बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

गृहमन्त्री भन्छन्– विशेष सुरक्षा योजना लागू हुन्छ

सोमबार, ०६ असोज २०७६, १६ : २८
सोमबार, ०६ असोज २०७६

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले दशैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा पनि शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । गृहमन्त्री थापाले जनताको सबैभन्दा बढि आवातजावत हुने समय दशैं, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर सरकारले असोज र कार्तिक २ महिनाका लागि विशेष सुरक्षा योजना तय गरिएको पनि जानकारी दिए । 

सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सर्वसाधारणको यात्रा सुरक्षित बनाउन तथा शान्ति सुरक्षा कायम गर्न सरकारले आवश्यक तयारी गरिरहेको पनि बताए । उनले चाडपर्वमा हुने महिला हिंसा नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको पनि बताए । 

गृहमन्त्री थापाले सुरक्षित यात्राका लागि राजमार्गहरुमै सहायता कक्षको स्थापना, बस टिकटमा कालोबजारी र कृतिम अभाव हुन नदिन तथा सडक दुर्घटना भइहालेमा तत्काल मेडिकल टिमको परिचालन गर्ने योजना तय गरिएको पनि समितिलाई जानकारी दिए । त्यसैगरी सरकारले भारतबाट दशैं मान्न घर फर्किएका नागरिकहरुको सहयताका लागि सीमा क्षेत्रमा पनि नागरिक सहायता कक्ष स्थापना गर्न लागिएको पनि जनाएको छ ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले २ हजार, १ हजार र ५ सय दरका भारतीय नोट नचल्ने भएकाले त्यसलाई नलिन पनि सबै नागरिकलाई सचेत गराए । नेपालमा प्रतिबन्ध लगाइएकाले ती भारतीय नोट प्रयोगमा नआउने हुनाले त्यस्ता नोट नलिन नागरिकलाई सचेत रहन पनि सचिव राईको आग्रह छ ।

बैठकमा समितिका सदस्यहरुले दशैंको टिकट बुकिङको कामलाई व्यवस्थित बनाउन पनि सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य दिलेन्द्रप्रसाद बडुले वृद्ध, असक्त नागरिकहरुलाई दशैंको टिकट लिन छुट्टै लाईनको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

समितिका अर्का सदस्य महेश्वरजंग गहतराज अथकले चाडबाडका बेला अपराधिक घटना बढने हुनाले त्यस्ता घटना हुन नदिने गरी आवश्यक सुरक्षाको योजना बनाउन सरकारसँग माग गरे । उनले सुरक्षाकर्मीहरुको पनि सक्रियतामा बृद्धि गरेर नागरिकलाई ढुक्कसँग दसैं, तिहार मनाउने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।  समितिका सदस्यहरुले दशैंमा सवारी साधनको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप