराको मतलब नै हुँदैन । त्यसकारण पनि सडक बालबालिका लागुऔषधको दुर्व्यसनी र यौन व्यवसायमा फसिरहेका छन् ।’

पछिल्लो समय बालबालिका खोजतलास तथा समन्वय केन्द्र र राष्ट्रिय बाल अधिकार परिषद्ले राजधानीका विभिन्न स्थानबाट सडक बालबालिकाहरुको उद्धार गरिरहेको छ । केन्द्रले हराएका, यौन हिंसा तथा बेचबिखनमा परेका र बालश्रम तथा अन्य जोखिममा रहेका बालबालिकाको उद्धारलाई तीव्रता दिएको हो ।

केन्द्रका प्रमुख इन्सपेक्टर मोहन विक्रम दाहाल र परिषद्का कार्यकारी निर्देशकसहितको टोली ठमेल, पशुपति, नयाँ बसपार्कलगायतका क्षेत्रमा पुगेर धेरै सडक बालिबालिकाको उद्धार गरिसकेका छन् । आइतबार मात्र ३२ जना वेवारिसे बालबालिकाहरुको उद्धार गरिएको थियो । जसमध्ये १९ जना बालिका र १३ जना बालक थिए ।

प्रहरीका अनुसार उद्धार गरिएका बालबालिकाहरुमध्ये केही लागुपदार्थ दुर्व्यसन तथा बेचविखन र यौन व्यवसायमा पनि संलग्न रहेको पाइएको छ । समन्वय केन्द्रले त्यस्ता बालबालिकाहरुलाई सुधार गृह पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप