बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के नेकपा उत्तरतिर ढल्केकै हो ?

मङ्गलबार, ०७ असोज २०७६, ०९ : ५८
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौँ । राजनीतिमा विरलै देख्न पाइने दृश्य सोमवार काठमाडौँमा देखियो । तर, यो संयोग मात्रै होइन, राजनीतिक रणनीतिक कदमको हिस्सा पनि हो ।

नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चीनको सत्तारुढ दल चिनियाँ कम्युनिस्ट पार्टीले संयुक्त रुपमा विचारधारात्मक छलफल कार्यक्रमको आयोजना गरे । यसमा नेकपाको सम्पूर्ण नेतृत्व सहभागी भयो भने चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट केही शीर्ष नेताहरु सहभागी भए ।

दुवै देशका कम्युनिस्ट पार्टीका नेताबीच भ्रमण आदानप्रदान भएपनि सोमवारको कार्यक्रम नेकपाकै इतिहासमा नौलो थियो । एउटै मञ्चमा बसेर दुई पार्टीका नेताले मन्थन गरे ।

ब्यनारमा लेखिएको थियो–‘सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल कार्यक्रम’ । र, आयोजक थिए–नेपाल कम्युनिस्ट पार्टीको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभाग । अर्थात दुई देशका पार्टीको संयुक्त आयोजना भएको बृहत कार्यक्रम ।

यसलाई उनीहरुले भनेका छन्, ‘नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिस्ट पार्टीले पहिलोपटक संयुक्तरूपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी भएको छ ।’ कार्यक्रमबारे नेपाली र चिनियाँबाहेक अरु विदेशी मिडियाको पनि चासो देखिन्थ्यो ।

रमाइलो पक्ष के छ भने अहिले पनि नेकपाको कार्यदिशा जनताको बहुदलीय जनवाद कि २१औँ शताब्दीको जनवाद भनेर पूर्व एमाले र पूर्व माओवादीका नेताहरु रोइकराई गरिरहेका छन् । तर, उनीहरु सोमवार सानसँग बसेर–सी जिनपिङ विचारधाराबारे मन्थन गरे र लामोलामो भाषण पनि दिए ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेरै चिनियाँ राष्ट्रपतिको प्रशंसा गरे । चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ महाधिवेशनमा महासचिव सी चिनफिङले अघि सारेको अवधारणा हो– ‘चिनियाँ विशेषतासहितको समाजवाद ।’ यसले सन् २०५० सम्ममा चीनले देखेको नयाँ शैलीको समाजवादको लक्ष्यको कुरा गरेको छ ।

कार्यक्रममा अध्यक्ष ओलीको भनाई थियो, ‘क्रान्ति गरे पनि कम्युनिस्टहरूले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चीनले खण्डन गरेको छ । चिनियाँ समाजको रूपान्तरण आजको समाजको महत्वपूर्ण उपलब्धि हो । त्यसलाई अनुशरण गर्न सकिन्छ । चिनियाँ विशेषताको समाजवादलाई अझ व्यापक प्रगतिशील बनाउने काम हाल चिनियाँ नेतृत्वले गरेको छ । यसको श्रेय राष्ट्रपति सीलाई जान्छ । उहाँको विचार विश्व व्यवस्थाको समयानुकूल छ । यो चीनको आफ्नै मौलिक जग, बुद्धि र पसिना तथा व्यापकतामा विकास भएको हो ।’

अर्का अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले अघि सारेको चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गरे । उनले चीनले सोही विचारधाराको आडमा आर्थिक विकासको उचाई हासिल गरेको दाबी गरे ।

‘चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न चीनको विकास चुनौती ठान्नेहरुले विकासको चाहना गरेको तर साधन र क्षमता नभएका विकाशोन्मुख मुलुकहरुलाई सँगै लिएर हिँड्ने बाटो प्रस्ट देखिन्छ,’ प्रचण्डले भने ।

कार्यक्रममा अध्यक्ष ओलीले दुई मुलुकबीचको मित्रता स्वार्थहरुको लेनदेन भन्दामाथि तथा आपसी सम्मान, शान र सहयोगमा आधारित रहेको बताए ।

‘हाम्रा मित्रता खुला छ, स्वतन्त्र र अटल छ । हामी एक अर्काका सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौँ,’ ओलीको भनाइ थियो ।

यसबाट अगाडि बढेर उनले थपे, ‘हाम्रो मित्रता स्वार्थहरुको लेनदेनभन्दा धेरै माथि छ । आपसी शान, सम्मान अनि सहयोगमा आधारित छ । हाम्रो दुई देशबीच समस्यारहित सम्बन्ध छ । हामीले हाम्रो मित्रतालाई पारस्परिक लाभ र सहयोगको भावनामा अघि बढाईरहेका छौँ ।’ ओलीले झापा आन्दोलन पनि स्मरण गर्न भ्याए ।

प्रचण्डले संसारको कुनै शासन प्रणालीले जनतालाई दिन नसकेको आत्मसम्मान र गौरव चिनियाँ कम्युनिस्ट पार्टीले दिएको भनाई राखे । कम्युनिस्ट पार्टीका सदस्यहरुमा अनुशासनको पालना भएन भने सफलता हासिल गर्न नसक्ने प्रचण्डको जोड थियो । चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ बाट नेपालले कृषि, उद्योग र सामाजिक क्षेत्रको विकासका पूँजी र प्रविधि भित्र्याउन लाभ लिन सक्ने प्रचण्डको बताएका थिए ।

नेताहरुको भाषणको केन्द्र मूलत ब्यानरमै लेखिएको विषय र बीआरआई थियो । कार्यक्रममा सबैले लिखित भाषण गरे ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले नेपालका कम्युनिस्टसँग वैचारिक छलफल गर्न हिमाल पार गरेर आएको सुनाए । ताओले नेकपाले जबज र २१ औँ शताब्दीको जनवाद शान्तिपूर्ण रुपान्तरणको बाटो भएको  बताउँदै भने ‘हामी आत्मक्रान्ति र शुद्धिकरण चाहन्छौँ, कम्युनिस्ट पार्टी र अरुमा फरक के छ भने यसले जनताको हितमात्र हैन आफ्नो क्षमता बढाउने र शुद्धिकरणमा जोड दिन्छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीका नेता ताओले प्रधानमन्त्री ओलीसँग सोमवार दिउँसो भेटवार्ता गरी नेपाली ढाँचाको समृद्धिलाई आफूहरूले आधारभूतरूपमै सघाउने विश्वास व्यक्त गरेका थिए । त्यहीँकुरा उनले याक एण्ड यति होटलको हलमा पनि सुनाए । 

नेकपा स्कूल विभाग प्रमुख ईश्वर पोखरेलको भनाई थियो, ‘यो कार्यक्रममा हामी नेपाल र चीनका दुई सत्तासीन कम्युनिस्ट पार्टीका सिद्धान्त, विचार र प्रयोगहरुको बारेमा आ–आफ्नै अनुभवहरु साटिरहेका छांै । यस कार्यक्रमलाई हामीले एक अर्काका विचार, सिद्धान्त र प्रयोगहरुलाई वुझ्ने महत्त्वपूर्ण अवसरका रुपमा लिएका छौँ । माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक जग र फरक फरक आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक विशिष्टताको आधारमा हाम्रा प्रयोग र अभ्यासमा केही भिन्नता देखिए पनि हाम्रो पुग्ने गन्तव्य भने एउटै रहेको छ ।’

विभाग प्रमुख पोखरेलले नेपाल र चीनका कम्युनिस्ट पार्टीबीचको विचारधारात्मक छलफलले आपसी सम्बन्धलाई थप विकसित गर्ने विश्वास लिएका छन् । उनले दुई पार्टीबीच स्कुल विभाग र प्रशिक्षण कार्यक्रमहरूमा तल्लो तहसम्म निरन्तर अनुभव आदानप्रदानको परिपाटी बसाल्नु पर्ने भन्दै भविष्यमा यस्ता कार्यक्रम अरु पनि हुने संकेत गरे ।

त्यसो त पछिल्लो समय नेकपाका नेताहरुको उत्तरतिरको भ्रमण बाक्ला छन् । र, विभिन्न प्रशिक्षण लिएर आएका छन् ।

नेपालमा छिट्टै हुने चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका क्रममा यो छलफल आयोजना भएको बताइयो । र, दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ बनाउन कार्यक्रम फलदायी हुने नेताहरुको विश्वास देखिन्थ्यो । २३ वर्षपछि हुन थालेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालमा धेरै चासो छ । भ्रमणकै तयारीका लागि केही दिन अगाडि चिनियाँ विदेश मन्त्रीले तीन दिन नेपाल भ्रमण गरेका थिए ।

कार्यक्रम हलको दृष्य

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली अर्का अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्य, स्थायी कमिटी सदस्य र अरु केन्द्रीय नेता कार्यक्रममा सहभागी भए । हुन त २ सय जना सहभागी हुने भनिए पनि करिव २ सय जना थपिए । यसले कार्यक्रमप्रति नेकपाका नेताहरुको उत्साह देखाउँथ्यो । 

उद्घाटन सत्रमा सबैभन्दा पहिला कार्यक्रमको अध्यक्षता गरेका स्कूल विभाग प्रमुख पोखरेलले भाषण गरे । त्यसलगत्तै चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख ताओले आफ्नो मन्तव्य दिए । उनको मन्तव्य पछि नेकपा अध्यक्ष प्रचण्डले मन्तव्य राखे । उद्घाटन सत्रको अन्तिम मन्तव्य अध्यक्ष ओलीले राखेका थिए । ओली प्रधानमन्त्रीको हैसियतमा भन्दा पनि पार्टी अध्यक्षका रुपमा सहभागी भए । नेताहरुको भाषण सहभागीले चासोपूर्वक सुने । ताओ बाहेक अरु नेताले नेपाली भाषामा मन्तव्य दिएका थिए ।

औपचारिक भाषणबाहेक कार्यक्रममा अरु अनौपचारिक रोचक पाटा पनि थिए । सबैभन्दा पहिला त कार्यक्रम नै ढिला सुरु भयो । सहभागीलाई साढे चार बजे बोलाइएको थियो र कार्यक्रम पाँच बजे शुरु हुने भनिएको थियो । तर, कार्यक्रम ४० मिनेट ढिला सुरु भएको थियो ।

कार्यक्रम ढिला हुँदा सहभागी केही नेता आपसमा कुरा गर्दै थिए, ‘किन ढिला हुनु, उहीँ त हो ओली कमरेडको बानी । समयमा आए नयाँ रेकर्ड हुन्थ्यो ।’ प्रधानमन्त्री ओलीले समयमा सँधै ‘कम्प्रमाईज’ गर्छन् । उनी हरेकजसो कार्यक्रममा ढिला पुग्छन् । यो त आफ्नै पार्टीको कार्यक्रमा थियो ।

५ बजेर ३७ बजे अध्यक्षद्वय ओली र प्रचण्डसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल साथै सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल एकसाथ हलमा प्रवेश गरे । उनीहरु हलमा प्रवेश गर्दा केही सहभागी उठेर स्वागत गरे । नेताहरु सरासर मञ्चतर्फ गए ।

स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले कार्यक्रमको सञ्चालन गर्दै आसनग्रहण गराए । स्कूल विभाग प्रमुख पोखरेलले कार्यक्रको अध्यक्षता गरे ।

कार्यक्रमको प्रमुख अतिथि अधयक्ष ओली पोखरेलको बाँया साइडमा बसे । ओलीकै साईडमा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनाल बसे । खनालको छेउमा बादल थिए ।

अध्यक्षता गरेका पोखरेलको दायाँ तर्फ चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख ताओ र उनको छेउमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी बसिन् । राजदूत यान्छीको छेउमा थिए अर्का वरिष्ठ नेता नेपाल । उनको छेउमा प्रवत्ता श्रेष्ठ थिए भने श्रेष्ठको दायाँ तर्फमा महासचिव पौडेल बसेका थिए । पार्टीको कार्यक्रममा राजदूत अथिति बनिन् ।

आशन ग्रहण सकिएपछि कार्यक्रमको सुरुवातमा दुवै देशको राष्ट्रिय गान बज्यो । अरु कार्यक्रममा जस्तो त्यो कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले गरेनन् । सिधै मन्तव्य सुरु भयो ।

कार्यक्रममा धेरैजसो नेता औपचारिक पोशाकमा थिए । कार्यक्रम सुरु हुनु पुर्व सहभागीहरुबीच सेल्फीको होड थियो । कार्यक्रममा अधिकांश पुरुष सहभागीता थियो । महिलाको सहभागीता कम देखिन्थ्यो ।

मञ्चमा बसेका अधिकाशं नेता गम्भीर देखिन्थे । सचिवालय सदस्य बामदेव गौतम उपस्थित थिएनन् । कार्यक्रम सञ्चालकले गौतमको स्वास्थ्य अवस्था ठिक नभएको भन्दै  उपस्थित हुन नसक्ने उनले सूचना दिएपनि केही समयलाई उपस्थित हुन आग्रह गरेको जानकारी दिए । तर, गौतम कार्यक्रममा उपस्थित भएनन् ।

मञ्चमा हाँसोठट्टा पनि चल्यो । अध्यक्ष प्रचण्डले मन्तव्य राखेपछि उनको दाँया–वाँया बसेका अध्यक्ष ओली र वरिष्ठ नेता खनालबीच हाँसो ठट्टा चलेको थियो । ओली, प्रचण्ड र पोखरेलको मन्तव्यमा हल शान्त थियो । तर चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख ताओको मन्तव्यमा भने केही तर्फ ‘साइडटक’ सुरु भयो । उनले चिनियाँ भाषामा मन्तव्य राखे ।

उनको मन्तव्यको अनुवाद सुन्न सहभागीको कुर्सीमा हेडफोन थियो । संख्या धेरै भएकाले सबै सहभागीले हेडफोन प्रयोग गर्न पाएनन् । हलमा पछाडि बस्ने सहभागी हल्ला गर्न थाले ।

के नेकपा उत्तरतर्फ ढल्किएको हो ?

दुईदिने प्रशिक्षण कार्यक्रम ‘सि जिनपिङ विचाधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा र दुई पार्टीबीचको विचारधारात्मक छलफलमा केन्द्रित छ । दुई पार्टीबीचको यस प्रकारको प्रशिक्षण र छलफल भएको यो पहिलो पटक हो । चीनका राष्ट्रपति एवम् चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि जिनफिङको आसन्न नेपाल भ्रमण शिलशिलामा कार्यक्रम भएको बताइएको छ ।

तर, सत्तारुढ दलले नै अर्को देशको पार्टीसँग मिलेर यो तहको कार्यक्रम गरेपछि नेकपा ‘उत्तरतिर ढल्किएको’ भन्ने आशंकालाई बल मिलेको छ । यसमा काँग्रेस नेताले दिएको प्रतिक्रिया पनि त्यसैको संकेत हो । काँग्रेस उपसभापति विमलेन्द्र निधिले सोमवार धनुषा पुगेर एक कार्यक्रममा भने, ‘संघीयता र लोकतन्त्र सिध्याउने खेल अनुसार नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको पथमा किन हिँड्न थाल्यो । नेपालका कम्युनिस्ट आफू प्रशिक्षित हुन कम्युनिस्ट पार्टी अफ चाइनाको विचार आयात गर्दैछन् ।’

काँग्रेसकै अर्का नेता बालकृष्ण खाँडले मिडियालाई प्रतिक्रिया दिएका छन्, ‘कुनै पार्टीसँग भाइचारा सम्बन्ध हुनसक्छ, देशहरुसँग मैत्रीपूर्ण सम्बन्ध हुन्छ तर त्यो मुलुकमा जस्तो खालको शासन व्यवस्था छ, हुबहु अर्को मुलकमा हुनुपर्छ भन्ने मान्यता नै अलोकतान्त्रिक हो, अप्रजातान्त्रिक र राष्ट्रघाती हा । नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको भाृत संस्थाजस्तै भयो ।’

संविधान दिवसका दिन प्रधानमन्त्रीले सरकारको परराष्ट्र नीतिबारे भनेका थिए, ‘भ्रमणहरुले हाम्रो परराष्ट्र सम्बन्ध थप सुदृढ गर्न महत्त्वपूर्ण योगदान गरेको छ । हाम्रो छिमेक सम्बन्ध सुदृढ भएको छ । ‘सबैसँग मित्रता, कसैसँग रहन्न शत्रुता’को नीतिअनुरुप हासिल हाम्रो कूटनीतिक सफलताले नेपाल अब विश्व मानचित्रमा ‘देखिन र सुनिन’ थालेको छ ।’

तर, चिनियाँ कम्युनिस्ट पार्टीसँग मिलेर नेकपाले गरेको कार्यक्रमले प्रधानमन्त्रीको दावीमाथि प्रश्न उठाउने ठाउँ दिएको छ । हुन सक्छ–उत्तरी छिमेकी देशको पार्टीसँग मिलेर चालिएको यो कदमले अर्को दक्षिणी छिमेकीलाई झस्काएको छ । यदि यस्तो भयो भने सन्तुलित परराष्ट्र नीति भत्किन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप