शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चोकका शालिक अब पार्कमा (फोटोफिचर)

सोमबार, ०६ असोज २०७६, १५ : १७
सोमबार, ०६ असोज २०७६

पोखरा– पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक थियो । अहिले लखन थापाको छ । सालिक हटे पनि नाम भने उही छ ‘पृथ्वी चोक’ ।  पोखरा महानगरका चोक चोकमा यस्ता थुप्रै शालिक छन् । र, त्यो चोकको नामाकरण पनि शालिककै नामबाट गरिएको छ । राष्ट्रिय विभूति र विभिन्न व्यक्तिका नाममा ठडिएका ती शालिक अब पोखरा महानगरले पार्क बनाएर पार्कमा राख्ने भएको छ । 

त्यसको लागि महानगरले सबै तयारी पुरा गरेको छ । पार्कमा केही शालिक ठडिईं सकेका छन् । पार्कको सबैभन्दा उचो भागमा नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहको सालिक राखिएको छ । पोखरा १८ जामुनबोटको २६ रोपनी जग्गामा तयार हुँदै गरेको पार्कमा नेपालक कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल र ०६२/६३ का प्रथम सहिद भीमसेन दाहालको अर्धकदको सालिक पनि ठडिइसकेका छन् ।

पृथ्वीनारायण शाहको सालिक अघि पोखरा महानगरको प्रायजसो भाग देखिन्छ । ६ फिट ३ इन्च अग्लो शाहको शालिक नजिकै ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परेका दिवंगत पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीको सालिक ठड्याइने छ । सालिकसँगै हेलिकप्टरको डमी पनि राखिने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । ‘यसो गर्दा अलि बढी एट्याचमेन्ट पनि हुने भएकाले सालिकसँगसँगै हेलिकप्टरको डमि पनि राखिने छ,’ उनले भने । 

सहिद पार्कसँगै महानगरले व्यायमशाला पनि तयार पारेको छ । पार्कमा बालउद्यान र सेमिनार हललगायतका पूर्वाधार बनाउने महानगरले योजना बनाएको प्रवक्ता नेपालीले जानकारी दिए ।  बीपी कोइराला, भिमसेन थापा लगायतका २० सालिकलाई महानगरले पार्कमा ठड्याउने योजना बनाएको छ । पार्कका लागि महानगरले यो आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गसिकेको छ । पार्कको लागि यो बजेट अपुग रहने महानगरका प्रवक्ता धनबहादुर नेपालीको भनाई छ । अर्को आर्थिक वर्षमा पनि पार्कका लागि रकम विनियोजन गर्ने उनले बताए । 

शालिक सार्दा विवाद
पोखरा महानगर प्रमुखको रुपमा निर्वाचित भएर आइसकेपछि मेयर मानबहादुर जीसीले पहिले एक्सन पृथ्वी चोकमा ठडिएको लखन थापाको शालिक हटाएर लिए । शालिक हटाए पछि जनजाति, आदीवासि लगायतका संघ संस्थाले कडा विरोधमा उत्रिए । जनप्रतिनिधि हुँदाको नयाँ जोस बोकेर एक्सनमा उत्रिएका मेयर विरोधपछि एक कदम पछि सरे । मेयरले हटाएको सालिक पुन सोही ठाउँमै ठडियो ।

 

महानगरले फेरि पनि सालिक हटाउने योजना बनाएको छ । यसअघि पनि सालिक हटाउने प्रयास गर्दा थुप्रो विरोध भए । विरोधको बाबजुद महागरले फेरि चोकका सालिक हटाउन सक्ला ? हामीले महानगरका प्रवक्ता नेपालीलाई प्रश्न गर्यौ । ‘मान्छे जन्मिदै विरोधी हो,’ उनले भने, ‘जन्मेदेखि नमरुन्जेल विरोध भई रहन्छन् । बाटो खन्दा पनि विरोध, संरचना मिचेर बनाएको घर भत्काउँदा पनि विरोध, विरोध त भइरहन्छ नि !’

चोकका सालिक हटाएर पार्कमा राखेपछि सहिदको सम्मान पनि हुने र बाटो चक्ल्याउने महानगरको योजना रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप