शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा, के–के छन् एजेन्डा ?

मङ्गलबार, ०७ असोज २०७६, ११ : २२
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी दिने भएका छन् ।

मंगलबार बेलायतको लन्डनमा आयोजित सभामार्फत औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्ने तय भएको  आचार्यले जानकारी दिए । 

आचार्यले लण्डनबाट ९ सूत्रीय एजेन्डासहित उम्मेदवारी घोषणा गर्ने  र अर्कोसाता नेपालबाट प्रतिवद्धतापत्र सार्वजनिक गर्ने बताइएको छ । 

के–के छन् एजेन्डा ?
एनआरएनएको आगामी सम्मेलन एजेन्डाविहीन भएको टिप्पणी भइरहेको समयमा आचार्यले स्पष्ट दृष्टिकोणका साथ ९ सुत्रीय एजेन्डा अघि सार्न लागेका छन् ।

नेपालको आर्थिक विकास र समृद्धिमा विशेष योजदान गर्ने दृष्टिकोणसहितको नीति र कार्ययोजना प्रस्तुत गरिने आचार्यको तयारी छ ।

‘मातृभूमिको समृद्धिको राष्ट्रिय अभियानसँग विश्वभरि रहेका नेपालीहरुलाई जोड्नु छ, त्यसैले हामीले नेपालको विकास र नेपाली मूल्य–मान्यता, भाषा र संस्कृतिको प्रवद्र्धनका लागि विशेष योगदान गर्ने घडी आएको छ,’ आचार्यले भने ।

संविधानको मर्म अनुसार गैरआवासीय नागरिकता जारी गर्न निर्णायक पहल गर्ने प्रतिवद्धता आचार्यले व्यक्त गरेका छन्। उनले एक पटकका नेपाली सधैँका नेपाली भन्ने भावनालाई प्रतिनिधित्व गर्दै नागरिकताको विषयलाई टुंग्याइनु पर्ने बताए ।

आचार्यले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एनआरएनएमार्फत आफू लाग्ने प्रण गरेका छन् ।

साथै गैरआवासीय नेपाली संघको संस्थागत सुधार गरी केन्द्रीय सचिवालयलाई प्रभावकारी र कार्यमूलक बनाउने एजेन्डा पनि आचार्यले अघि सारेका छन् ।

‘गैरआवासीय नेपालीहरुको बारेमा जानकारी संकलन गर्ने, कुनै समस्या भएमा तत्काल एक्सनमा जाने र त्यसको समाधान गर्ने तथा केन्द्रीय सचिवालयलाई अझै प्रभावकारी बनाउनै पर्छ,’ उनले भने, ‘मैले यस विषयमा विस्तृत कार्यक्रम निर्माण गरेको छु ।’

सन् २००३ मा नेपालीहरुको हितमा कार्य गर्ने उद्देश्यले स्थापना कालदेखि नै एनआरएनएको अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका आचार्य वर्तमान उपाध्यक्ष हुन् । गैरआवासीय नेपाली संघ बेलायतको सदस्य हुँदै अध्यक्ष र गैरआवासीय नेपाली संघको युरोप संयोजक भएर कुशल नेतृत्व गरिसकेका आचार्य अहिले अध्यक्षको दौडमा रहेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप