बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले गरे आफैलाई प्रश्न : ‘के हामी साँच्चै कम्युनिस्ट जस्तै छौँ त ?’

सोमबार, ०६ असोज २०७६, १२ : ००
सोमबार, ०६ असोज २०७६

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्टहरु स्खलित हुँदै गएको बताएका छन् । उनले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादतिरको यात्रामा जाँदै गर्दा विचार, राजनीति, रणनीति र संगठनात्मक जीवनको आचारणबारे आफुहरुमा प्रस्ट गनुपर्ने चुनौती रहेको समेत बताए ।

स्वर्गीय साहाना प्रधानको पाँचौ समृति सभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खुला राजनीति र शासनसत्तामा पुगेसँगै आदर्श, विचार र निष्ठाबाट विस्तारै थाहा नै नपाई स्खलित हुन पुगेको बताए । उनले नाम कम्युनिस्ट पार्टी नै रहेपनि व्यवहार त्यसअनुसारको नभएको बताए ।

‘नाम त कम्युनिस्ट पार्टी नै छ । तर के हामी साच्चै कम्युनिस्ट जस्तै छौ त अहिले ? भन्न त हामीले समाजवादको यात्रा सुरु गर्ने भनेका छौँ । के हामी समाजवादको यात्राको निम्ति लडेका योद्धा जस्तै छौँ त ? या विस्तारै काँग्रेस वा हिजोका निरंकुशतावादी जस्तै पद वा प्रतिष्ठामा रमाउने भएका छौँ ?’ आम नेकपाका नेता कार्यकर्ताको आचरणबारे प्रचण्डको प्रश्न थियो ।

उनले कम्युनिस्ट भनेको गरिव, पीडित न्यायका निम्ती भन्ने जनताले बुझेपनि अहिले कम्युनिस्टहरुको स्वभाव र आचरणमा अरुभन्दा फरक नभएको बताए । जनवादी क्रान्तिका निम्ति गर्नुपर्ने निष्ठा र त्याग गरिएपनि समाजवादी क्रान्ति गर्न आवाश्यक पर्ने विचारको स्पष्टता आयो त ? भन्दै प्रचण्डले पुनः आफैमाथि प्रश्न गरे ।

‘त्यो विचार अनुसारको व्यवहार, आचरण, क्रियाकलाप, जीवनचर्या हाम्रो नीतिअनुसार अगाडि बढेको छ कि वर्गविभेदलाई मेटेर वर्ग समन्वय हुँदै गएको छ आजको मुख्य प्रश्न यहि हो,’ प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले निरंकुश तानाशाही राणाशासनविरुद्ध जीवनभर लडेकी नेतृ साहाना प्रधानलाई स्मरण र सम्मान गर्दैगर्दा  सवैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहाना प्रधानले नेपालको कम्युनिस्ट आन्दोलनमा गरेको योगदान अविस्मरणीय रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप