शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चेल्सीसँग लिभरपुलको कठिन जित

सोमबार, ०६ असोज २०७६, ०८ : ०६
सोमबार, ०६ असोज २०७६

एजेन्सी । साविक उपविजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई उसकै मैदानमा २–१ गोलले हरायो ।

लिभरपुलको जितमा अलेसान्डर अर्नाेल्ड र रोवर्टाे फिर्मिनोले गोल गरे । घरेलु टोलीका एनगोलो कान्टेले एक गोल फर्काए । लिभरपुलले १४औं मिनेटमा अर्नाेल्डले गोलमा अग्रता लिएको थियो । 

उनले मोहम्मद सलाहको पासमा गोल गरेका थिए । ३०औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

चेल्सीका लागि कान्टेले ७१औं मिनेटमा एक गोल फर्काएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा लिभरपुल विजयी भयो । लिगको शीर्ष स्थानमा आसिन लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । 

लिभरपुलले ६ खेलबाट १८ अंक बनाएको छ । समान खेलबाट आठ अंक बनाएको चेल्सी ११औं स्थानमा छ । दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको १३ अंक छ ।

आइतबार रातिनै भएको अर्को खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–२ गोलले पराजित गरेको छ । १० खेलाडीमा समेटिएको आर्सनलले खेलमा दुई पटक पछि परेर पनि पूनरागमन जित निकाल्यो । 

आर्सनलको जितमा निकोलस पेपेले ५९औं मिनेटमा पेनाल्टीमा गोल गरे । कलुम च्याम्वर्सले ८१औं र पिर्रे हेनरिक ओउवामियाङले ८४औं मिनेटमा गोल गरे । एस्टन भिल्लाका जोन म्याक्जिनले २०औं र वेस्लेले ६०औं मिनेटमा गोल गरेका थिए ।

एन्सले मेटल्यान्ड नाइल्स ४१औं मिनेटमा दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो । जितसँगै ११ अंक बनाएको आर्सनल चौथो स्थानमा उक्लिएको छ । चार अंक बनाएको एस्टन भिल्ला १८औं स्थानमा छ ।

अर्को खेलमा वेस्टहाम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले हरायो । वेस्टहामको जितमा आन्द्रे यरमोलेन्सकोले ४४औं र एरोन क्रेसवेलले ८४औं मिनेटमा गोल गरेका थिए । जितसँगै ११ अंक बनाएको वेस्टहाम पाँचौं स्थानमा उक्लिएको छ । 

आठ अंक बनाएको युनाइटेड आठौं स्थानमा छ । अर्को खेलमा क्रिस्टल प्यालेस र वल्भरह्यामटन वान्डरर्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप