भरतपुुरमा मतपत्र च्यातेका आरोपीको यस्तो छ सनसनीपूर्ण बयान
स्थानीय तहको चुनावमा सबैभन्दा बढी चर्चा र विवादहमा रह्यो भरतपुर महानगरपालिकाको निर्वाचन । सत्तापक्ष र विपक्षीका लागि प्रतिष्ठाको विषय बनेको यहाँको चुनावमा आरोप–प्रत्यारोप चल्यो । दुवै पक्षले चुनाव जित्न असीमित पैसा बगाए ।
यतिमा मात्र यहाँको चुनावी माहौल सेलाएन । गत जेठ १४ गते चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणनाका क्रममा मत पत्र नै च्यातियो । मत पत्र च्यातेको आरोपमा द्रोण सिवाकोटी र मधु न्यापाने पक्राउ परे । ६ दिनसम्म प्रहरीको हिरासतमा बसे । पछि जिल्ला अदालतले जनही १ लाख धरौटी रकममा उनीहरूलाई रिहाइ गर्न आदेश दियो । उनीहरू अहिले पनि अदातलमा तारेखमा छन् ।
मतपत्र च्यातिएको विषय यत्तिकै सेलाएन । यसमा पनि सत्तापक्ष र विपक्षीका आआफ्नो राजनीति भए । प्रकरण सर्वोच्चमा पनि पुग्यो र, अन्तिममा वडा नम्बर १९ मा पुनः मतदना गराउने फैसला आयो । त्यही अनुसार पुनः मतदान भयो । त्यसपछि १९ र २० वडाको मत गनियो । देवी ज्ञवालीलाई हराउँदै रेणु दाहाल बनिन् भरतपुरको मेयर । चुनावी नतिजापछि पनि विपक्षीको हमला चाहिँ अझै रोकिएको छैन ।
यी सबै घटनाक्रम नजिकबाट हेर्नेहरू यसलाई फिल्मी कथाजस्तै ठान्छन् । अहिले पनि चुनावको कुरा आउँदा हुन्छ, चितवनकै चर्चा ।
केही दिन अगाडि चितवन पुग्दा भरतपुरको वडा नं. १० स्थित जिल्ला समन्वय समितिको कार्यालयमा भेटिए मतपत्र च्यातेका एक आरोपी द्रोण सिवाकोटी । झन्डै २७ वर्षको राजनीतिक यात्रा गरेका उनी यसअघि खासै चर्चामा थिएनन् । तर मतपत्र च्यातिएपछि भने उनको चर्चा चुलिएर गयो ।
मतपत्र च्यातेको आरोप लागेको सिवाकोटीसँग जब हाम्रा संवाददाता शम्भु दङ्गालको भेट भयो, केही समय कुराकानी गर्ने मौका पनि मिल्यो ।
खासमा मतपत्र च्यातिएको दिन भएको थियो के ? आरोपी सिवाकोटीसँग हाम्रा संवाददाताले जान्न चाहेका थिए । मुद्दा प्रक्रिय चलिरहेकै बेला सिवाकोटीले मतपत्र च्यातिएको दिन र हिरासतमा भोगेका घटनाको बेलिविस्तार लगाए ।
२०४५ सालदेखि हालसम्म राजनीतिक यात्रामा रहेका मतपत्र च्यातिएको विषयका आरोपी सिवाकोटीको बयान हामीले उनकै शब्दमा प्रस्तुत गरेका छौँ ।
भरतपुरको मतगणना
१४ गते साँझबाट १९ नम्बरको मतगणना सुरु भएको थियो । म मतगणना प्रतिनिधि थिएँ । म मेयरकै प्रतिनिधिका रूपमा थिएँ । जिल्ला पार्टीले नै मलाई खटाएको थियो । लगातार म मतगणकका रूपमै बसिरहेको थिएँ, आलोपालो रूपमा । अनिन्द्राका कारण कुनै दिन नबस्ने पनि हुन्थ्यो । तर प्रायः म मतगणकको रूपमै मतगणनास्थलमा रहेको थिएँ ।
वैशाख ३१ गते चुनाव भयो । राति ८ बजेसम्म वडा नं. १० को कवर्ड हलमा महानगरका सबै वडाबाट मतपेटिका आइपुग्यो । त्यही रातिदेखि मतगणना कार्य सुरु भएको थियो । म सुरुकै दिनदेखि म मतगणना प्रतिनिधिका रूपमा खटिएँ । लगातार २ दिनसम्म बसेपछि अनिँदोको कारण पालो पनि दिनुपथ्र्यो । नभए चाहिँ लगातारजस्तो नै बसेँ । एउटा दलबाट वडाको मत गन्दाखेरि वडाका उम्मेदवारहरू पाँचै जना बस्थे । ३ वटा मुख्य दल र साना पार्टीबाट पाँच जनाका दरले बस्दथे र मेयर उपमेयरका प्रतिनिधि र सम्बन्धित वडाका मतगणक प्रतिनिधि पनि हुन्थे । यसरी प्रत्येक वडाबाट ६ वटा केन्द्र बनाएर गनिएको थियो, एक लटमा ६ सय मतपत्र गनिन्थ्यो । छवटा टोली बनाएर गनिन्थ्यो, एक–एक सय मतका दरले । हरेक पटक ६ सयको मुठा गनिन्थ्यो ।
मतगणना स्थलमा ठूलै टोली हुन्थ्यो । क देखि चसम्म ६ वटा बेन्च हुन्थ्यो । एउटा बेन्चमा पाँचदेखि छ जनासम्म बस्ने व्यवस्था हुन्थ्यो । मत गणक कर्मचारी ६ जनाको टोली नै हुन्थ्यो । पार्टी प्रतिनिधि, मेयर, उपमेयरको प्रतिनिधि, वडाको प्रतिनिधि गरेर बस्दाखेरि ठूलै समूह हुन्थ्यो त्यहाँ ।
सुरुमै एमालेको विरोध
पहिले त हामीले बक्सा ल्याइसकेपछि सर्वदलीय बैठक गर्यौँ । सर्वदलीय बैठक बस्दाखेरि सुरुमै दुईवटा कारणले विवाद भयो ।
एउटा, मतपेटिका किन ढिलो आयो भनेर एमालेका साथीहरूले विवाद सुरु गरे । बक्सा ढिलो आउनुको कारण अरू केही पनि थिएन्, मुचुल्का उठाएर बक्सा ल्याँउदा ढिलाइ भएको थियो ।
स्वभाविक रूपमै पाँच बजेसम्म मतदान हुने भएकोले पाँच बजे मतदान सकिन्थ्यो, मतदान सकिएपछि वडा वडामा सर्वदलीय बैठक बसेर मुचुल्का उठाउनुपथ्र्यो । यसमा लाग्ने समय र २९ वटै वडामा भूगोल ठूलो भएको हुनाले सुरक्षाकर्मीको गाडी पुग्न पनि ढिलाइ हुने भएको कारणले ८ बजे आइपुग्यो । यसलाई ढिलो भयो भनेर विवाद झिक्ने काम भयो ।
त्यसपछि त्यो विवाद हल हुँदै गयो तर बाहिरतिर एउटा हल्ला के फैलाइयो भने राप्रपा र एमाले काठमाडौँ महानगरमा मिलेर चुनाव लडे, त्यहाँको राप्रपाको मेयरमा परेको भोट पनि एमाले मेयरकोमा गणना हुनुपर्छ भन्ने हल्ला गइसकेपछि माओवादीले पनि यहाँ मेयरको रुखमा हालेको भोट चाहिँ माओवादीका भोटका रूपमा गणन हुनुपर्छ भनेर विवाद निकाल्दा मतगणना कार्य निकैबेर अवरुद्ध भयो ।
मतगणनाका लागि सामान्य आचार संहिता बनाएर मत गन्न पहिलो दिन नै ढिला भयो । आफ्नै चिन्हमा परेको मत गणना गर्ने भन्ने सहमती पनि बन्यो, त्यो स्वभाविक पनि थियो । यी कुरामा सहमति भएपछि मतगणना सुरु भएको थियो ।
यस्तो थियो मतपत्र च्यातिएको दिन
जेठ १४ गतेको घटना थियो त्यो । मत गन्ने प्रक्रिया चाहिँ वडा नं. १ बाट सुरु भएको थियो । १ देखि ७ सम्म गएको थियो । बीचमा गएपछि निर्वाचन आयोगले र सबै दलहरूले एउटा अर्को सहमती के गरे भने यसो गर्दाखेरि २९ नम्बरसम्म पुग्दा टाढा टाढा वडा नं. १९ यता जुगेडी साइड पथ्र्यो भने २७ र २८ पश्चिम चितवनको मेघौली गोलाघाटसम्म पथ्र्यो ।
त्यसकारण त्यहाँबाट आँउनुपर्ने मतगणना प्रतिनिधीलाई समयमा पठाँउनुपर्ने भएकाले र मत गणना नै धिमा गतिमा भएको कारणले समय लाग्ने भएकाले वडा क्रस गरेर गनौँ भनेर बीचमा पुगेपछि त्यो तरिका पनि अपनाइयो ।
सुरुबाट ५ वडाको गणना भएपछि पछाडि २९ बाट गणना सुरु गरिएको थियो । अगाडि र पछाडिबाट गणना गर्दै आँउदा १४ गते वडा नं. १९ र २० मा गणना गर्नेमा पुगिएको थियो । यसरी १४ गते वडा नं. १९ गन्ने रोलमा पुग्यो । १४ गते १९ नम्बर वडा गन्ने र १५ गते २० नै अन्तिम गणना हुने भएको थियो ।
वडा नं. १९ को मतगणना गर्दाखेरि सुरुवाती चरणबाटै दुई तीनवटा विषयमा विवाद भयो । निर्वाचनमा हामीले जित्ने निश्चित जस्तै थियो । हामीले मतान्तर घटाँउदै आएका थियौँ । ४ हजार, ३८ सयको मतान्तरलाई थोरै मतान्तरमा झरिरहेको थियो । वडा नं. १९ मा आइपुग्दा देवीजी र रेणुजीको मतान्तर ७ सय ८४ मा झरेको थियो । वडा नं. १९ र २० चाहिँ परम्परागत रूपमा नेपाली काङ्ग्रेसको मत भएको ठाउँ थियो ।
त्यो दिनको क्षण चाहिँ कस्तो भएको थियो भने त्यहाँ केही कुरा प्रतिबन्ध गरिएको थियो । जस्तो मतगणना स्थलमा डिजिटल सामग्री लैजान नपाइने, मतगणकहरू, पार्टी प्रतिनिधिहरूले इलेक्ट्रोनिक्स सामग्रीहरू लैजान नपाउने व्यवस्था गरिएको थियो । यो नियम सुरुदेखि नै भए पनि त्यस दिन कडाइ गरिएको थियो ।
यस्ता सामग्रीहरू गेटमा प्रहरीलाई बुझाएर जानुपर्ने व्यवस्था गरिएको थियो । हामीले चाहिँ लगेनौँ । तर एमाले एकजना साथीले भने लानुभएको रहेछ । यसबारे हाम्रा मतगणक साथीहरूले प्रश्न उठाउनुभयो । डिजिटल सामग्री निषेध हुँदाहुँदै किन ल्याइयो, कि सबैले ल्याउन पाउनुपर्यो भनेर निर्वाचन आयोगका प्रतिनिधिलाई ध्यानाकर्षण गराउने काम भयो । यो विवादले केही समय लियो ।
त्यही बेलामा नयाँ शक्ति पार्टीका उपमेयरका उम्मेदवार महिला हुनुहुन्थ्यो, उहाँ भित्र आएर विवाद झिक्नुभयो । मतगणना स्थलमा प्रवेश गर्दा उहाँलाई बाहिर गेटमा प्रहरीले उहाँलाई रोकेको रहेछ । प्रहरीसँगको केहीबेरको भनाभनपछि भित्र पस्नुभयो र मुख्य निर्वाचन अधिकृत, प्रहरी प्रमुख र प्रमुअ जिल्ला अधिकारी र दलका प्रतिनिधिहरूसँग मलाई किन रोकियो भनेर ठूलो स्वरमा चिच्याइरहनुभएको थियो ।
एकातिर विद्युतीय सामग्री ल्याएको भन्दै बहस भइरहेको थियो । एक्कै क्षण त्यहाँ मतगणना स्थगन भएको थियो । त्यही बीचमा उहाँले अर्को मुद्दा लिएर आउनुभयो । यद्यपि त्यो पनि १० मिनेट मतगणना कार्य नै रोकिन पुग्यो । त्यहाँ कतिपय सन्दर्भमा यस्ता चीजहरू पनि भए कि त्यहाँका जिल्ला न्यायाधीश, मुख्य निर्वाचन अधिकृत हुनुहुन्थ्यो, उहाँले माओवादीलाई परेको भोट पनि कतिपय सन्दर्भमा बदर गरिदिएको स्थिति पनि थियो ।
स्वस्तिक चिन्ह हानेको अलिकति तलमाथि पर्दा पनि यो बदर भयो भनिदिनुभयो । सदर हुनुपर्ने मत पनि बदर भनिदिएपछि आफूले बोलेको कुरा फिर्ता नलिने उहाँको स्वभावका कारण पनि त्यो फिर्ता नहुने स्थिति पनि बन्यो । यस्तै–यस्तै विषयमा त्यहाँ बहस पनि चलिरहेको थियो ।
७ सय ८४ को मतान्तर घट्दै पनि थियो । १२ सय मत गनिसकेर हामी १८ सय मतगणनामा प्रवेश गरेका थियौँ । त्यही बीचमा घटना घट्यो । एमालेका साथीहरू अलि बढी आक्रामक रूपमा नै प्रस्तुत हुनुभयो र मतपत्र च्यातिने स्थितिमा पुग्यो । अहिले हामीलाई जे आरोप लगाइएको छ, त्यो आरोपमा भने सत्यता छैन ।
हामी आफैँले च्यात्यौँ भन्नेमा सत्यता छैन । हामीले मतपत्र च्यात्नुपर्ने कारण पनि छैन, वडा नं. १९ मा हामीले मोटामोटी ५ सयको मतान्तर बनाउने थियौँ र २० मा पुगेपपछि बाँकी मतान्तर घटाएर विजयी हुनेमा निश्चित नै थियौँ । त्यहाँ चाहिँ एमालेकै साथीहरू कृष्णराज न्यौपाने लब्ली भन्ने साथीहरू लगायतका युवा दस्ता भित्र प्रवेश गर्यो र हामी मतपत्र सुरक्षाका लागि सक्रिय भयौँ । यद्यपि प्रहरी प्रशासनले उल्टो हामीलाई टार्गेट बनायो ।
यो घटना पौने १२ बजे भएको हो । घटनालगतै प्रहरीले हामीलाई समात्यो । हामीलाई समातिसकेपछि हामीलाई हिरासतमा राखियो । हिरासतमा पाँचवटा मतपत्र च्यातिएको भन्ने कुरा हामीले हिरासतभित्र सुनेका थियौँ । एमालेकै उच्च पदस्थ नेताबाट ।
५ वटा च्यातियो कि ५० वटा च्यातियो कि ९० वटा च्यातियो त्यो हामीलाई थाहा थिएन । तर उहाँहरूको दाबी भने ५ वटा मात्रै च्यातियो भन्ने थियो । पछि त्यहाँको सर्वदलीय टोलीले च्यातिएको मतपत्रको मुचुल्का उठाउँदाखेरि ९० वटा च्यातिएको भन्ने कुरा सार्वजनिक भयो । पछि मात्र हामीलाई यसबारे थाहा भयो ।
मतपत्र च्यातिनेबेलाको म प्रत्यक्षदर्शी नै हुँ । मलाई त्यो घटनाको जीवन्त कुरा नै थाहा छ । मतपत्र च्यातिनुका कारण चाहिँ अघि मैले भनेको विवाद नै हो । मतपत्र च्यातिएपछि ठूलो सन्नटा नै छायो । अनि नाराजुलुस सुरु भयो । पहिला त एमालेका साथीहरूले नारा जुलुस सुरु गर्नुभयो त्यसपछि माओवादीका साथीहरूले सुरु गर्नुभयो ।
एमालेका साथीहरूले मान्छे नै तोकेर देखाउने र पक्राउने काम गर्नुभयो र त्यसको शिकार म पनि भएँ । म प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, मुख्य निर्वाचन अधिकृत सँगै थिएँ र मलाई पक्राउने काम भयो । मतपत्र च्यातिएपछि हामी सबै चिन्तित अवस्थामा थियौँ । मान्छे मरेको घरमा जसरी दुःखको सन्नटा छाउछ, त्यसैगरी त्यहाँ पनि त्यस्तै किसिमको सन्नटा र आक्रोश थियो ।
हिरासतमा इन्स्पेक्टरको तुच्छ गाली र गोली हान्ने आदेश
मलाई एसपी दीपक थापा स्वयम्ले समाते, उनी एकदमै आक्रामक भएर मलाई समाते । समातेर बाहिर लगिसकेपछि एमालेको केही उदण्ड टाइपका युवाहरूले ममाथि ढुङ्गा प्रहार गरे । रातको समय थियो, मान्छे चिनिदैनथ्यो । चार पाँच जना प्रहरीका बीचमा राखेर मलाई लगिएको थियो । गाडीमा राख्दाखेरि पनि ढुङ्गा हानियो तर लाग्न चाहिँ लागेन । त्यसपछि मलाई जिल्ला प्रहरी कार्यालयमा लगियो र त्यहाँ प्रहरी इन्सपेक्टर अन्जना श्रेष्ठ हुनुहुन्थ्यो ।
त्यहाँ लगिसकेपछि तिनको रवैया एकदमै नकारात्मक थियो । उनले त्यहाँ प्रस्तुत गरेको कुरा सम्झने हो भने अहिले पनि तिनीप्रति रोष नै प्रकट गर्न मन लाग्छ । यिनीहरूलाई गोली ठोक्दे भन्नेसम्मको तिनको आदेश थियो त्यहाँ । तिनले तथानाम गाली गर्दै चिच्याएर भनिन्– ‘यसलाई गोली ठोक्दे’ ।
तिनले तँ र तिमीको शब्द चयन गरिन् । मैले ती अन्जानालाई म तपाईंको एसपीसँग मिटिङ बस्ने मान्छे हुँ । तपाईंको डीएसपी पनि मेरो साथी हो । तपाईं इन्सपेक्टर हो सम्मान गरेर बोल्न सिक्नुस्, हामी यहाँ चोरी डकैती गरेर ल्याइएका होइनौँ, राजनीतिक आरोपमा आएका हौँ । त्यसकारण तपाईंले सम्मान गर्न सिक्नुस् । भोलि तपाईंले सलोट ठोक्नुपर्ने मान्छे हौँ हामी, त्यसकारण अपशब्द नबोल्नुस् । फेरि तपाईं महिला पनि हो भनेर सम्झाइयो । त्यसपछि हामीलाई भरतपुर अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गरियो । स्वास्थ्य परीक्षणपछि ल्याएर हामीलाई हिरासतमा राखियो । हामी ३ जना थियौँ । म, मधु न्यौपाने र नेकपा एमालेको जिल्ला कमिटीको सदस्य गङ्गा लामा गरी हामी ३ जना थियौँ ।
उडुस, उपियाँ र लामखुट्टेको राज्य : भाइ नाइकेको कडा आदेश
हिरासतमा हामी अत्यन्त कष्टका साथ बस्यौँ । उडुस, उपिँया र लामखुट्टेको राज्य थियो । बिहान भएपछि नयाँ अनुभूति गरियो । हिरासतमा जो पहिला गएको हुन्छ, अलि लामो समय बसेको त्यहाँको नाइके भएको हुँदो रहेछ । त्यो नाइके एउटा फुच्चे भाइ थियो । त्यसले हामीलाई आदेश दिन खोज्यो । हामी को हो भन्ने थाहा पाएपछि त्यो भाइ सामान्य भइहाल्यो । उसले हामीलाई यसो गर, उसो गर, भाँडामा पानी भर भनेर आदेश दियो । असभ्य ढङ्गले विभिन्न घटनामा जोडिएर आएका मान्छेहरूलाई गर्ने जस्तो व्यवहार गर्यो । पछि हामीलाई चिनेर त्यो भाइ आफै लज्जित भयो ।
सुरुका दुई रात हामीलाई त्यही उडुुस उपियाँको राज्यभित्रै राखियो । तेस्रो दिन चाहिँ हामीलाई अलि फरक कोठामा राखियो, पङ्खा पनि थिएन, गर्मीको समयमा । हामीले बाहिरबाट पङ्खा पनि मगायौँ । हिरासत भने पनि आफैंमा त्यस्तो भइहाल्यो । फेरि हामीलाई हतकडी पनि लगाइयो ।
हामीसँगै पक्राउ गरिएका एमालेका गङ्गा लामालाई भने पहिलो बिहान नै छाडियो । हामीले बुझेको चाहिँ गङ्गा लामा त्यस घट्नामा प्रत्यक्ष सहभागी हुन्, उनलाई किन छाडियो ? एमालेको माथिल्लो तहको दबाबमा उनलाई छोडियो र हामीलाई फसाउन खोजियो भन्ने प्रष्ट रूपमा बुझियो ।
हिरासतबाट हामी पाँचौँ दिनमा निस्कियौँ । अदालतको आदेशमा जनही १ लाख धरौटीमा हामी रिहा भएका थियौँ । हिरासतमा रहँदा बाहिरका कुरा पनि हामी सुन्थ्यौँ । जिल्ला प्रहरी कार्यालय र मतगणना स्थल नजिक नजिकै भएकाले त्यस आसपासमा भएकाले बाहिरको चहलपहल सुनिन्थ्यो ।
कबड हल नजिकै एउटा चौतारो छ, जसलाई अस्पताल रोड भनिन्छ, त्यहाँ चाहिँ एमालेको विरोध सभा हुन्थ्यो । माइक लगाएर भाषणहरू गरिन्थ्यो । एमालेका महासचिव ईश्वर पोखरेल पनि जानुभएको थियो । भाषणमा बोलेका सबै कुरा त बुझिँदैनन्थ्यो, केही केही कुरा बुझिन्थ्यो ।
अदालतले रिहा गरेपछि हामी सरासर हाम्रो सामान लिन जिल्ला प्रहरी कार्यालय गयौँ । हामीलाई लिन हाम्रा साथीहरू आउनुभएको थियो । हामीलाई जिल्ला पार्टी कार्यालय कृष्णपुरमा राखियो । हामीप्रति मिश्रित खालका प्रतिक्रिया आएका थिए । घटनाको प्रकृति नबुझ्नेहरूले आरोप प्रत्यारोप पनि गरे । सामाजिक सञ्जालमा पनि त्यस्ता कुराहरू आए । धेरैजसो शुभेच्छुकहरूले चाहिँ तिमीहरू अन्यायमा पर्यौ भन्नुहुन्थ्यो ।
हिरासतमा १ कल फोनको २ सय ५० देखि हजार रूपियाँसम्म
हिरासतमा लिनेबेला मसँग फोन थिएन् । त्यसकारण घरमा जानकारी गराउन सकिनँ । तर त्यो हिरासतमा मैले अचम्ममका कुराहरू भोग्न पाएँ । अहिलेसम्म त्यस्तो प्रकृतिको हिरासतमा पनि परेको थिइनँ । जनआन्दोलनका बेला पनि म हिरासतमा परेको थिएँ । मदन भण्डारीको हत्यारा पत्ता लगाउन भन्दै नारायणगढको पुल्चोकबाट निकालिएको जुलुसमा जतिबेला अमिक शेरचनले कुटाइ खानुभयो, त्यतिबेला पनि म हिरासतमा परेको थिएँ, त्यसपछिका अरू आन्दोलनहरूमा पनि परेको थिएँ ।
हिरासतभित्रबाट परिवारलाई सम्पर्क गर्न मलाई निकै नै बेर लाग्यो । त्यहाँ एकजना बाइक दुर्घटना परेका भाइ रहेछन् । ती भाइको माध्यमबाट एकजना पुलिस मार्फत उहाँको फोनबाट कुरा गरेँ । अचम्मको कुरा के रहेछ भने केश हेरीकन, घटनाको प्रकृति हेरीकन कति पैसा लिन पाइन्छ भन्ने पुलिसमा हुँदो रहेछ । प्रहरी कार्यालयभित्र अचम्मका घटनाहरू हुँदारहेछन्, यस्ता धेरै नै छन् ।
बिहान ७ बजेतिर एक कल फोनको २ सय ५० का दरले कुरा गरेको छु । मैले मेरी श्रीमती सुमित्रासँग कुरा गरेँ तर प्रत्यक्ष रूपमा पुलिसलाई पैसा दिन पनि पाइनँ । दुर्घटना केशमा हिरासतमै रहेका भाइका माध्यमबाट मैले यति महँगोमा कुरा गर्न पाएँ । उनीमार्फत पैसा दिएर एक कल गरियो २ सय ५० मा । एक कलको एक हजार रूपियाँसम्म लिँदा रैछन् प्रहरीहरूले । त्यहाँ यस्ता अरू पनि विकृति रहेछन्, थाहा पाउँदा अचम्म लाग्यो ।
खादा लगाएको फोटो भाइरल
जिल्ला पार्टी कार्यालय पुगेपछि त्यहाँ हामीलाई खादा लगाइएको थियो । पार्टी कार्यालयमा एयरर्पोटबाट कोही आउँदा स्वागत गर्न राखिएको खादा लगाइएको थियो । हामीलाई छुट्टै खादा किनेर स्वागत गरिएको पनि होइन् । त्यो फोटो समाजिक सञ्जालभरि पुगेको थियो । मेरो आफ्नो व्यक्तिगत विचारमा हामीलाई त्यहाँबाट
जुलुससहित लिएर जानुपथ्र्यो, हाम्रो पार्टीको कमजोरी हो त्यो । किनभने हामी पार्टीका इमानदार सिपाही थियौँ ।
हामीले गल्ती गरेका थिएनौँ । हामी रिहा भएपछि पार्टीले हामीलाई स्वागत गरेर लिएर जानुपथ्र्यो । यसो गर्न सकेन, यो चाहिँ हाम्रो पार्टीको ठूलो कमजोरी हो भन्छु म चाहिँ । पार्टी कार्यालय पुगेपछि तिनै खादाहरू हाम्रो पार्टी इन्र्चाजले हामीलाई लगाइदिनुभएको थियो ।
त्यही बेला हाम्रा साथीहरूले फोटो खिचेर फेसबुकमा राख्नुभयो र त्यसैलाई कपी गरेर अरूले भाइरल गराएछन् । त्यसलाई विकृत ढङ्गले फेसबुकमा राखिए, त्यस्ता धेरै विकृत अनलाइनहरू छन् । फेक आइडी बनाएर स्टाटस लेख्नेहरूले अलि बढी नै गरे । तर हामी अन्यायपूर्ण ढङ्गले समातिएका थियौँ । अदालतले रिहाइ गरिसकेपछि हामीलाई पार्टीले बाजागाजासहित, जुलुस लिएर पार्टी कार्यालय जानुपर्ने थियो । तर पार्टीले त्यसो गर्न सकेन, यसमा भने मलाई दुःख लागेको छ ।
म पनि सामाजिक सञ्जालमै छु । फेसबुकमा सानो अंश लेखेर गाली गर्ने त थोरै छन् तर व्यक्तिगत भेटघाटका बेला, एमालेका कत्ति साथीहरूसँग पनि भेट हुन्छ तर पत्यक्ष गाली गरेको अवस्था भने छैन् । कसैले फोन गरेर गाली गर्ने त्यस्तो पनि भएन । हामी राजनीतिक प्राणी हौँ । हामी आफैले पनि राजनीतिक संस्कार सिक्नुपर्छ । यो केही हदसम्म भएको छ भन्ने लाग्छ । यो घटनापछि मलाई गाली पनि आएको छैन, बधाई पनि आएको छैन ।
मेरो राजनीतिक पृष्ठभूमि
मेरो बुवाहरू २०१८ सालमा गोरखाबाट बसाइँ सर्नुभएको थियो । मेरो जन्म २०३१ साल मङ्सिर १० गते भएको हो । म यही चितवनमा जन्मिएँ, हुँर्किएँ र यहीको माटोबाट समाज र देश परिवर्तनको आन्दोलनमा निरन्तर रूपमा सहभागी हुँदै आइरहेको छु ।
२०४५ सालदेखि तत्कालीन चौथो महाधिवेशन आयोजक समिति, जो निर्मल लामाले नेतृत्व गर्नुहुन्थ्यो, तत्कालीन नेकपा चौथोको विद्यार्थी सङ्गठनको केन्द्रीय सदस्य हुँदै मैले राजनीतिक सुरु गरेको हुँ । जतिबेला म स्कुलमा कक्षा ८ मा पढ्दै थिएँ, अहिलेको भरतपुर नगरपालिकाको दिव्य नगरमा ।
२०४६ सालको आन्दोलनमा म विद्यालय तहबाट सहभागी भएको थिएँ । आन्दोलन अघि बढाउन अखिल र नेविसङ्घको मोर्चा बनाउने भन्ने सहमति भएको थियो । त्यतिबेला त्यहाँ पञ्चायतको पक्षधर रणबहादुर गुरुङ थिए, तिनले हामीलाई कुटपिट पनि गरे । मेरो यात्रा त्यहाँबाट सुरु भएर पछि पाँचवटा घटकहरू मिलेर तत्कालीन एकता केन्द्र बन्यो । त्यसमा म आबद्ध भएँ ।
२०५० सालमा मैले एसएलसी पास गरेँ । एकता केन्द्रको त्यतिबेलाको भातृ सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल वाईसीएलमा आबद्ध भएँ । त्यसपछि म मकावानपुर गएर काम गर्न थालेँ । त्यसपछि मेरो राजनीतिक यात्रा कहिले पनि रोकिएको छैन । २०५० सालमा पार्टी फुटपछि फेरि म निर्मल लामाको वरिपरि रहेर एकता केन्द्रमा नै आबद्ध रहेर काम गर्न थालेँ । त्यसपछि मूलभूत रूपमा विद्यार्थी सङ्गठनमा रहेर काम गर्न थालेँ ।
झन्डै १० वर्षजति चितवन जिल्ला अध्यक्ष भएर काम गरेँ । ५० देखि ५८ सालसम्म विद्यार्थी मोर्चामा जिल्ला अध्यक्ष भएर काम गरेको हुँ । २०५९ सालमा आएर मैले विद्यार्थी मोर्चा छोडेर पार्टीमा काम गर्न थालेँ । त्यसपछि मसाल र एकताकेन्द्र एक भइसकेपछि विद्यार्थी र पार्टी दुवै मोर्चामालाई निरन्तरता दिएँ ।
२०६५ सालमा तत्कालीन एकता केन्द्र र माओवादीबीच एकता भई एकीकृत माओवादी निर्माण भएपछि नवलपरासी जिल्ला सहइन्र्चाज भएर ५ वर्ष काम गरेँ ।
त्यसपछि २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा म चितवन आएँ । जिल्लाको क्षेत्र नं. २ मा पार्टीका नेता विश्वभक्त दुवाल आहुतीले उम्मेदवारी दिनुभएको थियो । उहाँलाई जिताउने अभियानमा मुख्य निर्वाचन परिचालन कमिटीको संयोजक भएर काम गरँे ।
२०७० को चुनावपछि भरतपुरमा केिन्द्रत भएँ । अहिले पार्टीको महाधिवेशन आयोजक समितिको सदस्य र भतपुर महानगरको सहइन्चार्जका रूपमा काम गरिरहेको छु ।
झन्डै २७ वर्षको राजनीतिक यात्रामा धेरै हण्डर र ठक्कर खाएर यो यात्रामा निरन्तर दिइरहेको छु । मलाई चिन्नेहरू, भरतपुरका स्थानीयहरू, अन्य पार्टीका साथीहरूले पनि मेरो यात्रालाई महशुस गर्नुभएको छ ।
नेकपा एमाले, नेपाली काङ्ग्रेसका साथीहरूले पनि एउटा निष्ठा, त्याग र इमानको राजनीतिमा विश्वास गरेर अघि बढ्ने मान्छेका रूपमा मलाई लिएका छन् । राजनीतिको कक्षामा म कुनै दिन पनि गयल छैन । साना–ठूला आन्दोलन, कार्यक्रम, दुःख, पीडाहरू सबैतिर म निरन्तर रूपमा संलग्न हुँदै आइरहेको छु ।
धेरै पटक हिरासतमा परेको छु । २०५० सालमा मदन भण्डारीको हत्यारा पक्ता लगाउ भन्दै गरेको विरोध कार्यक्रममा पक्राउ परि पिटाई खाएर हिरासतमा पनि पुगेको छु । महँगी, भष्ट्राचारको विरोध, राष्ट्रियता, जनतन्त्रको पक्षमा भएका आन्दोलनहरूमा निरन्तर रूपमा सहभागी हुँदै सडकमै छु ।
२०६२/६३ को आन्दोलनमा काठमाडौँमा आएर महिनौँ दिनसम्म बसेर सक्रियपूर्वक आन्दोलन अघि बढाउन भूमिका खेलेको थिएँ । त्यतिबेला पनि १२ दिन हिरासतमा बसेको थिएँ । महिला प्रशिक्षण केन्द्रमा १२ दिनसम्म राखिएको थियो । अध्ययनको सन्दर्भमा मैले शिक्षा शास्त्र सङ्कायमा प्रमाणपत्र तहसम्म अध्यययन गरेको छु । मैले औपचारिक पढाइभन्दा पनि राजनीतिलाई पहिलो प्राथमिकता दिएँ । यो यात्रामा अझै सङ्घर्षमय जीवनलाई अगाडि बढाइरहेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा