बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा फेदीमा गल्फ प्रतियोगिता

सोमबार, ०६ असोज २०७६, १७ : ४६
सोमबार, ०६ असोज २०७६

काठमाडौं– बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’ को तेस्रो संस्करण आगामी अक्टोबरमा हुने भएको छ । बाह्रखरी मिडियाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिाताको बारेमा जानकारी दिएको हो । प्रतियोगिताले देशको प्रचारप्रसार गर्नुका साथै खेल भावनालाई प्रोत्साहन गर्ने र नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनमा समेत उल्लेखनीय सहयोग पुर्याउने अपेक्षा आयोजकको छ । बाह्रखरी मिडियाले यस वर्षको गल्फ सगरमाथा क्षेत्रमा आयोजना गर्ने भएको छ । यो प्रतियोगिताको नाम ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेस्ट गल्फ २०१९’ रहेको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल इयर २०२० को सहकार्यमा गर्न लागिएको हो ।

प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो २० अक्टुबर २०१९ का दिन ४२ सय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणमा, सबै गल्फरले अक्टुबर २६ का दिन काठमाडौंको गोकर्ण सफारी रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन् । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रतियोगितामा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङ्दे रीमा वान होल गल्फ कोर्स तयार भइरहेको छ । यो प्रतियोगिता नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो खेल रहेको दाबी गरिएको छ । यो प्रतियोगिता संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने अपेक्षा आयोजकको छ ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको यस प्रतियोगितामा भारत, चीन, अमेरिका, सिङ्गापुर, श्रीलङ्का, हङकङ, बेलायतलगायतका मुलुकबाट पत्रकार आमन्त्रित गरिएको छ । साथै, सीएनएन, बीबीसी, रोयटर्स, एपी, एएफपी, ब्लुमबर्गजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थालाई पनि आमन्त्रण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अन्तर्राट्रिय पत्रकारहरुको आगमनले विश्व मानचित्रमा नेपालमा गल्फ साथै पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा आयोजकको छ ।

प्रतियोगिताका लागि ४० भन्दा बढी खेलाडी, १५ राष्ट्रिय–अन्तर्राष्ट्रिय पत्रकार तथा केही अन्तर्राष्ट्रिय खेलाडीका साथै विशिष्ट व्यक्तिलाई हवाईजहाज र हेलिकप्टरमा लुक्ला हुँदै कोङ्दे लग्ने योजना छ प्रतियोगितालाई भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेसनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज यसका पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैङ्क प्रतियोगिताको बैङ्किङ पार्टनर तथा टाटा मोटर्स एच फाइभ भेहिकल तथा होल–ईन–वान पार्टनर रहेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पहिचानका लागि गरिएको कार्यक्रम भएको हुनाले आफूहरुले सहकार्य गरेको बताए । नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा बाह्रखरीले आयोजना गरेको यस कार्यक्रममा विश्वभरबाट पत्रकार आउनु सकारात्मक विषय भएको बताए । ‘विश्वभरका मिडियाको चासो सगरमाथाप्रति देखिन्छ । यो संसारभर समाचारको विषय पनि हो’ उनले भने ।

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतिक प्रधानले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए । ‘यो नेपालकै लागि गरिएको कार्यक्रम हो,’ उनले भने, ‘नेपालको प्रमोसनका लागि हामीले प्रतियोगिता आयोजना गरेका हौं ।

पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराउँदै मुलुकको जीडीपी बढाउन पर्यटन नै महत्वपूर्ण भएको बताए । गोकर्ण गल्फ कोर्सका डाइरेक्टर दीपक आचार्यले ४२ सय ५० मिटरको उचाइमा प्रतियोगिता गर्न लागिएको जानकारी गराए । नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाँलले कार्यक्रमको सफलताको कामना गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप