शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही गोली प्रकरण : हत्यारा पहिचान नहुँदा घटना रहस्यमय बन्दै

सीआईबी र जिल्ला प्रहरीको संयुक्त अनुसन्धान
सोमबार, ०६ असोज २०७६, १६ : १७
सोमबार, ०६ असोज २०७६

बुटवल– रूपन्देहीको रोहिणीमा भएको गोली काण्डबारे अनुसन्धान गर्न प्रहरीका २ वटा टोली खटिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोली रूपन्देही आएपछि जिल्ला प्रहरी र सीआईबीको संयुक्त टोलीले अनुसन्धान थालेका हुन् ।  भदौ २९ गते दिउँसो रोहिणी गाउँपालिका ३ बैकुण्ठपुरमा ओमसतिया गाउँपालिका–५, पठ्खौलीका महेन्द्र कुर्मी चौधरीको गोली हानी हत्या भएको थियो ।

उनको हत्या हुनासाथ जिल्ला प्रहरी कार्यालय रूपन्देहीले प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली गठन गरेर  अनुसन्धान थालेको थियो । त्यसको तीन दिनपछि सीआईबीको टोली असोज १ गते रूपन्देही आइपुगेका थियो ।

घटनाको सूक्ष्म अनुसन्धानका लागि सीआईबीको टोली रूपन्देही आएको रूपन्देही प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न  डीएसपीको नेतृत्वमा सीआईबीको टोली  रूपन्देही आएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाहीले रातोपाटीलाई बताए । 

एक हप्तामा प्रहरीले के गर्यो ?

दिउँसौ गोली हानी हत्या भएको एक हप्ता पुग्दासम्म पनि प्रहरीले देखिनेगरी कुनै काम गर्न नसकेको आफन्तको आरोप छ । घटनास्थल भारतसँगको सीमा नजिकै भएकाले भारतबाट आएर लुटपाट गर्ने सक्ने व्यावसायीहरुको  भनाइ छ । अर्कोतिर तुलानात्मक रूपमा साना हतियार ल्याउन पनि यो जिल्ला सहज मानिन्छ ।  

मृतक कुर्मी चौधरीको हत्या पनि साना हतियार प्रयोगबाट भएको प्रहरीको दाबी छ । दुईजना मोटरसाइलकमा आएर गोली हानेको सीसीटीभी फुटेज प्रहरीले फेला पारेको छ । सीसीटीभीमार्फत गोली हान्ने व्यक्तिको अनुहारसम्म प्रहरीले पहिचान गरेको छ । 

नेपाल प्रहरी र सीआईबीको टोलीले नेपाल र भारतका विभिन्न स्थानमा केन्द्रित रहेर अनुसन्धान थालेको बताएको छ । हत्यामा संलग्न भएको आशङ्कामा अनुसन्धान गर्नुपर्ने व्यक्तिसँग सोधपुछ गरिरहेको तथा विभिन्न स्थानमा गएर सूक्ष्म अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 

जिल्लामा प्रहरी प्रमुख फेरिएको समयमा घट्ना भएका  कारण पनि प्रहरीलाई हत्यारा पक्राउ गरी कारबाही गर्नुपर्ने दबाब प्रहरीमा छ  ।   प्रहरीले विभिन्न ठाउँमा समन्वय गरेर दोषीको खोजी कार्य तीव्र पारेकोे प्रहरी प्रवक्ता शाहीको भनाइ छ ।

 ‘हामीसँग भएको सबै क्षमता लगाएर काम गरिरहेका छौँ, प्रवक्ता शाहीले भने, ‘सीसी क्यामेरामा कैद भएको फुटेजबाट पनि अनुसन्धान गरेका छौँ । हामीले छिट्टै हत्यारालाई बाहिर ल्याउँछौँ भन्ने विश्वासका साथ काम गरेको छौँ’, उनले भने । अनुसन्धानका क्रममा भारतीय प्रहरीसँग पनि छलफल र समन्वय भएको प्रहरीले जनाएको छ । 

रहस्यमय हत्या प्रकरण 

घट्नाको एक साता भइसक्दा पनि कसैको सूचनाका आधारमा भयो वा लुटेरा आफैले पैसा लुट्न गोली हाने भन्ने अहिलेसम्म खुलेको छैन । यसबारे पुष्टि नहुँदा घट्ना रहस्यमय बन्दै गएको एक प्रहरीले अधिकारीको भनाइ छ । गोली कसले र किन चलायो ? भन्ने विषय नखुले पनि पारिवारिक बेमेलका कारण चौधरीको हत्या भएको आशङ्का गरिएको छ ।

मृतककी १६ वर्षीया छोरी सोनम चौधरीले काकी मालती चौधरीको योजनामा बाबुको हत्या गरिएको आरोप लगाएकी छन् । सोनमका अनुसार काका धमेन्द्र चौधरीको २ वर्षअघि मृत्यु भएको र त्यसपछि माइतमा बस्दै आएकी काकीले जग्गाका लागि विवाद गर्दै आएकी थिइन् । ‘माग अनुसारको जग्गा नपाएपछि बुबाको हत्या गराउनुभयो’ सोनमको आरोप छ । उनले काकी मालतीका कारण बुबाको हत्या भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरेकी छन् । प्रहरीले मालती चौधरीसँग सोधपुछ गरेको जनाएको छ । 

यस्तो थियो घट्ना 

कुर्मी भदौ २९ गते आइतबार दिउँसो साढे २ बजे भैरहवास्थित हिमालय बैङ्कबाट ५ लाख रूपैयाँ निकालेर लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा श्रीमतीसहित घर फर्किंदै थिए । सोही क्रममा उनीमाथि बैकुण्ठपुरमा गोली हानियो । गोली हानेपछि उनीसँग भएको रकम, नागरिकता, चेकबुक लगायतका सामान लगेको परिवारले जनाएको छ ।

मृतक चौधरीको परिवारमा अहिले २ छोरी, एक छोरा, श्रीमती र बुबाआमा छन् । घटनापछि विभिन्न राजनीतिक दलहरुले विज्ञप्ती जारी गर्दै हत्यारामाथि कारबाहीको माग गरेका छन् । वैदेशिक रोजगारीमा लामो समय बसेका चौधरी पछिल्ला वर्षदेखि गाउँमै बस्दै किसानी गर्दै आएका  थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप